विकासन्युज

संसद भवन भित्रबाट हानेको गोलीले गोलीगाँठो छेडेर वारपार भयो : पत्रकार दंगाल

काठमाडौं । पत्रकार शम्भु दंगालले भदौ २३ गतेको घटना हुनुको मुख्य कारण तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेको बताएका छन् । उनले जेनजी आयोगको जाँचबुझ छानबिन प्रतिवेदनमा यस्तो बताएको उल्लेख छ ।   उनले सडकमा दंगा प्रहरीको संख्या थोरै रहेको प्रतिवेदनमा बताएका छन् । संसद भवनभित्र अत्याधुनिक हतियार बोकेका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘नयाँ बानेश्वर क्षेत्र अश्रुग्याँसले आँखा हेर्न र श्वास फेर्न नसकिने अवस्थामा पुगेको थियो । सुरक्षाकर्मीले अन्धाधुन्ध हानेको गोलीबाट घाइते हुने र मारिनेहरूको संख्या बढिरहेको थियो । यस्ता दृश्यहरु क्यामेराबाट छायाँकन गरिरहेको बेला अढाइ बजे नयाँ बानेश्वर संसद भवनको गेट छेउमा संसद भवन भित्रबाट सुरक्षाकर्मीले हानेको धातुको गोलीले मेरो बायाँ खुट्टामा लागेर गोलीगाँठो छेडेर वारपार भयो,’ उनले भनेका छन् । त्यस्तै उनले घाइतेको अस्पताल आउँदा–जाँदा हुने खर्च, बिरामीका लागि आवश्यक पर्ने अन्य सामग्रीको खर्च सरकारले नबेहोरेको पनि बताए । ‘सरकारले निःशुल्क उपचार गर्ने भने पनि घाइतेले खाने औषधी निःशुल्क गरेको तर अस्पताल जाने आउने खर्च, बिरामीका लागि आवश्यक पर्ने अन्य आवश्यक सामग्रीको खर्च भने सरकारले बेहोरेको छैन,’ उनले भने ।

परिवार र समाजको साथले डाउन सिन्ड्रोम बालबालिकामा सकारात्मक परिवर्तन सम्भव

काठमाडौं । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाइटीको सहकार्यमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, एवनका सदस्य, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, अस्पतालका चिकित्सक, डाउन सिन्ड्रोम भएका बालबालिका तथा उनीहरूका अभिभावकको सहभागिता रहेको थियो । बेबी हेल्थकेयर उत्पादन क्षेत्रमा नेपाली बजारमा अग्रणी अष्ट्रेलियन ब्रान्ड आईविवीले समेत आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सहकार्य र समर्थन जनाएको थियो । कार्यक्रममा बोल्दै ग्राण्डि इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको माया, पारिवारिक गतिविधिमा सक्रिय सहभागिता र जीवनोपयोगी सीप विकासमा ध्यान दिन सके सकारात्मक परिवर्तन सम्भव हुने बताए । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएका बच्चा जन्माएकै कारण आमाहरूले भोग्नुपरेको सामाजिक पीडा दुःखद भएको उल्लेख गर्दै यस विषयमा चेतना अभिवृद्धि र सामूहिक सहयोग आवश्यक रहेको बताइन् ।  उनले भनिन्, 'समाजका सबै मानिस फरक–फरक छन्, त्यसैले संसार सुन्दर छ । डाउन सिन्ड्रोम भएका बालबालिकाको फरक क्षमता पहिचान गरी त्यसलाई सम्मान र अवसर दिनुपर्छ ।' डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका अनुभव सुनाउँदै अन्य अभिभावकलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी दिइन् । विश्वमा जन्मने प्रत्येक ७०० बालबालिकामध्ये एक जनामा डाउन सिन्ड्रोम देखिने तथ्य प्रस्तुत गर्दै सहभागीहरूले यस्ता बालबालिकाको आवश्यकता सम्बोधन गर्न राज्यस्तरबाट आवश्यक पूर्वाधार विकास र लगानी अझै अपर्याप्त रहेको औँल्याए । पर्याप्त सहयोग अभावका कारण उनीहरू तथा परिवार सामाजिक भेदभावको सामना गर्न बाध्य भएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो । कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले डाउन सिन्ड्रोमसम्बन्धी सचेतना अभिवृद्धिका लागि गरिएको पहलप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

काठमाडौं आसपासका गुम्बामा निगरानी बढाउन कार्की आयोगको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा निर्माण भएका विशाल तथा आलिशान गुम्बाहरूको गतिविधिमा नेपाल सरकारले सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने देखिएको गौरीबहादुर कार्की आयोगको निष्कर्ष रहेको छ । त्यस्तै, मदरसा तथा चर्चहरूमा भइरहेका फण्डिङ र तीव्र गतिविधिहरू पनि सुरक्षा निकायको चासोको विषय बन्नुपर्ने आयोगको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले यी सबै गतिविधिले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने संकेततर्फ सचेत हुनसमेत भनेको छ ।  प्रतिवेदनमा यस्ता विषयलाई गुप्तचरको राडारमा ल्याउने सुझावसमेत दिइएको छ । मुलुकले आफ्नो गुप्तचर तथा निगरानी क्षमता तत्काल सुदृढ गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनले भदौ २३ गते संसद भवन परिसरमा घटेको घटनाले झन् चिन्ता बढाएको बताएको छ । तिब्बतीयन ओरिजिन ब्लड (टीओबी) लेखिएको ज्याकेट लगाएका मोटरसाइकल सवार युवाहरूको सक्रियताले नेपाल मात्र होइन, चीनसमेत सतर्क बनेको प्रतिवेदनमा उल्लेख छ ।  यदि छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुने अवस्था सिर्जना भयो भने त्यसले नेपाललाई गम्भीर कूटनीतिक र सुरक्षा संकटतर्फ धकेल्न सक्ने जोखिम पनि रहेको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ बानेश्वरको वाणिज्य बैंकबाट भल्ट फुटाएर १८ केजी सुनचाँदी र ५ करोड लुटियो

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट भदौ २४ गते ५ करोड नगद र १८ केजी सुनचाँदी लुटपाट भएको बैंकका सुरक्षागार्ड हरिराम थापा मगरले बयान दिएका छन् । २४ गते साँझ करिब साढे ७ बजे प्रदर्शनकारीहरूले आगजनी गरेर कार्यालयको भल्ट फुटाई करिब ५ करोड नगद १८ केजी सुनचाँदी लुटेर लगेको जेनजी आयोगको जाँचबुझ प्रतिवेदनमा उनले यस्तो बयान दिएका हुन् । ‘२३ गतेको प्रदर्शनपश्चात हामीलाई २४ गते सिभिलमा ड्युटी बस्नु र आपतकालीन अवस्था आइलागे आफ्नो ज्यान जोगाउनु भन्ने आदेश थियो । २४ गते साँझ साढे ७ बजे प्रदर्शनकारीहरूले आगजनी गरी कार्यालयको भल्टसमेत फुटाई ५ करोड नगद र १८ केजी सुनचाँदी लुटपाट गरे,’ उनले भने । संसद भवनको ३ नम्बर गेटबाट प्रदर्शनकारीहरू २४ गते बिहान करिब साढे ११ बजे बजेतिर तोडेर संसद भवन प्रवेश गरेको पनि उनले उल्लेख गरेका छन् । संसद भवनबाट उनीहरूले ल्याटपट, ग्यास, जार, टेबलजस्ता सामग्रीहरू ओसारी रहेको पनि थापा मगरले बयानमा उल्लेख गरेका छन् । २३ गते प्रदर्शनको क्रममा आन्दोलनकारीहरूको गोली लागेर मृत्यु भएको कुरा सामाजिक सञ्जालबाट सुनी थाहा पाएको उनले प्रतिवेदनमा खुलाएका छन् ।

स्वास्थ्य बीमामा भइरहेको ठगीको गम्भीर खुलासा

काठमाडौं । स्वास्थ्य बीमामा भइरहेको अनियमितता र आर्थिक चलखलेको खुलासा भएको छ । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले स्वास्थ्य बीमामा भइरहेको अनियमितताको खुलासा गरेको हो ।   आयोगले स्वास्थ्य बीमालाई कमाइ खाने भाँडोको रुपमा स्वास्थ्य संस्थाहरूले प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ ।  आयोगको प्रतिवेदनमा बिरामीलाई नचाहिने जाँच गराई धेरै दिन उपचार गराउने र बीमाबाट अनावश्यक पैसा लिन (ओभर ट्रिटमेन्ट फ्रड) अभ्यास रहेको उल्लेख गरेको छ । यस्तै, नक्कली बिल बनाएर बीमाबाट पैसा लिने बिरामीलाई सानो उपचार गरे पनि कागजमा ठूलो उपचार गरेको देखाएर बिल बढाउने लगायतका अभ्यास रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  बिरामीको सानो समस्या भएपनि एक्सरे, सिटी स्क्यान तथा एमआरआई लगायत अनावश्यक जाँच गराई बीमा रकम दाबी गराउने प्रवृत्ति रहेको प्रतिवेदनमा लेखिएको छ । सस्तो औषधी दिने तर कागजमा महँगो औषधी देखाई गलत दाबी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।  औषधी बिरामीसँग नगदमा किन्न लगाउने तरपछि सोही औषधीको नक्कली बिल पेस गरी बीमा भुक्तानी लिई दोहोरा फाइदा लिने अभ्यास पनि रहेको प्रतिवेदनमा लेखिएको छ ।  ‘वास्तविक उपचार नभएका बिरामीलाई फेस प्यासेन्ट क्लेम कागजमा उपचार गरेको देखाएर र कहिलेकाहीँ पुरानो बिरामीको नाम प्रयोग गरी बीमामा दाबी गरी भुक्तानी लिने, बीमा बोर्डमा राजनैतिक नियुक्ति र हस्तक्षेपका कारण उल्लेखित समस्याहरू प्रमुख रूपमा रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।  यी समस्याहरू समाधान गर्न सरकारले डिजिटल भेरिफिकेसन गर्नुपर्ने, निगरानी प्रणाली प्रभावकारी बनाउने, पेश गरेका कागजात माथि अनुसन्धान गर्न स्वतन्त्र नियमन निकाय बनाइनुपर्ने, स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको नियुक्ति पारदर्शी ढंगले गर्नुपर्ने र उल्लेखित कार्यमार्फत ठगी गर्ने व्यक्ति तथा संस्थाहरूलाई फौजदारी कानून बमोजिम कडा कारवाही गर्नुपर्ने उल्लेख गरेको छ ।  यस्तै, विशिष्ट पदमा आसिन भएका र रहेका व्यक्तिहरूलाई राज्यकोषबाट उपचारको लागि जति पनि खर्च गर्ने तर आम नागररिक सिटामोल नपाएर मर्नुपर्ने प्रणालीको अन्त्य गर्न विशिष्ट व्यक्तिको उपचारको बीमा गर्ने र विदेशमा गरिने उपचार खर्च राज्यकोषबाट नदिने कानूनी प्रावधान जरुरी रहेको आयोगको सुझाव छ ।  स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताहरूको नियन्त्रण गर्न कठोर कदम चाल्नु आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा पारदर्शिता र जवाफदेही प्रणाली लागु गर्नुपर्ने राय दिएको छ ।  काठमाडौं उपत्यका लगायत मुख्य सहरी क्षेत्रमा भएका सुविधासम्पन्न ठूला अस्पतालमा सामान्य खालको सर्जरी गर्नको लागि धेरै दिन पछिको पालो कुर्नपर्ने अवस्था रहेको उल्लेख गर्दै जटिल खालको सर्जरी गर्नुपरेमा महिनौं कुर्नुपर्ने तर अलि पहुँचवाला व्यक्तिहरूले भनसुनको भरमा तुरुन्तै पालो पाइहाल्ने प्रवृत्ति रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  स्वास्थ्य बीमा पद्धतिमा समयानुकूल परिवर्तन गरेर सकेसम्म सबै अस्पतालबाट सेवा लिने व्यवस्था गराउने, सरकारले खर्च भइसकेको रकम पनि शोधभर्ना नगरेकाले बीमा सेवा विभिन्न अस्पतालले बन्द गरेको तर्फ सरकारले उचित नीति बनाउनु र कार्यान्वयन गर्नुपर्ने र सरकारी बीमा पनि बीमा कम्पनीबाट गराउनेतिर पनि सोचिनु पर्ने राय प्रतिवेदनमा छ । 

न्यायपालिकामाथि प्रहार भएको बारको प्रारम्भिक टिप्पणी, कार्की आयोगको निष्कर्षबारे छलफल गर्न बोलायो बैठक

काठमाडौं । गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्षतिबारे अध्ययन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै न्यायपालिकासम्बन्धी उठाइएका केही विवादास्पद विषयप्रति नेपाल बार एशोसिएसनले प्रारम्भिक प्रतिक्रिया जनाएको छ ।  प्रतिवेदनले आफ्नो कार्यक्षेत्र नाघेर न्यायिक संस्थामाथि अनावश्यक टिप्पणी गरेको बारको प्रारम्भिक टिप्पणी छ । यसैक्रममा बारले आज कार्की आयोगको निष्कर्षबारे धारणा बनाउन दुई चरणमा महत्त्वपूर्ण बैठक बोलाएको छ । पहिलो चरणमा दिउँसो साढे १ बजे सल्लाहकारसहित कार्यसमितिको आकस्मिक बैठक बस्ने बारका अध्यक्ष प्राध्यापक विजय मिश्रले जानकारी दिए ।  आयोगको निष्कर्षबारे धारणा बनाउन बैठक बोलाइएको उनले बताए । उक्त बैठकमा आयोगको प्रतिवेदनका संवेदनशील बुँदाहरूको विश्लेषण गर्दै संस्थागत धारणा तय गरिने जनाइएको छ। बार अध्यक्ष मिश्रका अनुसार प्रतिवेदनमा न्यायपालिकाप्रति अविश्वास सिर्जना गर्ने तथा संस्थागत मर्यादामा आँच पु‍र्‍याउने आशय देखिएकाले यसलाई गम्भीर रूपमा लिइएको छ । त्यसैले कानुनी तथा संवैधानिक दृष्टिकोणबाट एकीकृत प्रतिक्रिया तयार गर्न बैठक केन्द्रित हुने मिश्रले जानकारी दिए । यसपछि नेपाल बारको संवैधानिक समितिको बैठक पनि आजै बस्नेछ । समितिका संयोजक टीकाराम भट्टराईले बोलाएको उक्त बैठकमा प्रतिवेदनमा उल्लेख गरिएका न्यायपालिका सम्बन्धी विषयहरूबारे गहिरो छलफल हुने वरिष्ठ अधिवक्ता भट्टराईले जानकारी दिए ।

कपिलवस्तु घटना : सामाजिक सद्भाव भड्काउने र कुटपिटमा संलग्न थप ४ जना पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्जको बर्गदा घटनामा संलग्न थप ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि हिन्दु र मुस्लिम समुदायबीच द्वेष फैलाउने खोलको भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा चैत ९ गते बुद्धभूमि नगरपालिका वडा नम्बर ६  का मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका वडा नम्बर १ का जितेन्द्र कहार पक्राउ परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । दुवैमाथि विद्युतीय कारोबार, २०६३ सम्बन्धी कसुरमा मुद्दा चलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।  यस्तै, हिन्दु र मुस्लिम समुदाय बीचको विवादपछि कपिलवस्तु नगरपालिका– ४ कोदाहवामा मोटरसाइकलमा सवार मानिसलाई राकेर लाठी, हेटमेट, बाला र मुक्काले कुटपीट गरी मोबाइलमा समेत क्षति पुर्याई भिडियोसमेत सामाजिक सञ्जालमा राखेको आरोपमा दुईजना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का राज भन्ने दुर्गेश यादव, पवनकुमार गुप्तामाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको सिंहले बताए । घटनामा पाँच-छ जनामध्ये २ जना मात्र पक्राउ गरिएको र अन्यको खोजी भइरहेको उनले बताए । सामाजिक सञ्जालमा द्वेष, हिंसा र सामाजिक सद्भाव खलल हुने खालका कुनै क्रियाकलाप र गतिविधि नगर्न प्रहरी आग्रह समेत गरेको छ ।   यसअघि मन्दिर तोडफोडको आरोपमा ६ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाई सकेको छ ।

वसन्तमा काठमाडौंको मुहार फेरिँदै

काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौं उपत्यकामा अघिल्ला वसन्तहरू भन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौंका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन् । अघिल्लो हप्तासम्म  खडेरी र धुवाँधुलोले काठमाडौंको आकाश धुम्ब थियो ।  केही दिनयताको वर्षाले  रुखविरुवाका पात पखालिए भने सडक र बस्ती  पनि सफा भएका छन् ।   वर्षासँगै काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुँवालो हटेको छ । तुवाँलो हटेसँगै उपत्यकाका वरपरिका डाडाँहरु पनि स्वच्छ र हरियाली वातावरण देखिएको छ । यतिबेला काठमाडौंको मुख्य सडकका छेउछाउदेखि विभिन्न पार्कमा हरियाली छाएको देख्न सकिन्छ । वसन्त ऋतुमा धेरै विदेशी पाहुनाहरू समेत नेपाल आउने गरेका छन् । काठमाडौंको लैनचौर–महराजगञ्ज सडक, जमल–भद्रकाली सडक, माइतीघर–तीनकुने सडक, थापाथली–कालिमाटी सडक, ललितपुरको कुपण्डोल–पुल्चोक–जावलाखेल सडकका वरपर फूलेका फूलहरुले मानिसको ध्यान तानेको छ । ललितपुरमा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चिरिबाबु महर्जन नगरप्रमुख भएसँगै त्यहाँको सडक वरपर रहेका वोटविरुवाको संरक्षण गरी थप वृक्षरोपण गरिएको थियो । ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना वरपर पनि हाल हरियाली छाएको छ । यसैगरी, काठमाडौंको मुटुमा रहेको शङ्खधर उद्यान (रत्नापार्क), बाइसधारा उद्यान (बालाजु पार्क) शङ्खपार्कलगायतका पार्कका बोटविरुवामा पालुवा पलाएर हरियाली छाएको छ ।  सन् २०१४ को डिसेम्बरमा काठमाडौंमा भएको दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनको समयमा विदेशी पाहुनाको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सोल्टी होटलसम्म वोटविरुवा रोपिएको थियो ।  तीमध्येका कतिपय विरुवा हुर्काउन नसकिए पनि केही विरुवा भने सोही क्षेत्रका स्थानीयले मलजल गरी मर्न दिएका थिएनन् । ती विरुवा हुर्केर सडक छेउछाउको शोभा बढाएका छन् । बाँकी रहेका ती विरुवा हुर्केर अहिले काठमाडौंको सौन्दर्यमा केही चमक थपिदिएको छ । कोरोना महामारीको समयमा अक्सिजनको महत्वको खुब प्रचार भएको थियो । त्यसपछि मानिसहरूमा सम्भव भएसम्म घर परिसर या वरपरको बस्ती तथा सडकमा रुख विरुवा हुर्काउनुपर्छ भन्ने चेतना र भावना बढेको पाइएको छ । यसले पनि पछिल्लो समयमा काठमाडौंमा हरियाली वातावरण बनाउन केही सहयोग पुगेको पाइएको छ ।  कोरोनाको बेलामा अक्सिजनको चेतना भएसँगै धेरै मानिसहरूले घर वरपर र छतमा वृक्षरोपण गरेका छन् । त्यस महामारी यता काठमाडौंमा कौशी खेती बढेको पनि पाइएको छ । उक्त कार्यले पनि काठमाडौंको हरियालीमा थप सहयोग पुगेको छ ।  काठमाडौं महानगरपालिका अन्तर्गत उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका इन्जिनीयर सरकारदीप श्रेष्ठ महानगरभित्रका विभिन्न १४० खुला स्थानमा पार्क निर्माण गरी हरियाली प्रवद्र्धनलाई अगाडि बढाउँदै आएको बताउँछन् । 'काठमाडौंभित्रका खुला ठाउँमा पार्क निर्माण गरी विभिन्न प्रजातिका फूल रोप्ने, दुबो रोप्ने, खोलाका किनारामा वृक्षरोपण गर्नेलगायतका कामलाई महानगरले प्राथमिकता दिएको छ,' उनी भन्छन् । महानगरले चार भागमा बाँडर ठेक्कामार्फत पार्कको व्यवस्थापन गर्दै आएको उनको भनाई छ । पार्कमा फूल रोप्ने, दुबो रोप्ने, पार्कको सरसफाईलगायतका काम ठेकेदारमार्फत हुँदै आएको छ । अहिले काठमाडौं भित्रका अधिकाशं पार्कमा सिजनल फूलहरु फुलिरहेका छन् ।   यसबाहेक महानगरले काठमाडौंभित्रका ठूला सडकको आसपासमा रहेका फूटपाथमा विरुवाहरु रोप्ने कामसमेत गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र आठ हजार विरुवा रोपिएको इन्जिनीयर श्रेष्ठ बताउन्छन् । चालू आवमा पनि चार हजार विरुवा रोप्ने कार्यक्रम रहेको उनको भनाई छ । महानगरले गत वर्ष रोपेर मरेका विरुवाको ठाउँमा पुन नयाँ विरुवा रोप्ने अभियानलाई समेत अगाडि सारेको छ । इन्जिनीयर श्रेष्ठ महानगरले एक सिजनमा ३० हजार फूलका विरुवा रोप्ने गरेको बताउँछन् । यसबाहेक महानगरले काठमाडौंभित्रका ठूला रुखहरुलाई काँटछाँट गरेर मिलाउने गरेको छ । काठमाडौंभित्रका दुई ठूला नदी बागमती र विष्णुमति नदीको किनारामा पाँच फिटभन्दा अग्ला बेगमबेली र विभिन्न प्रजातिका फलफूल रोप्ने कामलाई अगाडि बढाइएको इन्जिनीयर श्रेष्ठ बताउँछन् । शङ्खधर उद्यान तथा रानीपोखरी एकाई (रत्नापार्क) का प्रमुख उत्तमकुमार घले पछिल्लो समय रत्नापार्कको हरियाली हेर्न थुप्रै मानिसहरु आउने गरेको बताउँछन् । विगत १५ वर्ष अगाडि रत्नापार्कलाई फोहरको दृष्टिकोणले हेर्ने गरेपनि पछिल्लो समय महानगरको उद्यान तथा हरियाली प्रवद्र्धन महाशाखाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको उनी बताउँछन् ।  रत्नापार्कका प्रमुख घले पार्कभित्र ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, एकल महिलालाई प्रवेश निःशुल्क गरिएको बताउँछन् । रत्नपार्कभित्र अहिले निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यहाँभित्र प्रवेश गरेर इन्टरनेट सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । काठमाडौंभित्रको वातावरण सौन्दर्यलाई थप प्रभावकारी बनाउन पार्कले विभिन्न योजना अगाडि सारेको छ । डिभीजन वन कार्यालयका काठमाडौंको सूचना अधिकारी अनुपा घिमिरे काठमाडौंभित्रको हरियालीलाई कायम गर्न डिभीजन वन कार्यालय काठमाडौंले चाल्नाखेलमा एक लाख विरुवा उत्पादन गरेको बताउँछिन् । उत्पादित विरुवालाई वहुवर्षीय रुपमा वृक्षरोपण गर्दै जाने उनको भनाई छ । सूचना अधिकारी घिमिरे डिभीजन वन कार्यालयले काठमाडौंभित्रका सडकको सौन्दर्यलाई कायम राख्न गतवर्ष टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कलङ्कीदेखि थानकोट सडकका फुटपाथमा एक हजारभन्दा बढी बोटविरुवा वृक्षारोपण गरेको बताउँछिन् ।  यसबाहेक डिभिजन वन कार्यालयले गतवर्ष काठमाडौंभित्रका विभिन्न सङ्घ, संस्था र समूहलाई वृक्षरोपणका लागि १० हजार विरुवा उपलब्ध गराएको छ भने काठमाडौंभित्रका १३७ सामुदायिक वनलाई समेत हजारौँ बोटविरुवा उपलब्ध गराएको सूचना अधिकारी घिमिरे बताउँछिन् ।  डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा काठमाडौंका विभिन्न सडक पेटीमा झण्डै एक हजार बोटविरुवा रोप्ने लक्ष्य लिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ हरियाली वातावरणसँगै फोक्सो, मुटुलगायतमा हुने सङ्क्रमणमा कमी आउने बताउँछन् । 'जति स्वच्छ वातावरण भयो, त्यति नै मानिसले स्वच्छ रुपमा श्वासप्रश्वास गर्न पाउँछ, स्वच्छ वातावरण भएसँगै फोक्सो, मुटुलगायतमा हुने संक्रमणमा कमी आउँछ,' डा. श्रेष्ठ भन्छन् । वसन्त ऋतुको समयमा विभिन्न प्रजातिका बोटबिरुवाले पालुवा फेर्ने हुँदा यहाँको सौन्दर्यले मानिसमा मनमोहक वातावरण पैदा गरेको छ । पहिले पहिले काठमाडौं धुलाम्मे तथा फोहर मात्र देखिने सहरका रुपमा मानिसहरुले लिने गर्दथे ।    काठमाडौंको मुहार फेरिएको छ । अब राजधानी सहरलाई त्यसरी चित्रण गर्नु हुँदैन । यो हरियालीले पनि यही सन्देश प्रवाह गर्न खोजेको छ ।  रासस