मुद्दति निक्षेपको ब्याज बढेर १२.२५ प्रतिशत पुग्यो, सेयरमा लगानी भन्दा बैंकको मुद्दतिमा फाइदा
काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याज दर बढाएर १२.२५ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकबीच व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउन होडबाजी चलेको हो । केही दिनअघि मात्र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत बनाएको एक साता नबित्दै ग्लोबल आईएमई बैंकले १ वर्षका लागि स्पेशल ब्लक डिपोजिट भन्दै वार्षिक १२.२५ प्रतिशत ब्याज दिने गरी मुद्धति निक्षेप योजना ल्याएको छ । यसैगरी ग्लोबलले यो योजना बिहीबारदेखि नै लागु हुने जानकारी दिएको छ । यसैगरी सिभिल बैंकले बिहीबार बढाएर १२.२२ प्रतिशत पुर्याएको छ ।तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्दति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । गत वर्ष लगानीयोग्य पुँजी नभएपछि बैंकले महंगो ब्याजमा व्यक्तिगत निक्षेप लिएका थिए । त्यसबेला यस्तो निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो ।सेयर बजार निरन्तर घटिरहेकाले त्यहाँबाट पाउने प्रतिफल ८ प्रतिशत भन्दा कम रहेका बेला लगानीकर्तालाई मुद्दति निक्षेपमा लगानी गरेर बढी प्रतिफल पाउने देखिएको छ । बैंकको बढ्दो ब्याज दर, बढी सेयर आपूर्ति र राजनीतिक अस्थिरता कायम रहेकाले सेयर बजार निरन्तर ओरालो लागेको छ । सिभिलले २२२ दिनका लागि यो योजना ल्याएको हो । न्युनतम ३ लाख रुपैयाँ हुनुपर्ने र यसको ८० प्रतिशतसम्म कर्जा पाउने सिभिलले जानकारी दिएको छ । अधिकाँश बैंकले छोटो अवधिका लागि भन्दै निक्षेप तान्न बढी ब्याज दिने योजना ल्याएका हुन् । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल गत वर्ष बढी ब्याज दिएर लिएको निक्षेप परिपक्व हुदै गएकले त्यसलाई लक्षित गरेर यो योजना ल्याएको बताए । “बजारमा पुँजीको अभाव हैन, निक्षेप रोक्नका लागि यस्तो योजना ल्याएको हो” उनले भने । मुद्धति निक्षेपमा कम ब्याज दिदै आएको स्ट्याण्डर्ड चाटर्ड बैंकले समेत बुधबार बढाएर १० प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएको छ । कुमारी बैंकले पनि १ सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार ल्याएको छ । यस्तै सेन्चुरी कर्म्शियल बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । तरलता अभावको सम्भावना कायमै भएकाले गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनु पर्ने बाध्यता भएको बैंकरले भनाइ छ । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी ४० अर्ब रुपैयाँ छ । पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको राष्ट्र बैंकको भनाई छ । केही बैंकमा लगानी योग्य पुँजी देखिइसकेको बैंकरको भनाई छ । सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईयो ) १५ प्रतिशत भन्दा कम ब्याजमा कर्जा दिन नसक्ने बताउछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ । प्रभु बैंकले आधार ब्याज दर ९.८० र नविल बैंकको ७ प्रतिशत तल रहेको छ ।
कोकाकोलाले नेपाली बजारमा ल्यायो ‘फुच्चे प्याक’, मूल्य ४० रुपैयाँ
काठमाडौं । कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल ‘फुच्चे प्याक’मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको हो । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । यसको मूल्य ४० रुपैयाँ तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो । नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ‘हामीले बजारमा कोकाकोला, फ्यान्टा र स्पाईटलाई नयाँ सानो पेट बोतलमा ल्याउन पाएकोमा निकै खुसी छौं। ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका हौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुने छ ।’
हिसिलाले जितिन् ‘लिरिल फ्रेश फेस सिजन ४’ को उपाधि, पुरस्कारमा १ लाख नगद र स्कुटर
काठमाडौं । लिरिल फ्रेश फेस सिजन ४को उपाधी हिसिला महर्जनले जितेकी छिन् । सात सय भन्दा बढी इन्ट्रीबाट छानिएर उत्कृष्ट ३ मध्ये महर्जनले विजेताको उपाधी प्राप्त गरेकी हुन् । महर्जनले पुरस्कारमा एक लाख रुपैेयाँ र हिरो डुएट स्कुटर जितेकी छिन् । विश्व प्रसिद्ध साबुनको ब्राण्ड लिरिल, युनिलिभरको आयोजनामा “लिरिल फ्रेश फेस”कोचौथो संस्करण हिजो राती समाप्त भएको छ । अद्भुत र नवीनतम् टाष्कहरु र प्रख्यातहस्तीहरुले भरिपूर्ण एपिशोडहरु भएको यो सिजनले हजारौं प्रशंसकहरुको मन जित्दै यसले आफ्नो विजेतापाउन सफल भएको कम्पनीले जानकारी दिएको छ । फिनालेमा प्रसिद्ध गायक नीतेश जङ्गकुँवर र आयुष्मान देशराज श्रेष्ठ जोशील विशेष निर्णायकको रुपमा उपस्थित थिए ।
सम्भावित लोडसेडिङ टर्यो, भारतले दिनेभयो १४५ मेगावाट बिजुली
काठमाडौं । भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिने भएको छ । भारतको नयाँ दिल्लीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्चस्तरिय टोलीबीच बुधबार भएको द्विपक्षिय वार्तामा एनभीभीएनले थप ३ महिना अर्थात आउँदो मार्चसम्म बिजुली दिन सहमत भएको हो । एनभीभीएनले अर्को सम्झौता नभएसम्मका लागि पुरानो दरमा बिजुली दिन सहमत भएको छ । बिजुली आयात निरन्तरता दिनका लागि घिसिङ बुधबार दिल्ली गएका थिए । आगामी ३ महिनाका लागि बिजुली दिन सहमत भएको घिसिङले जानकारी दिए । ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदै छ । नेपाल र भारतको सचिव स्तरिय संयुक्त स्थायी समितिको बैठक स्थगत भएपछि विद्युत प्राधिकरणले गत मंगलबार बिजुली आयातको म्याद पुनः ३ महिना थप गर्न एमभीभीएनलाई अनुरोध सहितको पत्र पठाएको थियो । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो सस्तो दर हो । भारतबाट १४५ मेगावाट बिजुली आयात निरन्तरता नभए लोडसेडिङ हुने थियो । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।
अब मात्र २० प्रतिशत डाउन पेमेन्टमा किन्न पाइन्छ जेसीबीका मेसिन
काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । जेसीबीको नयाँ अफरमा एनसीसी बैंक लिमिटेडको साथ रहेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सीइओ रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यसैबीच, जेसीबीको नयाँ अफरको प्रचारार्थ ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरु गरेको छ । ‘हामीलाई विश्वास छ कि स्थानीय र संसदीय निर्वाचनको समापनसँगै अब विकासनिर्माणको कामले तीव्रता पाउनेछ । जस्तोसुकै निर्माण कार्यका लागि हेभि इक्विपमेन्ट आवश्यक पर्छ । २० प्रतिशत डाउन पेमेन्ट ल्याएर हामी हाम्रा विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत पुर्याउन चाहन्छौं,’ एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपक राज गिरीले भने । ‘नेपालमै सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिदलाई सहज बनाउनेछ र यसबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुनेछ,’ गिरीले थपे । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको कम्पनीको दाबी छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीले जनाएको छ । देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर छन् । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको कम्पनीको दाबी छ ।
विद्यार्थीसँग चर्को शुल्क असुल्दै निजी विद्यालय, अनुमति बिना कक्षा सञ्चालन
काठमाडौं । उपत्यकाका ठुला निजी विद्यालयहरुले अवैध रुपमा भर्ना शुल्क असुलेको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा विद्यार्थीबाट अत्याधिक मूल्य असुलेको पाइएको हो । विद्यालयले जिल्ला शिक्षा कार्यालयले स्विकृत गरेको मूल्यका आधारमा मात्र भर्ना लिन पाउछन् । तर, ललितपुरको रातो बंगला स्कुल, प्रिमियर ईन्टरनेशन र जेम्स स्कुलले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृती नलिई मनपरी भर्ना शुल्क असुलेको पाइएको छ । रातो बंगला स्कुलले यस आर्थिक वर्षमा भर्ना शुल्क बापत ७५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ धरौटी लिएको देखिएको छ । त्यस्तै अतिरिक्त कक्षाअन्तर्गत २१ हजार ४ सय ६० रुपैयाँ देखि २६ हजार सात सय ५० रुपैयाँ लिएको पाइएको छ । उक्त शुल्क अत्याधिक रहेको विभागको निश्कर्ष छ । विभागले गत पुस ६ गते रातो बंगलालाई प्रमाण सहित पेश हुन ७ दिनको समय दिएको शिक्षा विभागका अधिकृत रामप्रसाद शर्माले बताए । उनका अनुसार विद्यालयले जिल्ला शिक्षा कार्यालयको स्विकृती बिना नै बढी शुल्क लिएको पाइएको हो । उनले भने, ‘विद्यालयले दुई तिहाई अभिभावकको स्विकृतीका आधारमा जिल्ला शिक्षा कार्यालयमा भर्ना शुल्क प्रस्ताव गर्नुपर्छ । यद्यपी रातो बंगलाको हकमा यस्तो गरेको पाइएन ।’ त्यस्तै रातो बंगलामा कानुनले तोकेको १० प्रतिशत छात्रावृत्ति पनि प्रदान नगरेको पाइएको छ । प्रिमियर ईन्टरनेशनलले पनि जिल्ला शिक्षा कार्यालयको स्वीकृतीपत्र र शुल्कको संरचना देखाउन नसकेको विभागले जनाएको छ । विभागले विद्यालयलाई शुल्कको लागि अभिभावकको बैठक राखी गरिएको सिफारिस र जिल्ला शिक्षा कार्यालयको स्वीकृती पत्र पेश गर्न निर्देशन दिएको छ । अनुमति बिना नै कक्षा सञ्चालन रातो बंगलाले प्रि प्राइमरी कक्षाको अनुमति नलिई सञ्चालनमा ल्याएको पाइएको छ । विद्यालयले अनुमतिका लागि आवेदन दिएको स्पष्टिकरण दिएको विभागका अधिकृत श्री प्रसाद अधिकारीले जानकारी दिए । विभागले विद्यालय सञ्चालकलाई प्रि प्राइमरी कक्षा वैधानिक निकायबाट स्वीकृती लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । स्वीकृतीबिना नै शुल्क वृद्धि ललितपुरको जेम्स स्कुलले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृती नै नलिई कक्षा १ मा मनपरी शुल्क बढाएको पाइएको छ । विद्यालयले कक्षा १ को शुल्क चार हजार ३ सय २५ बाट पाँच हजार १ सय ९० पुर्याएको छ । त्यस्तै वार्षिक शुल्कको मासिक शुल्क दोब्बर हुनुपर्नेमा बढी देखिएको विभागको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विद्यालयले खेलकुद, पुस्तकालय र मर्मत लगायत विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएको छ । विभागले स्पष्टीकरण सहित हाजिर हुन विद्यालयलाई निर्देशन दिएको छ ।
महालक्ष्मी बैंकले दियो प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकको खाडीचौर स्थित शाखाले संस्थागत बलेफी गाँउपालिका ७, खाडीचौरमा रहेको श्री बालशिक्षा माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । उक्त शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंक लि.खाडिचौर शाखाका शाखा प्रबन्धक रानु लामाले बिद्यालयका प्रधानाध्यापक वासु पौड्याललाई हस्तान्तरण गरेकी हुन् । बैंकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वीत भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.ले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
चीनको हुवाजिनले सिमेन्टमा १५ अर्ब लगानी ल्याउने, बोर्ड र कम्पनीबीच प्रारम्भिक सम्झौता
काठमाडौं । चीनियाँ कम्पनी हुवासिनले नेपालमा सिमेन्ट उत्पादनमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेगरी लगानी बोर्ड र चीनको हुवासिन सिमेन्ट कम्पनीबीच बुधबार प्रारम्भीक आयोजना लगानी सम्झौता भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र हुवाजिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका छन् । हुवासिनले ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ । मस्र्यौदा सञ्चालक समितिबाट पारित भएपछि औपचारिक रुपमा दुई संस्थाबीच लगानी सम्झौता हुने छ । हुवाजिनले सिमेन्ट कारखाना स्थापना गर्न १५ अर्ब रुपैयाँ लगानी चीनबाट ल्याउने भएको छ । दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ । कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुङा खानी खरिद गरिसकेको छ । सिमेन्टमा लगानी गर्ने तयारीमा रहेको हुवाजिन दोसो चिनियाँ उद्योग हो । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर बुझाउने छ । होङसीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ । आउदो फागुन अन्तिमसम्म होङसीले सिमेन्ट उत्पादन थाल्ने छ । होङसीले ३६ अर्ब रुपैयाँ लगानी गरेको छ ।