विकासन्युज

प्रत्यक्षमा एमालेलाई झण्डै बहुमत, समानुपातिकमा पनि अग्रता

काठमाडौं । १६५ सदस्यीय प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा नेकपा(एमाले) बहुमत नजिक पुगेको छ । एमाले एक्लैले प्रतिनिधी सभाको ८० सिटमा विजय हासिल गरेको छ । यो संख्या भनेको प्रतिनिधी सभाको प्रत्यक्ष तफको ४८.४८ प्रतिशत हुन आउँछ । माओवादीले ३६ सिट जितेर प्रत्यक्ष तर्फ दोश्रो दलको हैसियत बनाएको छ । उसले १६५ मध्ये ३६ सिट जितेर २१.८१ प्रतिसत सिट सुरक्षित गरेको हो । २२ सित जितेको काँग्रेसले एक सिटमा अग्रता लिईरहेको छ । सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजय कुमार गच्छद्धारले अग्रता कायम गरेका छन र त्यहाँ उनी विजयी हुने सम्भावना बढिरहेको छ । गच्छद्धारले जितेमा काँग्रेसले १३.९३ प्रतिशत सिट सुरक्षित गर्नेछ । उता, मधेशवादी दलहरुमध्ये राजपाले ११ र संघिय फोरमले १० सिट जितेका छन् । नयाँ शक्ति, राजमो, नेमकिपा र राप्रपाले एक एक सिट जितेका छन भने एक जना स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । उता समानुपातिक तर्फको मत गणनामा पनि एमालेले करिब एक लाख बढि मतसहित अग्रता कायम गरिरहेको छ । बिहान ११ बजेसम्मको मत गणना अनुसार एमालेले १९ लाख ४२ हजार ९ सय ७४ मत ल्याएको छ भने काँग्रेसले १८ लाख ५१ हजार १ सय २६ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले ७ लाख ४७ हजार ८ सय ८१ मत ल्याएको छ ।

चर्चित छ जना पात्रहरू जसले चुनावी प्रचारमा सबैलार्इ जिते तर नतिजामा हारे

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो । विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत समेत भएका प्राडा गोविन्दराज पोखरेल प्यूठानबाट पराजित भए  । भारतका लागि नेपाली राजदूतसमेत भएका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा खगेन्द्र अधिकारी पराजित भए । राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित हुनुभएको हो । यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजक समेत भएका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित भए । यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुपर्रयो । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नं ५ पुगेका डा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । ओलीले ५७ हजार १३९ मत प्राप्त गरेपछि अधिकारी हारे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका प्राडा पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित भए । पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्राडा पोखरेलले ३१ हजार २८६ मत ल्याए । निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर राजनीतिक मैदानमा अाएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रेका उपाध्यायले २८ हजार ८५३ मत ल्याए भने सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गरे । जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताए । मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको बताए । सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरे । उता फरक पृष्ठभूमिबाट राजनीतिमा अाइका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहेका काँग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गरे । सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गरे । रासस

नेपालकाे सीमा क्षेत्रमा बस सेवा विस्तार गर्ने भारतीय प्रस्ताव, सीमा क्षेत्रका सडक निर्माण तत्काल थालिने

काठमाडौं । नेपाल र चीनबीच सडक र रेलमार्ग निर्माणबारे अध्ययन, सर्भे र छलफल बढ्दै गर्दा छिमेकी भारतले पनि नेपाल जाेड्ने मार्ग र सवारी सुविधामा सुधार चाहेकाे देखिएकाे छ । भारतको सडक यातायत मन्त्रालयले नेपालसँग सीमा जोडिएका भारतका तीन राज्यहरु विहार, उत्तरखण्ड र उत्तर प्रदेशबाट नेपालसम्म सीधा बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । तीन राज्यका नागरिकलाई नेपाल आवत जावत गर्न सजिलो हुने र यातायत खर्च पनि कम हुने गरी सस्तो खालको बस सेवा सञ्चालन गर्न नेपालसँग सहमतिको लागि प्रस्ताव गर्न लागेको हो । उक्त प्रस्तावमा नेपाल सरकारको सहमति लिन भारतको सडक यातायात मन्त्रालयले विदेश मन्त्रालयलाई आग्रह गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतको विदेश मन्त्रालयले उक्त प्रस्ताव दुई देशबीचको संयुक्त कार्यदलको बैठकमा छलफलमा ल्याउने भएको छ । हाल काठमाडौं–नयाँ दिल्ली चल्ले ‘नेपाल–भारत मैत्री बस सेवा’ सञ्चालनमा छ । उक्त बस सेवा उच्च सुविधा सम्पन्न (लक्जरीयस्) र महँगो भएको, उक्त बस सेवा पर्यटकहरुको लागि मात्र लक्षित भएको भन्दै सर्वसाधारणलाई सुविधा हुने बस सेवा सञ्चालन गर्न भारतले चाहेको जनाइएको छ । ‘ठूलो संख्यामा भारतीय नागरिकहरु नेपाल वा सीमा क्षेत्रमा जाँदा र फर्कदा रेल वा बस प्रयोग गर्छन् । उनीहरु महँगो र सुविधाजनक नभएको सेवा प्रयोग गर्न बाध्य छन् । उक्त क्षेत्रमा ठूला संख्यामा दुई देशका मानिसहरुले सामान्य बस सेवा चाहेका छन् । यस्तो सेवा सञ्चालनमा ल्याउने हो भने दुबै देशका मानिसहरुलाई आवतजावत सजिलो हुन्छ र दुई देशबीच नागरिक स्तरमा सम्बन्ध बलियो हुन्छ’ भारतका उच्च अधिकारीको भनाई उदृत गर्दै समाचारमा लेखिएको छ । त्यसैगरी, नयाँ दिल्लीले भारत र नेपालबीच सडक सञ्जालको स्तरवृद्धि र नयाँ परियोजना निर्माणबारे नियमित छलफल चलाईरहेको छ । ‘नेपाल भारत सडक जोड्ने मेची नदी पुल परियोजना कार्यान्वयन भईरहेको छ । यो योजनामा छिट्टै ठेक्का लगाईदैछ र सन् २०१८ को फेब्रुअरी देखि निर्माणको काम थालिने छ’ भारत सरकारको भनाई छ । त्यस्सैगरी, भारतको नेशलन हाईवे अथुरीटीले पिपराकोठी देखि रक्सौल सडक स्तारोन्नतीको जिम्मा पाएको छ । उक्त योजनामा यहि डिसेम्बर भित्र नै ठेक्का लाग्ने बताईएको छ ।

लर्ड बुद्ध एजुकेसनद्धारा एमएसआईटीएम र एमबीए विषयमा अध्यापन शुरु

काठमाडाैं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन(एलबीईएफ) क्याम्पसले नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोक्तर स्तरकोमास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट(एमएसआईटीएम) र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन(एमबीए) विषयमा अध्यापन पनि शुरु गरेको छ । एलबीईएफले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी(एपीयू), मलेसियासँग शैक्षिक सहकार्य मार्फत उक्त सेवा शुरु गरेको हो । उक्त दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले जानकारी गराएको छ । एलबीईएफले २०१५ देखि उक्त विश्वविद्यालयबाट स्नातक स्तरको (बीएससीआईटी) र (बीबीएम) विषयमा अध्यापन गराउँदैं आएको छ । कलेजले जनाए अनुसार मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट (एमएसआईटीएम) कार्यक्रम सूचना प्रविधि क्षेत्रमा आफ्नो किसिमको पहिलो कार्यक्रम हो । हाल नेपालमा सञ्चालित अरु यस्ता कार्यक्रमले सूचना प्रविधि संबंधी मात्रै ज्ञान दिने हो भने (एमएसआईटीएम) ले सूचना प्रविधिक्षेत्रको प्राविधिक ब्यवस्थापन कसरी गर्ने विषयलाई पनि समेटेको छ । यस विषयमा भर्ना हुन चाहने विद्यार्थीहरु सूचना प्रविधी विषयमा स्नातक उत्तिर्ण भएको हुनुपर्ने छ । यस कार्यक्रमले बीआईएम, बीसीआईएस, बीसीए, बीएसआईटी आदी अध्ययन गरेका विद्यार्थीहरुकोलागी सूचना प्रविधि संकायमा स्नातकोक्तर स्तरको अध्ययन गर्ने बाटो खोली दिएको छ । त्यस्तै, मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन(एमबीए)मा ४५प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना गर्न पाउनेछन् । एसिया प्यासिफिक यूनीभर्सिटी मलेशियाको प्रतिष्ठित विश्वविद्यालयहरुमध्ये एक हो जसलाई २०११ देखि हालसम्मै मलेशियन योग्यता मापन एजेन्सी अन्तर्गतको एसइटीएआरए र्याङकिङ र त्यहाँको शिक्षा मन्त्रालयले उत्कृष्ट दर्जामा समावेश गरेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति समेत प्रदान गरिसकेको छ । साथै एसिया प्यासिफिक यूनीभर्सिटी (एपीयू) त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त विश्वविद्यालय हो । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि एपीयूसँगकोसहकार्य अवश्य पनि फलदायी हुने कुरामा संस्था आशावादी रहेको छ । एपीयूको संबंधनमा सञ्चालन हुने कार्यक्रमहरु पूर्णकालिन कार्यक्रमहरु रहेका छन् । एपीयू मलेशियाको सूचना प्रविधी र व्यवस्थापन विषयमा कार्यक्रम सञ्चालन गर्ने सर्वोत्कृष्ट विश्वविद्यालय मध्ये पर्छ । सो विश्वविद्यालयमा हाल १० हजार विद्यार्थीहरु पूर्णकालिन रुपमा अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरु मध्ये आधी विद्यार्थी मलेशियाका र आधी जति विद्यार्थी करिब ११६ देशबाट अध्ययन गर्न आएका हुन् । सोे जानकारी विश्वविद्यालयका उपाध्यक्ष श्री गुरप्रदिप सिंहले कार्यक्रममा दिएका हुन् । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्तरगतका सबै शिक्षण संस्थाहरुमा सञ्चालन हुने कक्षाहरुमा सैधान्तिक ज्ञानको साथसाथै अरु जिवनउपयोगी तालीमहरु पनि प्रदान गरिन्छ । कलेजमा विद्यार्थीहरुलाई बजारमा स्थापित गर्नकालागी छुटै प्लेसमेन्ट सेलको व्यवस्था रहेको कलेजले जनाएको छ । त्यस्तै, ललितपुर कुपण्डोलमा पाटन कलेज फर प्रोफेसनल स्टडिजले युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत वाट सम्वन्धन प्राप्तस्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन विजनेस एडमिनिष्ट्रेसनको अध्यापन गराई रहेको छ ।

गण्डकी विकास बैंकको नयाँ शाखा सामाखुशीमा

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखा सामाखुशीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका छन् । साथै, पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेश बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराएका थिए । बंैकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, एसएमएस, आश्वा, मोबाइल बैकिङ्ग, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । बैकले केन्द्रीय कार्यालय सहित ५२ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न सम्पूर्ण बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता, भारतबाट पैसा पठाउन सहज

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताएका छन्’ । प्रवन्ध निर्देशक हेमराज ढकालले यस सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने बताएका छन् । त्यस्तै, मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले यस सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

केपी ओलीले गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, नयाँ सरकार पर्खदै आयोजना

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको शिलान्यास केपी ओलीले गर्ने भएका छन् । यस अघि मंसिर अन्तिम साता आयोजनाको शिलान्यास गर्ने तयारी गरिएको थियो । तर बामपन्थी सरकार निर्माण हुने अवस्था बनेकाले नयाँ सरकारका प्रधानमन्त्रीको हातबाटै आयोजनाको शिलान्यास गराउने प्रक्रिया अघि बढेको हो । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् । ‘यो दुरगामी महत्वको आयोजना हो, नयाँ सरकारका प्रधानमन्त्रीको हातबाट शिलान्यास गराउने योजना सहित जग्गा अधिग्रहणको फाइल मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमै रोकिएको छ’, श्रोतले भन्यो । श्रोतका अनुसार मन्त्रिपरिषदको कार्यालयका उच्च कर्मचारीले नै नयाँ सरकार आएपछि मात्रै आयोजना शिलान्यास गराउने योजना बनाएका हुन् । बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन अन्तिम तयारी भैरहेको छ । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । यसको अनुमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।

लक्ष्मी बैंकले ल्यायोे “लक्षित मुद्दती” योजना, वार्षिक ९ प्रतिशत सम्म ब्याज पाइने

काठमाडौं । लक्ष्मी बैंकले नयाँ “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) बचत खाता योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकका सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले वार्षिक ९ प्रतिशत सम्म ब्याज प्राप्त गर्न सक्नेछन् । लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको छ । यो खातामा ग्राहकहरुले मासिक न्यूनतम ५०० रुपैयाँ वा सो भन्दा बढि जम्मा गर्न सक्नेछन् । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने बैंकले जनाएको छ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै, लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।