विकासन्युज

एनआईसी एसियाको २० प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत, भदौ १६ गतेदेखि बुक क्लोज

काठमाडौं । एनआईसी एसिया बैंकको २० प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शुक्रबार एनआईसीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदा लाभांश स्वीकृत गरेको हो । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । एनआईसीको वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । उक्त साधारणसभा प्रयोजनको लागि भदौ १६ गतेदेखि ३० गतेसम्म बैंकको बुक क्लोज हुन लागेको छ ।

भारतसंग बढ्दो व्यापार घाटा : ४ अर्ब १२ करोड डलर बेचेर २ खर्ब ७३ अर्ब भारु खरिद

काठमाडौं ।  भारतसंग व्यापार घाटा चुलिएपछि डलर बिक्री गरेर भारु खरिद बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा नेपाल राष्ट्र बैंकले भारतबाट वस्तु तथा सेवा खरिद गर्न ४ अर्ब १२ करोड अमेरिकी डलर रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई बेचेर २ खर्ब ७३ अर्ब ५८ करोड भारु किनेको छ । यो अघिल्लो आवको तुलनमा ७२ करोड डलर बढी हो । अघिल्लो आवमा राष्ट्र बैंकले ३ अर्ब ४० करोड डलर बेचेर आरबीआईसंग २ खर्ब २५ अर्ब २४ करोड भारु किनेको थियो । निकासीको तुलनामा आयात भारी वृद्धि भएपछि वर्षेनी डलर बिक्री बढ्दै गएको छ । भारतसंग भारुमा मात्र कारोबार हुने भएकाले राष्ट्र बैंकले डलर बेचेर भारु खरिद गर्दे आएको छ । कुल वैदेशिक व्यापार मध्ये भारतसंग मात्र ६५ प्रतिशत बढी छ । बाँकी ३५ प्रतिशत चीन र तेस्रो मुलुकसंग छ । निकासीको तुलनमा आयातमा भारी वृद्धि भएपछि विदेशी मुद्राको खर्च बढ्दो छ । असार मसान्त १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति भएको राष्ट्र बैंकले जनाएको छ । गत आवमा मात्र भारतसंग व्यापार घाटा ३५ प्रतिशत बढेर ५ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा भारतबाट ६ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात हुदा नेपालबाट ४१ अर्ब ४४ करोड रपैयाँ बराबरको वस्तु मात्र निकासी भएको छ । एक वर्षमा समग्र वैदेशिक व्यापार घाटा ३०.४ प्रतिशतले बढेको छ । निर्यातको तुलनामा आयात धैरैले बढेका कारण व्यापार घाटा बढेको हो । आव ०७३÷०७४ मा व्यापार घाटा बढी ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा ७३ अर्ब पाँच करोड रुपैयाँको बस्तु निर्यात हुँदा ९ खर्ब ९० अर्बको आयात भएको छ । वैदेशिक व्यापारमा निर्यातको अंश करिब ७ प्रतिशत मात्रै देखिएको छ । आयातको अंश ९३ प्रतिशत पुगेको छ । यो दर बढ्दै गएको छ । एक वर्षमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ । गत आर्थिक वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर ९ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । पछल्लिो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । गत वर्ष भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष १ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँको उच्च बचतमा रहेको चालू खाता समीक्षा वर्ष वस्तु आयात उच्च दरले बढेको कारण १० अर्ब १३ करोड रुपैयाँले घाटामा गएको छ । निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकोले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालू खाता समीक्षा वर्षमा घाटामा गएको हो । त्यसैगरी, अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा वर्षमा घटेर ८२ अर्ब १५ करोड रुपैयाँले बचतमा छ ।  

होङसी शिभम् सिमेन्टले ७१ जनालाई जागिर दिने

काठमाडौं । नेपालमा सिमेन्ट कारखाना स्थापना गरेको बहुराष्ट्रिय होङसी शिभम् सिमेन्टले विभिन्न तहका लागि ७१ जना कर्मचारी मागेको छ । कम्पनीले शुक्रबार प्राविधिक कर्मचारीका लागि भर्ना खुला गरेको हो । कम्पनीले आगामी सेप्टेम्बर ५ सम्मका लागि आवेदन दिने मिति तोकेको छ । नवलपरासीमा सिमेन्ट कारखाना स्थापना गरिएको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य कारखानाको छ । होङसीलाई चीनबाट ३३ अर्ब रुपैयाँ लगानी ल्याउन सरकारले स्वीकृति प्रदान गरेको छ । नेपालको सिभम् सिमेन्टसंगको साझेदारीमा होङसीले नेपालमा लगानी गरेको हो ।

मेगा बैंकले २ अर्ब ९७ करोडको हकप्रद निश्कासन गर्दे, भदौ २७ देखि बिक्री खुला

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चुक्तापुँजी बढाउन झण्डै ३ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको छ । बैंकले शुक्रबार हकप्रद निश्कासन सम्बन्धि सूचना प्रकाशित गरी भदौ २७ देखि असोज ३० गतेसम्मका लागि बिक्री खुला गरेको जानकारी दिएको छ । बैंकले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद बिक्री गर्ने भएको छ । बैंकले १० बराबर ६ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब ५६ करोड ८ लाख रुपैयाँ पुग्ने छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

सप्तकोसी डेभलपमेन्टको हकप्रद बिक्री शुक्रबारदेखि बन्द

काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकको हकप्रद सेयर निश्कासन आज शुक्रबारदेखि बन्द हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गतेदेखि १ बराबर ३ अनुपातमा २७ करोड ४३ लाख रपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि बन्द

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री आजदेखि बन्द हुने भएको छ । चुक्तापुँजी बढाउन कम्पनीले असार २८ गतेदेखि १ बराबर १.६ अनुपातमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता सेयर निश्कासन गरेको थियो । बीमा समितिले चालु आर्थिक वर्षभित्र चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ कायम गरेपछि कम्पनीले हकप्रद निश्कासन गरेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्तापुँजी वृद्धि गर्न सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले १ करोड ४३ लाख रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ ।  बोनस सेयर वितरणपछि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ६७ औ र ६८ औं वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ । सभाले गत आर्थिक वर्ष र अघिल्लो आवको वित्तीय विवरण पारित गर्ने कार्यक्रम छ ।

किष्ट बैंक ठगी गर्ने फरार बस्ताकोटी पक्राउ, चार वर्ष कैद, चार करोड जरिवाना

काठमाडौं । किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालिका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७३ जेठ १३ गतेको फैसलाले भक्तपुर, दुवाकोट घर भएकी बस्ताकोटीलाई चार वर्ष कैद र चार करोड २६ लाख ८३ हजार ५००  रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । फैसलापश्चात् फरार रहेकी बस्ताकोटीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले टंकी–सिनवारी, मोरङबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा पेश गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय मोरङमा पठाइएको ब्यूरोले जनाएको छ । बस्ताकोटीले व्यावसायिक कारोबार विस्तार गर्ने प्रयोजनका लागि भनी किष्ट बैंकबाट कर्जा लिने मनसायले बैंकका तत्कालीन कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीको सहयोगमा बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीसमेतलाई प्रभावमा पारी कमसल धितो राखेकी थिइन् । धितोबापत कम्पनीको पुस्तक र भक्तपुरमा रहेको जग्गाको मूल्य १७ करोड पाँच लाख रुपैयाँ हुने गरी कमसल धितोको अधिक मूल्यांकन गराई २०६७ असार १ गते किष्ट बैंकबाट रु १२ करोड जोखिमयुक्त कर्जा लिएको र सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेको ब्यूरोले जनाएको छ । रासस