विकासन्युज

कर्जा लिन स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा सस्तो, धेरै कर्जा ७ देखि १० प्रतिशतमा पाइने

काठमाडौं । कर्जा लिनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा सस्तो बैंक भएको छ । यो बैंकको बेसरेट सबैभन्दा सस्तो देखिएको छ । असार मसान्तमा यस बैंकको बेस रेट ६.४७ प्रतिशत छ । बैंकले बेसरेटमा १ प्रतिशतदेखि ६ प्रतिशतसम्म थप गरेर कर्जा लगानी गर्ने गरी नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले आईतबार प्रकाशित गरेको व्याजदर अनुसार यस बैंकले वहुराष्ट्रिय कम्पनीलाई बेसरेटभन्दा २ प्रतिशत बढीमा व्याजमा कर्जा दिने जनाएको छ । वहुराष्ट्रिय कम्पनीले बैंकबाट ८.४७ प्रतिशतमा कर्जा पाउने छन् । यतिबेला नेपाली बैंकहरुले १३ प्रतिशतभन्दा कममा कर्जा दिन मानिरहेका छैनन् । स्ट्याण्डर्ड चार्टर्ड बहुराष्ट्रिय बैंक हो । यस बैंकले नेपाली बैंकहरुले भन्दा करिव साढे चार प्रतिशत कम कर्जाको व्याज तोकेको छ । त्यस्तै सरकारी ऋणपत्र, बैंक ग्यारेन्टी धितो राखेर कर्जा लिनेलाई बैंकले ८.४७ प्रतिशत मात्र व्याज लिने छ । बैंकले सर्टटर्म लोन, डिमाण्ड लोन, इम्पोट लोन करिव ९ प्रतिशतमा दिने भएको छ । यस बैंकले घर कर्जा ९.४७ प्रतिशतमा दिने भएको छ । डिप्प्राइड सेक्टर लोन ७.४७ प्रतिशतमा दिने भएको छ । बैंकले साधारण बचतकर्तालाई बढीमा २.७ प्रतिशत र तीन वर्ष अवधिको मुद्दतीमा बढीमा ७ प्रतिशत व्याज दिने भएको छ । उल्लेखित व्याजदर भदौं ४ गते आईतबारबाट लागू भएको बैंकले जनाएको छ । बैंकको स्प्रेडदर ५.०१ प्रतिशत रहेको छ ।  

बिओकेले ६१ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य २६६ रुपैयाँ मात्र

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता संस्थापक सेयरको एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले सो मात्राको संस्थापक सेयरहरु प्रिमियम मूल्य सहित प्रतिकित्ता २६६ रुपैयाँमा निष्काशन गर्न लागेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत न्यूनतम १६६ रुपैयाँ थप गरी प्रति सेयर २६६ रुपैयाँका सेयर निष्कासन गर्दै छ । साथै, सो वा सो भन्दा बढी मूल्यमा लिलाम बढाबढ गर्नको लागि नेपाल धितोपत्र बोर्डले जनाएको अनुसार विवरणपत्र तयार गरेको बैंकले जनाएको छ ।

नेसनल हाइड्रोपावरको कार्यकारी अध्यक्षमा कुमार पाण्डे

काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडको कार्यकारी अध्यक्षमा पुनः कुमार पाण्डे नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसअघि उनी बोर्ड अध्यक्ष मात्र भएकोमा शनिबारदेखि उनले कार्यकारीको पनि जिम्मेबारी पाएका छन् । ४ वर्षअघि कम्पनीको अध्यक्ष भएका पाण्डेले नेसनलमा धेरै सुधारका काम गरेका छन् । विकास न्युजसंग कुरा गर्दे उनले नेसनललाई आर्थिक रुपमा मजवुत बनाएर लगानीकर्तालाई प्रतिफल दिने योजना रहेको सुनाए ।

यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो, पहिलो उडान भैरहवामा

काठमाडौ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ । यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ । यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

इलाममा मात्र ५ अर्बको दूध उत्पादन

इलाम, ३ भदौ । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३÷०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो । उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष रु चार अर्ब ७० करोड ६१ लाख भित्रिएको छ । दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए। त्यस्तै निजीस्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरी बिक्री हुन्छ । जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन् । पशुआहाराका लागि किसानले टिओसेन्टी, जै, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घाँस लगाएका छन् । इलाममा दूध सरदर रु ३८ देखि ४५ प्रतिलिटरले बिक्री हुने गरेको छ । दुग्ध विकास संस्थानले जिल्लाका बिब्ल्याँटे, पूवाखोला, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे र फिक्कल तथा कुट्टीडाँडालगायत १६ वटा दुग्ध चिस्यान केन्द्रबाट दूध ढुवानी गर्दै आएको छ । जिल्लाका ग्रामीण भेगमा उत्पादित दूध स्थानीय डेरी उद्योग, सहकारी संस्था र त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार जिल्लामा १०० वटा छुर्पी, नौवटा ललीपप, चीज २४, एक आइस्क्रिम र दुई वटा ठूला डेरी उद्योग सञ्चालनमा छन् । यीबाहेक दर्ता नभई पनि जिल्लामा दर्जनभन्दा बढी डेरी उद्योग समेत सञ्चालन भइरहेका छन् । ती उद्योगमा वार्षिक रु ८५ करोडभन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ । दूधबाट निर्मित घ्यू प्रतिकिलो रु ५००, छुर्पी रु ८००, ललीपप प्रतिकिलो रु १० हजारमा बिक्री हुँदै आएको छ ।

सगुनको दोस्रो चरणको शेयर निस्कासन, क्रेडिट र डेविट कार्डबाट पनि लगानी गर्न सकिने

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो । विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो । उनले भने ‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।’ क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिए । पुर्सेलले भने-‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी जुटाउनेरेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।’ सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ । “सगुनपहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं ।भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने । औपचारीक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गरे । उनले भने, ‘बीर गोर्खालीको रुपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाईले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाटहामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौं ।’ सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ । यस शेयर निस्कासनको पहिलो चरणमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि भएके कम्पनीले जनाएके छ । सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन शब्द संस्कृतको सकुन भन्ने शब्दबाट लिइएको हो जसको अर्थ राम्रो भाग्य वा शुभ अवसर भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरियो ।

साढे ४७ अर्ब राजश्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०७४÷०७५ सुरु भएपछि लक्ष्यको साढे ६ प्रतिशत राजश्व संकलन गरेको छ । भदौ १ गतेसम्म सरकारले ४७ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवमा सरकरले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो । साउनमा ४६ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र भदौ १ गते ७७ करोड ८७ लाख रुपैयाँ राजश्व ठुकुटीमा जम्मा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

वागमति जस्तै चक्रपथ सफाई अभियान सुरु, पहिलो शनिबार १३ फोहोर संकलन

काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु भएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो । पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको हो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो । सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो । सफाईमा पाँंच सय वढीको सक्रिय सहभागिताका थियो । स्थानीय, सशस्त्र प्रहरी , नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जन प्रतिनिधिहरु सरसफाईमा जुटेका थिए । वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हास्यकलाकार श्रीकृष्ण सिम्खडालगायतका विशिष्ठ ब्यक्तित्वहरु पनि सहभागी रहेका थिए ।  सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भने, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं । कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो । चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो । अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको उनले बताए ।  चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । संकलित फोहरलाई फोहर उठाउने गाडीमा राखी काठमाण्डौं महानगरपालिका वडा नम्वर १३ ले ब्यवस्थापन गरिएको थियो । सफाई अभियानमा नार्गजुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी , काठमाण्डौ महानगरपलिका १३ नंम्वर वडा अध्यक्ष धुर्वनारायण मानन्धर वडा सदस्य रामवावु कोईराला , नागरर्जुन नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष करण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना , ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन , नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका थिए ।