विकासन्युज

ज्योति विकास बैंकको नयाँ शाखा तनहूँको थर्पूमा, पहिलो बैंक बन्न सफल

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ शाखा तनहूँ जिल्लाको म्याग्दे गाँउपालिका थर्पू बजारमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखाकार्यालय स्थापना गरी बुधबार एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको हो । म्याग्दे गाँउपालिका भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन समारोहका प्रमुख अतिथि म्याग्दे गाँउपालिका प्रमुख मायादेवी रानाआले तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन् । गत २ हप्ता भित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामीण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो । हाल यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम रहेका छन् ।

२० बर्ष पुगेका ग्यास टेम्पो र माइक्रोको नविकरण नरोक्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वाेच्च अदालतले २० बर्ष पुगेका ग्यास टेम्पो र माइक्रोको नविकरण नरोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायधिश तेज बहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २० बर्ष पुगेका ग्यास टेम्पो र माइक्रोको पनि नविकरण गर्न अन्तरिम आदेश जारी गरेको थियो । सरकारले २०७४ साल भदौ २० गते राजपत्रमा सूचना प्रकाशित गर्दै २० बर्ष नाघेका विद्युतिय टेम्पोको मात्रै थप १० बर्ष नविकरण गरिदिने बताएको थियो । त्यसका विरुद्ध ११ जना ग्यास टेम्पो तथा ग्यास माइक्रो व्यवसायीले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । उनीहरुका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठले वकालत गरेका थिए । ‘सम्पतिको हक सम्बन्धी व्यवस्था अनुसार विद्युतिय टेम्पो र ग्यास टेम्पोका बिचमा विभेद गर्न नहुने भन्दै अदालत गएको थिएँ, अदालतले न्याय गरेको छ’, अधिवक्ता श्रेष्ठले विकासन्युजसँग भने । ११ जना व्यवसायीका लागि आफुले मुद्धा लडेको भएपनि अब यहि फैसलाका आधारमा बाँकी ग्यास टेम्पो तथा माइक्रो व्यवसायीले आफ्नो टेम्पो तथा माइक्रोको नविकरण गराउन सक्नेछन् । उनले विद्युतिय टेम्पो र ग्यासबाट सञ्चालन हुने सवारी साधन दुबै प्रदुषणमुक्त भएकाले समान व्यवहार गरिनुपर्ने दावी गरेका थिए । ‘उस्तै गुण र प्रवृत्ति भएका सवारी साधनहरुका बिचमा विभेद गर्न पाइँदैन भन्ने सिद्धान्तका आधारमा अदालत गएको थिएँ, अब मेसिनहरुका बिचमा पनि विभेद गर्न पाइँदैन भन्ने सिद्धान्त स्थापित हुनेछ’, श्रेष्ठले भने । हाल उपत्यकामा ५०० वटा ग्यास टेम्पो र ३५० वटा ग्यासबाट सञ्चालन हुने माइक्रो रहेका छन् । तीमध्ये २० बर्ष पुगेका टेम्पु तथा माइक्रोहरुको नविकरण रोकिएको थियो ।

वाणिज्य बैंकले राष्ट्र बैंकबाट २ अर्ब ५० करोड उठाए

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकले बुधबार साढे २ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भई अन्तर बैंक ब्याज दर बढेपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन रिपो निष्कासन गरेको थियो । ४ वाणिज्य बैंकले साढे २ अर्ब रुपैयाँ लिएको केन्द्रीय बैंकले जनाएको छ । अन्तर बैंक ब्याज दर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्न मंगलबार र बुधबार गरी २० अर्ब रुपैयाँको रिपो निष्कासन गरेको हो । मंगलबार निष्कासन गरेको भन्दा बढी खरिद भएपछि बुधबार पनि केन्द्रीय बैंकले पुनः रिपो निष्कासन गरेको थियो । १० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । राष्ट्र बैंकले बजारमा साढे १२ अर्ब रुपैयाँ पठाएपछि बजारमा झण्डै २५ अर्ब रुपैयाँ हारहारीमा तरलता पुगेको छ । १० अर्ब मध्ये साढे २ अर्ब रुपैयाँ मात्र बैंकले उठाएपछि तरलता समस्याको समधान भएको छ । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न रिपोमार्फत पैसा बजारमा पठाएको हो । ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।  

बिहीबारदेखि ‘नेपाल चेम्बर एक्स्पो २०७४’ शुरु, नेपालसहित विभिन्न आठ देशको सहभागिता

काठमाडौं । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७४’ सुरु हुने भएको छ । उक्त एक्स्पोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ । नेपाल चेम्वर अफ कमर्सले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेकाे छ । कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले तेश्रौ संस्करणको रुपमा मेला हुन लागेको जानकारी गराएका छन् । साथै, उक्त मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने उनले बताए । त्यस्तै, एक्स्पोमा कुल दुई सय २५ वटा स्टलहरु रहने जनाइएको छ । नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने जानकारी गराइएका छन् । पाँंच दिनसम्म चल्ने मेलामा करिब तीन लाख भन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । उक्त मेला मंसिर १८ गते सोमबारसम्म चल्ने चेम्बरले जनाएका छन् ।

महालक्ष्मी विकास बैंकको थप चार शाखा सञ्चालनमा, दार्चुलामा पनि खोल्ने तयारी

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो थप नयाँ चार शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट बैंकिङ्ग कारोबार सञ्चालन गरेको हाे । सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर यस विकास बैँक उक्त स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरुसहित यस बैंकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । साथै, बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ । बैंकले गत कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सानिमा लाइफको औपचारिक कारोबार मंसिर २२ गतेदेखि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २२ गते देखि औपचारिक रुपमा कारोबार आरम्भ गर्ने भएको छ । कम्पनीले तिहार अगावैदेखि सेवा भने सञ्चालन गर्दै आएको थियो । मंसिर २२ गतेका दिन देखि कम्पनीले कार्यालय उद्घाटन गर्दै औपचारिक रुपमा सेवा आरम्भ गर्न लागेको हो । सनिमा बैंकमा एनआरएनहरुको लगानी रहेको छ । यसका लगानी कर्ताहरुमा बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र डा. बिरेन्द्र प्रसाद महतो लगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा अरुण कुमार ओझा रहेका छन भने प्रमुख कार्यकारी अधिकृतका रुपमा केशब राज जोशीले काम गरिरहेका छन् ।

बजारमा एक अर्ब बढीको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको

काठमाडौं । लामो समयपछि सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । बुधबारको बजारमा १६३ कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल २० लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१८ रुपैयाँ रहेको छ । बढी कारोबार हुने १० कम्पनी त्यस्तै, बजारमा अन्य दुई कम्पनीको पनि ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ५० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यसैगरी, सानिमा माई हाइड्रोको ६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशत कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८४५ रुपैयाँ रहेको छ । त्यस्तै, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८.८४ प्रतिशतले वृद्धि भएको छ । समग्रमा नेप्से परिसूचक १२.२६ अंकले बढेर १५३६ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक उकालो लागेको छ । यस समूहको परिसूचक १०० अंकले उकालो लागेको हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले ओरालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा हिमालय डिस्टिलरी लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४९ रुपैयाँ रहेको छ ।

गुडविल फाइनान्सको मंसिर २५ गतेदेखि बुक क्लोज

काठमाडौं । गुडविल फाइनान्सको आगामी मंसिर २५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १२ दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी पुस ७ गते वार्षिक साधारणसभामा जाँदै छ । सभामा फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो ।