मार्भल ब्राण्डका सातवटा उत्पादन जो गुणस्तरिय हुनुकाे साथै स्वास्थ्यका लागि पनि हितकारी
काठमाडौ । मार्भल ब्राण्डका पाइप तथा फिटिङहरु उत्पादन र बिकृ गर्दै आएको मार्भल टेक्नोप्लाष्ट प्रा.लि.ले बिहीबार ‘मार्भेलस नाइट’को आयोजना गरी आफ्ना उत्पादनहरुका बारेमा डिष्ट्रिब्यूटर तथा डिलर र मिडियाहरुलाई जानकारी गराएको छ । द लुब्रिजोल कर्पोरेशन, यूएसएको लाइसेन्स लिएर नेपालमा अन्तर्राष्ट्रियस्तरका पाइप तथा फिटिङरु उत्पादन गर्दै आएको मार्भल टेक्नोप्लाष्टले आयोजना गरेको सो कार्यक्रममा पाँचसय भन्दा बढि डिष्ट्रिब्युटर तथा डिलरहरु सहभागी थिए । कार्यक्रममा मार्भल टेक्नोप्लाष्ट प्रा.लि.का भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेतीले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको बताए । सञ्चेतीले मार्भल ब्राण्डका एनएसएफ सर्टिफाइड र लिड फ्रि उत्पादनहरुले स्वस्थ र स्वच्छ नेपाल निर्माणका लागि मात्रै नभएर नेपालको निर्माण क्षेत्रलाई बलियो बनाउन ठूलो योगदान पुग्ने बताए । यसको मुख्य कारण आफ्ना उत्पादनहरु वातावरणमैत्री, टिकाउ, गुणस्तरीयता र किफायती भएकाे कम्पनीले जनाएकाे छ । लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाउँदै आएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुई वटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ । पचास वर्षभन्दा बढि इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकता अनुसारका उत्पादनहरु दिन सफल भएको छ । अहिले मार्भल ब्राण्डका सातवटा उत्पादनहरु बजार छन् । यी सबै उत्पादनहरु इको–ग्रीन र लिड फ्रि छन् । यसले बाताबरणलाई कुनै हानीनोक्सानी नगर्नुका साथै मानव स्वास्थ्यमा असर गर्दैन । लिड फ्रि सीपीभीसी पाइप उत्पादन गर्ने मार्भल नै पहिलो कम्पनी हो नेपालमा । मार्भलको उपस्थितिले लिडयुक्त पाइपहरु प्रयोग गर्न बाध्य रहँदै आएका उपभोक्तलाई ठूलो राहत मिलेको छ । मार्भल टेक्नोप्लाष्टका लोकप्रिय उत्पादनहरुः १) मार्भल फ्लोगार्ड प्लास–पाइप एण्ड फिटिङ २) मार्भल प्योरफ्लो–यूपीभीसी कोल्ड वाटर पाइपिङ सिस्टम ३) मार्भल इकोडन–लिड फ्रि ड्रायनेज सिस्टम ४) मार्भल ड्युराड्रान– अण्डरग्राउण्ड ड्रायनेज पाइप ५) मार्भल अक्वाफ्लो– यूपीभीसी प्रेसर पाइप ६) मार्भल बोरवेल– क्यासिङ पाइप फर बोरवेल ७) मार्भल सेफडक्ट– फायर रेसिस्टेन्ट यूपीभीसी कन्डक्ट पाइप एण्ड फिटिङ लिड अर्थात शिशाको मिश्रणले पानीलाई विषाक्त बनाएर मानव स्वास्थ्यमा असर गर्छ । कानुनी रुपमा पनि यस्ता लिडयुक्त पाइपहरु प्रयोग गर्न पाइँदैन । मार्भलका उत्पादनहरु डब्ल्युएचओ स्टाण्डर्डअनुसार रहेको र उसले आफ्नै ल्याबमा परीक्षण गरेपछि मात्रै बजारमा ल्याउने गरेको कम्पनीको अध्यक्ष महाविरसिंह सन्चेतीले बताए । साथै, मार्भलका पीभीसी र सीपीभीसी पाइपहरु एनएस र एनएफएस सर्टिफिकेट प्राप्त छन् । यी पाइपहरुमा उच्च तापक्रम बहन गर्नसक्ने क्षमता छ । यसमा थर्मल एक्सपान्शन अर्थात पाइपको साइज घटबढ हुने समस्या न्यून छ । यो पाइपमा कुनै पनि लेउ लाग्ने वा पानी बग्ने प्रवाहमा अवरोध हुँदैन । ‘उपभोक्ता के कुरामा निश्चिन्त भए हुन्छ भने यो भनेको वान टाइम इन्भेष्टमेन्ट हो भन्दै मार्भल टेक्नोप्लाष्टले मानिसले जीवनमा घर प्रायः एक पटक मात्रै बनाउने भएकाले गुणस्तरसँग सम्झौता गर्न हुन्न’ सन्चेती भन्छन्–‘एक पटक पाइप फिटिङ गरिसकेपछि बीचमा खिया लाग्यो वा पानी चुहियो भनेर फेर्नुपर्ने अवस्था नआओस भन्ने सबैको चाहना हुन्छ भन्दै कम्पनीले त्यसको सुनिश्चितता मार्भलका पाइप तथा फिटिङहरुले गर्ने जनाएको छ ।’ कम्पनीका भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेतीको अनुसार अन्य कुनै पाइप प्रयोग भएको छ र मार्भलको पाइप हाल्नुपर्यो भने पनि जडान गर्न सजिलै सकिन्छ । मार्भलको पाइप जडान गर्दा स्पेस थोरै खान्छ । भित्ता थोरै काटेर, सिमेन्ट बालुवाको थोरै प्रयोगले यो पाइज जडान गर्न सकिन्छ । कोल्ड वाल्डिङ प्रोसेसबाट पाइप जडान हुने भएकाले पानी लिक हुने कुनै समस्या हुँदैन । निजी आवासदेखि ठूला अपार्टमेन्ट, कार्यालय भवन र व्यापारिक कम्प्लेक्सहरुको निर्माण बढने क्रमसँगै सीपीभीसी पाइपहरुको माग बढ्दै गएकाले उक्त माग पूर्ति गर्न आफूहरु सक्षम रहेको मार्भलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । आगामी दिनमा आफ्नो नेटवर्कलाई थप विस्तार गरी ग्रामीण क्षेत्रसम्म सहज आपूर्तिको व्यवस्था गर्ने योजना बनाएको मार्भल टेक्नोप्लाष्टले यसका बारेमा जनतालाई अझै धेरै परिचित गराउन बाँकी रहेको बताएको छ । विराटनगरमा रहेको मार्भल पाइपको उद्योगले मुलुकका अधिकांश स्थानमा आफ्ना उत्पादनहरु पुर्याउन सफल भइसकेको छ । यसको कच्च पदार्थ बाहिरबाट ल्याउनुपर्ने र लिड फ्रि हुने भएकाले सामान्य महंगो भएको बताउँदै सञ्चेती भन्छन्–‘एक पटक जडान गरेपछि जीवनभरलाई हुने भएकाले यो अन्य पाइपहरुभन्दा निकै सस्तो हो ।’ नेपालमै अन्तर्राष्ट्रियस्तरका पाइपहरु उत्पादन सुरु भएपछि भारतबाट आउने क्रम निकै घटेको उनले बताए ।
उखुको मूल्य निर्धारण गर्न माग
नवलपरासी । किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् । उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम जिल्लामा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नगर्दा तथा उचित मूल्य नपाउँदा किसान उखुखेती छाडी वैकल्पिक खेतीतर्फ लागेका छन् । गत वर्ष करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यस वर्ष करिब १५ लाख क्विन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताए । चिनी उद्योगले उखु किसानसँग उखु खरिद गरी एक वर्षपछि मात्र रकम भुक्तानी दिने र उचित मूल्यसमेत पाउन नसक्दा किसानले वर्षेनी क्रमशः उत्पादन घटाउँदै लगेका छन् । जिल्लामा सात हजार १४९ हेक्टरमा उखुखेती गरिँदै आएको छ । करिब १० हजार घरधुरी उखुखेतीमा संलग्न छन् । रासस
नयाँ बीमा कम्पनीले लाइसेन्स नपाउने, मर्जर र प्राप्ति उच्च प्राथमिकतामा
काठमाडौं । बीमा समितिले अब नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स नदिने भएको छ । समितिले भर्खरै मात्रै ९ वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएर पनि कारोबार आरम्भ गरिसकेका छन् । त्यस्तै, निर्जीवन तर्फ मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स कुरिरहेका छन् । तीमध्ये पनि सानिमा, अजोड र नेपाल जनरलले आसय पत्र पाईसकेका छन् । बीमा समितिले निर्जीवन तर्फका चार कम्पनीले लाइसेन्स पाएपछि नयाँ कम्पनीलाई लाइसेन्स नदिने स्पष्ट पारेको हो । १० वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिन अर्थमन्त्रालयले सैद्धान्तिक सहमति दिँदा नै थप बीमा कम्पनीलाई लाइसेन्स नदिनुभन्ने निर्देशन भएको थियो । ‘नयाँ बीमा कम्पनीको लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने लगायतका निर्देशन त्यतिबेलै अर्थमन्त्रालयबाट भएको थियो, हामी त्यसकै मर्मका आधारमा काम गर्छाै’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने । निर्जीवनतर्फ प्रक्रिया पुरा गरेर आए भने अब तीनवटा निर्जीवन बीमा कम्पनी थपिनेछन् । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिँदा नै अर्थमन्त्रायले समितिलाई केहि बुँदे मार्गदर्शन दिएको थियो । त्यसमा नयाँ लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्ज तथा एक्विजिशन गर्न प्रोत्साहित गर्ने नीति लिने भन्ने थियो । ‘अर्थमन्त्रालयको मार्गर्दशन अनुसार नयाँ लाइसेन्स बन्द गर्ने र भएका बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रोत्साहन गर्न हामी केन्द्रित हुनेछौं’, अध्यक्ष चापागाईँले भने । उनले पुर्नबीमा कम्पनीलाई बलियो बनाउने, कम्पनीहरुको क्षमता विकासमा जोड दिने, बाली तथा पशुबीमाको लागि छुट्टै संरचना बनाउने, सम्पत्ति बीमा र स्वास्थ्य बीमालाई प्रोत्साहन गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको पनि स्पष्ट पारे । हाल नयाँ पुरानासहित १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । १७ वटै निर्जीवन बीमा कम्पनी पनि सञ्चालनमै रहेका छन् । थप ३ वटा निर्जीवन बीमा कम्पनीले लाइसेन्सका लागि आसय पत्र पाएका छन् ।
प्राधिकरणकाे प्रसारणलाइन निर्माणमा ढिलाई, थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ । नेपालमै पहिलो ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी भइरहँदा विद्युत् नपाएपछि उद्यमीले ५० मेगावाट विद्युत् उत्पादन गर्ने गरी थर्मल प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ । नेपालको विशाल समूह र चीनको होङ्सी समूहको संयुक्त लगानीमा नवरपरासीको सर्दीमा उद्योग स्थापना भएको छ । आगामी फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन गर्ने तयारीमा उद्योग छ । कूल ३६ अर्ब रूपैयाँ लागतमा उद्योग स्थापना भए पनि विद्युत्का लागि थप १ अर्ब ३६ करोड रूपैयाँ लगानी गर्नुपर्ने होङ्सी शिवम् उद्योगका नायब महाप्रबन्धक गौरव गोयलले जानकारी दिए। उद्योगले सुधारिएको स्टिम इञ्जिन प्रणालीबाट खेर जाने धुलोलाई प्रयोग गरेर १२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी रहेको छ । उद्योगबाट दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । कूल ८० मेगावाट विद्युत् उपलब्ध भए दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सकिने गोयलको भनाइ छ । सरकारले उद्योग र कलकारखानाका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि सोअनुसारको काम हुन सकेको छैन । सरकारले आफ्नै प्रतिबद्धता पूरा नगरेका कारण होङ्सी शिवम् सिमेन्ट उद्योगमा समस्या देखिएको हो । मुलुकमा औद्योगिक वातावरण बनाउने भन्दै एक दशक अगाडि उद्योग स्थापनामा गर्ने क्षेत्रमा अत्यावश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति ल्याएको थियो । तर सो नीति हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । आवश्यक विद्युत् उपलब्ध नभएका कारण उद्योग स्वयंले नै १७ वटा आफ्नै डिजेल प्लान्ट राख्ने काम शुरु गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो आयोजनामा सरकारले दुई वर्षभित्र विद्युत् जोड्ने आश्वासन दिएको गोयल स्मरण गर्छन् । प्राधिकरणले भने सरकारको अनुरोधपछि बर्दघाट सर्दी प्रसारण लाइन निर्माणको काम अगाडि बढिसकेको जानकारी दिएको छ । तर आगामी फागुनबाट सिमेन्ट उत्पादन गर्ने तयारीमा रहेको उद्योगसम्म पुयाउने प्रसारण लाइनको सर्वेक्षण मात्रै सम्पन्न भएको छ । मुलुकमा ठूला भौतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक पर्ने सिमेन्ट भारतलगायतका मुलुकबाट आयात भइरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि गुणस्तरीय सिमेन्टमा देखिएको परनिर्भरता केही हदसम्म भए पनि अन्त्य हुने बताइएको छ । उद्योगका महाप्रबन्धक लाई विपेङले बिजुलीसँगै सडक र वन क्षेत्रको जग्गा प्रयोगमा समेत समस्या रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको दुम्कीबासबाट १२ किमी उत्तरी क्षेत्रमा स्थापना गरिएको उद्योगसम्म पुग्ने सडक उद्योग स्वयंले निर्माण गरेको छ । सडक ग्राभेलिङ गरिएको छ । उक्त सडक कालोपत्र गर्ने जिम्मा सरकारको हो । उद्योगले चुनढुंगा निकाल्ने पाल्पाको ज्यामिरेमा वन मन्त्रालयले आवश्यक सहजीकरण नगरेको नायब महाप्रबन्धक गोयलको भनाइ छ । वन मन्त्रालयले चुनढुंगा निकाल्ने स्थान बराबरको जग्गा उस्तै वातावरणमा खरिद गरेर उपलब्ध गराउन उद्योगलाई भनेको छ । उद्योगमा दैनिक एक हजार ५०० मजदुर कार्यरत छन् । स्थानीयस्तरमा रोजगारी उपलब्ध भएको छ भने सिमेन्ट आयातमा देखिएको परनिर्भरतासमेत अन्त्य हुने विश्वास लिइएको छ । उद्योगले बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने दाबी गरेको छ । जलविद्युत् आयोजना, पुल तथा ठूला संरचना बनाउन नेपालका अन्य सिमेन्ट उद्योगको गुणस्तर नपुग्ने भन्दै नायब महाप्रबन्धक गोयलले होङ्सी शिवम् सिमेन्ट उद्योगले नेपालमा पहिलोपटक उच्च क्षमताको सिमेन्ट उत्पादन हुन लागेको जानकारी दिए । रासस
रिलायन्स उद्योगले शुरु गर्यो उखु क्रसिङ
कलैया । मनहर्वा–५ स्थित रिलायन्स सुगर एण्ड केमिकल उद्योगले उखु क्रसिङ शुरु गरेको छ । उद्योगका उखु महाप्रबन्धक ओमप्रकाश शुक्लाका अनुसार उद्योगले यस वर्ष बारा, पर्सा र रौतहटका कृषकबाट खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । आव २०७३/७४ मा सो उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा उखुको अभावले गर्दा कूल १६ लाख ६४ हजार क्विन्टल मात्र क्रसिङ गरी कूल एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन गरेको थियो । रासस
हात्तिले टावरमा क्षति पुर्याएपछि बिजुली आपूर्ति बन्द, पश्चिमका केही स्थानमा लोडसेडिङ
काठमाडौं । कुसुम र कोहलपुरकाबीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी. डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याउदा विद्युत प्रसारण हुन नसकी सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । टावर नंम्बर ४८५ क्षतिग्रस्त भएपश्चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेपछि भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेको छ । सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस १६ गतेदेखि बुक क्लोज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आगामी पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ११ दिन बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चाल समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ ।
बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, मुक्तिनाथ विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । रुरल माइक्रोफाइनान्सको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको पनि २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ रुपैयाँ रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । त्यसैगरी, सिभिल लघुवित्तको पनि ४.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँ रहेको छ ।