गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस्- प्रधानमन्त्री देउवा
काठमाडौँ । गरिबी निवारण कोषले मुलुकभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कोषको ६८औँ बैठकले आगामी दिनमा कार्यक्रम र स्रोतका उपायलाई विविधीकरण गरेर जाने निर्णय पनि गरेको छ । कोषले सन् २००४ देखि सामाजिक परिचालन, सामुदायिक संस्था स्थापना, अर्थाेपार्जनका लागि चक्रकोष सञ्चालन, सामुदायिक पूर्वाधार निर्माण, सिँचाइ, खानेपानी, बजार व्यवस्थापन, विद्यालय निर्माण, सीप विकास तालिम, पकेट क्षेत्र उत्पादनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोषका लक्षित समूहअन्तर्गत अति विपन्न १० लाख घरपरिवार रहेका छन् । यो कार्यक्रम मुलुकका ५८ जिल्लाका ५२७ स्थानीय तहमा सञ्चालन रहेको कोषका उपाध्यक्ष यामबहादुर थापाले जानकारी दिए। मुलुकमा गरिबी निवारणमा औसत रुपमा एक प्रतिशतका दरले सुधार आएकामा कोषका कार्यक्रम रहेको स्थानमा यो प्रगति २.५ रहेको जानकारी दिइएको छ । कोषले कार्यक्रम प्रारम्भ गर्दाको चरणमा अति विपन्न परिवारले खाद्य सुरक्षा चार महिनाको रहेकामा अहिले दोब्बर भई आठ महिना पुगेको उपाध्यक्ष थापाले जानकारी दिए। गरिबी निवारण कोषअन्तर्गत समुदायलाई सशक्तीकरण गर्न रु १५ अर्ब राशिको सामाजिक घुम्ती कोष सञ्चालनमा रहेको छ । कोषले डेढ दशकअघि शुरु गरेको कार्यक्रमको यो वर्ष अन्तिम हो । सरकारले पहिलो चरणमा गरिबी निवारण तीनखाले प्रमाणपत्र तीन लाख ९२ हजार जना विपन्न घरपरिवारलाई प्रदान गर्ने तयारी गरिरहेको छ । बैठकले भविष्यका गरिबी निवारण कार्यक्रम के कस्ता हुने तथा स्रोतका आधार कसरी तयार गर्ने भन्ने विषयमा आगामी रणनीति बनाउन आगामी यही भदौको अन्तिम सातातिर सरोकारवालासमेत सम्मिलित उच्चस्तरीय परामर्श कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । त्यस्तै प्रधानमन्त्रीको अध्यक्षतामा आगामी नोभेम्बरमा हस्तकलासम्बन्धी अन्तर्राष्ट्रियस्तरको बिक्री, प्रदर्शनी र नीति निर्माण गर्ने ढङ्गले गोष्ठीको आयोजना गर्ने निर्णय भएको पनि उपाध्यक्ष थापाले जानकार िदए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोषका कार्यक्रमलाई विस्तार गर्न आवश्यक वित्तीय स्रोत व्यवस्थापनका लागि कार्ययोजना बनाउन निर्देशन दिए ।
अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने
काठमाडौं। राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ । अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी संरक्षण गर्नको लागि तयारी गरिएको बताए । जिल्ला–जिल्लामा टोली खटाई अभिलेखालयले त्यस्ता कागज संकलन गर्नेछ । उनका अनुसार लालमोहर लागेका पत्र, पञ्जा छाप र राज्यले कुनै व्यक्तिलाई जग्गा दिँदा गरेको कागजजस्ता पुराना व्यक्तिगत हस्तलिखित कागजातलाई अभिलेखालयले संकलन गरी संरक्षण गरिने छ । ‘‘कुनै व्यक्तिले अभिलेखालयमा आएर आफैँ संरक्षण गर्नुहोस् भनेर पनि दिन सक्दछन्’’ उनले भने–‘‘त्यसका अलावा हामी आफैँ जिल्ला–जिल्लामा टोली खटिई संकलन गर्ने छौँ ।’’ उनले त्यस्ता व्यक्तिगत लिखितलाई किनेर भए पनि ल्याइने बताए । यस्तै अभिलेखालयले व्यक्तिले राखेको धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने भएको छ । टोलीमा जिल्लामा गई व्यक्तिसँग भएका पुराना धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने तयारीसमेत गरेको छ । व्यक्तिको घरमा रहँदा ती धार्मिक ग्रन्थको संरक्षण नहुने भएकाले उनीहरुको मञ्जुरीमा अभिलेखालयमा ल्याई संरक्षण गरिने छ । अभिलेखालयमा राजा गीवार्णयुद्धविक्रम शाहदेवका पालादेखिका करिब ३० हजार हस्तलिखित पुराना ग्रन्थ रहेका छन् । कुनै पनि लिखित कागज २५ वर्ष पूरा भएपछि अभिलेखका रुपमा त्यस्त कागजलाई लिने गरिन्छ । रासस
ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन ३२ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।
२५ वटा बाणिज्य बैंकको नाफा ४३ अर्ब नाघ्यो, कुन बैंकको कति ? (सूचीसहित)
काठमाडौं । २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब नाफा कमाएका छन् । हालसम्म गत आर्थिक बर्ष २०७३/७४ चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब १५ करोड १० लाख ३ हजार नाफा कमाएका हुन् । अघिल्लो आवको सोही अवधीका तुलनामा तिनै बाणिज्य बैंकहरुको नाफा २ अर्ब ९५ करोड अर्थात करिब ७ दशमलब ३३ प्रतिशतले बढेको देखिन्छ । आर्थिक बर्ष २०७२/७३ को चौथो त्रैमासिक अवधीको वित्तिय विवरणमा यी बैंकहरुको कुल नाफा ४० अर्ब २० करोड ८ लाख ४८ हजार मात्रै नाफा कमाउन सफल भएको देखिन्छ । गत आर्थिक बर्षमा सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा नविल बैंक दर्ज भएको छ । नविल बैंकले ३ अर्ब ६२ करोड नाफा कमाएको छ । दोश्रो स्थानमा रहेको नेपाल बैंकले ३ अर्ब २१ करोड नाफा कमाएको छ भने तेश्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब १६ करोड नाफा कमाएको छ । जनता बैंक, मेगा बैंक र कुमारी बैंक भने थोरै नाफा कमाउने बैंकमा परेका छन् । जनता बैंकले ६४ करोड नाफा कमाएको छ भने मेगा बैंकले ७९ करोड आर्जन गर्दा कुमारी बैंकले ७० करोड नाफा आर्जन गरेको देखिन्छ । हालसम्म सिभिल बैंक, एनसीसी बैंक र सेञ्चुरी बैंकले भने वित्तिय विवरण बुझाएका छैनन् ।
यूनियन हाइड्रोले आइपीओ निष्काशन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । यूनियन हाइड्रोपावरले स्थानिय सर्वसाधरणको लागि ६ करोड ३३ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ३३ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । हाइड्रोले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।
फ्लोरिकल्चरको ७ दिने कटफ्लावर पसल व्यवस्थापन तालिम सुरु
काठमाडौं । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब ले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ । तालिमकै अवधीमा खुद्रा पसलको अबलोकन, कट फ्लावर लामो समय टिकाउ बनाउने तरिका, बिभिन्न कार्यक्रमहरुमा गरिने पुष्प सजावटको तरिकाहरु पनि सिकाइने फ्लोरिकल्चर एशोसिएशन तालिम संयोजक बिश्वमणि पोखरेलले जानकारी दिए । कट फ्लावर सप एरेन्जमेन्ट तालिमका प्रमुख अतिथी नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारीले उत्पादनको अन्तिम ढोका खुद्रा पसल भएकोले खुद्रा पसलको ब्यबस्थापन तालिम सबै व्यवशायीका लागि महत्वपूर्ण हुने बताए । फ्लोरिकल्चर एशोसिएशन नेपाल २५ बर्षमा लागेको र अब युवा भइसकेको बताउँदै फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठले फ्लोरिकल्चर उद्योगको बिकास र बिस्तारका लागि सरकार र नीजी क्षेत्र सँगै अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरे । देश नै प्रादेशिक संरचनामा गइसकेको अबस्थामा फ्लोरिकल्चर क्षेत्रका बिबिध गतिबिधीहरु, तालिमर मेला पनि प्रादेशिक संरचनामा गर्नुपर्ने अबस्था आइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए । नेपालमा संख्यात्मक रुपमा कट फ्लावर सपहरु खुलेपनि गुणात्मक बन्न नसकेका खुद्रा पसलहरुलाई यो तालिमले फाइदा पुग्ने बिश्वास फ्यानले गरेको अध्यक्ष कसजुले बताए । कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका उपसचिब शिरिष पुन, पुष्प बिकास केन्द्रका प्रमुख द्रोण राज काफ्ले, जिल्ला कृषि बिकास कार्यालय काठमाडौंका प्रमुख यम कुमारी श्रेष्ठ, तालिमका मुख्य प्रशिक्षक नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब लगायत फ्यानका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
पुनः सर्वेक्षणका लागि १४ जिल्लामा खटिए इञ्जिनियर, कुन कुनमा खटिए?
काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । यसअघि दुई समूह प्रभावित जिल्लामा परिचालन भएर काम शुरु गरिसकेको र तेस्रो समूह आजदेखि काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित भएको हो । इन्जिनियरले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजार वटा गुनासा पुनः सर्वेक्षण गर्ने छन् । गुनासा फस्र्योट भएर लाभग्राही तथा प्रवलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा दर्ता भएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रवलीकरण सूचीमा परेको प्रवक्ता यमलाल भुसालले जानकारी दिए । जिपिएस प्रविधिमा आधारित भएर ट्याब्लेटमार्फत गरिने पुनः सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुनेछन् । पुनः सर्वेक्षणका लागि दोलखामा २७, गोरखामा २८, नुवाकोटमा १६, रामेछापमा २४, रसुवामा चार, धादिङमा २९, सिन्धुपाल्चोकमा १२, काभ्रेपलाञ्चोकमा ४१, ओखलढुंगामा १६, सिन्धुलीमा ६०, मकवानपुरमा ४८, काठमाडौँमा ११, ललितपुरमा आठ र भक्तपुरमा सातजना इन्जिनियर खटाइएको प्राधिकरणले जनाएको छ । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ । गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरबाट आफ्नो भत्केको घरको पुनः सर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट विमुख नहुन प्राधिकरणले अनुरोध गरेको छ । गुनासो दर्ता नगराएकाले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् । पीडितको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इञ्जिनियरलाई दिएमा तत्काल सर्वेक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ । सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ । प्राधिकरणले गुनासो संख्याको अनुपातमा इञ्जिनियर परिचालन गरेको जनाएको छ । १४ जिल्लाका दुई लाख सात हजार ५०० ले केन्द्रीय कार्यालयमा गुनासो दर्ता गराएका थिए । सर्वेक्षण भएका घरधुरीको असोज मसान्तसम्ममा फर्छयौट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले भूकम्प अति प्रभावित क्षेत्रका वासिन्दा, स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल र अन्य सम्बद्ध सबैमा पुनःसर्वेक्षणलाई सफल पार्न सहयोग पुर्याउन आह्वान गरेको छ । यस सम्बन्धी थप जानकारीका लागि पीडितले प्राधिकरणको टोल फ्रि नम्वर १६६००१७२००० वा मोबाइल नं ९८०१५७२१११ मा सम्पर्क गर्न सक्ने छन् । रासस
बाढी पहिरोपीडितलाई राहत पुर्याउन सरकार केन्द्रित छः प्रधानमन्त्री देउवा
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले १५ लाख १ हजार १११ रुपैयाँ प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पुर्याउन आह्वान गरेका छन् । सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्न लगायतका सहयोग जारी राख्ने बताएका महासङ्घले जनाएको छ । रासस