बिहीबार भक्तपुरमा बिजुली आपूर्ति बन्द हुने
काठमाडौं । थिमिस्थित सवस्टेशन मर्मतका लागि भक्तपुरमा बिहीबार दिउसो ५ घण्टा विद्युत आपूर्ति कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोली विहान ११ बजेदेखि दिउसो ४ वजेसम्म ५ घण्टा भक्तपुरका विभिन्न १० स्थानमा बिजुली आपूर्ति बन्द हुन लागेको हो । भक्तपुरका अधिकाँश स्थानमा बिजुली आपूर्ति बन्द हुने भएको छ । थिमीको सवस्टेशनबाट प्रवाह हुने बिजुली आपूर्ति बन्द हुने प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले बताए । नियमित मर्मत सम्भारका लागि बिजुली आपूर्ति बन्द हुने उनले जानकारी दिए । धितालका अनुसार भक्तपुरका निकोसेरा, राधेराधे, न्युथिमी, गठठाघर, कौशलटार, बालकोट, लोकन्थली दधिकोट, गुण्डु र सानो थिमीमा बिजुली आपूर्ति बन्द हुने भएको छ । प्राधिकरणले उपत्यकामा विद्युत प्रवाहलाई सहज बनाउन पुराना प्रणालीलाई प्रतिस्थापन गर्न थालेको छ । नयाँ बानेश्वर सवस्टेशनलाई आधुनिकीकरण गरेको छ । यस्तै अन्य सवस्टेशनलाई पनि आधुनिकीकरण गर्ने तयारी भएको छ । यस्तै महाराजगञ्ज र रत्नपार्कको मुल सडकमा वितरण प्रणालीलाई भुमिगत गर्न तयारी थालेको छ ।
सुजुकी मोटरसाईकल एण्ड स्कुटर्सको डिलर सम्मेलन थाइल्याण्डमा सम्पन्न
काठमाडौं । नेपालको लागी सुजुकी टू ह्वीलर्सको आधिकारिक बितरकले सुजुकी मोटरसाईकल एण्ड स्कुटर्स डिलर सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले हालै साउन ९ देखि साउन १३ गतेसम्म एशियाको गल्फ राजधानी एवं मनोहर देश थाइल्याण्डमा टू ह्वीलर्सका डिलरहरुको सम्मेलन आयोजना गरेर नयाँ र पुराना डिलरहरुसँगको सम्बन्धलाई अझ कसिलो बनाएको छ । वितरकहरुको सो सम्मेलन पटाया र बैंङ्ककका सुन्दर होटलहरुमा गनिने होटल सिजन पटाया र होटल सिजन सियाम बैंङ्ककमा सम्पन्न गरिएको थियो । नेपालभर रहेका सुजुकी टू ह्वीलर्सका ७० वटा शोरुमका सबै वितरकहरुको समुपस्थितिबीच उक्त सम्मेलनमा विगतका रणनीतिको समीक्षा र आगामी दिनको योजनाका सम्बन्धमा घनीभूत छलफल चलाइएको थियो भने ब्राण्डको विकास गर्ने सम्बन्धमा एक सत्रको पनि संचालन गरिएको थियो । डिलर सम्मेलनमा बेस्ट डिलर अवार्डद्वारा गत वर्षमा उत्कृष्ट कार्य गर्ने धरानका वितरक नवदुर्गा अटो प्यालेसलाई सम्मानित गरिएको थियो । सम्मेलनका सहभागी वितरकहरुले पटायाको मनभावन प्राकृतिक छटाहरु र अकल्पनीय मनोरञ्जनको पनि भरपूर आनन्द उठाएका थिए । भिजि अटोमोबाइल्सका सिइओ चिरञ्जिवी शाहले सम्मेलनको उद्घाटन गर्दै भने, ̎हामी भिजि अटोमोबाइल्स यस कुरामा दृढ विश्वास राख्दछौं कि हाम्रो सफलता र प्रगतिको सम्पूर्ण आधार भनेकै हाम्रा वितरकहरुको उच्च कार्य क्षमता हो । हामी र हाम्रा वितरकहरुबीचको सम्बन्ध सदैव सौहाद्रपूर्ण र घनिष्ठ रहँदै आएको छ र हामी विश्वस्त छौं कि आउँदा वर्षहरुमा पनि हाम्रो यो सम्बन्ध अझ मजबुत बन्दै जानेछ, जसबाट हामी दुवैलाई बराबर लाभ हासिल हुनेछ । हामी विश्वस्त छौं कि यो सम्मेलनले हामीहरुको सम्बन्धमा नयाँ आयाम थप्न र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ̎ सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । कम्पनीसँग सबै वर्गका ग्राहकहरु अनुकूलका बाइकका व्यापक मोडलहरु रहेका छन् । सर्वाधिक पुरस्कृत सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् । विश्वस्तरीय यी बाइकहरु नेपालमा भिजि अटोमोबाइल्सको बलियो वितरण सञ्जाल मार्फत् देशभरी नै उपलब्ध छन् । यसैगरी देशभर बिक्रीपछिको सेवा पनि प्रभावकारी रुपमा प्रदान गरिंदै आएको छ ।
राजश्व असुली १३ प्रतिशत घट्यो, विभागको सक्रियता घट्यो की राजश्व चुहावट ?
काठमाडौं । राजश्व अनुसन्धान विभागको राजश्व असुली १३ दशमलब २५ प्रतिशतले घटेको छ । विभागले गत आर्थिक बर्ष २०७३/७४ मा जम्मा १ अर्ब ९९ करोड ६३ लाख ९३ हजार राजश्व उठाएको छ । यो रकम विभागले आर्थिक बर्ष २०७२/७३ मा उठाएको भन्दा ३० करोड ५१ लाख अर्थात १३ दशमलब २५ प्रतिशतले कम हो । विभागले आर्थिक बर्ष २०७२/७३ मा २ अर्ब ३० करोड १५ लाख ६४ हजार राजश्व उठाएको थियो । राजश्व छलीको अनुसन्धान तथा कारवाही गर्ने अख्तियारी पाएको विभागले उठाउने राजश्व किन घट्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । विभागको सक्रियता घटेको हो की राजश्व छली घटेको हो ? भन्ने प्रश्नको जवाफमा विभागका प्रवक्ता देवी प्रसाद थपलियाले भने–‘हाम्रो सक्रियता घटेको होइन, राजश्व चुहावट नै घटेको हो, हामीले भन्सारमा कढाई गरेका छौं ।’ विभागले संकलन गरेको भन्सारको दर कम भएकाले पनि राजश्व चुहावट नियन्त्रण भएको दावी उनले गरे । आयकर संकलन भने बढेको छ । विभागले आयकर संकलनलाई ५० करोडबाट बढाएर ९० करोड पुर्याएको छ । भन्सार छली, न्युन विजिकरण, हुण्डी, सुन तस्करी लगायतका राजश्व छलीको अनुसन्धान गर्ने अधिकार राजश्व अनुसन्धान विभागले पाएको छ । तस्करीका सुन भने पक्राउ गरेर मुद्धा मात्रै विभागले चलाउने गरेको छ । सुन भने नेपाल राष्ट्र बैंकले लैजाने गरेको छ ।
राष्ट्र बैंकले बिहीबार ५ अर्ब बजारमा पठाउँदै
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैंकले बिहीबार प्रतिस्पर्धाबाट एक साताका लागि सो रकम बजारमा पठाउन लागेको हो । साउन २६ गते सो रकम परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि समय समयमा केन्द्रीय बैंकले रिभर्स रिपो औजार प्रयोग गरेर तरलता व्यवस्थापन गर्दे आएको छ ।
पाँच करोडको नीजि सम्पत्ति जेष्ठ नागरिकको हितमा दान
काठमाडौं । त्रिभूवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागमा कार्यरत प्राध्यापकले जेष्ठ नागरिकहरुको हितका लागि करिब पाँच करोड बराबरको सम्पत्ति दान गरेका छन् । प्रा.डा. रुद्रप्रसाद गौतमले किर्तिपुर नगरपालिका वडा नं.–१ ट्याङलाफाटमा रहेको आफ्नो एक रोपनी जग्गामा निर्मित साढे तीन तल्ले भवन रुद्रान्जु प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । दाता प्रा.डा. रुद्रप्रसाद गौतमले उक्त घरजग्गाको धनि पूर्जा प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण दाहाललाई आफ्नी धर्म पत्नी अन्जुको प्रथम पून्य तिथीको अवसरमा आज आयोजित समारोहकाबीच हस्तान्तरण गरेका छन् । गौतम र उनकी धर्मपत्नी स्वर्गीय अन्जु गौतमको नाममा स्थापित उक्त प्रतिष्ठानले जेष्ठ नागरिकहरुको हितका लागि कार्य गर्नै गरी सञ्चालनमा आएको बताइएको छ । उक्त घरजग्गाको मूल्य पाँच करोड बराबरको रहेको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक गौतम प्रतिष्ठानको प्रमुख संरक्षक समेत रहेका छन् । उनले आफुले गरेको दानले जेष्ठ नागरिकहरुका लागि केही सहयोग पुग्ने धारणा राखेका छन् । प्रतिष्ठानको उद्घाटन गर्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रा.डा. गौतमले गरेका योगदानको खुलेर प्रशासा गर्दै समाजमा यस्तै उदाहरणीय कार्य गर्न सके जेष्ठ नागरिकको सच्चा सम्मान हुने बताए । साथै उनले नगरपालिकाले उक्त प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। मेयर महर्जनले उक्त समारोहका प्रमुख अतिथि ९५ वर्षीय जयलाल ज्ञवालीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
मुग्लिन सडकमा जनताले पाएको सास्तीप्रति प्रधानमन्त्री चिन्तित
रत्ननगर (चितवन) । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्। साे सडकखण्डको आज स्थलगत निरीक्षण गर्दै उनले पहिरोले जनतालाई सधैँ पीडित बनाइ रहेको हुँदा यसलाई सदाका लागि अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले कुनै पनिबेला पहिरो खस्ला भन्ने डरलाग्दो अवस्था आएको उल्लेख गर्दै ‘बाटोमा कुनै बेला पनि पहिरो आइदेला भन्ने जस्तो डरलाग्दो स्थिति छ, सालसालै पहिरो आउला भन्ने खतरा भयो, अब यो बाटोमा पूरा अध्ययन गरेर पहिरो आउने खतरा सदाका लागि बन्द गर्नुपर्छ, कसरी हुन्छ, यो चौबिसै घण्टा खुला हुने बनाउनुपर्यो,” भने। चितवनको आँपटारीदेखि करिब २० किलोमिटर क्षेत्र सेती दोभानसम्म स्थलमार्गबाट अनुगमन गरेका प्रधानमन्त्री देउवा सेती दोभान पुग्दा केही समय अघि मात्रै पहिरो खसेको थियो । त्यसको केही परसमेत पहिरो खसेको जानकारी आएपछि प्रधानमन्त्री देउवालाई सेती दोभानबाट अघि जान सुरक्षा निकायले दिएन । सुरक्षा निकायले रोक्दारोक्दै पनि प्रधानमन्त्री देउवाले खै-खै पहिरोसम्म जाउ भन्दै अघि बढेका थिए । त्यसपछि उनले अध्ययन गरेरै पहिरो सदाकालागि अन्त्य गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए । अनुगमनमा प्रधानमन्त्री देउवासँगै भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायर तथा मन्त्रायलका सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, सडक डिभिजन कार्यालय तथा नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुखसहित अधिकारीहरुको सहभागिता थियो । सो अवसरमा मन्त्री बलायरले सडक निर्माण समयमै सक्न कडा निर्देशन दिएको बताउँदै सडकको समस्या सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘जहिले पनि यो बाटो अवरुद्ध हुँदैआएको छ, यो सदाका लागि अन्त्य हुनुपर्छ’, उहाँले भने, “ यसप्रति मन्त्रालय सजक छ, स्थायी रुपमा समस्या समाधान गर्न मन्त्रालय सदा चिन्तित छ, यो समस्या जनताले भोग्नु नपरोस् भन्नेतिर नै ध्यान गइरहेको छ ।” हेलिकप्टरबाट चितवनको भरतपुरस्थित आँपटारीमा आएका प्रधानमन्त्री देउवासहितको टोली सेतीदोभान पुग्नुअघि करिब १३ किलोमिटर मुग्लिनतर्फ दासढुंगामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सरिक भए । नारायणगढ मुग्लिक सडक आयोजना तथा ठेकेदार पक्षले सडकको वर्तमान अवस्था तथा प्रगतिको बारेमा जानकारी गराएपछि प्रधानमन्त्री देउवाले सडकमा जनताले दुख पाएकोमा भन्दै काम छिटोसक्न निर्देशन दिए। छलफलमा भौतिक योजना तथा पूर्वाधारमन्त्री बलायरले मुग्लिन सडक अहिले मन्त्रालयलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा खडा भएकाले अप्ठ्यारो ठाउँलाई देखाएर नबस्न निर्माण कम्पनीलाई आग्रह गरे। सो अवसरमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले पुल र सडकको निर्माणको काम सँगसँगै नगरेकोमा चिन्ता व्यक्त गर्दै शर्तअनुसार काम नभए कारबाही र जरिवाना तथा राम्रो काम गर्नेले पुरस्कार पाएको सुन्न नपाएको भन्दै दुखेसो गरेका थिए । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले प्रगतिविवरण प्रस्तुत गर्दै अहिलेसम्म ५३ प्रतिशत मात्रै काम सम्पन्न भएको जानकारी गराए । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कुल १० महिना भन्दा बढी म्याद नथपिने जानकारी दिँदै त्यसपछि थप्नुपरे जरिवाना लाग्ने चेतावनी दिए । उनले आगामी चैतसम्ममा कामसक्ने विश्वास व्यक्त गर्नुहुँदै पहिरो रोकथामका लागि नेपालकै विज्ञसमूह परिचालन गरिएको जानकारी गराएका थिए । ठेकेदारका पक्षबाट लामा कन्ट्रक्सनका पिताम्बर बडूले कावु भन्दा बाहिरको परिस्थितिले गर्दा काममा अवरोध आएको भन्दै दिनमा चार घण्टा पनि राम्ररी काम गर्न नपाएको गुनासो गरेका थिए।
गोर्खाज फाइनान्सको व्यवस्थापन स्तरीय तालिम तथा कार्यक्रम सम्पन्न
काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक बर्ष २०७३/७४ को प्रगति समिक्षा तथा चालु आ.व.२०७४/७५ को बजेट प्रक्षेपन सम्बन्धी भेला सम्पन्न गरेको छ । उक्त भेलामा १६ शाखाका प्रमुख,बिभागीय प्रमुख तथा संचालक समितिका सदस्य गरी जम्मा ३७ जनाको उपस्थिती थियो । उक्त कार्यक्रममा विभिन्न शाखा तथा विभागीय प्रमुखहरुले आ-आफ्ना शाखाका योजना बारेमा प्रस्तुतीकरण गरेका थिए भने समग्र बजेटको बारेमा सहायक महाप्रबन्धक प्रेम सागर नापितले प्रस्तुतिकरण गरेका थिए । फाइनान्सको वर्तमान अवस्था तथा भावी रणनीतिको बारेमा प्रमुख कार्यकारी अधिकृत राजकुमार राईले प्रकाश पारेका थिए भने संचालक समितीका अध्यक्ष महेन्द्रलाल राईले ग्राहकहरुलाई केन्द्रमा राखेर अन्तराष्ट्रीय स्तरको सेवा दिन तयार रहन निर्देशन दिएका थिए । साथै,उक्त कार्यक्रममा बि.आई.एम.का प्रमुख बि.एन. घर्ती, पूर्व बैंकर कपिल शर्मा र प्रेरक वक्ता अजय रेग्मीले व्यवसाय विस्तार, नेतृत्व विकाश तथा वास्तविक सफलता जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । फाइनान्सको आर्थिक बर्ष २०७३/७४मा ४ अर्ब ६ करोड रुपैयाँनिक्षेप संकलन गरी ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने चुक्ताँ पुँजी ७६ करोड २५ लाख रुपैयाँ रहेको छ । फाइनान्सको केन्द्रीय कार्यालय काठमाण्डौको चारखाल डिल्लिबजारमा रहेको छ भने देशका विभिन्न भागमा रहेका १६ शाखा तथा ४ एटीएम मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गररिरहेको छ ।
मेलम्चीको सुरुङ खन्न ढिलाइ, चैत यता पानी नआउने
काठमाडौं । सुरुङ खन्नमा ढिलाईले मेलम्ची खोलाबाट आउदो चैतमा मात्र राजधानीमा पानी आउने भएको छ । ढिलाईले आयोजनाको काम पुनः निर्धारित समय भन्दा ६ महिना धकेलिएको छ । आउदो असोजसम्म मेलम्चीबाट राजधानीमा पानी आपूर्ति गर्ने योजना थियो । मंगलबारसम्म मेलम्चीको सुरुङ खन्न अझै २ हजार २६१ मिटर बाँकी छ । मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै साढे २५ किलोमिटर खनिएको छ । अझै २ किलोमिटर बढी सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । इटालियन ठेकेदार सीएमसीले दैनिक १७ मिटर सुरुङ खन्ने गरेकोमा मंगलबार साढे १० मिटर मात्र खनेको छ । असोजमा पुरा नभएपछि आयोजनाको सुरुङ खन्ने काम पुसको दोस्रो साता अर्थात डिसेम्बरसम्म सम्पन्न हुने गरी अर्को कार्ययोजना तयार गरिएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । डिसेम्बरमा सुरुङको काम सम्पन्न भएपनि आरसीसी लाइनिङलगायत अन्य काम गर्न झण्डै ३ महिना लाग्ने भएकाले चैतसम्म पानी आपूर्ति हुने उनले जानकारी दिए । हाल आरसीसी लाइनिङको काम भइरहको छ । देवकोटकाअनुसार सुरुङ खन्न अब ९ प्रतिशत बाँकी छ । ठेकेदार सीएमसीले ४ फेसबाट काम गरिरहेको छ । सुन्दरीजलमा साढे ८ करोड लिटर पानीप्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । परीक्षणको काम सुरु हुने देवकोटले जानकारी दिए । यस्तै अर्को साढे ८ करोड लिटर पानीप्रशोधनगर्ने केन्द्रको निर्माण सुरु भइसकेको छ । सरकारले चालु आर्थिक वर्ष ०७४/०७५ मा मेलम्चीकालागि ६ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । असोजसम्ममा डिसिन्टिङ वेसिननिर्माण सम्पन्न नभएपनि डीआई पाइपको वाइपास निर्माण गरी पानीपथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोज भित्र उपत्यकामा पानि वितरण गर्ने तयारी मेलम्चीको भएपनि त्यो पुरा नहुने भएको हो । अझै पनि ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ । आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको छ । आयोजनाको कुल लागत २४ अर्ब रुपैयाँ छ ।