विकासन्युज

सेयर बजार १५ अंकले ओरालो

काठमाडौं । बिहीबारको सेयर बजार १५.७३ अंकले ओरालो लागेर १४८९ अंकमा झरेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, अन्य समूह र ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ४.९६ प्रतिशतले घटेको छ ।

२८ अर्बका ६ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबारका लागि ६ वटा विकास ऋणपत्र सूचिकृत भएका छन् । नेप्सेले बिहीबार कुल २८ अर्ब १४ करोड रुपैयाँ बराबरको आधा दर्जन सरकारी ऋणपत्रलाई कारोबारका लागि सूचिकृत गरेको हो । सूचिकृत हुनेमा न्युतम ५ देखि बढीमा १४ वर्षसम्मका ऋणपत्र छन् । ५ अर्ब रुपैयाँका ५ वटा र ३ अर्ब १४ करोड रुपैयाँको १ विकास ऋणपत्र सूचिकृत भएको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार १४ वर्षको विकास ऋणपत्र २०८८ क, १० वर्षको २०८४ ख, ७ वर्षको २०८१ क, ५ वर्षको २०७९ ग, ७ वर्षको २०८१ ख खर्ब र ११ वर्षको २०८५ ख खर्ब ऋणपत्र सूचिकृत भएका हुन् । ऋणपत्रको ब्याजदर न्युतम ४.९९ देखि ६.४८ प्रतिशतसम्म छ । ऋणपत्रका फेसभ्यालु प्रतिकित्ता १ हजार रुपैयाँ छ । परिपक्व भएपछि नेप्सेले कारोबार बन्द गर्दे आएको छ । यसअघि पनि विकास ऋणपत्र सूचिकृत गर्दा कारोबार नभएको पराजुलीले जानकारी दिए । सरकारले विकास आयोजनाका लागि विभिन्न वित्तीय औजारको प्रयोग गरेर आन्तरिक ऋण उठाउने गरेको छ । त्यसमध्येको विकास ऋणपत्र पनि एक हो । हालसम्म बैंकको संस्थागत ऋणपत्र २० वटा र सरकारको १९ वटा कारोबारका लागि नेप्सेमा सूचिकृत भएका छन् ।  

लक्ष्मी बैंकको दुई नयाँ शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप दुई शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा विस्तार गरेको छ । यी दुई शाखा सहित यस बैंकको शाखा संजाल ७४ पुगेको छ । यस शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । हाल बैंकको ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । साथै, आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

केपी ओलीको घोषणा-वृद्ध भत्ता पाँच हजार

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले वृद्ध भत्ता पाँच हजार पुर्याउने घोषणा गरेका छन । स्याङजाको पुतलीबजारमा आयोजीत बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी सरकारले वृद्ध भत्ता पाँच हजार पुर्याउने घोषणा गरेका हुन् । २०५१ सालको निर्वाचनमा एमालेले जित्यो भने बुढाबुढीलाई काट्छन भनेर काँग्रेसले आरोप लगाएको र एमालेले वृद्ध भत्ताको कार्यक्रम अघि सारेको स्मरण गराउँदै ओलीले भने–उतिबेला कम्युनिष्टले बुढाबुढीलाई काट्छन भन्थे हामीले वृद्ध भत्ता दियौं, मैले मासिक २ हजार पर्याईदिएको छु, बामपन्थीको नयाँ सरकारले पाँच हजार पुर्याइदिन्छौं ।’

आइतबार हुँदैछ माथिल्लो तामाकोसीको सुरुङ ‘ब्रेक थ्रु’, ८ प्रतिशत काम मात्रै बाँकी

काठमाडौं । बहुप्रतिक्षत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आइतबार सकिँदै छ ।कुल १८ किलोमिटर लामो सुरुङकको काम सकिएको छ । आयोजनाले आइतबार एक समारोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गर्ने छ । अब ९३० मिटर लामो सर्चसाफ्ट सुरुङको काम मात्र बाँकी छ । यस्तै बाँध, विद्युतगृह र प्रसारणलाइनको काम द्रुत गतिमा अघि बढेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार आयोजनाको ९२ प्रतिशत काम सकिएको छ । अब ८ प्रतिशत मात्र काम बाँकी छ । यसअघि कात्तिकभित्र आयोजनाको सुरुङ ब्रेक थ्रु गर्ने लक्ष्य लिएको थियो । हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमोकानिकल उपकरणको जडानको काम भइरहेको छ । यस्तै गोंगरबाट न्यू खिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ । लामोसाँघु खाडीचौर सडक मार्ग पुननिर्माणको काम भइरहेकाले सामान ढुवानी गर्न समस्या भएको उनले बताए । आयोजनाबाट आगामी ०७५ को असार मसान्तमा पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । पहिलो युनिटले ९१ मेगावाट विद्युत उत्पादन गर्नेछ । यस्तै सोही वर्षको मंसिरसम्म बाँकी चार वटा युनिटबाट पनि विद्युत उत्पादन आरम्भ गरिनेछ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ । आयोजनामा सिभिल ठेकेदारका रुपमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्तिमा भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल र परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेस रहेका छन् ।    

एक करोड चार लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन एक करोड ४ लाख ४२ हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । बिहीबार मात्रै विभिन्न ६ कम्पनीको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । सो मध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । बजारमा तीन कम्पनीको ८३ लाख ४५ हजार कित्ता हकप्रद सेयर थपिएका छन् । कामना सेवा विकास बैंकको २४ लाख १३ हजार १३७ कित्ता, गुडविल फाइनान्सको २७ लाख २२ हजार ५०० कित्ता र कन्काई विकास बैंकको ३२ लाख १० हजार कित्ता हकप्रद सूचिकृत भएका छन् । त्यस्तै, दुई बीमा कम्पनीको १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएका छन् । बजारमा नेपाल इन्स्योरेन्स कम्पनीको एक लाख ४३ हजार ८०४ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको १२ लाख २० हजार ४०० कित्ता बोनस सेयर गरी सो मात्राको बोनस सेयर थपिएका हुन् । त्यसैगरी, सनराइज बैंकको लिलामीको ७ लाख १० हजार ७०९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यस बैंकको पनि बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

गुडविल फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८० करोड नाघ्ने

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई १०.७२९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत असारमा जारी गरेको ६० प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय कात्तिक २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ । १०.१९२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

७५० मेगावाटको पश्चिमसेती बनाउन विद्युत प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त लगानी सम्झौता

काठमाडौं । पश्चिम सेती जलासययुक्त आयोजना बनाउन नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनबीच संयक्त लगानी सम्झौता (जेभीए) भएको छ । जेभीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका लगानी विभागका निर्देशक याओ फिक्लिङले हस्ताक्षर गरेका हुन् । जेभीएसंगै लामो समयदेखि चर्चामा रहेको आयोजना बन्नका लागि बाटो खुला भएको छ । जेभीएको प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर भएको १० महिनापछि सम्झौता भएका हो । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएका विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । उनका अनुसार आयोजना वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमार्फत निर्माण हुने छ । विद्युत प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत स्वपँजी (इक्विटी) का लागि थ्री गर्जेजले चाइना निर्यात–आयात (एक्जिम) बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने उनले बताए । प्राधिकरणले लगानी गर्ने स्वपुँजीको व्यवस्था थ्री गर्जेजले गर्ने भएको छ । जेभीए भएपछि आयोजनाको काम अघि बढ्ने छ । यसअघि भएको जेभीए गर्ने प्रस्तावलाई प्राधिकरण र थ्री गर्जेजको बोर्ड बैठकले अनुमोदन गरिसकेको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।