नेप्से परिसूचक १२ अंकले उकालो, दुई अर्ब ९२ करोडको सेयर कारोबार
काठमाडौं । साताको नेप्से परिसूचक करिब १२ अंकले उकालो लागेको छ । यस साता नेप्से पहिलो दिनको तुलनामा ११.९२ अंकले उकालो लागेर १४८९.०६ अंकमा पुगेको छ । गत सातको तुलनामा बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जमा दुई अर्ब ९२ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो । यस साता बजारमा १८० कम्पनीका २७ हजार ६ सय कित्ता सेयरहरु बिक्री भएका छन् । यसैगरी, समूहगत परिसूचकहरुमा उतारचढाव रहेको छ । ९ समूहको कारोबार भएको यस साता ४ समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलकको परिसूचक ७०.७१ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत ६०, अन्य समूह २६ र वाणिज्य बैंक समूहको परिसूचक ८ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४५ अंकले घटेको छ । सातामा चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको १६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, प्रभु बैंकको ६ लाख ९८ हजार कित्ता प्रमोटर सेयर बिक्री भएका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ । नियमित पाँच दिन कारोबार खुला रहेको बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
थपियो नयाँ रेटिङ कम्पनी, केयर रेटिङलाई धितोपत्र बोर्डको लाइसेन्स
काठमाडौं । नेपालमा कम्पनीहरुको स्तर निर्धारण (रेटिङ) को काम गर्न केयर रेटिङ नेपाल लिमिटेड सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले रेटिङको काम गर्न केयर रेटिङ नेपाललाई शुक्रबार अनुमतिपत्र (लाइसेन्स) दिएको हाे। हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् । भारतको केयर रेटिङस लिमिटेड तथा नेपाली बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र व्यवसायीक प्रतिष्ठानको संयक्त लगानीमा केयरको स्थापना भएको हो । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ । कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५/५ प्रतिशत स्वामित्व रहेको छ । केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको हो । मुनासिव र प्रतिस्पर्धी मुल्यमा नेपालमा रेटिङको काम गर्ने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । उनले अब कम्पनीले छिट्टै रेटिङको काम थाल्न जानकारी दिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साजन गोयल नियुक्त भएका छन् ।
सिजीले ल्यायो नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर, ट्याङकीमा ५ वर्षको वारेण्टी
काठमाडौं । सिजी ब्राण्डले हालै तीन नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर ल्याएको छ । आकर्षक तथा सरल प्रविधिको उक्त हिटरहरुको मुख्य विशेषता भनेको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको छ । उक्त इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । जसमा इएलसीबी(अर्थ लिकेज सर्कियुट ब्रिएकर) जस्ता मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ । जसको कारण करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउँद छ । साथै, यस हिटरमा उच्च गुणस्तरको हिटिङ तत्व राखेको छ । जसको कारण अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्दछ । यसमा ७५ डिग्री सेल्सियस तापक्रम सम्म बढाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस हिटरले अधिकतम तापक्रम(ओभरहिट प्रोटेक्सन) बाट हुने क्षतिलाई पनि रोक्न सक्ने छ ।
राष्ट्र बैंकबाट ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड उठाए, आइतबार पनि २० अर्ब पठाउने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट विभिन्न ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड रुपैयाँ उठाएका छन् । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न शुक्रबार २० अर्ब रुपैयाँ रिपो ल्याएको हो । बैंकहरुले ५ प्रतिशत ब्याज दरमा सो रकम राष्ट्र बैंकबाट उठाएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) भएपनि अन्तर बैंक ब्याज दर बढ्न थालेपछि हस्तक्षेप गर्न रिपो ल्याएको राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता रहेको छ । केन्द्रीय बैंकले ५ प्रतिशत ब्याज दरमा २ साताका बजारमा रकम पठाउन रिपोे गरेको हो । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ । केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । ब्याज दर करिडोर लागु भएको दिन बुधबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दरमा बजारबाट १५ अर्ब रुपैयाँ उठाएको थियो । राष्ट्र बैंकले शुक्रबार रिपो बिक्री नभएपछि पुनः आइतबार २० अर्ब रुपैयाँको जारी गर्ने भएको छ । शुक्रबार बजारमा लक्ष्य भन्दा धेरै कम रकम गएपछि आइतबार पुनः रिपो गर्न लागेको हो । शुक्रबार भएकाले कम माग भएको हुन सक्ने अनुमानका आधार केन्द्रीय बैंकले पुनः आइतबार रकम बजारमा पठाउने तयारी गरेको हो । मंसिर १७ गते आइतबार रिपो परिपक्व हुने छ । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने आवश्यक पर्दा पैसा बजारमा पठाउने र बढी भएमा प्रशोचन गर्ने व्यवस्था छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।
शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एकैदिन कैलाश विकास बैंक, विजया लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक र समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले कैलाश विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९६ रुपैयाँ रहेको थियो । त्यस्तै, विजया लघुवित्तको पनि १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९१ रुपैयाँ रहेको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकको ९ प्रतिशत बोनस सेयर र समता माइक्रोफाइनान्सको पनि २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि माछापुच्छ्रे बैंकको सेयर मूल्य २२८ रुपैयाँ रहेको छ भने समता माइक्रोफाइनान्सको प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।
१४ निर्जीवन बीमा कम्पनीको नाफा ४७ करोड ९१ लाख(कसको कति सूचिसहित)
काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ४७ करोड ९१ लाख नाफा कमाएका छन् । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने १४ कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा आफ्नो नाफा २१.२९ प्रतिशतले वृद्धि गरेर करिब ४८ करोड पुर्याएका हुन् । गत आवको असोज मसान्तसम्ममा यीनै कम्पनीहरुले जम्मा ३९ करोड ५० लाख मात्रै नाफा कमाउन सफल भएका थिए । शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । कम्पनीको आफ्नो नाफालाई ८ करोड ७० लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याएको छ । एनएलजी इन्स्योरेन्सले पनि ४ करोड ३८ लाखबाट बढाएर ५ करोड २५ लाख नाफा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख नाफा कमाउँदा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ करोड १२ लाख मुनाफा गरेको छ । एभरेष्ट इन्स्योरेन्सले भने सबै भन्दा थोरै ४४ लाख मात्रै नाफा कमाउन सफल भएको छ । एभरेष्टले गत आवको असोज मसान्त अवधीमा जम्मा १० लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।
एभरेष्ट बैंकले ३४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि सो मात्राको लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।
काँग्रेसका उम्मेदवार रामशरण महतलाई लक्षित गर्दै बम विस्फोटन, पाँच घाइते
नुवाकोट । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महत भने सकुशल छन् । चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा शुक्रबार बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए । बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौँतर्फ लगिएको छ । उम्मेदवार महत चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । बम विस्फोटनको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । रासस