मुद्धति निक्षेपको ब्याज ११.५ प्रतिशत पुग्यो, किन बढ्दैछ ब्याज दर ?
काठमाडौं । वाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत पुर्याएका हुन् । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले ब्यक्तिगत मुद्धति निक्षेपमा सबैभन्दा बढी ब्याजे दिने योजना ल्याएको छ । बैंकले आइतबार १२० दिनका लागि साढे ११ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्धति योजना सार्वजनिक गरेको हो । अधिकाँश बैंकले छोटो अवधिका लागि भन्दै निक्षेप तान्न बढी ब्याज दिने योजना ल्याएका हुन् । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल गत वर्ष बढी ब्याज दिएर लिएको निक्षेप परिपक्व हुदै गएकले त्यसलाई लक्षित गरेर यो योजना ल्याएको बताए । “बजारमा पुँजीको अभाव हैन, निक्षेप रोक्नका लागि यस्तो योजना ल्याएको हो” उनले भने । उनका अनुसार एनसीसीसंग लगानी गर्न पर्याप्त पुँजी छ । कुमारी बैंकले पनि १ सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार ल्याएको छ । यस्तै सेन्चुरी कर्मशियल बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । गत वर्ष लगानीयोग्य पुँजीको चरम अभाव हुँदा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली पनि तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्धति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । तरलता अभावको सम्भावना कायमै छ, गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनुपर्ने बाध्यता भएको बैंकरले भनाइ छ । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । ऋण लगानी गर्न रकम नभएपछि गत वर्ष वाणिज्य बैंकले बजारबाट १४ प्रतिशतसम्ममा निक्षेप उठाएका थिए । अधिकाँश बैंकको मुद्धति निक्षेपको रकम फिर्ता हुने समय आएपछि यसलाई रोक्न बैंकले व्यक्तिगत मुद्धतिमा ब्याज दर बढाएको राष्ट्र बैंकले जानकारी दिएको छ। केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी ४७ अर्ब रुपैयाँ छ । पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको राष्ट्र बैंकको भनाई छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले बिहीबार आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ । प्रभु बैंकले आइतबार आधार ब्याज दर ९.८० प्रतिशत रहेको जानकारी दिएको छ ।
नेपाल टेलिकमका लगानी कर्तालाई ५५ प्रतिशत लाभांश
काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले पुस ३० गतेको साधारण सभाबाट पारित गरेर सेयरधनीलाई लाभांश दिनेछ । नेपाल टेलिकमले गत आवमा १५ अर्ब ४२ करोड नाफा कमाएको थियो ।
कावेली विकास बैंकको हकप्रद सेयर लिलामीमा
काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले साधारण समूहतर्फको १२ हजार ५८७ कित्ता हकप्रद सेयर पुस ११ गते लिलामी गर्ने भएको छ । चुक्तापुँजी बढाउन गत मंसिर २९ गतेसम्म हकप्रद लिलामीका लागि आवेदन माग गरेकोमा नपरेको सेयर पुनः लिलामी गर्न लागेको हो ।
आफ्नै मैदानमा रियल मड्रिडको लज्जास्पद पराजय
काठमाडौं । स्पेनिस पावर हाउस रियल मड्रिड आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको छ । पहिलो हाफ बराबरीमा रोकिएको मड्रिडले दोश्रो हाफमा ३ गोल खाएको हो । ५४ औं मिनेटमा सुआरेजले बार्सीलोनाका लागि पहिलो गोल गरेका थिए भने ६० औं मिनेटमा बार्सीलोनाले पेनाल्टी पायो । मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । पेनाल्टीसँगै १० खेलाडीमा सिमि तबनेको रियलले इन्जुरी समयमा फेरी एक गोल खायो । बार्सीलोनाका लागि भिडालले तेश्रो गोल गरे । रियल मड्रिड लगातार तेश्रो पटक आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको हो ।
सर्पोट माइक्रो फाइनान्समा १ सय कित्ता सेयर हुनेले पनि सञ्चालक हुन पाउने
काठमाडौं । सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका १ सय कित्ता सेयर हुने पनि सञ्चालक हुन पाउने भएका छन् । हाल संस्थाको सञ्चालक हुन १ हजार कित्ता सेयर आवश्यक पर्छ । यसलाई खारेज गरी १ सय कित्ता सेयरधनी पनि सञ्चालक हुन पाउने व्यवस्था गर्न सर्पोटले पुस २८ गते विशेष साधारणसभा बोलाएको छ । सञ्चालक समितिको संख्या ८ बाट घटाएर ७ बनाउने प्रस्ताव पनि विशेष सभाबाट पारित गर्ने योजना छ । जसअनुसार संस्थापकबाट ४, सर्वसाधारणबाट २ र १ जना विज्ञ सञ्चालक हुने प्रस्ताव सभामा पेश हुने छ ।
अपी पावरकाे साधारणसभा पुस ३० मा, २ अर्ब २६ करोड हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गर्ने
काठमाडौं । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अपीले २ सय प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पुस ३० गते बस्ने १४ औं वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा लैजाने भएको छ । साधारणसभाबाट प्रस्ताव पारित भएपछि हकप्रद निष्कासन गर्ने अपीको योजना छ । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । उसको प्रस्तावको बोर्डले अध्ययन गरिरहेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ । चालु आर्थिक वर्षको ३ महिनामा अपिको खुदनाफा घटेको छ । गत असोजसम्म कम्पनीले १ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनमा कम्पनीको खुदनाफा ५ लाख रुपैयाँ घटेको छ । बिजुली बेचेर हुने आम्दानीमा गिरावट आएपछि नाफा घटेको अपीले जनाएको छ । चालु आवको ३ महिनामा अपीले ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा अपीको आम्दानी ४ करोड ६१ लाख रुपैयाँ थियो । नाफामा कमी आएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आई ६ रुपैयाँ ३२ पैसामा सीमिति भएको छ । कम्पीको संचित कोषमा १० करोड ५२ लाख रुपैयाँ छ ।
युनाइटेड फाइनान्सको साधारणसभा पुस २९ मा, हकप्रद निष्कासन रद्ध र मुत्तुट फाइनान्सलाई साझेदार बनाउने
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगिसकेको बताउदै थप २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पहिलाको निर्णय रद्ध गर्न लागेको हो । गत वर्ष सम्पन्न २२ औं साधारणसभाले चुक्तापुँजी बढाउन १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीको पुस २९ गते बस्ने २३ औं साधारणसभामा हकप्रद सेयर निष्कासन रद्ध गर्ने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट १९ प्रतिशत बोनस सेयर निष्कासन गरेपछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्ने भएको छ । सभामा गत आवमा गरेको नाफाबाट १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार १३९ कित्ता बोनस सेयर वितरणको प्रस्ताव सभाबाट पारित हुनेछ । यस्तै भारतको कोचीस्थित मुत्तुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्राउने प्रस्ताव सभाबाट पारित हुने भएको छ । यसका लागि प्रिमियम दरमा प्रतिकित्ता १९० रुपैयाँमा २१ लाख कित्ता संस्थापक समूहको थप सेयर जारी गर्ने र यस सम्बन्धित सबै काम गर्ने अख्तियार सञ्चालक समितिमा दिने प्रस्ताव सभाबाट पारित हुनेछ । यस्तै फाइनान्सले निर्जीवन तथा जीवन बीमाको एजेन्टको भई काम गर्ने भएको छ । यसका लागि साभामा प्रस्ताव पारित गर्ने कार्यक्रम छ । सभाले सञ्चालक समितिको संरचनामा परिवर्तन गरी ४ जना संस्थापक, २ जना सर्वसाधारण र १ जना विज्ञ सञ्चालक समिति हुने प्रस्ताव पनि पारित गर्ने छ ।
बिजुली उत्पादन कम भएपछि व्यवस्थापनमा समस्या झेल्दै, कुलमान भन्छन, सबैको सहयोग आवश्यक छ
काठमाडौँ । हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ । प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग १ हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब ३ सय मेगावाट विद्युत् अपुग हुँदै आएको छ । आन्तरिक रुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती गर्दै आएको छ । हाल नेपालको उत्पादित विद्युत् जडित क्षमता १ हजार १० मेगावाट छ । तर हिउँदको समयमा कूल जडित क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै विद्युत् उत्पादन हुने गरेको छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा विद्युत् व्यवस्थापनका लागि समस्या पर्दै आएको छ । पुराना संरचना र जीर्ण प्रसारण लाइन तथा वितरण प्रणालीका कारण देशका विभिन्न स्थानमा समस्या आइरहेको छ । भक्तपुरमा पछिल्लो दिनमा देखिएको समस्या त्यसैको उपज भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ । प्राधिकरणले सबस्टेशनको मर्मत, प्रसारण लाइनको मर्मत तथा नयाँ संरचना निर्माणमा जोड दिएर तत्कालको व्यवस्थापन गर्दै आएको छ । हिउँदको माग सम्बोधन गर्न प्राधिकरणले ४७० मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । माग र आपूर्तिबीचको चर्को असन्तुलनका कारण विद्युत् वितरणमा समस्या आएको भन्दै सकेसम्म मिलाएर व्यवस्थापन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। दशैलगत्तै भक्तपुरको सबस्टेशनमा मुसा छिरेर प्रसारण प्रणाली अवरुद्ध गरायो भने शुक्रबार बाँकेको कुसुममा जंगली हात्तीले प्रसारण प्रणालीमा क्षति पुयाउँदा सुदूरुपश्चिम र मध्यपश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या खडा गरेको छ । प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेको कुलेखानीमा गत वर्षभन्दा यस वर्ष बढी पानी जम्मा भएका कारण समस्या कम हुने प्राधिकरणको प्रक्षेपण छ । प्रसारण लाइन बिग्रँदा तथा अन्य आयोजनाबाट विद्युत् उत्पादनमा समस्या आउँदा चलाउने गरी कुलेखानीको पानी जम्मा गरेर राखिएको प्राधिकरणको भनाइ छ । भार व्यवस्थापनमा कुलेखानीको यस हिउँदमा महत्वपूर्ण सहयोग हुने कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवको भनाइ छ । कुलेखानीमा हाल पानीको सतह १ हजार ५२४ मिटरमा छ । हिउँदभर ९२ मेगावाट विद्युत् उत्पादनका लागि उक्त परिणामको पानी उल्लेख्य रहेको प्राधिकरणको बुझाइ छ । यसै महिनाको अन्तिम साताबाट मात्रै कुलेखानी चलाउने योजनामा प्राधिकरण छ । कुलेखानी जलाशयका कारण हाल दुईवटा विद्युत्गृहले विद्युत् उत्पादन गर्ने गरेको छ । कुलेखानी तेस्रो निर्माणमा संलग्न निर्माण व्यवसायीले समयमा काम नगर्दा थप १४ मेगावाट विद्युत् उत्पादन गर्ने पानी त्यत्तिकै खेर फाल्नु परिरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन गर्ने बताइए पनि सम्भावना कम छ । यस्तै काबेली करिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेका तीन आयोजनासमेत समस्यामा परेका छन् । काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको भए राष्ट्रिय प्रसारण लाइनमा ५७ मेगावाट विद्युत् थप हुने भए पनि प्राधिकरणले ध्यान नदिएको काबेली ‘बी’ एक आयोजनाका प्रमुख रमेशकुमार न्यौपाने बताउछन् । उता प्रसारण लाइनको अभावमा दोलखाको सिप्रिङखोला जलविद्युत् आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या पैदा भएको छ । सो आयोजनाले १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । ३ मेगावाट विद्युत् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले प्रयोग गरिरहेको छ भने बाँकी विद्युत् खेर गइरहेको छ । चालु आवको ५ महिनामा निजी क्षेत्रका सात आयोजनाले ४० मेगावाट विद्युत् थप गरेका छन् । तर हिउँदमा ती आयोजनाले मात्रै २० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गरिरहेका छन् । हिउँदको समयमा नदीमा पानीको सतह घटेका कारण प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेका मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ले ८० मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाको क्षमता १४४ मेगावाट छ । आउदो फागुनमा कालिगण्डकीको बिजुली उत्पादन घटेर ४८ मेगावाटमा सीमिति हुने छ । प्राधिकरणले साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्दै विद्युत् व्यवस्थापनमा सहयोग गर्न गत वर्ष जस्तै आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबैको सहयोगले गत वर्ष जस्तै यस वर्षको हिउँदमा समेत विद्युत् व्यवस्थापनमा आफूहरु सफल हुने बताए । प्राधिकरणले यस वर्ष नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाएको २५ मेगावाटको सौर्य ऊर्जा उत्पादन प्रणाली प्रक्रियामा देखिएको विवादका कारण रोकिन गयो । कुलेखानी तेस्रो आयोजनामा निर्माण व्यवसायीले धोका दिए पनि निर्माण शुरु भएको करिब ११ वर्षपछि ३० मेगावाट क्षमताको चमेलिया आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाका कारण सुदूर र मध्यपश्चिममा विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ । रासस