विकासन्युज

प्रतिनिधि सभा विघटन मुद्दा प्रधानन्यायाधीश राउतको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन नहुने अवस्था सिर्जना भयो । फलस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो ।  

सोल्टी होटलको लाभांश घोषणा

काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते बिहान १० बजे काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।   साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा बुधबार अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचन सफल बनाउन चरणबद्ध वार्ता र छलफल जारी रहेको सन्दर्भमा बुधबार त्रिपक्षीय बैठक आह्वान गरिएको जानकारी दिए । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माणका क्रममा सरकारले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बद्ध पक्षसँग औपचारिक र अनौपचारिक वार्ता र छलफल गर्दै आएको छ ।  

कुमारी बैंकद्वारा 'कुमारी' तृष्णा शाक्यलाई ७ लाख ३८ हजार छात्रवृत्ति रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि प्रत्येक वर्ष एक लाख रुपैयाँका दरले छात्रवृत्ति कोष खडा गरी रकम संकलन गर्दै आएको छ । यस छात्रवृत्ति कार्यक्रमको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउने रहेको बैंकले जनाएको छ । सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले यस वर्ष सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ  निवर्तमान कुमारी तृष्णा शाक्यलाई छात्रवृत्तिका रूपमा हस्तान्तरण गरेको हो ।

स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार गर्न अफिनको माग

काठमाडौं । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार हुनुपर्ने माग राखेको छ । अफिनले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।  स्वास्थ्यकर्मीको पारिश्रमिक सहित अफिनले ७ बुँदे माग राखेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने नीति लिनुपर्ने, निजी अस्पताल र शिक्षण संस्थासम्बन्धी निर्देशिकाका संशोधन, अफिनको अनिवार्य सहभागिता सुनिश्चित र समन्वयका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै कक्षको माग गरिएको छ ।  त्यस्तै विपन्न र असहाय बिरामी पहिचानका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने र सक्षम निजी अस्पतालहरूलाई स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालनका अवसर दिनुपर्ने अफिनको माग गरेको छ । निजी स्वास्थ्य क्षेत्रले करिव ४ सय १ अस्पतालमार्फत २० हजार शैय्यामा स्वास्थ्य सेवा प्रदान गर्दै करिव एक लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको र राष्ट्रको कुल जनसंख्याको ६५ प्रतिशतलाई आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा दिँदै आएको अफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  अध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले पारिश्रमिकको विषयलाई लिएर केही मेडिकल कलेजमा आन्दोलन गरेका घटनाप्रति अफिनले चिन्ता व्यक्त गरिएको छ ।  

बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण

बैतडी । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका जनाएको छ । गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भएको छ । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए । डेङ्गी सङ्क्रमण हुँदा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षणसमेत देखापर्ने गर्दछन् । यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको र जाँच नगरिकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले योतर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ । रासस

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर । जिल्लामा पालिका तथा वडा स्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार १३ वटा खानेपानी योजनामा बजेट अभाव भएको हो । संघीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि बजार, माङ्जाबुङ, फाक्तेपलगायत खानेपानी योजनामा बजेट अपुग भएको हो ।  आर्थिक वर्ष २०८२/०८३ मा यी योजनालाई बजेट नभएपछि कार्यालयले प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई पत्राचार गरिएको छ । बाढी पहिरोका कारण  खानेपानीका केही योजनामा क्षति भएको छ । गत आवमा विपदबाट क्षतिग्रस्त मुख्य १५ वटा योजनाको सोही वर्षभित्र मर्मतका लागि १० करोड बजेट माग गरिएको थियो  तर मन्त्रालयले एक करोड बजेट मात्र निकासा गरेको उनले बताए । 

यसरी भयो लुबुचेमा हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । हेलिकप्टर पाइलट विवेक खड्काले चलाएका थिए ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुवँरका अनुसार हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको हो । उनका अनुसार हेलिकप्टरमा यात्रु नभएकोले कुनै मानवीय क्षति हुन पाएन ।  पाइलट खड्का पनि सुरक्षित रहेकाे उनले बताए । सुरुमा हेलिकप्टरबाट धुवाँ निस्किए पनि पछि त्यहाँ भएका मानिसहरुले आगो निभाएका थिए । त्यसपछि ठूलो दुर्घटना टरेको उनको भनाइ छ ।