विद्युतीय भुक्तानी प्रणाली लागू गरिने
काठमाडौँ । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याउन लागेको हो । आन्तरिक राजश्व विभागलाई पूर्णरुपमा कार्यान्वयन गरेर अगाडि बढ्ने तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिए। उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ । सहसचिव पौडेलले भने , “मोबाइल भुक्तानी, वास्तविक समयमा भुक्तानी (रियल टाइम पेमेन्ट), डिजिटल पेमेन्ट र नेक्स्ट जेनेरेसन पेमेन्टलाई मिलाएर एकीकृत (युनिफाइड) भुक्तानीका लागि आवश्यक काम राष्ट्र बैंकले गरिरहेको छ ।” राष्ट्रिय भुक्तानी प्रणाली बनाउनका लागि राष्ट्र बैंकलाई जिम्मा दिइएकाले समयमै काम भई कार्यान्वयनमा आउने विश्वास लिइएको छ । यस प्रणालीले राज्य कोषमा आउने रकम समयमै आउने तथा कर अधिकृत र करदाताबीचमा सिर्जित अवरोधहरु निराकरण हुने विश्वास लिइएको छ । प्रणालीको प्रयोगसँगै न्यायपूर्ण, सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजश्व अधिकतम बनाउन सहयोग पुग्ने सहसचिव पौडेलको दाबी छ । पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय (२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय (१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर) साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याइनेछ । त्यसपछि सरकारले गैरकर राजश्व कार्यालयमा उक्त प्रविधिको प्रयोग गर्ने योजनाका साथ अगाडि बढाएको छ । त्यसका लागि कानुनी तथा प्रविधिगत सुधार गरिरहेको अर्थ मन्त्रालयले जनाएकोे छ । रासस
नर्भिक अस्पतालले सुरु गर्यो सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन, २ सय शैय्या थप्ने तयारी
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधी जडान सहितको उक्त सेवाको बुधबार पूर्व युवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी हुन् । उक्त प्रविधी जडानपछि अस्पताल पूर्व रुपमा न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएको सञ्चालकले जनाएका छन् । नेदरल्याण्डमा निर्मित ३.०टि इन्जेनिया एमआरआईमा यसको सुरुङ भित्र श्रव्य-दृश्य प्रणाली छ । जसकारण बिरामीले आफूलाई मनपर्ने, सङ्गीत तथा भिडियो सुन्न वा हेर्न सकिने सञ्चालकले जानकारी दिएका छन् । एमआरआई प्रक्रियाको चित्र स्पष्ट र आरामदायी सुविधा भएको यो नेपालकै पहिलो प्रविधी भएको दाबी गरिएको छ । यो प्रणालीमा सामान्य एमआरआईभन्दा करिब ८० प्रतिशत कम ध्वनी उत्पन्न हुनेभएकाले बिरामी डराउने समस्या नरहेको सञ्चालकले जानकारी दिएका छन् । सीटी स्क्यानमा आइडोजफोर प्रणाली रहेकाले यसलाई विश्वकै उत्कृष्ट मानिएको सञ्चालकको दाबी छ । यो प्रविधी पूर्णरुपमा बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले जानकारी दिइन् । नेपालको घरदैलोमा अन्तराष्ट्रिय स्तरको चिकित्सा सेवा पुर्याउँदै सेवा नर्भिकले आफूलाई अझै परिस्कृत र परिमार्जित गरेर सेवा सुविधाहरु थप्न लागेको उनले बताइन् । ‘आगामी पञ्चवर्षीय योजना अन्तर्गत नर्भिकको हालको पूर्वाधारमा आमूल परिवर्तन गरी विद्यमान शैय्या थप गरी २०० पुर्याउनेछौं ‘, उनले भनिन्,’ त्यस्तै ३ मोडुलर अपरेटिङ सुइट्समा जेसिइ मापदण्ड अनुसार थप पाँच अपरेटिङ सुइट्सहरु थप गरी ८ वटा अत्याधुनिक मोडुलर सुइट्स सञ्चालनमा ल्याइनेछन् ।’ त्यस्तै अस्पतालमा कार्डियोलोजी सेन्टर, डाइजेस्टिभ डिजिज सेन्टर, मदर एण्ड चाइल्ड सेन्टर, आइभिएफ सेन्टर, पल्मोनरी सेन्टर र ट्रमा केयर सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिइन् ।
लगानीकर्ताको ध्यान प्रमोटर सेयरमा, एकै दिन नेपाल लाइफको ११ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला लगानीकर्ताका ध्यान संस्थापक (प्रमोटर) सेयर खरिदतर्फ गएको छ । बुधबार २१ अंकले सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा १ लाख कित्ता सेयर प्रमोटर सेयर किनबेच भएको छ । नेपाल लाइफको प्रोमटर सेयर किनबेचले बुधबारको सेयर कारोबार बढाएको हो । नेपाल लाइफको सेयर मूल्य १ हजार ७५२ रुपैयाँ छ । आधा मूल्यमा सेयर प्रमोटर सेयर किनबेच हुने गरेकोमा नेपाल लाइफको साधारण भन्दा २२४ रुपैयाँमा भन्दा बढी मूल्यमा किनबेच भएको छ । नेपाल लाइफको प्रमोटर सेयर मात्रै १० करोड ९९ लाख ५८ हजार रुपैयाँ रहेको छ । कुल ८ वटा कारोबारमा २८ नम्बर ब्रोकरले सेयर बेचेको र १७ नम्बरले सेयर खरिद गरेको देखाएको छ । दुबै कम्पनी मारवाडी समुदायको हो । बुधबार ७६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार बढेका बेला प्रमोटर सेयरको किनबेच हुने गरेको एक ब्रोकरले बताए । साधारण सेयरको आधा मूल्यमा किन्न पाइने र प्रतिफल उतिनै पाइने भएपछि बजार घटेका बेला लगानीकर्ताको आर्कषण प्रमोटर सेयरमा हुने ती ब्रोकरको भनाई छ । मारवाडी व्यवसायीले नेपाल लाइफको प्रमोटर सेयर खरिद गरेको स्रोतको भनाई छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रतिकित्ता १ हजार ९५५ रुपैयाँमा १० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डले चुक्तापुँजी बढाउन सत्प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि कारोबार बढेको छ ।
टेलिकमको सेयर बेच्नेलार्इ ठूलो नोक्सान, पीडितको गुनासाे सुनुवाई हुने नेप्सेको भनाई
काठमाडौं । आज नेपाल टेलिकमको सेयर बेच्नेहरु डुबेका छन् । सेयर किन्नेहरुलाई राम्रो फाइदा भएको छ । नेपाल टेलिकमले पुस १२ गते बुक क्लोज हुने सूचना पुस ९ गते पत्रिका मार्फत जनाएको थियो । सोहि सूचनाको आधारमा लगानीकर्ताले कम्पनीले दिने नगद लाभांश बुक गर्दै आज कम मूल्यमा सेयर बिक्री गरेको थिए । हिजो प्रतिकित्ता ८६० रुपैयाँमा कारोबार भएको टेलिकमको सेयर आज ८४३ मा कारोबार शुरु भएको थियो । कम्पनीले दिने ५५ रुपैयाँ नगद लाभांश बुक गर्दै धेरै लगानीकर्ताले प्रतिकित्ता ८११ रुपैयाँसम्ममा बेचेका थिए । बेच्नेहरुको लागि दुःखद खबर आयो र किन्नेहरुको लागि खुशीको खबर आयो । टेलिकमको बुक क्लोज पुस १६ गते मात्र हुने भयो । नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्–नेप्सेसँग टेलिकमले गरेको सम्झौता अनुसार बुक क्लोज हुने मितिभन्दा एक हप्ताअघि नै सूचना प्रकाशित गर्नु पर्ने थियो । तर ९ गते सूचना जारी गरेर १२ गते बुक क्लोज हुने जानकारी दियो । टेलिकमले सम्झौता उल्लंघन गरेको भन्दै टेलिकमलाई पत्र लेखेपछि टेलिकमले पुस ११ गते नेप्सेलाई पत्र लेख्दै बुक क्लोज १६ गतेदेखि ३० गतेसम्म रहने जानकारी दियो । तर नेप्सेले पुस १२ गते मात्र टेलिकमको पत्र पायो । ‘११ बजेपछि सूचना अपडेट भएको हो’ प्रबक्ता पराजुलीले भने । ढिलोगरी सूचना प्रकाशित भएको कारण वा सम्बन्धित कम्पनीको गलत सूचनाको कारण सेयर किनबेच गर्दा हुने नोक्सानीको बारेमा नेप्सेमा सूनुवाई हुने उनले बताए । ‘पुस १२ गते नेपाल टेलिकमको सेयर बेचेर नोक्सान भयो भन्दै पीडित आए भने त्यसको सुनुवाई हुन्छ’ प्रबक्ता पराजुलीले भने । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौलेले नेप्सेलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन् ‘नेप्से, लगानीकर्ता मर्कामा परे । टेलिकमले गरेको सूचनाको दुरुपयोग लगानीकर्ताको सहनशीलता बाहिर छ।’ नोक्सानमा परेकालाई क्षतिपूति दिने वा नदिने निर्णय गुनासो सुनुवाई समितिले गर्ने पराजुलीले बताए ।
किन जाँदैछ सेयर बजारमा पहिरो ? यस्ता छन् कारण
काठमाडौं । ‘हामीले सेयर कर्जाको ब्याजदर १५ प्रतिशत पुर्याएका छौं, त्यसको सिधा अर्थ भनेको सेयर कर्जा लिन नआउनु भन्ने नै हो’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको भनाई हो यो । अर्थात बाणिज्य बैंकहरुले यतिबेला सेयर कर्जा कटौती गरेका छन । बरु उल्टै मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । बजारमा लगानी योग्य पुँजीको पर्याप्तता नभएका संकेतहरु पनि यथेष्ठ मात्रामा देखिईसकिएको छ । निर्वाचनपछि बजारमा आएको भनिएको पुँजी पनि बैंकिङ च्यानलमा आईनसकेको स्पष्टै देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो चौमासिक प्रतिवेदनका अनुसार बैंकहरुको निक्षेप संकलन दर भन्दा पनि कर्जा लगानीको दर बढि देखिएपछि सावधानी अपनाउन भनिसकेको छ । ‘वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ ।’, राष्ट्र बैंकले भनेको छ । केन्द्रिय बैंकले कर्जा प्रवाहमै सावधानी अपनाउन भनिरहेका बेला अनुत्पादक मानिएको सेयर कर्जामा लगानी बढाउने सम्भावनै देखिन्न । मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले आफ्नो कोर क्यापिटलको ४० प्रतिशत मात्रै सेयरमा कर्जा लगाउन पाउने व्यवस्था गरेको छ । त्यसका अलवा बजारमा सेयरको आपुर्ति ह्वात्तै बढेको छ । धेरै कम्पनीले भर्खरै हकप्रद सेयर निष्काशन सम्पन्न गरेका छन् । कतिपय कम्पनीको आइपिओ पाइपलाइनमा रहेको छ । त्यस्तै अधिकांश बाणिज्य बैंकहरुले भटाभट बोनस सेयर घोषणा गरिरहेका छन् । केहि जलविद्युत कम्पनीहरुको आइपिओ समेत पाइपलाइनमा छ । सेयरको अत्याधिक आपुर्तिका कारण पनि सेयर बजारमा पहिरो गैरहेको छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजार घटाउन सबै निकाय लागिपरेको आरोप लगाए । उनले नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेको निरिहताले ब्रोकर र सिमिति लगानीकर्ताले बजारमा अनावश्यक चलखेल गरेको दावी गरे । ‘बजार घटिरहेको छ तर सेयर कारोबार भने खासै घटेको छैन, सिमित मान्छेहरुले त्रास फैलाएर सस्तोमा सेयर किनिरहेका छन, बैंकहरुले पनि अनावश्यक रुपमा ब्याजदर बढाएका छन’, रौनियारले भने । अर्कातिर सेयरमा भ्याट लगाउने सरकारी अभियान अझै वार वा पार भैसकेको छैन् । आन्तरिक राजश्व विभागले सबै ब्रोकरसँग भ्याट असुल्ने स्पष्ट पारिसकेको छ, त्यस्तै आगामी आर्थिक बर्षदेखि सेयरमा भ्याट लगाउने पनि बताईरहेको छ । सेयरमा भ्याटको लफडाले पनि बजार घटाउन ठुलै भूमिका खेलिरहेको देखिन्छ । त्यसका अलवा राजनीतिक अस्थिरताले पनि बजारमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको देखाउँछ । स्थिर सरकार मार्फत विकास र समृद्धिको सपना बाढ्दै बामपन्थीहरुले निर्वाचन जितेका थिए । तर सरकार बन्न ढिलाई भैरहेको छ र कसको नेतृत्वमा कस्तो सरकार बन्ने हो भन्ने अझै एकिन भएको देखिन्न । ‘काँग्रेस, माओवादी र मधेशवादी मिलेर सरकार बनाउँछन् भन्ने हल्ला फैलिएको छ, यसले स्थिर सरकार नआउने भन्ने मनोविज्ञान लगानी कर्तामा देखिन्छ’, रौनियारले भने । सेयर बजारमा लगानी गर्नेहरुले समाजिक सञ्जालहरुमा बिभिन्न ग्रुपहरु बनाएर सेयर बजार ओरालो लगाईरहेको आरोप पनि रौनियारको छ । सेयर बजार अत्यन्तै संवेदनशिल क्षेत्र हो, यसमा प्रवाह हुने सानो सूचनाले पनि ठुलो प्रभाव राख्छ । अहिले बैंक तथा वित्तिय संस्थाहरुले निरन्तर बढाईरहेको ब्याजदर, सेयर कर्जाको कटौती, बजारमा सेयरको आपुर्तिमा भैरहेको तिब्र वृद्धि, अनिश्चितताको भूमरीमा फसेको राजनीतिक वातावरणमा सेयर बजारका खेलाडीहरुले ठुलै माछा मारिरहेको देख्न सकिन्छ । सेयर बजार निरन्तर ओरालो लाग्नु तर सेयर कारोबारको आकारमा भने खासै गिरावट नआउनुले पनि कुनै समुहले फाइदा लिईरहेको अनुमान सहजै गर्न सकिन्छ ।
सेयर बजार २१.५३ अंकले ओरालो, कारोबार ७६ करोड
काठमाडौं । बुधबार पनि सेयर बजार २१.५३ अंकले आरोलो लागेको छ । बुधबार बजार खुल्ने वित्तिकै ओरालो लागेर १४२२.३२ अंकमा झरेको बजार १२ः३० बजे फेरी बढेर १४४३.३० अंकमा पुगेको थियो । तर त्यसपछि निरन्तर ओरालो लागेको सेयर बजार अन्ततः २१.५३ अंकले घटेर १४२५.५१ अंकमा आईपुगेको हो । बजार घटेको भएपनि बुधबार ७६ करोड ५७ लाख रुपैंयाँ मूल्यमा १५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भएको थियो । दोहोरो अंकले बजार घट्दा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटेर सेयर र स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर १० करोड भन्दा बढि मूल्यको कारोबार भएको छ ।
१ जिल्ला कारोबार गर्ने विकास बैंक र वित्त कम्पनीलाई पुँजी बढाउन २ वर्ष म्याद थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्लामा वित्तीय कारोबार गरिरहेका विकास बैंक वित्त कम्पनीलाई चुक्तापुँजी वृद्धिको समय २ वर्ष थपेको छ । केन्द्रीय बैंकले एक निर्देशन जारी गरी ०७६ को पुससम्म चुक्तापुँजी नपुर्याए कार्वाही गर्ने चेतावनी दिएको छ । वाणिज्य बैंक, विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीले गत आर्थिक वर्ष ०७३/०७४ भित्र पुँजी पुर्याउनु पर्ने थियो । अधिकाँश बैंक तथा वित्तीय संस्थाले चुक्तापुँजी बढाउन बोनस सेयर, हकप्रद सेयर र थप निष्कासन (एफपीओ) जारी गरेका छन् ।
तमोर नदीको पुल फागुनभित्रै बन्ने
ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त पुलको निर्माण कार्य आगामी फागुन मसान्तभित्रै सक्ने गरी काम भइरहेको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए । उहाँका अनुसार अहिले नदीमा पानीको बहाव घटेकाले टेका लगाउनेलगायतका कार्यलाई तीव्र बनाइएको छ । आयोजना प्रमुख नेपालीले भने, “निर्माणका लागि आवश्यक सबै प्रकारका सामग्री ढुवानी भइसक्यो, चाँडै टेका लगाइसक्ने गरी काम भइरहेको छ, यसपछि पुल जोड्ने काम हुन्छ ।” रु दश करोडको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा निर्माण सम्झौता भए पनि ठेकेदारले समयमा काम नगर्दा निर्माण कार्य अलपत्र परेको थियो । अढाइ वर्षभित्रै सम्पन्न हुने गरी कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग निर्माण सम्झौता गरेका थिए । तर ठेकेदारकै लापरबाहीले आठ वर्षसम्म निर्माण कार्य अलपत्र बनेको स्थानीयवासी बताउँछन् । निर्माण सम्झौता भएको पाँच वर्षपछि बल्ल वर्षात्को समयमा कामले गति लिँदै गर्दा निर्माणकै क्रममा दुई वर्षअघि बाढीले पुल बगाएको थियो । यता सबै सामान ल्याएर समयमा नै काम थालिएकाले यो वर्ष चाहिँ पुल बन्ने छाँटकाँट देखिएको स्थानीयवासीले बताएका छन् । स्थानीय सोनाम मोक्तानले भन्नुभयो, “अहिले हिउँदकै समयमा सामान ल्याएर काम भइरहेको देखियो, अब चाहिँ पुल बन्छ भन्नेमा हामी विश्वस्त छाँै ।” यसअघि पुल नबन्दा नदी पारिका क्षेत्रमा विकासले गति लिन नसकेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका थिए । अहिले दोभान बजारको वारिसम्म बस, ट्रक, ट्याक्सीलगायतका सवारीसाधन पुग्छन् । तर पारिपट्टिका आधाजसो गाउँमा सडक पुगे पनि पुल नभएकाले त्यहाँसम्म गाडीमा पुगेका यात्रुलाई ओर्लेर हिँड्नु पर्ने बाध्यता छ । अर्कातर्फ झोलुङ्गे पुलबाट सामान तारेको ढुवानी भाडा महँगो तिर्नुपर्ने हुन्छ । स्थानीय मजदुरले ५० किलो तौलको बोरा तारेको मात्रै ३० लिन्छन् । खुद्रा सामान तारेको प्रतिकिलो १ रूपैयाँ लाग्छ । साविकका गाविसहरु निघुरादिन, फूलबारी, हाङ्पाङ, चाँगे, नाल्वु, थुकिमा, लिङ्तेप, खाम्लुङ, सान्थाक्रा, साँघु, ढुङ्गेसाँघु र फाकुम्बामा कच्ची सडक निर्माण भएका छन् । छिमेकी मुलुक चीन र भारतलाई प्रदेश नं १ बाट छोटो दूरीमा जोड्ने तमोर करिडोर पनि यही पुल हुँदै जान्छ भने छोटो दूरीमा नै तेह्रथुम, संखुवासभा, धनकुटा हुँदै धरान, विराटनगरजस्ता प्रमुख शहरसँग ताप्लेजुङ सडक सञ्जालले जोडिने छ । रासस