विकासन्युज

५० खर्बको लेखा परिक्षण गर्ने योजना, मन्दिर, गुम्बा, मस्जिद र चर्च पनि दायरामा

काठमाडौं । अब ५५०० वटा निकायहरुको ५० खर्ब भन्दा बढि रकमको लेखा परिक्षण हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५ औं बार्षिक प्रतिवेदनमा सरकारी, नीजी, पब्लिक लगायतका संघ संस्थाहरुको ५० खर्ब रुपैंयाँ बराबरको लेखा परिक्षण गर्ने भएको हो । महालेखाले आफ्नो ५४ औं बार्षिक प्रतिवेदनमा जम्मा १२ खर्ब ९४ अर्बको मात्रै लेखा परिक्षण गरेको थियो । महालेखाले पहिलो चरणमा मन्त्रालय, केन्द्रिय विभाग, काठमाडौं, भक्तपुर, ललितपुर लगायत पहाडका जिल्लाहरुको लेखा परिक्षणका लागि ४५० जना लेखा परिक्षकलाई साउन १५ गतेबाटै खाटईसकेको महालेखा परिक्षक टंकमणी शर्माले जानकारी दिए । उनीहरुले ४५ दिन लगाएर तोकिएको कार्यालय तथा फर्महरुको लेखा परिक्षण गर्नेछन् । महालेखाले पुस दोश्रो हप्तादेखि थप ३१ जिल्लामा लेखा परिक्षणको काम थाल्नेछ भने चैतमा बाँकी कार्यालय तथा जिल्लाहरुको लेखा परिक्षण अघि बढाउनेछ । ‘तीन चरणमा लेखा परिक्षणको काम अघि बढाउँदैछौं, यसपाली ५० खर्बको लेखा परिक्षण हुन्छ, निजी क्षेत्रका कम्पनीहरुको पनि यसपाली अडिट गर्छाै’, शर्माले भने । उनले लेखा परिक्षणको नेपाली इतिहासमा पहिलो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नागरिक मार्फत उजुरी आव्हान गरेको पनि बताए । शर्माले अब देखि प्रत्येक जिल्लामा महालेखाको कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । अब मन्दिर, गुम्बा, मस्जिद र चर्चको पनि लेखा परिक्षण महालेखा परिक्षक शर्माले अब देखि मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको पनि लेखा परिक्षण गर्ने बताए । ‘अहिलेसम्म मठ मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको आम्दानीको लेखा परिक्षण हुने गरेको छैन, यसपालीबाट सुरु गर्छाै’, शर्माले भने ।

चार कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?

काठमाडौं । बुधबार मात्रै चार बैंक तथा वित्तीय संस्थाको २ करोड ८ लाख ५६ हजार ७६३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको गरी सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ००५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, नेप्सेमा तिनाउ विकास बैंकको ११ लाख ९४ हजार ७९६ कित्ता र टुरिजम डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको बुधबार स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए । “यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ,” उनले भने, “सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ ।” प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएका थिए। आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए । दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरे। सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे उहाँलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुग्नुभएका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । “अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुपर्यो,” उनले भने । निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । रासस

फेवा विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ५२७ रुपैयाँ मात्र

काठमाडौं । बुधबार फेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २०.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५२७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ रहने छ ।

बक्यौता असुलले कामपाको आम्दानी बढ्यो

काठमाडौ। काठमाडौँ महानगरपालिकामा लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल भएपछि ३२ करोड १० लाख रूपैयाँ लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी भएको छ । कामपाले आन्तरिक आम्दानीका लागि आव २०७३/७४ मा एक अर्ब ४६ करोड २१ लाख लक्ष्य लिएकोमा एक अर्ब ८७ करोड ११ लाख रूपैयाँ आम्दानी गरेको छ । याे ३२ करोड १० लाख लक्ष्यभन्दा बढी हो । अघिल्लो आवको तुलनामा यस वर्ष बक्यौता रकम प्राय सबै उठेकाले यस वर्ष आन्तरिक आम्दानी बढेको कामपाको राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए । उनकाअनुसार नेशनल ट्रेडिङले गत आवमा १० करोड बक्यौता रकम तिरेको । त्यसैगरी ट्रेड टावर, एभरेष्ट होटलबाहेक अन्य ठूला सबै होटलले बक्यौतासहित करको दायरामा आएकाले कामपाको आन्तरिक आम्दानी बढेको हो । आन्तरिक आम्दानीको शीर्षकमा सबैभन्दा बढी विज्ञापन करमा लक्ष्यभन्दा निकै बढी रु सात करोड ७३ लाख असुल गरेको छ । त्यसको लागि रु ७२ लाख ७३ हजार लक्ष्य लिइएको थियो । २०७२ साल भदौ १६ गते सर्वोच्च अदालतले विज्ञापन प्रचारप्रचारको सम्बन्धमा परमादेश जारी गरी सार्वजनिक सडकलगायतका स्थानमा पर्चा, पम्प्लेट टाँस्न नपाउने भनेपछि आदेशअनुसार कारबाही गरी सार्वजनिक स्थानमा भएको विज्ञापन हटाउँदा नियमानुसार रहेका विज्ञापन सबै करको दायरामा आएकाले विज्ञापन कर बढी असुल भएको हो । त्यसैगरी, बाह्य आम्दानीतर्फ गत वर्ष कामपाले एक अर्ब ८९ करोड २२ लाख आम्दानी गरेको छ । बाह्य आम्दानीअन्तर्गत नेपाल सरकारको अनुदान, नेपाल सरकारको स्थानीय विकास शुल्क तथा भगिनी सम्बन्ध भएका विदेशी सहरबाट आएको सहयोग आदि पर्दछ । रासस

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, प्रिपेडग्राहकले अब रु ४० सापटी लिन सक्ने

काठमाडौं । एनसेलका ग्राहक माझ निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा. लिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमॉ डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् । सापटीको यो नयाँ योजना यहि बुधबार (साउन १८) देखी लागु हुनेछ । सापटी सेवा अन्र्तगतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क रु २ (कर बाहेक) मा यो सेवाबाट लाभ लिन सक्नेछन् । आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ । ‘‘सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवाहरु मध्य एक हो । त्यसैले यो सेवा संचालनको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आफ्ना ग्राहककालागि सापटी सुविधा अन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । यसले ग्राहकलाई थप मुल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । दुई महिनावा सो भन्दा बढि समय देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् । प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स ९९८८ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको रु ४० र सेवा शुल्क बापतको रु २ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ४० भन्दाकमभएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकमअर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरिे सापटी सेवाको बारेमा जानकारी लिन सक्नेछन् । डबल सापटी योजना ९० दिनको लागिमान्य रहनेछ । प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्नो मेन ब्यालेन्स रु ५ वा सो भन्दाकम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनु पर्नेछ । ग्राहकले एस्ट्रिक्स ९०१ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।

जग्गा खरिदमा अनियमिता भेटिए गोपाल खड्कालाई कार्वाही हुन्छ-आपूर्तिमन्त्री

काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले जग्गा खरिदमा अनियमितताको आशंका गर्दै दोषी देखिए कार्वाही गर्ने बताएका छन् । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा बुधबार बोल्दै आपूर्तिमन्त्री मण्डलले जग्गा खरिदमा भएको अनियमितता बारे आजै मन्त्रालयमा छलफल गरेर दोषी पाइए कार्वाही गरिने जानकारी दिएका हुन् । समितिमा बोल्दै मन्त्री मण्डलले भ्रष्टचार गर्ने कसैलाई पनि बाँकी नराख्ने भन्दै यदी गल्ति भेटिए नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निगमले जग्गाको मूल्य विश्लेषण नगरी हचुवाको भरमा दलालमार्फत चलनचल्तीको भन्दा बढी जग्गा खरिद गरेको आरोप लागेको छ । संसदको अर्थ समितिले गठन गरेको उपसमितिले छानविन गर्दा जग्गा खरिदका लागि बोलपत्र आब्हान गर्दा भ्रष्टचार भएको ठहर गरेको छ । बोलपत्रमार्फत जग्गा खरिद गरेको भएपनि चलनचल्तिको भन्दा धेरै मूल्य तिरेर जग्गा खरिद गरेको देखिएको उपसमितिको निष्कर्ष छ । यता जग्गा खरिदमा अनियमितता भएको समाचार बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन थालेको छ । अख्तियारले आफनो तर्फबाट आयल निगमले खरिद गरेको जग्गाको छानविन थालेको प्रमुख आयुक्त दीप बस्नेतले संसदको सुशासन समितिलाई जानकारी दिएका छन् । उनले हाल यस विषयमा अख्तियारले सुक्ष्म अध्ययन गरिरहेकाले केही समय पर्खन बस्नेतले सांसदको ध्यानकर्षण गराएका थिए ।

एक अर्ब ८५ करोड खर्चिएर स्वचालित सबस्टेसन जडान गरिँदै, गुणस्तर र आपूर्ति व्यवस्थापनमा सुधार आउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका विद्युत वितरण सबस्टेसन स्वचालित बनाउन एक अर्ब ८५ करोड खर्चने भएको छ । गुणस्तरीय विद्युत आपूर्तिका लागि प्राधिकरणले देशभरिका सबस्टेसन जडान गर्न लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । सबस्टेसन अटोमेशन पश्चात गुणस्तर र आपूर्ति व्यवस्थापनमा सुधार आउने बताइएको छ । ‘प्राधिकरणले भइपरि आउने प्राकृतिक विपद तथा अन्य जोखिमबाट जोगाउन सबस्टेसनलाई स्वचालित गराउन लागिएको हो,’ उनले भने ‘देशभरका विद्युत वितरण सबस्टेसन आधुनिक एवम् स्वचालित गरी स्तरोन्नती गर्ने भएको छ । विद्युत वितरण प्रक्रिया स्वचालित हुँदा विद्युतीय दुर्घटना कम गर्दै लोड व्यवस्थापनमा सुधार आउने अधिकारीको भनाइ छ । अटोमेसन जडानका लागि विश्व बैंकले आर्थिक सहयोग गर्न लागेको हो । प्राधिकरणले अबको ४ महिनाभित्र सबस्टेसन अटोमेशन जडानका लागि ठेक्का प्रक्रिया टुंग्याउने भएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाबाट काम शुरु गर्ने गर्दै देशभरि यो परियोजना लागू गर्नेछ । देशमा उपत्यकामा १४ सहित देशभर ४६ सबस्टेसन सञ्चालनमा छन् । प्राधिकरणले उपत्यकाका तीन सहरबाट काम सुरु गर्न लागेको छ । सञ्चालित सबस्टेसन स्वचालित प्रणालीमा लैजाँदा निरन्तर मर्मत गर्नुपर्छ । यसो हुँदा उपकरणको आयु बढ्छ र लामो समयसम्म सञ्चालन गर्न सकिन्छ । सवस्टेसन अटोमेसन भएपछि प्राधिकरणले सञ्चालन गर्न मान्छे खटाइरहन नपर्ने र विद्युत आपूर्तिसमेत भरपर्दो हुने बताइएको छ । प्राधिकरणले देशभरका सबस्टेसनसँगै महानगर र उपमहानगरपालिकाका वितरण केन्द्र पनि स्वचालित प्रणालीमा विकास गर्ने योजना बनाएको छ । उक्त कार्य सुरुमा काठमाडौंका ९ वितरण केन्द्रबाट सुरु हुनेछ । प्राधिकरणले उपत्यकाको वितरण प्रणाली भूमिगत गर्ने प्रक्रिया सुरु गरिसकेको छ । उक्त स्थानहरूमा स्वचालित वितरण केन्द्र र स्मार्ट मिटर जडान कार्यसँगसँगै अघि बढाउने प्राधिकरणले जानकारी दिएको छ । सो कार्य ‘विद्युत प्रसारण तथा वितरण क्षमता विस्तार आयोजना (पिटिडिइपी)’ अन्तर्गत दोस्रो चरणमा गर्न लागिएको हो । प्राधिकरणले प्राविधिक चुहावट घटाउने योजनासहित देशभर जडित पुराना ट्रान्सफर्मर प्रतिस्थापन गरेर नयाँ र आधुनिक गर्न लागेको हो । रत्नपार्क र महाराजगन्जमा यो कार्य गर्ने प्राधिकरणले जानकारी दिएको छ । यो ट्रान्सफर्मर जडानपछि प्राविधिक चुहावट कम हुने प्राधिकरणको दाबी छ ।