काठमाडौं महानगरका मेयर विद्यासुन्दरले ल्याए बेवारिसे व्यक्ति उद्धार गर्ने योजना, पालनपोषण गर्न आश्रमलाई १८ लाख दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सडकपेटीमा बेवारिसे व्यक्तिहरुको उद्धार गर्ने भएको छ । कष्टकर जीवन जिउन बाध्य त्यस्ता व्यक्तिहरुलाई महानगरपालिकाले उद्धार गर्ने लागेको हो । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले वेबारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गर्न लागेको बताए । त्यस्ता व्यक्तिहरुको व्यवस्थापन गर्न छलफल भइरहेको जनाउँदै यो वर्ष्भित्र बेवारिसे व्यक्तिहरुलाई मानवसेवा आश्रमलाई जिम्मामा दिने तयारी भएको जानकारी दिए । महानगरपालिकाले बेवारिसे व्यक्तिको व्यवस्थापनका लागि १८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । उनका अनुसार बेवारिसे व्यक्तिको पालनपोषण र रहनसहनका लागि सो रकम आश्रमलाई दिनेछ । २०६९ सालमा स्थापना भएको यो आश्रमले सडक–किनारामा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा विक्षिप्त भएकालाई आश्रमले उद्धार गरी उपचार तथा पालनपोषण गर्दै आएको छ । प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र यसको दीर्घकालिन समाधान खोज्न पहल गरिएको बताए । महानगरपालिका स्थलगत अनुगमनमा जाँदा त्यस्ता बेवारिसे व्यक्तिहरुको उद्दारको बारेमा सोच आएको बताउँदै उनले भने, ‘मानव सेवामा काम गर्नुपर्ने दायित्वबोध भएपछि यो समस्या हेर्ने निर्णय भयो । र त्यसै अनुसार योजना बनाएका छौं ।’ महानगरपालिकाका अधिकांश मुख्य तथा भित्र सडकका पेटीहरुमा थुप्रै व्यक्तिहरु बेवारिसे अवस्थामा रहेका छन् । महानगरपालिकाकाभित्रका सडकपेटीमा भिक्षा माग्ने र बेवारिसे अवस्थामा अपाङ्गता भएका सबै उमेरसमूहका व्यक्तिको जिम्मेवारी महानगरपालिकाले बेहोर्ने शाक्यले जानकारी दिए । ‘महानगरपालिकाभित्रका सबै मानवको सुरक्षाको जिम्मेवारी हाम्रो दायित्व हो,’ उनले भने, ‘महानगरले आश्रमलाई बेवारिसे व्यक्तिहरुलाई आश्रय दिएबापत भाडा र उनीहरुलाई खुवाउने खानपिन सम्बन्धी सम्पूर्ण खर्च बेहोर्ने छ ।’ त्यस्तै महानगरपालिकाले हराएका बालबालिकादेखि वृद्धसम्मका व्यक्तिहरुको परिवारलाई खोजेर जिम्मा लगाउने उनले बताए । उनले भने, ‘कतिपय व्यक्तिहरु बेवारिसे नहुन पनि सक्छन् । त्यस्ता व्यक्तिको परिवारको खोजीका लागि हामीले महानगर प्रहरीलाई परिचालन गर्नेछौं ।’ महानगरपालिकाभित्र कति वटा व्यक्तिहरु बेवारिसे अवस्थामा छन् भन्ने स्पष्ट जानकारी छैन । यद्यपी भेटिएसम्मका बेवारिसे व्यक्तिहरुको उद्धार गर्ने योजना रहेको शाक्यले बताए ।
आइफोन ८ र आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा, विभिन्न तीन कलरमा पाइने
काठमाडौं । एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एक मात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । मंसिर १ गतेदेखि सार्वजनिक हुने उक्त फोन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने कम्पनीले जनाएको छ । कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न आग्रह गरेको छ । साथै, कम्पनीले सबै ग्राहकलाई एप्पलका सक्कली उत्पादनहरुका लागिमात्र रकम खर्च गर्न र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ । बिहीबार कम्पनीद्धारा जारी विज्ञप्तिमा उक्त दुई आइफोनको मूल्य भने खुलाइएको छैन ।
अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले शुक्रबार २० अर्ब बजारमा पठाउने
काठमाडौं । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर बढेको निश्कर्षका आधारमा तत्काल तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले शुक्रबार थप रकम पठाउन लागेको हो । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ बैकिङ प्रणालीबाट प्रशोचन गरेको पर्सिपल्ट तरलताको अभाव भएको संकेत गर्दे बजारमा पैसा पठाउन लागेको हो । ५ प्रतिशत ब्याज दरमा २ साताका राष्ट्र बैंकले बजारमा रकम पठाउने छ। केन्द्रीय बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज प्रस्ताव नगर्न भनेको छ । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ । बैंकले सस्तो ब्याज दरमा दुई साताका लागि निक्षेप परिचालन गर्ने सुविधा पाउने भएका छन् । केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । ब्याज दर करिडोर लागु भएको दिन बुधबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दरमा बजारबाट १५ अर्ब रुपैयाँ उठाएको थियो । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने मौद्रिक नीतिमा करिडोरको व्यवस्था गरिएको हो । ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि गभर्नरले स्वीकृत गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।
गण्डकी विकास बैंकको विराटनगर शाखा सञ्चालनमा
काठमाडौं । गण्डकी विकास बैंकले मोरङ्ग जिल्ला स्थित विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रम बीच बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको बताएका छन् । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी भैरहेको छ । गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म बैंकको निक्षेप १८ अर्ब ३३ करोड, कर्जा १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । हाल बैंकले बैंकले ५३ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सेवा सुविधा दिँदै आएको छ ।
सानिमा बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र एक्सिस बैंकबीच भारत-नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा लगायत नेपालभरि ७००० भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् । आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिदै आइरहेको छ । सानिमा बैंकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरिरहेको छ । यस सम्झौता अनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दाे माध्यमबाट भारतमा बस्ने नेपालीहरु रेमिट्यान्स सेवा लिन सक्नेछन् ।
कफीको उत्पादन ७ प्रतिशतले बढ्दा किन घट्यो निर्यात ?
काठमाडौं । देशभर कफीको उत्पादन ७ प्रतिशतले बढेको छ । तर, कफीको उत्पादन बढेसँगै यसको निर्यात भने घटेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार यो वर्ष २ करोड ३६ लाख ५२ हजार रुपैयाँ मूल्य बराबर कम मात्रामा कफीको निर्यात घटेको छ । केन्द्रको तथ्यांक अनुसार गत वर्ष करिब १० करोड ८१ लाख रुपैयाँ बराबरको कफी निर्यातबाट घटेर यसवर्ष करिब ८ करोड ४५ लाख रुपैयाँ मूल्य बराबरको कफी निर्यात भएको छ । नेपालमा उत्पादन भएका कफीको स्वदेशम उपभोगबढेपछि निर्यात घटेको बोर्डको तर्क छ । बोर्डका कार्यकारी निर्देशक गौतमका अनुसार उत्पादनका साथै कफीको आन्तरिक बजार पनि बढेको अनुमान गरिएको छ । गत वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटेकाले नेपाली कफीको बजार बढेको अनुमान गरिएको गौतमले बताए । ‘देशभर कफी क्याफे हाउसहरुको विस्तारले नेपाली कफीको लोकप्रीयता बढ्दै गएको पाइन्छ,’ उनले भने, ‘यद्दपी उत्पादनमा अझ वृद्धी गर्दै निर्यात पनि बढाउनु आजको प्रमुख आवश्यकता हो ।’ यसवर्ष कफी रोपण क्षेत्रमा बिस्तार भएपछि उत्पादन बढेको देशभर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । यसमा चार सय ६६ टन कफी उत्पादन भएको छ । देशभर गरिएको कफी खेतीबाट गत वर्ष ४३४ टन उत्पादन भएको थियो । यस वर्ष कफी खेतीयोग्य जमिन २८ हेक्टर क्षेत्रफल वृद्धि भएको छ । गत वर्ष २६१८ हेक्टर क्षेत्रफल रहेको जमिनबाट बढेर २६४६ हेक्टर पुगेकाले उत्पादन बढेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । उनले भने, ‘विभिन्न जिल्लाहरुमा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयहरुले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभावस्वरुप रोपण क्षेत्र विस्तार भएको हो । जसले गर्दा कफी उत्पादन बढ्यो ।’ तथ्यांक अनुसार गत वर्ष करिब साढे ५ करोड रुपैयाँ बराबरको कफी आयातबाट घटेर यसवर्ष करिब ५ करोड ४ लाख रुपैयाँ बराबरको मात्र कफी आयात भएको छ ।
७ वटा जीवन बीमा कम्पनीको नाफा १३८.७० प्रतिशतले बढ्यो(सूचिसहित)
काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३८.७० प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासिक अवधीमा ७ वटा जीवन बीमा कम्पनीहरुले आफ्नो नाफा २६ करोड ८४ लाखले वृद्धि गरेर ४४ करोड ४७ लाख पुर्याएका हुन् । गत आवको असोज मसान्तसम्ममा यीनै जीवन बीमा कम्पनीहरुको नाफा जम्मा १८ करोड ६३ लाख मात्रै थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत ७ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सबै भन्दा धेरै अर्थात १७ करोड ७४ लाख रहेको छ । ७ वटा जीवन बीमा कम्पनी कुल कोनाफको ३९.८९ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले नै ओगटेको देखिन्छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि ८ करोड २० लाख नाफा कमाएको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ३४ लाख नाफा कमाउन सफल भएको छ ।
अशोक लेल्याण्डका १० थान बसले अब चक्रपथ परिक्रमा गर्ने, आजैबाट सञ्चालनमा
काठमाडौं । आइएमई मोटर्स प्रालिद्धारा नेपाल अधिराज्यकालागि बिक्री वितरण गरिने अशोक लेल्याण्ड ब्राण्डका ३४ सिटे बसले अब चक्रपथ परिक्रमा गर्ने भएको छ । बुढानिलकण्ठ जमल सहिदगेट माइक्रोबस व्यवसायी समितीअन्तर्गतको बुढानिलकण्ठ यातायात प्रालीले अशोक लेल्याण्डका १० थान सुविधा सम्पन्नयुक्त गाडीहरु उक्त रुटमा सञ्चालन गर्ने भएको छ । अशोक लेल्याण्डले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै गाडीमा वाइफाई, सीसीटीभी, पब्लिक अनाउन्समेन्ट सिस्टम लगायतविभिन्न सुविधाका साथ साथै उक्त गाडि चक्रपथ परिक्रमा गर्दै बुढानिलकण्ठसम्म सेवाउपलब्ध गराउने संस्थाका अध्यक्ष बाबुराज महर्जनले बताएका छन् । साथै, उनले नेपाल सरकारको मापदण्ड पुरा गरी निकट भविष्यमा रुट नं ५ मा पनि बस सञ्चालनमा ल्याँउने प्रतिबद्धता व्यक्त गरेका छन् । समिती सदस्य भरत बस्नेतले निकट भविष्यमा थप उत्कृष्ट गाडि सञ्चालनमा ल्याँईने बताए । बिहीबारबाटै सञ्चालनमा आउने उक्त बसको उद्घाटन मिगमान्न दमाहाराज १०८ स्वामीले गरेका हुन् ।