विकासन्युज

जुम्लामा २ करोड २५ लाखको स्याउ बिक्री

जुम्ला । एक सातायता जिल्लामा २ करोड २५ लाख रूपैयाँ बराबरको स्याउ बिक्री भएको छ ।  यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो  ६० रूपैयाँका दरले खरिद गर्न थालेका छन् । चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै  ३ लाख रूपैयाँ भन्दा बढीको स्याउ बिक्री गरेको बताउछन् । सोही वडाकै सरस्वती देवकोटा लगानीअनुसारको आम्दानी गर्न सफल भएको बताइन । स्याउमा चमेरो, अरिङ्गाल, कोइरालोलगायतले क्षति पु¥याउन थनलेकाले चाँडै बेच्नु परेको उहाँको भनाइ छ । सुर्खेत र नेपालगञ्जमा स्याउको मूल्य ह्वात्तै घटेकाले व्यापारी मारमा परेका छन् । ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम बिक्री हुन थालेको छ । ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा व्यापारी चिन्तामा छन् । जिल्ला सहकारी संघमा रहेको रु ८० लाखको ग्रेडिङ मेसिन सञ्चालनमा आउन सकेको छैन । दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागार्इंले बताउनुभयो । उहाँले ६५ मेट्रिक टन स्याउ खरिद गर्नुभएको थियो भने करिब २५ मेट्रिक टन कमसल स्याउ भेटिएको छ । जुम्लामा प्रतिकिलो रु ६० मा खरिद गरिएको स्याउ काठमाडौँमा रु १२० मा बिक्री गर्ने सम्झौता भएको चौलागाईंले बताउनुभयो । उहाँले करिब रु ३५ लाखको स्याउ खरिद गर्नुभएको छ । भदौ पहिलो साताभित्रै जुम्लाका ९० प्रतिशत स्याउका बगैँचा रित्तिएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनबहादुर डाँगी व्यापारीले अत्याएका कारण स्याउ पूर्ण रुपमा तयार हुन नपाएको बताए । रासस

नेशनल हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा कुमार पाण्डे नियुक्त

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार पाण्डे नियुक्त भएका छन् । भदौ ३ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले पाण्डेलाई हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले अब करिब ४ वर्ष सम्म कम्पनीको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।  

नेपाल व्यवस्थापन संघ र भारतको पीएचडी चेम्बरबीच समझदारी, व्यवसायको विस्तार गरिने

नयाँ दिल्ली । नेपाल व्यवस्थापन संघ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, भारत बीच आपसी सहकार्यका लागि विहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज द्वारा आयोजित “इण्डो–नेपाल जिएसटी मिट” कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो समझदारीपत्र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासद्वारा आयोजित ताजमहल होटलमा हुने कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा आदान प्रदान हुने कार्यक्रम छ । उद्योग र वाणिज्य क्षेत्रको विकास, विस्तार, प्रत्यक्ष विदेशी लगानी प्रवद्र्धन र प्रविधि हस्तान्तरणका क्षेत्रमा अध्ययन एवं अनुसन्धान, उपयुक्त र सामयिक नीतिगत व्यवस्थाका लागि पैरवी, उपयुक्त जनशक्ति विकास, दक्ष र प्रभावकारी व्यवस्थापन सहित प्राविधिक तथा आर्थिक क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदान गर्ने सदाशय अनुरुपका उद्देश्य राखेर यो समझदारी गरिएको छ । समझदारी अनुसार दुवै संस्थाहरुले व्यवसायिक सम्बन्ध स्थापना गरी पारस्पारिक सहयोगको आधारमा दुवै मुलुक, दुवै संस्था र त्यसमा आवद्ध सदस्यहरुलाई प्रत्यक्ष लाभ पु¥याउने क्षेत्र पहिचान गरी कार्यक्रमहरु सञ्चालन गर्नेछन्। दुवै मुलुकमा नयाँ अवसरहरुको उजागर गर्ने साना तथा मध्यम व्यवसायको विकास र विस्तार गर्नका लागि व्यवसायिक सञ्जाल विस्तार गर्ने प्रावधान पनि समझदारीमा रहेको छ । समझदारी हस्ताक्षर कार्यक्रममा नेपाल व्यवस्थापन संघको अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझेदारी उपसमितिका संयोजक डा. विनोद आत्रेय र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि, भारतका महासचिव सौरभ सन्यालको उपस्थिति रहेको थियो । समझदारी पत्रमा साक्षिकोरुपमा उनीहरुले हस्ताक्षर गरेका छन ।

ट्वाइलेटमा बसेर मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक

आजभोली मोबाइल मानिसको जिन्दगीको अहम् हिस्सा भइसक्यो । मानिसलाई मोबाइलबिना एक मिनेट पनि रहन गाह्रो पर्छ । यतीमात्र होइन धेरैजसो शौचालयमा पनि मोबाइल लिएर जानेगर्छन् । मोबाइल फोन डायरी मात्र नभई अब दैनिक पत्रिका जस्तो भइसकेको छ । एक समय यस्तो पनि थियो जब मान्छे पत्रिका वा म्यागजिन लिएर ट्वाइलेट जानेगर्दथे । अब ती मानिसहरु मोबाइल लिएर ट्वाइलेट जानेगरेका छन् । तर के तपाईंलाई थाहा छ ? जब तपाईंले ट्वाइलेटमा मोबाइल लानुहुन्छ भने तपाईंको मोबाइलमा ब्याक्टेरिया जस्तो खतरनाक किटाणु टासिन्छन् । ट्वाइलेटबाट निस्केपछि तपाईंले हात धुनुहुन्छ होला । तर तपाईंले मोबाइल त धुन मिल्दैन । तपाईं फेरि मोबाइल चलाउनुहुन्छ । तपाईंका हातमा किटाणु बस्छन् र तपाईंले हात धोएको बेकार हुन्छ । सार्वजनिक शौचालयमा यस्तो स्थिती झन् भयानक हुन्छ । अफिस, कुनै होटल वा रेष्टुरेन्टको सार्वजानिक ट्वाइलेटमा मोबाइलको प्रयोग गर्दा विभिन्न खतरनाक ब्याक्टेरिया पनि सम्पर्कमा आउछन् । मोबाइलमा ब्याक्टेरियाको जोखिम बढी नै हुन्छ । मोबाइलको प्रयोग गर्दा तात्छ । जसले गर्दा ब्याक्टेरियालाई जिवित राख्न र हुर्किनका लागि तातो वातावरण उपयुक्त हुन्छ। यही मोबाइल हामी खाना खाँदा पनि प्रयोग गर्छौं । यही बेलामा हातमा लागेको तेलपनि मोबाइलमा लाग्छ । यसले पनि ब्याक्टेरियालाई बढ्नमा मद्दत पुर्‍याउछ । पुरानो चलन अनुसार ट्वाइलेटमा मोबाइल फोन लानुको साटो अखबार वा म्यागजिन लानु बुद्धिमानी हुन्छ । वा ट्वाइलेटमा खाली हात जानु नै सबैभन्दा उत्तम तरिका हुन्छ। केही समय दिमागलाई खाली राख्नु पनि पर्छ ।  

न्युन बिजिकरणले राजश्व चुहावट हुने गरेको ठहर, बैंकिङ प्रणालीमार्फत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने

काठमाडौं ।  पछिल्लो समयमा न्युन बिजिकरणले राजश्व चुहावट बढेको भन्दै सरकारले कडाइ गर्न थालेको छ । सरकारले न्युन बिजिकरण रोक्न तेस्रो मुलुकबाट सामान बैकिङ प्रणालीमार्फत मात्र आयात गर्नुपर्ने व्यवस्था गरेको छ । न्युन बिजिकरण गरी तेस्रो मुलुकमा सामान नेपाल भित्रिदा राजश्व चुहावट हुने गरेको भन्दै सरकारले यस्तै व्यवस्था गरेको अर्थ मन्त्रालयका राजश्वसचिव शिशीरकुमार ढुङानाले बताए । यसलाई प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट आयात हुने सामानमा ०.२५ प्रतिशत भन्सार शुल्क छुट दिइने जानकारी दिए । यस्तै काठमाडौं उपत्यकामा बिक्रीवितरण हुने साढे ३ लाख प्रकारको सामानको आयात मूल्य जाँच गर्न विभिन्न भन्सार कार्यलय विवरण पठाएको उनले जानकारी दिए । त्यसपछि ती सामानको भन्सार दरवन्दी तोकिने भएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा राजश्व चुहावट नियन्त्रणका बारेमा सरकारको योजना सार्वजनिक गर्दे उनले तेस्रो मुलुकबाट आयात हुने सामाग्रीमा बढी राजश्व चुहावट हुने गरेको भन्दै यसलाई रोक्न विभिन्न नियम लागु गरेर कडाइ गर्न थालेको हो । ३० प्रतिशत बढी भन्सार दर मूल्याँकन हुने सामानको पनि भन्सार मूल्याँकनको पुनरावलोकन गर्ने तयारी भइरहेको उनले बताए । मंसिर १ गतेदेखि विदेशबाट आयात हुने सामाग्रीको सम्पुर्ण विवरण विद्युतीय माध्यममा राखिने भएको छ । यस्तै राजश्व सम्बन्धि नयाँ दर तोक्नका लागि सरकारले राजश्व बोर्ड विद्ययेकको मस्र्यौदा तयार पारेको सचिव ढुङानाले जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ । गत आवमा राजश्व संकलन लक्ष्य भन्दा ८ प्रतिशत बढी अर्थात ६ खर्ब १२ अर्ब रुपैयाँ संकलन भएको थियो । चालु आवमा साढे ७ खर्ब रुपैयाँ बढी राजश्व संकलन हुने अर्थका अधिकारीको अनुमान छ ।  

मंगलबारे खानेपानी आयोजना सञ्चालनमा नआउँदा जीर्ण अवस्थामा

उर्लाबारी (मोरङ) । मोरङस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । आयोजना सञ्चालनमा नआउँदा उर्लाबारी नगर क्षेत्रका एक तिहाइ जनसङ्ख्या अझै ट्युवेलको पानी पिउन बाध्य छन् । समितिको बेवास्ता र ढिलासुस्तीका कारण करोडौँ खर्च गरेर निर्माण गरिएका केही भौतिक पूर्वाधार जीर्ण बन्दै गएका छन् । ४० एमएमदेखि २०० एमएम सम्मका पाइप लामो समयदेखि अलपत्र अवस्थामा फ्याँकिएका छन् । तीमध्ये अधिकांश पाइप कामै नलाग्ने अवस्थामा पुगेका छन् । दुई लाख २५ हजार लिटर क्षमताको पानी ट्याङ्की जीर्ण बनेपछि बुटवलबाट कामदार बोलाएर मर्मत सम्भार गरिएको छ । समितिकै ढिलासुस्तीका कारण आयोजना निर्माण भइसक्दा पनि आफूहरुले पानी पिउन नपाएको उर्लाबारी–३ का पूर्ण श्रेष्ठले गुनासो गरे । उहाँले निर्माण भएको वर्षौंसम्म रेखदेख नपुग्दा पानीट्याङ्की कमजोर भइसकेको बताए । सो खानेपानी आयोजना आर्थिक बर्ष २०६१÷६२ मा स्वीकृत भएको थियो । उक्त वर्ष नै स्थानीयवासी शोभितबहादुर निरौलाको अध्यक्षतामा मंगलबारे सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भएको थियो । प्रारम्भिक चरणको काम गर्दागर्दै निरौला बिरामी परेपछि लामो समयसम्म समिति कार्यवाहक अध्यक्षको भरमा चल्यो । उर्लाबारी–३ का मुक्ति न्यौपानेले लामो समयसम्म कार्यवाहक चलाएपछि गत वर्ष भेला बोलाएर अहिले अध्यक्ष बनेका छन् । उनले अहिले बालुवा, गिट्टीको अभाव रहेकाले केही काम गर्न नपाउँदा पानी वितरणमा ढिलाइ भएको बताए । आयोजनाले १० किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको समितिका उपाध्यक्ष कमलनारायण मल्लिकले जानकारी दिए । साढे पाँच हजारका दरले करिब ३०० लाई सदस्यतासमेत वितरण गरिसकेको मल्लिकले बताए। उहाँले नयाँ आर्थिक वर्षदेखि केही बजेट प्राप्त भएपछि पानी वितरण गर्न थालिने बताए । नौ कट्ठा जमिनमा कम्पाउण्ड वाल, कार्यालय भवन, चौकीदार भवन, पम्पसेट गाड्ने, खानेपानीको ट्याङ्की निर्माण सबै काम ५ वर्षअघि नै सम्पन्न भएको हो । तर निर्माण भएका पूर्वाधारको रेखदेख र मर्मत सम्भार नहुँदा कम्पाउण्ड वाल, पानी ट्याङ्की लगायतका पूर्वाधार जीर्ण बनिसकेको छ । आयोजना निर्माणमा अहिलेसम्म रु तीन करोड ४९ लाखभन्दा बढी रकम खर्च भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । सो मंगलबारे खानेपानी आयोजना सञ्चालनमा आए नगरभित्रका तीन हजारभन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् । रासस

प्रम देउवा हैदरावाद जाँदै

नयाँदिल्ली मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनेछन् प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गरने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

सिन्धु विकास बैंकले हकप्रद निश्कासन गर्ने भएपछि सेयर मुल्य समायोजन

काठमाडौं । सिन्धु विकास बैंकले पुँजी बढाउन ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि उसको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले उसको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता २२२ रुपैयाँ कायम गरेको छ ।