विकासन्युज

गुडविल फाइनान्सको १२औं शाखा बुटवलमा

काठमाडौं । गुडविल फाइनान्सले बुटवलमा आफ्नो १२ औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले आफ्नो कार्यक्षेत्र विस्तार गरी देशभरका ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्न सो स्थानमा नयाँ शाखा विस्तार गरेको हो । फाइनान्सले आगामी दिनमा पनि विभिन्न स्थानमा शाखा विस्तार गर्ने जनाएको छ ।

सेयर बजारमा एक अर्ब माथिको कारोबार

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको २१ लाख ६४ हजार कित्ता सेयर एक अर्ब ३ करोड ९० लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०४६ रुपैयाँ रहेको छ । बजारमा चार समूह उकालो लागेका छन् भने बाँकी चार समूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स, होटल, डेभलपमेन्ट बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३१, १४, १२ र १.५६ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, उत्पादनमूलक, हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः ४९, ३, २ र ०.५८ अंकले ओरालो लागेको छ । बुधबार कमाउने उत्कृष्ट १० कम्पनी समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक २ दशलमब ४९ अंकले बढेर १६६२ दशमलब ७४ अंकमा पुगेको छ । बुधबार सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्सको सेयर मूल्य ४.४७ प्रतिशतले घटेको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२८० रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकद्धारा भूकम्प पिडितलाई नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा धादिङको गुम्दी, सल्यानकोट र मार्पाक गाविसमा गत साउन ६ गतेदेखि १३ गतेसम्म आठ दिने नगद वितरण कार्यक्रम सम्पन्न गरेको हो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा बैंकद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको बैंकले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरू

पोखरा १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माणका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा बुधबार आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो जानकारी गराएका हुन् । ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिसकिएको बताए । निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताए । पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै देवले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गरे ।विमानस्थल तयार भइसकेपछि तत्काल उपयोगमा आउने किसिमले हवाई मार्ग तयलगायतका विषय पनि सँगसँगै अघि बढ्नुपर्नेमा उनकाे जोड थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवात सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताउनुभयो । स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत सम्बोधन गर्दै अघि बढिने बताउँदै उनले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग अपरिहार्य हुने बताए ।

चौधरी ग्रुप एसियाको बेस्ट इम्प्लोयर ब्राण्ड अवार्डबाट सम्मानित

काठमाडौं । चौधरी ग्रुप एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित भएको छ । सिंगापुरको ले-मेरिडियनमा वल्र्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्धारा आयोजित कार्यक्रममा ग्रुपलाई उक्त अवार्ड प्रदान गरिएको हो । वल्र्ड एच.आर.डी.ले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संशाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्राण्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाएको छ । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालको उत्कृष्ट जनशक्तिलाई ग्रुपमा स्वागत गरिएको बताउँदै मानव संसाधन व्यवस्थापनमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको बिषय भएको बताए । उनले आफ्नो ग्रुपलाई एसियाकै उत्कृष्ट कार्यस्थलका रुपमा स्थापित गर्न सकिएकोमा खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा मानव संसाधन व्यवस्थापनमा थप सुधार गर्दै लगिने उनले जनाए । यसअघि माइक्रोसफ्ट, सिमन्स, पानासोनिक, टी.सी.एल, हुआवे, हचिसन टेलिकम्युनिकेसन्स, फक्सस्वागन, मलेसियन एयरलाइन्स, होलिडे इन, नोकिया, एच.टी.सी., थाई एयरवेज, युनिलिभर एसिया, क्वान्टस, म्याकडोनाल्डस, पेट्रोनास, फिजर, यू.पी.एस., मरिना बे स्यान्ड्स्, मास्टरकार्ड, रोल्स रोयस, केलोग्स, पेप्सी लगायतले उक्त अवार्ड प्राप्त गरेका छन् ।

जनरल फाइनान्सको साउन २६ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

काठमाडौं । जनरल फाइनान्सले आगामी साउन २६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । जनरल फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

एप्पल वल्र्डमा‘स्मार्टफोन सट्टा-पट्टा’ मेला, हरेक सट्टा-पट्टामा गिफ्ट ह्याम्पर पक्का

काठमाडौं । लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले स्मार्टफोन सट्टा-पट्टा मेला बुधबारबाट सुरु गरेको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ । मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए । मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्वबजारमा पाइने सबै मोबाइल उपलब्ध गराई टच एन्ड फिलको सुविधा सहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको छ । पुरानो मोबाइल भएका तथा नयाँ मोबाइल खरिद गर्न चाहनेहरुलाई यो सट्टा–पट्टा मेलाले फाइदा पुग्ने विश्वास सेल्स म्यानेजर ठकुरीले लिएका छन् । मेलामा नयाँ प्रविधि मार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वानप्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला हरितालिका तीजसम्म चल्ने कम्पनीले जनाएको छ ।

ऊर्जामन्त्रीले भने-काम सुरु नगर्नेको लाइसेन्स खारेज गरिने छ

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने बताएका छन् । जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेको बताउदै काम नगर्नेका लाइसेन्स खारेज गरिने जानकारी गराएका हुन् । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटमा मन्त्री शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन नसक्नुमा निमार्ण कम्पनीले ढिलासुस्ती रहेको जानकारी दिए । मन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीसंग एकपटक छलफल गरी समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनिको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने स्पष्टपारेका छन् । गोञ्जालेजले बुधबार आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको जानकारी गराएका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा कार्यबहाक राजदुत गोञ्जालेजले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको बारेमा चासो व्यक्त गरेका थिए ।