अतिकम विकसित मुलुकबाट नेपाल स्तरोन्नति : १६ औँ योजनापत्रको कार्ययोजनामा समावेश
काठमाडौं । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गर्दैछ । आत्मनिर्भर, स्वतन्त्र, उन्नतिशील र समृद्ध अर्थतन्त्र निर्माणको दिशामा यो स्तरोन्नति महत्वपूर्ण कोशेढुङ्गा मानिएको छ । स्तरोन्नतिसँगै नेपालको अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय स्वाभिमानमा वृद्धि हुनुका साथै आर्थिक तथा विकासका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ । तर हाल अतिकम विकसित मुलुकका रूपमा प्राप्त हुँदै आएका केही विशेष अन्तर्राष्ट्रिय सहुलियत र सहयोग क्रमशः घट्दै जाने चुनौती पनि रहनेछ । यही परिवेशलाई मध्यनजर गर्दै सरकारले स्तरोन्नतिबाट उत्पन्न हुने अवसरहरूको अधिकतम उपयोग र सम्भावित असरहरूको न्युनिकरण गर्ने उद्देश्यसहित कार्यान्वयन कार्ययोजना राष्ट्रिय योजना आयोगले तयार गरेको छ । हालै मन्त्रिपरिषदबाट स्वीकृत यस कार्ययोजनाले विभिन्न क्षेत्रगत नीति तथा कार्यक्रमबीच समन्वय गर्दै स्तरोन्नतिलाई सहज र दिगो बनाउने लक्ष्य राखेको छ । कार्ययोजनाको मुख्य उद्देश्य व्यापार तथा लगानी विस्तारमार्फत आर्थिक रूपान्तरण गर्दै वित्तीय दिगोपना र समष्टिगत आर्थिक स्थायित्वसहित आर्थिक विकास हासिल गर्नु हो । साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार, सामाजिक समावेशीकरण तथा आर्थिक–पर्यावरणीय जोखिम व्यवस्थापनमार्फत उत्पादन क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । स्तरोन्नति प्रक्रियालाई सफल बनाउन सरकारले रूपान्तरणकारी रणनीतिहरू तय गरेको छ । यसअन्तर्गत स्तरोन्नति सम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन, उत्पादन तथा उत्पादकत्व वृद्धि, उद्यमशीलता विकास र आन्तरिक रोजगारी सिर्जना गरी प्रतिव्यक्ति राष्ट्रिय आय वृद्धि गर्ने योजना छ । त्यसैगरी वैदेशिक सहायताको प्रभावकारी परिचालन, वस्तु तथा सेवा व्यापारको विविधीकरण, निर्यात प्रवर्द्धन तथा व्यापार वार्तामार्फत अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने नीति पनि अघि सारिएको छ । मानव सम्पति विकास, सामाजिक समावेशीकरण तथा आर्थिक र वातावरणीय जोखिम व्यवस्थापनका कार्यक्रमहरूबीच समन्वय कायम गरिने सरकारको भनाइ छ । के छ कार्यान्वयन कार्य योजनामा ? कार्यनीतिअन्तर्गत कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन सीपयुक्त र प्रतिष्पर्धी जनशक्ति विकास तथा लगानी विस्तारमा जोड दिइनेछ । साथै उच्च मूल्यका निर्यातमुखी वस्तु तथा सेवाको उत्पादन, गुणस्तर सुधार, निर्यात प्रवर्द्धन र व्यापार वार्तामार्फत बजार विस्तार गरिने योजना पनि सरकारले अघि सारेको छ । कार्यान्वयन योजनाभित्र सीपयुक्त श्रम उत्पादन कार्यक्रम अघि सारिएको छ । जसअन्तर्गत प्राविधिक तथा व्यवसायिक शिक्षाको सुदृढीकरण र विस्तार गरी सीपयुक्त दक्ष श्रमशक्ति उत्पादन गरिनेछ । श्रम बजारमा हुने श्रमिकको माग र आपूर्ति सम्बन्धि सूचना सम्प्रेषण गर्ने प्रणाली विकास गरिनेछ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेबार बनाइएको छ । त्यस्तै लगानी तथा निर्यात प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । जसअन्तर्गत रहेर लगानीको वातावरण निर्माण गर्न कानून, संस्था र प्रविधिमा सुधार, प्रक्रियागत सरलीकरण, सुरक्षा, लगायतका आवश्यक प्रबन्ध सुदृढीकरण गर्ने, औद्योगिक तथा व्यापार पूर्वाधार सुधार र विस्तार गर्ने, निर्यात अभिवृद्धिको लागि वस्तु तथा बजारको विविधीकरण गर्ने, पर्यटन, विद्युत व्यापार, सूचना प्रविधि तथा वित्तीय सेवासम्बद्ध सेवाको निर्यात प्रवद्र्धन गरिनेछ । त्यस्तै, स्तरोन्नति पश्चात् अतिकम विकसित मुलुकको हैसियतले उपलब्ध भइरहेका ड्युटी फ्रि, कोटा फ्रि लगायतका सुविधामा कटौतिको प्रतिकुल प्रभाव न्युनिकरण गर्न आवश्यक समायोजनका उपाय अवलम्वन गर्ने,बौद्धिक सम्पती संरक्षणको लागि कानूनी प्रबन्ध गरी कार्यान्वयन गर्ने संस्थाको क्षमता विकास गर्ने योजना बनाइएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि उद्योग मन्त्रालयसम्मलाई जिम्मेवार बनाइएको छ । त्यस्तै आर्थिक कुटनीति सञ्चालन कार्यक्रम गर्ने योजना बनाइएको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय वित्तका वैकल्पिक स्रोतको पहिचान र परिचालन गर्ने, स्तरोन्नति हुने मुलुकका साझा सवाल सम्बोधनको लागि क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहकार्य विस्तार गर्ने, विकासशील मुलुकहरूलाई उपलब्ध हुने अन्तर्राष्ट्रिय स्तरका जिएसपी प्लस लगायतका छुट तथा सुविधामा पहुँचको लागि तयारी एवम् पहल गरिनेछ ।
कार्की आयोगको प्रतिवेदनमाथि नेता ज्ञवालीको प्रश्न– भदौ २४ को हिंसा किन ओझेलमा ?
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसमाथि गम्भीर प्रश्न उठाएका छन् । ज्ञवालीले सुरक्षा, प्रशासन र कानुनी वृत्तमा प्रतिवेदनको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको जनाएका छन् । आयोगले भदौ २३ गतेको गोलीप्रहार घटनालाई विस्तृत रूपमा विश्लेषण गरेपनि त्यसको भोलिपल्ट भदौ २४ मा भएको व्यापक हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको विध्वंशबारे भने प्रतिवेदन रहस्यमय रूपमा मौन रहेको आरोप ज्ञवालीको छ । प्रतिवेदनमा भदौ २३ मा संसद भवन जोगाउन बल प्रयोग गर्ने सुरक्षाकर्मीमाथि कारबाही सिफारिस गरिएकोमा ज्ञवालीको आपत्ति रहेको छ । ज्ञवालीले भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनजस्ता संवेदनशील संरचना जलाउनेहरूप्रति आयोग मौन रहेकोमा चिन्ता व्यक्त गरे । आयोगले पत्रकारको योग्यता, संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् गठनजस्ता विषयमा विस्तृत टिप्पणी गरे पनि मूल घटनासँग प्रत्यक्ष सम्बन्धित गम्भीर प्रश्नहरू भने बेवास्ता गरेको ज्ञवालीको टिप्पणी रहेको छ । विशेषगरी शान्तिपूर्ण प्रदर्शनलाई निषेधित क्षेत्र तोडेर संसद परिसरसम्म पु‍र्‍याउने र हिंसात्मक बनाउने घुसपैठियाहरू को थिए भन्नेबारे कुनै ठोस निष्कर्ष ननिकालेमा ज्ञवालीले कार्की आयोगको निष्कर्ष बेठीक भएको जिकिर गरे । त्यस्तै, भदौ २४ मा विभिन्न रासायनिक पदार्थहरू मोलोटोभ ककटेल बनाएर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने समूहको पहिचानसम्बन्धी विषय पनि प्रतिवेदनमा नसमेटिएको ज्ञवालीले बताएका छन् । ज्ञवालीले प्रतिवेदनलाई पूर्वनिर्धारित निष्कर्षमा आधारित कागजी अभ्यासको संज्ञा दिएका छन् । उनका अनुसार यो प्रतिवेदन एउटा कलाविहीन नाटकजस्तो देखिन्छ, जसको पटकथा भदौ २४ कै घटनापछि तयार पारिएको थियो । उनले झण्डै तीन दशक प्रहरी सङ्गठनमा काम गरेका अधिकृतहरू र कानुनका जानकारहरूले समेत यस्तो प्रतिवेदनमा हस्ताक्षर गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन् । जाँचबुझ र अनुसन्धानजस्ता गम्भीर शब्दको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने खालको दस्तावेजमा हस्ताक्षर हुनु दुःखद रहेको उनको भनाइ छ । प्रतिवेदन सार्वजनिक भएसँगै यसको निष्पक्षता, दायरा र उद्देश्यबारे व्यापक बहस सुरु भएको छ ।
यूरोनेपाल ट्राभलद्वारा पोर्चुगलमा दक्षिण एसियाली लक्षित सस्तो हवाई टिकट सेवा सुरु
काठमाडौं । पोर्चुगलमा बसोबास गर्ने दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै यूरोनेपाल ट्राभलले सस्तो र सहज हवाई टिकट सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपाल, भारत र बंगलादेशसहित विश्वका विभिन्न गन्तव्यका लागि टिकट बुकिङ सेवा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत यात्रुहरूले प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय उडान टिकट प्राप्त गर्न सक्नेछन् । 'जहाँ हरेक यात्रा विश्वासबाट सुरु हुन्छ' भन्ने नारासहित कम्पनीले ग्राहक सेवा, विश्वसनीयता र सहज पहुँचलाई प्राथमिकतामा राखेको निर्देशक निरज गोतामेले जानकारी दिए । निर्देशक गोतामेका अनुसार उनी लामो समय डेनमार्कमा इकोनोमिक्समा मास्टर अध्ययन पूरा गरी पोर्चुगल आएर उक्त व्यवसाय सुरु गरेका हुन् । विदेशमा अध्ययन र अनुभव हासिल गरेपछि दक्षिण एसियाली समुदायलाई लक्षित सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको उनले बताए । यूरोनेपाल ट्राभलको आधिकारिक वेबसाइटमार्फत टिकट बुकिङ प्रक्रिया सहज बनाइएको छ । विभिन्न एयरलाइन्सका उडान विकल्पहरू एकै ठाउँबाट उपलब्ध गराउँदै यात्रुहरूलाई आफ्नो आवश्यकता अनुसार विकल्प छनोट गर्न सक्ने सुविधा दिइएको कम्पनीले जनाएको छ । लिस्बनको आर बाराउँ दे साब्रोसा क्षेत्रमा रहेको कार्यालयबाट सञ्चालन भइरहेको यस सेवाले एयर टिकटिङसँगै होटल बुकिङ, टुर प्याकेज, व्यक्तिगत यात्रा योजना निर्माण, भिसा सेवा तथा डकुमेन्टेसनजस्ता सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले २४/७ ग्राहक सहायता, अनलाइन तथा फोनमार्फत बुकिङ सुविधा उपलब्ध गराएको छ, जसले यात्रुहरूलाई अझ सहज र छिटो सेवा प्राप्त गर्न मद्दत पुर्याउने बताइएको छ । पछिल्लो समय पोर्चुगलमा नेपाली, भारतीय तथा बंगलादेशी समुदायको संख्या बढ्दै गएको सन्दर्भमा यस्तो लक्षित सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । विशेषगरी विदेशमा रहेका श्रमिक तथा विद्यार्थीहरूका लागि सस्तो र भरपर्दो टिकट सेवाले यात्रा व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ । निर्देशक गोतामेले इच्छुक यात्रुहरूलाई सिधै सम्पर्क गरी आफ्नो यात्रा योजना अनुसार टिकट बुक गर्न आग्रह गरेका छन् । यस पहलले पोर्चुगलस्थित दक्षिण एसियाली समुदायको यात्रा आवश्यकतामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा बेकरी खरिदमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । यस सम्झौताको अनुसार नेपाल बैंकका कर्मचारी र बैंकमा खाता राख्ने ग्राहकहरूले काठमाडौंका चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलास्थित ताजा बेकरी उद्योगका उत्पादन खरिद गर्दा छुट पाउनेछन् । नेपाल बैंकको मोबाईल बैंकिङ एपमार्फत भुक्तानी गर्दा, न्यूनतम ५०० रूपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्मको छुट लागू हुनेछ । उक्त सम्झौता पत्रमा चैत्र ११ गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
एनएमबि बैंकद्वारा सुर्खेतमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण
काठमाडौं । एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको 'अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम' अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो । कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको छ। एनएमबि बैंक हाल देशभरि २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।
काठमाडौंमा सुन चोरी गर्ने भारतीय नागरिकसहित ५ जना पक्राउ
काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित तीनथानाबाट सुनका गरगहना र मोबाइल चोरी गरी त्यसको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार चोरी भएका गहना पगालिरहेको अवस्थामा एक भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो । गत फागुन २८ गते चन्द्रागिरि–१५ तिनथानास्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का, तिलहरी, दुई थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको उजुरी प्रहरीमा परेको थियो । उक्त निवेदनका आधारमा सूक्ष्म अनुसन्धान र खोजतलास गर्दा प्रहरीले चैत १० गते काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर अगाडिबाट उनीहरूलाई समात्न सफल भएको हो । पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय प्रसन्न अधिकारी, नवलपरासी पूर्वका २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुङ्गाका २९ वर्षीय लाक्पा शेर्पा, रसुवाका २८ वर्षीय सागर कामी र भारत महाराष्ट्रका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन् । प्रहरीले उनीहरूको साथबाट चोरीका दुई थान मोबाइल, पगालेर ढिक्का बनाइएको २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका पाँचै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमार्फत विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये भारतीय नागरिक मोरेले चोरीका गहना पगाल्ने र स्वरूप बदल्ने काममा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
झापामा वाटर किङडम पार्क खुल्दा पर्यटन र रोजगारीमा आशा
झापा । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ । स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् । 'अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ', पार्कका सञ्चालक सङ्ग्रौलाले भने, 'पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योष्दान पुर्याउने विश्वास लिएका छौँ ।' सङ्ग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सात वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल छन् । 'कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन् । आफूहरूले हार नमानी पुनरुत्थानमा लागेका छौँ', उनले भने । पार्कमा परिवारसहित आएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको धारणा राखे । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उनले बताए । स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उनले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गरे । सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा तीन करोडको कारोबार गर्ने लक्ष्य राखिएको बताए । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उनले जानकारी दिए । रासस
विशेष अधिवेशनले सबै पक्षलाई समेटेको छैन : महत
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पुरै कांग्रेसलाई समेटेर गरिएको महाधिवेशन नभएको बताएका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै महतले विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबैलाई समेटेर अगाडि बढ्नु पर्ने बताएका छन् । अहिलेको आवश्यकता देखिएका सबै पक्षलाई समेटेर नियमित महाधिवेशन आयोजक समिति बनाउन महतले जोड दिएका छन् । पार्टीलाई एक बनाएर लैजान यो मात्रै विकल्प रहेको महतको भनाइ छ ।