तीन आयोजनाबाट ३० मेगावाट विद्युत् थप हुँदै
चौतारा । वि.सं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पुर्याइ बन्द भएको ४२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२ मेगावाटको चाकु ए र ३२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो । वि.सं २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोशी करिडोरअन्तर्गत शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२ दशमलव २ मेगावाटको चाकु ए आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताए। सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पुर्याएपछि दुई वर्ष ढिलाइ भएको हो । पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोशीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड ध्वस्त भई लामो समयसम्म यातायात बन्द भएको थियो । हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भई विद्युत् उत्पादन हुने बताइएको छ । जुगल गाउँपालिकाअन्तर्गत हगामस्थित ३१ मेवाको गेलुङ खोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित समयभन्दा दुई वर्षपछि सम्पन्न भएको हो । निजी क्षेत्रबाट सञ्चालित ४२ मेगावाटको बरम्ची खोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत दुई वर्षदेखि बन्द छ । सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्ण रुपमा सञ्चालनमा ल्याइने भएको छ । विनाशकारी भूकम्प र बाढीका कारण सञ्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना विगत दुई वर्षदेखि बन्द छ । रासस
पुँजीगत खर्च ५७ प्रतिशत मात्र, करिब ६ खर्ब राजस्व संकलन
आर्थिक वर्ष २०७३/७४ समाप्त हुँदा सरकारको पूँजीगत खर्च ५६ दशमलव ८३ प्रतिशतमा सीमित भएकोे छ । सो अवधिमा सरकारको कुल खर्च भने ७३ दशमलव ७४ प्रतिशत रहेको छ । सरकारले चालु आवको लागि १० खर्ब ४८ अर्ब ९२ करोड बजेट विनियोजन गरेपनि सरकारले आव सकिदा सात खर्ब ७३ अर्ब ४४ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ । सरकारले यस वर्षका लागि ३ खर्ब ११ अर्ब ९४ करोड पूँजीगत खर्च गर्ने भनेको भए पनि १ खर्ब ७७ अर्ब मात्र खर्च गरेको छ । कर्मचारीहरू जिम्मेवार पनि नहुने र जोखिम मोल्न पनि तयार नहुने परिपाटीले गर्दा हरेक वर्ष बजेट खर्च प्रभावित हुने गरेको छ । सरकारको खर्च गर्ने क्षमता कमजोर बन्दै गएको टिप्पणी विश्लेषकहरूले गरेका छन् । खर्च गर्न नसकेर जेठसम्म सरकारी ढुकुटीमा २ खर्ब ६५ अर्ब थन्किएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको खर्च गर्ने क्षमता कमजोर बन्दै गएको बताए । निर्माण व्यवसायी एवम् कन्ट्रयाक्टरलाई राष्ट्रिय नीति, समसामयिक कानुन, आर्थिक प्राविधिक पक्ष, निर्धारित समय, लागत, गुणस्तरीयताप्रति जवाफदेहीलगायतका विषयमा ध्यान दिन सके पुँजीगत खर्च बढ्न सक्छ । आयोजनाहरूको अनुगमन तथा प्रशिक्षण प्रदान गरी आयोजनामा सूचक पूरा गर्ने उत्कृष्ट निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई राज्य र सरकारले सम्मान एवम् पुरस्कृत गर्ने सक्नु पर्ने पर्छ । कार्यसम्पादन तोकिएको समयमा सम्पन्न नगर्ने, सम्झौतापश्चात सम्पर्कमा नरहने, गुणस्तरीयता कायम नगर्ने, जिम्मेवारी पन्छाउनेलाई कालो सूचीमा राख्ने, दण्ड र सजाय व्यवस्था गरिनु पर्दछ । नेपालमा पछिल्ला वर्ष पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । बजेट मध्यावधि समीक्षामा यो वर्ष सरकारले पुँजीगत बजेट ८४ प्रतिशत खर्च गर्ने लक्ष्य संशोधन गरिएको थियो । अहिलेसम्मको खर्च गराइ हेर्दा लक्ष्यभन्दा धेरै पछडि रहने देखिन्छ । ‘पुनर्निर्माणको निहुँमा ठूलो आकारको बजेट ल्याइयो’, राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले भने ‘तयारीबिना बजेट ल्याउने अध्यासको प्रतिफल हो यो, खर्च गर्न खोज्दा खोज्दै पनि हुन सकिरहेको छैन ।’ सरकारले बजेटको आकार बढाउनु भन्दा खर्च गर्न सकिनेगरी वास्तविक आयोजनामा आधारित बजेट आउन नसकेको गुनासो उनले गरे । दुई चरणमा भएको स्थानीय तहको निर्वाचन आचारसंहिताले पनि बजेट खर्च केही प्रभावित भएको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले पनि चालु आवमा पूँजीगत खर्च लक्ष्य आधाभदा केहीमात्र बढी खर्च भएको देखाएको छ । त्यसबाहेक सरकारले यस अवधिमा ८७ अर्ब ५३ करोड वित्तीय व्यवस्थामा खर्च गरेको छ । सरकारले सोही अवधिसम्म कुल राजस्व संकलन भने ५ खर्ब ९० अर्ब ८३ करोड गरेको छ । चालू आवमा ५ खर्ब ६५ अर्ब ८९ करोडको लक्ष्य निर्धारण गरेको सरकारले यस वर्ष४ प्रतिशत बढी राजस्व संकलन गरेको महालेखाको तथ्यांक छ ।
रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निविरोध निर्वाचित
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा राजाराम रेग्मी निविरोध निर्वाचित भएका छन् । सुरुमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा अन्तिम समयमा आएर अर्का उम्मेद्वार यदुनाथ भट्टले उम्मेद्वारी फिर्ता लिएपछि रेग्मीको प्यानल नै बिजयी भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ , उपाध्यक्षहरु वाणिज्यतर्फ विनोद पोखरेल,उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट, वस्तुगत तर्फ भीमनारायण श्रेष्ठ र एशोसियटतर्फ शंकर गिरी महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी पनि सर्वसम्मत बिजयी भएका छन् । त्यस्तै , वाणिज्यतर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य, माधवप्रसाद पौडेल, सोहेन्द्र राज खरेल, कविन घिमिरे, सीताराम भट्टराई, रामशरण नेपाल, ईश्वरीप्रसाद अर्याल र सुन्दरमणि सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ भने, उद्योगतर्फ निरज श्रेष्ठ, पुरु खनाल, राममणि थपलिया, निरञ्जन थापा, हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मीना उप्रेती एशोसियट सदस्यमा लोजिककृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत संगठनतर्फ जोगेन्द्र महतो सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए । अधिवेशनले २६ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । यसअघि वाणिज्य र उद्योगतर्फ मात्रै उपाध्यक्ष थिए । संशोधित विधानअनुसार आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछ भने एशोसिएट र वस्तुगत उपाध्यक्ष थप गरिएको छ भने,अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित अनिलकृष्ण श्रेष्ठ आगामी अधिवेशनबाट संघको अध्यक्ष बन्ने पक्का भएका छन् ।
भक्तपुरको बजेट एक अर्ब, सूर्यविनायकको ४८ करोड
भक्तपुर । भक्तपुर नगरपालिकाले प्रथम नगर परिषद्बाट आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब ५ करोड ५५ लाखको बजेट पारित गरेको छ । आज नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिए । बजेट आम्दानीतर्फ सरकारबाट सःशर्त अनुदान १९ करोड ७८ लाख ९५ हजार, निःशर्त अनुदान १७ करोड ८७ ९५ हजार, सामाजिक सुरक्षा भत्ता ११ करोड आठ लाख र अन्य निकायतर्फ ६० लाख गरी कूल ४९ करोड ३४ लाख ९० हजार रहने प्रजापतिले बताए । त्यस्तै नगरका बासिन्दाबाट संकलन हुने विभिन्न कर तथा पर्यटन सेवा शुल्कसमेत गरी ४२ करोड २० लाख १० हजार आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य राखेको छ । नगरपालिकाको मौज्दात बाँकी १४ करोड रहने अनुमान गरिएको छ । नगरपालिकाले वडास्तरीय विकास निर्माणका लागि प्रत्येक वडा कार्यालयलाई ५० लाखका दरले रकम वितरण गर्ने भएको छ । यस्तै हनुमन्ते र खासाङ्खुसी खोला सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउने, हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने, जनप्रतिनिधि घर–घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न, प्रत्येक वडामा शिशु स्याहार केन्द्रहरु सञ्चालन गर्ने, नगरपालिकाद्वारा सञ्चालित विद्यालयका शिक्षिका र आयाहरुलाई तालिम दिने भएको छ । नगरप्रमुख वासुदेव थापाले प्रथम नगर परिषद्बाट आव २०७४/७५ का लागि पारित भएको ४८ करोड १० लाख २८ हजारको बजेट सार्वजनिक गरे । सरकारबाट निःशर्त २४ करोड ७७ लाख ५० हजार, सःशर्त रु १४ करोड ८४ लाख २८ हजार प्राप्त हुने र नगरपालिकाको आन्तरिक आयस्रोतबाट आठ करोड ४८ लाख ५० हजारको बजेट उनले सार्वजनिक गरेका हुन् । नगरपालिकाले नगरक्षेत्रमा रहेका औद्योगिक क्षेत्रको विकास गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, वडा कार्यालयलाई राजमार्गसँग जोड्ने सडकको स्तरोन्नति गर्ने, पर्यटन पदमार्ग निर्माण गर्ने, भ्यू टावर निर्माण गर्ने तथा स्मार्ट सिटी बनाउनेलगायत कार्यक्रम सञ्चालन गर्ने थापाले बताए । “वडाको विकासका लागि प्रत्येक वडा कार्यालयलाई १ करोडका दरले रकम पठाउने निर्णय भएको छ,” उनले भने । रासस
काठमाडौँ महानगरको बजेट १० अर्ब
काठमाडौँ । काठमाडौँ महानगरका लागि १० अर्ब ७८ करोड को बजेट स्वीकृत गरिएको छ । काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाटे १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ २ अर्ब १२ करोड गरी हुन आउने ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान ३ अर्ब १६ करोड ८२ लाख यसमा समानीकरण÷शशर्त तथा निशर्त सबै अनुदान समावेश रहेको छ । यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ । रासस
उज्यालोबाट वञ्चित ६८० बालबालिकालाई सौर्य टुकी वितरण
कञ्चनपुर । उज्यालोबाट वञ्चित भई पढ्न नपाउने अवस्थाका कञ्चनपुरका ३६ विद्यालयका ६८० बालबालिकालाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा पढ्दै आएका सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो । “विद्यालयले छनोट गरी पठाएको विवरणका आधारमा सौर्य टुकी वितरण गरेका छौँ” – जिल्ला समन्वय समिति कञ्चनपुरका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत दिनेश लम्सालले भने । उनका अनुसार बेलौरी नगरपालिका क्षेत्रका छ विद्यालयका १२६, भीमदत्त नगरपालिका तीन विद्यालयका ७८, पुनर्वास नगरपालिका दुई विद्यालयका ८४, महाकाली नगरपालिका दुई विद्यालयका १८१, लालझाडी गाउँपालिका तीन विद्यालयका पाँच, बेदकोट नगरपालिका तीन विद्यालयका ३८, कृष्णपुर नगरपालिका छ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका तीन विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका दुई विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो । विद्युत्भार कटौतीको असर शिक्षामा नपरोस् र उज्यालोबाट वञ्चित बालबालिकाले धुँवाबाट मुक्ति पाई पठनपाठनमा सघाउ पु¥याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको अधिकृत लम्सालको भनाइ छ । रासस
डिआइजी ११ र एसएसपी १५ जनाको बढुवा सिफारिस, किन छुटे सिलवाल र खरेल ?
काठमाडौँ । एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सिफारिस गरेको हो । त्यसैगरी, नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्नसमेत सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिसमा नवराज शिलवाल र रमेश खरेल भने परेनन् । रासस
मोनो रेल र फ्लाई ओभर बनाउने ललितपुर महानगरको योजना, बार्षिक बजेट ३ अर्ब २३ करोड
ललितपुर महानगरपालिकाले आव २०७४/७५ का लागि तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ । ‘आर्थिक वर्ष २०७४/७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताए । चालूतर्फ ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ । परिषद्ले आन्तरिक आय एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट छ करोड आय हुने अनुमान गरिएको छ । गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो । सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताए । उनाँले भने–“दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उनले बताए । महानगरले फ्लाई ओभर र मोनोरेल निर्माण प्रक्रिया अघि बढाउने योजना तयारी थालेको छ ।