विकासन्युज

प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिहीबार मात्रै सो मात्रा अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बैंकले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत २ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।

एभरेष्ट बैंकको नयाँ निक्षेप खाता संचालनमा, दुर्घटना र औषधी उपचार बीमा पाइने

काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, कुनै पनि ब्रान्चबाट कारोबार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ । त्यसैगरी, बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।

गरिमा विकास र डिप्रोक्स डेभलपमेन्ट बैंकको कहिले देखि बुक क्लोज?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको आगामी पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २८ गते कम्पनीको वार्षिका साधारणसभामा जाँदै छ । त्यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको पनि आगामी पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी पुस २७ गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ ।

आधा दर्जन व्यवसायीले चुनाव जिते, आधा दर्जन समानुपातिक कुर्दै

काठमाडौं । नेपालमा व्यवसाय र राजनीति पर्याय जस्तै बन्दै गएको छ । पछिल्ला केहि निर्वाचनहरुले पैसाको अपरिहार्यतालाई उजागर गर्दै आएका छन् । अब पैसावालहरुले मात्रै चुनाव जित्न सक्छन भन्ने गलत नजिर स्थापित हुँदै गएको छ । करोड भन्दा बढि खर्च नगरि प्रतिनिधी सभाको निर्वाचन जित्ने उम्मेदवारहरु सायदै भेटिन्छन् । यद्यपी उनीहरुले निर्वाचन आयोगमा भने २५ लाख भन्दा थोरै खर्च गरेको विवरण पेश गर्छन् । व्यवसायीक पृष्ठभूमिका भएका आधा दर्जन भन्दा बढिले प्रतिनिधी सभा सदस्यमा प्रत्यक्ष निर्वाचन जितेका छन । आधा दर्जन उद्यमी व्यवसायी भने समानुपातिक प्रणालीबाट सांसद बन्ने दौडमा छन् । रसुवामा दुई जना क वर्गका ठेकेदार निर्वाचनमा होमिएका थिए । एमालेका जनार्दन ढकाल र काँग्रेसका मोहन आचार्य । काँग्रेसका मोहन आचार्यले निर्वतमान सांसद समेत रहेका एमालेका जनार्दन ढकाललाई पराजित गरे । उता, पर्सा क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरमबाट उम्मेदवारी दिएका हरिनारायण रौनियार विजयी भए । रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक हुन् । झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट वैदेशिक रोजगार व्यवसायी लाल प्रसाद(एलपी) साँवा लिम्बुले निर्वाचन जितेका छन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए । धनुषा क्षेत्र नम्बर ४ बाट एमाले पोलिटब्युरो सदस्य रघुबिर महासेठले निर्वाचत जितेका छन् । युटिएल नेपालमा लगानी कर्ता रहेको महासेठ ठुला उद्यमीकै रुपमा चिनिन्छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित एमालेका रामविर मानन्धर पनि चलचित्र उद्योगी हुन् । अष्टनारायण चलचित्र मन्दिरका मालिक मानन्धरले धेरै चलचित्र निर्माण पनि गरेका छन् । मोरङ ३ मा मेडिकल कलेज सञ्चालक रहेका काँग्रेस उम्मेदवार सुनिल शर्मा पराजित भए भने धादिङ १ मा पेट्रोलियम व्यवसायी विश्व अर्यालले पनि पराजय व्यहोरे । धादिङ २ मै निर्माण व्यवसायी समेत रहेका काँग्रेस उम्मदवार दिलमान पाख्रिनले निर्वाचन हारे । काभ्रे १ मा काँग्रेसकै तिर्थ लामाले पनि निर्वाचनमा पराजित हुनु पर्यो । नाम चलेका निर्माण व्यवसायी कम्पनीका मालिक उनी २०७० सालको निर्वाचनमा भने विजयी भएका थिए । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निर्वाचन लडेका राप्रपा प्रजातान्त्रिकका बिक्रम बहादुर पाण्डेले पनि निर्वाचन जित्न सकेनन् । उनी पनि क वर्गको ठेकेदार कम्पनीका मालिक हुन् । सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाले पनि निर्वाचन हारे । उनको नेपाल र भारतका धेरै कम्पनीमा लगानी रहेको छ । समानुपातिकको पखाईमा अरबपतिहरु समानुपातिकको मत गणना सम्पन्न भएर पनि तथ्यांक विश्लेषणको काम भैरहेको छ । यतिबेला एमाले, काँग्रेस, माओवादी र मधेशवादी दलहरुको समानुपातिक सूचिमा परेका उद्योगी व्यवसायीहरु समानुपातिक सांसदको अन्तिम नामावली कुरिरहेका छन् । यसपाली काँग्रेसले सबै भन्दा धेरै उद्योगी व्यवसायीलाई समानुपातिक सूचिमा राखेका छ । जसमा नेपालका एक मात्र डलर अरबपति बिनोद, प्रभु ग्रुपका देवी प्रकाश भट्टचन, निर्माण व्यवसायी बहादुर सिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिब्यमणि राजभण्डारी, आनन्दराज मुल्मी, अनिलकुमार रुगंटा, सूर्यबहादुर केसी लगायत छन् । एमालेले भने मोति दुगडलाई मात्रै समानुपातिक सूचिमा राखेको छ । यस अघि एमालेका तर्फबाट राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचन लगायत समानुपातिक सांसद बनेका थिए ।

एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा सार्वजनिक, साढे १ लाखकाे बीमा गर्न सकिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा योजना अन्तर्गत “जन कल्याण”(म्यादी लघु जीवन बिमा योजना) सार्वजनिक गरेको छ । कम्पनीले जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका ग्राहकलाई लक्षित गरी बिहीबार(आज)देखि उक्त योजना सार्वजनिक गरेको हो । यस योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । यस योजना अन्तर्गत बीमितले दैनिक १ रुपैयाँ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक २२३ रुपैयाँ भुक्तान गरी १ लाख ५० हजार रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । न्युनतम १६ वर्षदेखि अधिकतम ६४ वर्षसम्मका मानिसले बीमा गर्न सक्नेछन् । उक्त बिमा शुल्क अवधी नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्ष र एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म रहेको छ । बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत १ लाख ५० हजार रुपैयाँ र दाह संस्कार खर्च वापत १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, दुर्घटनामा परी बीमित पूर्ण अशक्त वा अंगभंग भएमा तोकिएको रकम क्षतिपूर्ती स्वरुप प्रदान गरिनेछ । त्यस्तै, नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सकिने र ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ एडीबीको व्यवस्था रहेको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङले १० करोड ९१ लाख रुपैयाँ बोनस दिने

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको पुँजी करिब ८० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ रहेको छ ।

तरलता अभावको संकेत, निक्षेप रोक्न बाणिज्य बैंकले बढाए ब्याजदर, केही बैंकले कर्जा नै रोके

काठमाडौं । वाणिज्य बैंकहरुले लगानीयोग्य पुँजी कम हुदै गएको भन्दै मुद्धति खातामा रहेको निक्षेप बाहिरिन नदिन ब्याजदर बढाएका छन् । गत वर्ष लगानीयोग्य पुँजीको चरम अभाव हुँदा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली पनि तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्धति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । ‘तरलता अभावको सम्भावना कायमै छ, गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनुपर्ने बाध्यता भएको हो’ एक बैंकरले भने । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । ऋण लगानी गर्न रकम नभएपछि गत वर्ष वाणिज्य बैंकले बजारबाट १४ प्रतिशतसम्ममा निक्षेप उठाएका थिए । अधिकाँश बैंकको मुद्धति निक्षेपको रकम फिर्ता हुने समय आएपछि यसलाई रोक्न बैंकले व्यक्तिगत मुद्धतिमा ब्याज दर बढाएको नेपाल राष्ट्र बैंक स्रोतले बतायो । “अहिले बजारमा पर्याप्त तरलता रहेका बेला लगानी गर्ने रकम समस्या देखिन्दैन” स्रोतले भन्यो “गत साल महंगोमा उठाएको व्यक्तिगत मुद्धति निक्षेपलाई रोक्न बैंकले ब्याज दर बढाएका हुन् । बैंकिङ प्रणालीमा अझै ४६ अर्ब रुपैयाँ तरलता छ ।” पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको स्रोतको भनाई छ । अहिले बैंकबीच ब्याज दर बढाउन प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले पैसा उठाउन व्यक्तिगत मुद्धति निक्षेपमा न्युनतम् १० प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन् । मेगा बैंक, सेन्चुरी, माछापुच्छे्र, बैंक अफ काठमाण्डु र सानिमाललगायत अधिकाँश वाणिज्य बैंकले १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेका छन् । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना बिहीबार सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले बताए । विकास न्युजसंग कुरा गर्दै उनले केही बैंकमा तरलता भएपनि अधिकाँश बैंकसंग लगानी गर्ने रकम नभएको जानकारी दिए । केही बैंकले कर्जा रोकिसकेको जानकारी पाएको उनले सुनाए । निक्षेप तान्न सानिमाले पनि ब्याज दर बढाएको उनले बताए । “१२ प्रतिशत ब्याजमा निक्षेप उठाउदा कर्जाको ब्याजदर कति हुन्छ ? तपाइ नै अनुमान गर्नुस” उनले भने “त्यसैले सानिमाले घरकर्जा १३ र अन्यलाई १५ प्रतिशत ब्याज लिने भएको छ ।” कर्मचारी संचय कोषलगायत अन्य संस्थागत लगानीकर्ताले पनि ब्याज दर बढाएर १२ प्रतिशत पुर्याएको उनको भनाई छ । पुस मसान्तभित्र अर्बो रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा जाने भएकाले आउदा दिनमा तरलताको अभाव हुने संभावना देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । अहिले नै राज्यको ढुकुटीमा ३ खर्ब रुपैयाँ वचत रहेको बताउदै उनले पुसमा करको रुपमा रकम थप हुदा बजारमा तरताको समस्या आउने संभावना रहेको बताए । तरलताको अवस्था तलमाथि भइरहेकाले बैंकलाई योजना बनाउनका लागि प्रक्षेपण गर्न समस्या परेको उनको भनाई छ । गत वर्ष लिएको व्यक्तिगत मुद्धति निक्षेप रोक्नलाई ब्याजदर बढाउनु परेको उनको भनाई छ । माछापुच्छे्रले अहिले व्यक्तिगत निक्षेप रोक्न वार्षिक १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । संचय कोषलगायत संस्थागत निक्षेपकर्ताले ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको उनको भनाई छ । कोषका कामु प्रशासक दीपक रौनियारले बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशतमा ब्याज दिएको बताए । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले बिहीबार आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ ।

कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल

काठमाडौं । कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल भएकाे छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयका सचिवले त्यस्तो प्रक्रिया अघि बढाउँदा गलत नजिर बस्ने भनेपछि योजना बिचमै तुहिएको हो । ‘हामीले अदालति झमेलामा फसेको क्षेत्रमा यथास्थितीमै कालोपत्रे गरेर नागरिकलाई राहत दिन चाहेका थियौं, मन्त्रालयमा फाइल पनि पठाएका हौं तर रोकियो’, आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने । कुल १२.५ किलोमिटर लम्बाईको कलंकी–नागढुंगा सडक खण्डको २५ प्रतिशत क्षेत्रमा सडक विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेपछि आयोजनाले यथास्तिथीमै पिच गर्ने योजना बनाएको थियो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका थियौं तर सफल भएन ।’, श्रेष्ठले भने । उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव एक महिना अघि भौतिक पुर्वाधर मन्त्रालय पठाएका थिए । तर सचिवले यथास्थितिमै कालोपत्रे गर्दा सडक विस्तारका अन्य क्षेत्रमा पनि नकारात्मक नजिर बस्ने भन्दै फाइल फर्काइदिएको बताए । सचिवस्तरिय निर्णय गराएर कालोपत्रे गर्ने सोँच बनाएको आयोजना अब अदालती मामिला सुल्झिएपछि मात्रै काम अघि बढाउने निष्कर्षमा पुगेको छ । हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने । सो सडक खण्डका अधिकांश ठेक्को म्याद सकिनै लागेको छ तर हालसम्म २५ देखि ३० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ । अदालतका कारण ठेक्का लम्बिने अवस्था आएपछि ठेकेदार कम्पनीले क्षतिपुर्ति माग्ने अवस्था सृजना हुनेछ ।