विकासन्युज

१४५ मेगावाट बिजुली लिन कुलमान भारत प्रस्थान

काठमाडौँ । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिए । प्रतिनिधिमण्डलमा कार्यकारी निर्देशक घिसिङ र प्रवक्ता अधिकारी सम्मिलित छन्। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गर्ने र सम्झौता नवीकरण गर्ने कार्यसूची रहेको छ । एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआएको र सम्झौताको म्याद सकिन लागेपछि थप छलफल आवश्यक देखिएको प्राधिकरणले जनाएको छ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदैछ । ढल्केबर—मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ । भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा विद्युत्भार कटौती हुने आशंका बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकका रुपमा लिएको छ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको बताइएको छ । तीन महिना पहिले प्राधिकरण र एनभिभीएनबीच भएको सम्झौता नवीकरण गरेर विद्युत् आयातमा सहजता ल्याउने लक्ष्य राखिएको त्रिभुवन विमानस्थलबाट प्रवक्ता अधिकारीले भने “दिल्लीमा विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल हुन्छ ।” रासस

पाँचौं हाकिम खोज्दै पुननिर्माण प्राधिकरणः ६ लाख ८८ हजार भूकम्प पीडित अझै त्रिपालमा

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको २ बर्ष पुरा भएको छ । पाँच बर्षभित्र पुननिर्माणको काम सक्ने लक्ष्यसहित स्थापना भएको प्राधिकरणमा २ बर्षभित्र ४ जना प्रमुख कार्यकारी अधिकृतले जागिर खाएका छन् र यतिबेला पाँचौं हाकिमको खोजी पनि सुरु भैसकेको छ । तर अझै पनि ६ लाख ८८ हजार १ सय ९१ भूकम्प पीडित त्रिपालमै बस्न बाध्य छन् । सुरुमा तत्कालिन योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्राधिकरण प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए । तर पछि केपी ओली सरकारले सुशिल ज्ञवालीलाई प्राधिकरण्को सिइओ बनायो । ओली सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री बनेपछि ज्ञवालीलाई हटाएर पुनः  पोखरेललाई नै सिइओ नियुक्त गर्यो । तर प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बन्न पोखरेलले राजीनामा दिए । पोखरेलले दोश्रो इनिङ त्यागेपछि अहिले युवराज भुषालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । बामपन्थी नेतृत्वमा नयाँ सरकार गठन भएमा प्राधिकरणबाट भुषाललाई पनि निकालिने छ र पाँचौं प्रमुखका रुपमा नयाँ व्यक्ति नियुक्त हुनेछन् । प्राधिकरणले पाँचौं हाकिम पाउनै लाग्दा पनि भूकम्प पीडितहरुले भने अझै पनि घरको बास पाएका छैनन् ।

सरकारले सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने, प्यान अनिवार्य गरिदै

काठमाडौं । सरकारले सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउने भएको छ । साना ठुला सबै लगानीकर्तालाई करको दायरामा ल्याउन अर्थ मन्त्रालयले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । हाल सेयर किनबेच गर्दा व्यक्तिगत ५ र संस्थागत १० प्रतिशत पुँजीगत लाभकर मात्र तिरे पुग्ने व्यवस्था छ । अब लगानीकर्ताले पुँजीगत लाभकरको अतिरित्त सेयर कारोबारबाट भएको कमाईको आफैले मूल्याँकन गरेर सोही अनुसार वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो । सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन प्यान लिनुपर्ने व्यवस्था गर्न लागेको अर्थ मन्त्रालयका राजश्वसचिव शिशीर ढुङानाले बताए । सेयर लगानीकर्तालाई प्यान अनिवार्य लिने व्यवस्था कार्यान्वयनका लागि आन्तरिक तयारी भइरहेको उनले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमार्फत प्यान अनिवार्य गरिने उनको भनाई छ । कर कार्यलयले ब्रोकर कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) निर्धारण गरी तिर्नलाई धमाधम पत्राचार गरिरहेका बेला सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउन लागेको हो । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य गर्ने योजना ल्याएपछि लगानीकर्ताले विरोध गरेका थिए । लगानीकर्ताको विरोध भएपछि पछि बोर्ड पछि हटेको थियो । यता अर्थले नै प्रक्रिया थालेपछि प्यान अनिवार्य हुन लागेको हो । सेयर बजारमा १४ लाख बढी लगानीकर्ता भएको अनुमान गरिएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारले करको दर भन्दा पनि प्रणालीलाई सुधार गरेर दायरामा ल्याउन प्रयासअन्र्तगत लगानीकर्तालाई पनि कर तिराउन लागेको हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व उठाउदै छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि मुद्धतिमा १० प्रतिशत ब्याज दिने

  काठमाडौं । अन्य वाणिज्य बैंकले जस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि मुद्धति निक्षेपको ब्याज दर बढाएर १० प्रतिशत पुर्याएको छ । बैंकले १ वर्षे मुद्धति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत ब्याज दर दिने गरी नयाँ मुद्धति निक्षेप योजना ल्याएको हो । एक साताअघि बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशत बनाएको थियो । बैंकले एक साताभित्रै मुद्धति निक्षेपको ब्याजदर बढाएको छ । केही बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पुर्याइ सकेका छन् ।अधिकांश बैंकको ब्याज दर १० प्रतिशत माथि छ । स्ट्याण्र्ड चाटर्ड बैंकको आधार ब्याजदर अन्य निजी बैंकको भन्दा कम रहेको छ ।

जानकी फाइनान्सको साधारणसभा पुस ३० मा, १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २१ औं साधारणसभा पुस ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत अर्थात ६ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । सभाले संस्थापकतर्फ ३ जना र साधारण समूहतर्फ २ जनालाई सञ्चालक समितिमा निर्वाचित गर्ने छ । संस्थालाई वाणिज्य बैंक तथा विकास बैंकसंग गाभिन र प्राप्तिका लागि सम्पत्ती तथा दाइत्व मुल्याँकन (डीडीए) प्रतिवेदन तयार गर्नका लागि मूल्याँकनकर्ता नियुत्त गर्ने प्रस्ताव सभामा पेश हुने फाइनान्सले जनाएको छ । यसैगरी कम्पनीको संस्थापकतर्फ सेयर अनुपात ६० बाट घटाएर ५१ प्रतिशत कायम हुने भएको छ । ९ प्रतिशतलाई साधारण सेयरमा परिणत गर्ने तयारी संस्थाको छ ।

पोखरा फाइनान्सको हकप्रद सेयर पुस ३० गतेदेखि बिक्री खुला

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पुस ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर ०.१५ अनुपातमा ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर ७५ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । हकप्रद निष्कासन बन्द फागन ६ गते हुने फाइनान्सले जनाएको छ ।

गुडविल फाइनान्सले ल्यायो ‘आई एम मास्टर अफ बचत एण्ड आर्जन’ कार्यक्रम

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम शुरु गरेको छ । ‘आई एम एमबीए’ भनेको मैले एमबीए पास गरेको छु भन्ने होइन । यसको अर्थ हो–म बचत र आर्जनको मास्टर हुँ, अर्थात शिक्षक हुँ । झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र बचत र आर्जनमा उत्प्रेरण वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । बचत गर्ने बानीले थप आर्जन गर्न सहयोग पुग्ने, यसरी बचत गरेको पैसाबाट पछि व्यवसाय गर्न सकिने, स्वारोजगार बन्न सकिने, यसले आर्थिक विकासमा सहयोग पुग्ने सन्देश स्कूल कलेजका विद्यार्थीसम्म पुर्याउन आवश्यक रहेको उनले बताए । ‘स्कूल तहदेखि विद्यार्थीलाई ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि आई एम एमबीएको एप तयार गरेको छौं’ तुलाधरले भने–‘युवाहरुको हातहातमा स्मार्ट फोन भएकोले एप मार्फत उनीहरु माझ वित्तीय साक्षरताको सन्देश दिने प्रयास गरेका हौ ।‘ यस एपमा वित्तीय क्षेत्रको आधारभूत ज्ञानका साथै सेयर मूल्य, कारोबार, विदेशी मुद्रा विनियम दर, सुनचाँदीको मूल्य दर, क्यालकुलेर तथा कन्भर्टर, डेट कन्भटर, वित्तीय क्षेत्रका समाचार, लेख,लगानी सम्बन्धी धारणाहरु पढ्न सकिन्छ । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरेका छन् । एप प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने छ । साथै, कम्पनीले ‘आम्दानीका लागि बचत’ शिर्षकमा सफलताका कथाहरु समेटिएको किताव पनि सार्वजनिक गरेको छ । जो मान्छेसँग विगतमा केही पनि थिएन, उनीहरु आफ्नो आम्दानीको केही हिस्सा बैंकमा बचत गर्दै जान्छन् र त्यो पैसाले आफैले उद्यम गर्छन, थप आर्जन गर्छन, उनीहरुको कथाहरु किताबमा प्रकाशित भएका छन् । साथै वित्तीय क्षेत्रमा प्रयोग हुने शब्दहरुको व्याख्या सरल भाषमा गरिएको छ । साथै सामाजिक दाहित्वको रुपमा फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्र सर्वसाधारणले देख्ने गरि राखिने मेयर विद्यासुन्दर शाक्यले बताए । होलोग्रामको मर्मत फाइनान्सले गर्ने भएको छ ।    

पश्चिमी वायु सक्रिय: हिमपातको सम्भावना

काठमाडौँ ।  केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । “पश्चिमी वायुको सामान्य प्रभावले नै आज पश्चिमका एक/दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ,” उहाँले भनीन  । आज काठमाडौँ उपत्यकासहित देशका मध्य र पश्चिमी भेगमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रतिकूलकै कारण तराईका केही विमानस्थलबाट काठमाडौँ उडान भर्न नसकेको बताइएको छ । काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १९ डिग्रिसेल्सियस रहेको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि उपत्यकासहितका क्षेत्रमा चिसो बढेको छ । पुसको पहिलो साता काठमाडौँको न्यूनतम तापक्रम घटेर दुई डिग्रिसेल्सियससम्म पुगेको थियो । रासस