विकासन्युज

टेलिकमले ल्यायो ‘विन्टर अफर’, पुस ७ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर भोलि (पुस ७ गते) देखि लागू हुनेछ । सो अफर आगामी माघ २१ गतेसम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ । १.  विन्टर अल टाइम डाटा प्याक  जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी, ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।   यो प्याक लिनका लागि डब्लुआईएन२५एमबी, डब्लुआईएन१५०एमबी, डब्लुआईएन५००एमबी लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्छ । २. विन्टर नाइट डाटा प्याकजिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने छ । विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।  यो प्याक लिनका लागि डब्लुएन१२०एमबी, डब्लुएन७००एमबी वा डब्लुएन१६००एमबी लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्छ । ३. विन्टर फेसबुक/इन्स्टाग्राम प्याक जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक  प्रयोग गर्न सकिन्छ । विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी, ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।  कम्पनीका अनुसार यो प्याक लिनका लागि डब्लुएफ५०एमबी, डब्लुएफ२७५एमबी, डब्लुएफ६००एमबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ । ४. एसएमएस प्याक  जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ । एसएमएस प्याक लिनका लागि एसएमएस१०० लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

ओलीको उदयसँगै मोतिहारी-रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन अन्यौलमा

काठमाडौं । एमाले र माओवादी केन्द्र सम्मिलित बामपन्थी गठबन्धनले सुबिधाजनक बहुमत ल्याएर सरकार गठन गर्ने वातावरण बनेसँगै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन अन्यौलमा परेको छ । पाइपलाइन सम्झौतामा उल्लेख गरिएको १५ बर्षसम्म इण्डियन आयल कर्पाेरेशनसँगै इन्धन खरिद गर्नुपर्ने व्यवस्थाका कारण सम्झौता नै अन्योलमा पर्ने देखिएको हो । एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ गते नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमबाटै १५ बर्षसम्म नेपालको पेट्रोलियम व्यापारमा भारतीय एकाधिकार हुनेगरि अघि बढेको पाइप लाइन सम्झौता नमान्ने बताएका थिए । उनले त्यस्तो सम्झौता संसोधन गर्ने वा खारेज गर्ने धारणा राखेका थिए । अब ओली प्रधानमन्त्री बन्दैछन र उनले सो सम्झौतामा रहेको १५ बर्षसम्म इन्धन खरिद गर्नुपर्ने व्यवस्था संसोधन गराउनुपर्ने हुन्छ । २५ बर्षसम्म नेपालले भारतसँग मात्रै इन्धन खरिद गर्नुपर्ने अडान लिएको इण्डियन आयल कर्पाेरेशन बल्लतल्ल १५ बर्षमा झरेको थियो । सो समय अवधी समेत घटाउने गरि नयाँ प्रस्ताव अघि बढेपछि पाइपलाइन सम्झौता नै संकटमा पर्नेछ । पाइपलाइन सम्झौतामा भएका कतिपय विषय मुलुकहितमा नभएको बताउदै उनले सकेसम्म सच्याउने र नभए सम्झौता खारेज गर्ने जानकारी दिएका हुन् । ‘मलाई त्यस्तो सम्झौता भएको छ जस्तो लाग्दैन, त्यस्तोे सम्झौता भएकै हो भने हामीलाई मान्य हुन्न, हामी नाका बन्दी लगाउँदा पनि नलाग्ने गरि देश बनाउन चाहान्छौं, आफ्नै घाँटीमा पासो लगाउने काम गर्दैनौं, त्यस्ता सम्झौता सच्याइन्छ’, ओलीले भनेका थिए । ओली प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा नेपालको कुल मागको ३३ प्रतिशत इन्धन चीनसँग खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । यथास्थितीमा पेट्रोलियम पाइपलाईन निर्माण सम्पन्न भएमा भारतले जुनसुकै समयमा फेरी पनि नेपालमा पेट्रोलियम पदार्थको अभाव सृजना गर्न सक्ने आशंका ओलीले व्यक्त गरेका हुन् । नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । तर नेपालले आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्नेछ । आयल निगमले पनि सरकारको निर्णय र निर्देशन बमोजिम नै अघि बढ्ने स्पष्ट पारेको छ । ‘आयल निगम भनेको सरकारको एउटा निकाय हो, सरकारले लिने निर्णय अनुसार नै हामी अघि बढ्ने हो, सरकारले जे गर भन्छ त्यहि गर्छाै, पाइपलाइन सम्झौता संसोधन गर्नुपर्छ भन्ने सरकारको निर्देशन आयो भने हामी प्रक्रिया अघि बढाउँछौं’, नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले भने । हाल पाइपलाईन निर्माणको कार्य आरम्भ भैसकेको छ भने पाइप ल्याउन काम समेत अघि बढिसकेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको थप दुई शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले थप दुई शाखा कालिकोट र दैलेखमा विस्तार गरेको छ । बैंकले आफ्नो ६२औं शाखा कालिकोटको नाग्ममा र ६३औं शाखा दैलेखको डाबमा विस्तार गरेको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा यस बैंकको चार वटा शाखा पुगेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ । बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।

नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो ।   केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन दिने कार्य स्थगन गरिएको जनाएको छ । राष्ट्र बैंकले २०७० सालमा सवारी साधान बिक्री गर्ने कम्पनीहरुको लागि सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने अधिकार दिएको थियो । हाल सवारी साधान बिक्रीमा अगुवाई गरेका ठूला अटोमावाईल्स कम्पनीहरुले सहायक कम्पनी खोलेर ग्राहकलाई सवारी किन्न कर्जा सुविधा दिदै आएका छन् ।  

सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुन्छ : ओली

शेयरबजारका समस्या राख्दै धितोपत्र दलाल संघ सञ्चालक शितल कोइराला भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् । आगामी सरकार गठन भएपछि पुंजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने ओलीले बताएका छन् । बधाइ दिन पुगेका नेपाल धितोपत्र दलाल संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बताएका छन् । ‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्’ ओलीले भने ‘तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’ ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाएका छन् । ओलीले धितोपत्र दलाल व्यावसायी संघ सञ्चालकहरुलाई भने ‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धमल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’ सञ्चार उद्यमीहरुको टोलीलाई अध्यक्ष ओलीले दलीय सहमतीबाट तयार गरिएको राष्ट्रिय सभागठन सम्बन्धि प्रस्ताव सरकारले स्थानीय तहको निर्वाचन पछि संसदमा पेश नगरेको बताए । ‘नियतबश त्यो प्रस्ताव सरकारले बेला छउन्जेल अगाडि बढाएन अहिले आफ्नो अनुकुल बनाएर अध्यादेशको रुपमा राष्ट्रपतिकँहा पुर्याएको छ ’ ओलीले भने ‘राष्ट्रपतिलाई अकारण विवादमा तान्ने प्रयास स्वरुप यो भइरहेको छ । ’

सेयर बजार १२ अंकले ओरालो

काठमाडौं । साताको अन्तिम सेयर कारोबार १२.३२ अंकले ओरालो लागेर १४७२.१५ अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कुल ४७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टार्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५८ लाख र मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७ अंकले झरेको छ । उत्पादनमूलक समूहको सूचक भने १४ अंकले उकालो लागेको छ । त्यस्तै, दोहोरो अंकले घटेको बजारमा पनि माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२११ रुपैयाँ रहेको छ । बजारमा विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब ६ प्रतिशतले घटेको छ ।

विद्युत प्राधिकरणले भन्योः लोडसेडिङ भएको छैन र हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घोषित÷अघोषित कुनै किसिमको विद्युतभार काटौती (लोडसेडिङ) नभएको स्पष्टपारेको छ । विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेको भन्दै विद्युत प्राधिकरणको लोडसेडिङको संभावना नरहेको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार प्रेश विज्ञप्ति जारी गरी अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको जानकारी गराएका छन् । प्राविधिक समस्याका कारण कही कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको उनले बताएका छन् । आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको उनले बताएका छन् । हिउँद लागेसँगै नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर माग बढ्ने तर सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा पनि व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरणले प्रतिबद्ध व्यक्त गरेको छ । गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ नगर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले जानकारी दिएका छन् । यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । नपुग करिब ३ सय मेगावाट औद्योगिक ग्राहकमा तीन घण्टा विद्युत कटौती गरेको जनाएको छ । यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो  विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको उनले घिसिङले जानकारी दिएका छन् । हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारणलाइन संरचनाबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारतबाट सहयोग पाइरहेका उनले स्पष्टपारेका छन् । विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आफ्नो तर्फबाट सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

मध्यभोटेकोसी जलविद्युतले २ अर्ब ९४ करोडको आईपीओ ल्याउँदै, साधारणसभाबाट पारित

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको छ । कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सभाले पारित गरेपछि सेयर निष्कासनको प्राविधिक काम सुरु भएको मध्यभोटेकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफलेले बताए । उनले इक्रासंग रेटिङको काम सुरु हुन लागेको जानकारी दिए । अहिले सेयर निष्कासन तथा बिक्री प्रवन्धकसंग छलफल भइरहेको काफलेले बताए । प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३.५ प्रतिशतले हुन आउने २१ करोड बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने ६ करोड बराबरको ६ लाख कित्ता सेयर निष्कासन हुने छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड., एस क्यापिटल लिमिटेड, सिबीआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेबार पाएका छन् । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण सुरु भएको आयोजना आउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी नयाँ कार्यतालिका तयार भएको हो । हाल आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको सीईओ काफ्लेले बताए । उनले निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुने स्पष्ट पारे । ठेकेदार चीनको क्वाँङ सी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन ब्युरोले गत मार्चबाट पुनः निर्माण सुरु गरेको हो । सुरुङको कुल लम्बाई ७ किलोमिटर बढी छ । ९ अर्ब रुपैयाँ अनुमानित लागतमा सुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।