विकासन्युज

उच्च पदस्तमाथि निगरानी राख्दै राष्ट्र बैंक, निर्देशन नमानेमा १० लाखदेखि ५ करोडसम्म जरिवाना

काठमाडौं । आतंककारी तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीमाथि निगरानी बढाउने भएको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले उच्चपदस्थ अधिकारीहरुको खाता खोल्दा कडाइ गर्ने नीति अघि सारेको हो । विशेष गरी धनाढ्य वर्ग र उच्चपदस्थ अधिकारी थपघट भएको अवस्थामा तत्काल पहिचान गर्नुपर्ने र उनीहरूसाग जोडिएका व्यक्ति, परिवार नजिकका नातेदारहरूको पनि सुक्ष्म निगरानीका साथै उनीहरुको पहिचान समेत अनिवार्य रुपमा गर्नुपर्नेछ । अब बैंक तथा वित्ती संस्थाले उच्च पदस्थको पहिचान सकेसम्म सम्बद्ध व्यक्तिबाट लिने त्यो सबै सम्भव नभए सार्वजनिक रुपमा उपलब्ध हुने सूचना तथा जानकारी समेत आधार मानेर ग्राहकको पहिचान गर्न सक्नेछ । यो नियम आगामी साउन १ देखि नै लागू हुनेछ । साथै एकै दिनमा १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको जानकारी पनि राष्ट्र बैंकलाई वित्तिय संस्थाहरूलाई दिनुपर्ने छ । एक ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा पाँच लाख रुपैयाँ या सोभन्दा बढीको विदेशी मुद्रा सटही गरेमा अर्थात १० लाख वा सोभन्दा बढीको निक्षेप संकलन गर्दा समेत राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने छ । केन्द्रीय बैंकले शुक्रबार सम्पति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि यसअघिका निर्देशनहरू खारेज गर्दै नयाँ व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकले अब बैंकहरुले खाता खोल्दा उच्च पदस्थ व्यक्ति हो या होइन भनी पहिचान गर्नुपर्ने दायित्व बैक तथा वित्तीय संस्थालाई सुम्पिदिएको छ । उच्च पदस्थको पदीय हैसियत तथा उनीहरुको विभिन्न ठाउँमा हुने संलग्नता पत्ता लगाइ सोही बमोजिम जोखिम पहिचान गर्ने संयन्त्र समेत तय गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले अबदेखि ग्राहकको रेटिङसमेत गर्नुपर्नेछ । विद्युतीय माध्यमबाट कारोबार गर्ने, उच्च नेटवर्क भएको, सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि अपराधमा संलग्न हुनसक्ने, भ्रष्ट्राचार, कर छलीलगायतका अपराधिक गतिविधिका आधारमा उच्च जोखिम राखिएका देश तथा नगदको कारोबार बढी हुने व्यवसायमा संलग्न ग्राहकको पनि सोही अनुसार रेटिङ गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त निर्देशनको प्रभावकारी रुपमा कार्यान्वयन नगरेमा पहिलो पटकमा स्पष्टीकरण सोधिने छ भने दोस्रो पटक १० लाख वा गाम्र्भियताको आधारमा पाँच करोड सम्म जरिवाना गर्ने सक्ने व्यवस्था गरेको छ । ग्राहक पहिचान सम्बन्धी राष्ट्र बैंकले दिएका निर्देशनहरू पालना नभएमा पहिलो पटक स्पष्टीकरण, दोस्रो पटक १० लाख जरिवाना र तेस्रो पटकदेखि ५० लाख रुपैयाँ जरिवाना सहित विषयको भाम्र्भियतअनुसार थप जरिवाना पनि गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जानीजानी बेइमानी तथा काल्पनिक नाममा कारोबार भएको पाइएमा ५० लाख रुपैयाँमा थप जरिवाना गर्नेछ ।

इन्डोनेसियामा म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । ‘हाइएर, फाष्टर, स्ट्रङ्गर र टुगेदर’ भन्ने मूल विषयमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रम यही जुलाई ६ मा रमायाना रिसोर्ट, बाली, इन्डोनेसियामा सम्पन्न भएको हो । आयोजकका अनुसार उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानहरुबाट डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का विशिष्ट पदाधिकारीहरु लगायत कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो मन्तव्यमा आउँला वर्षहरुमा कसरी दिगो भई अझै सफलताका उचाई एकसाथ अगाडी बढ्ने भन्ने विषयमा प्रस्ट पारेका थिए । यसैगरि कम्पनीका नायब महाप्रबन्धक रोशन कुमार श्रेष्ठले कम्पनीकोे पछिल्लो समयको गतिविधिहरुलाई प्रस्ट पारी कम्पनीको भावी योजना र तयारीहरुका बारेमा समेत जानकारी दिएका छन् । यसका साथै उनले नेपालमा लुब्रिकेन्ट विभाग र उद्योगसँग सम्बन्धित विभिन्न विषयहरुमा समेत आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

नेपाल टेलिकम र म्युजिक नेपालबीच सहकार्य, मोबाइल एप्पमार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुरु गरेका हुन् । उपाध्यायले मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको शुरु गर्दै मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए । म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एप्पले विश्वास जित्ने आशा उनले व्यक्त गरेका छन् । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बताएकी छन् ।  म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल’ मोबाइल एप्प डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने छ । यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई  उपलब्ध गराइने छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् । हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत  उपलब्ध हुनेछन् । आगामी मंगलबार (२०७४ साउन ३ गते) देखि यो ‘म्युजिक नेपाल एप्प’ आम उपभोक्ताले प्रयोग गर्न सक्ने टेलिकमले बताएको छ ।

मौद्रिक नीतिले ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर ल्याउन सघाउँछ: शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको चालु आर्थिक वर्षमा लक्ष्य गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सहयोगी हुने मौद्रिक नीति तर्जुमा गरेको छ । आइबीएन मिडिया एण्ड रिसर्च तथा नेपाल बैंकर्स संघ संयुक्तरुपमा आइतबार राजधानीमा आयोजना गरेको मौद्रिक २०७४/७५ विषयक अन्तर्क्रिया कार्यक्रममा उत्पादनशील क्षेत्रमा बैंकहरुको कर्जा लगानी वृद्धि तथा केन्द्रीय बैंकबाट प्रदान गरिने पुनर्कर्जा सुविधा विस्तारले सरकारले लक्ष्य गरेको आर्थिक वृद्धिदर हासिल गर्न सहयोगी हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी बताउँछन् । सरोकारवालाहरुले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने केन्द्रीय बैंकको नीतिले देशभित्र उत्पादन वृद्धि, रोजगारी सिर्जना मार्फत् गरिबी न्यूनीकरण तथा व्यापारघाटा घटाउन मद्दत पुग्ने बताएका छन् । केन्द्रीय बैंकले मौद्रीक नीतिले कर्जा विस्तारमा अंकुश नलगाएको भन्दै बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेप संकलनको आधारमा संयमित भएर लगानी गर्न प्रेरित गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बताए । निक्षेप तथा कर्जा दुवैतर्फ ब्याजदर अस्वभाविक ढङ्गले वृद्धि हुँदै गएको सन्दर्भ उल्लेख गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले स्वभाविक ब्याजदर वृद्धिले मात्र स्वस्थ अर्थतन्त्रलाई टेवा पुर्याउने बताएका छन् । त्यस्तै, बीमा समितिका अध्यक्ष चिरंजीवि चापाइगाई सहित उद्योग व्यवसायीका साथै विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघको बैंकिङ्ग समितिका सभापति अनलराज भट्टराईले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले टिप्पणी गरेका छन् ।

कसले अड्काउँदैछ बाहिरी चक्रपथको फाइल ? घर भत्किने झोँकमा सडक विस्तार विरुद्ध सहसचिव

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट सुरु हुनै लाग्दा शहरी विकास मन्त्रालयमा फाइल अड्कीएको छ । मन्त्रालयको शहरी विकास तथा पुर्वाधार योजना महाशाखाका प्रमुख शम्भु केसीको अगुवाईमा बाहिरी चक्रपथको फाइल रोकिएको हो । तर केसीले भने आफुले नियम कानुनको पालना होस भन्ने मात्रै चाहेको बताएका छन् । ‘हामीले १० सौं हजार नागरिकको सम्पतिसँग जोडिएको बाहिरी चक्रपथको काम नियम कानुनका सबै धारा पालना हुने गरि अघि बढोस भन्ने मात्रै चाहेका हौं, फाइल अड्काउने कुनै सोँच छैन’, केसीले भने । तर उपत्यका विकास प्राधिकरणले काठमाडौंमा सडक विस्तारका क्रममा केसीको घर समेत भत्किने भएपछि उनी सडक विस्तार र बाहिरी चक्रपथका विरुद्ध लागि परेको आरोप लागेको छ । केसीको बानेश्वरस्थित पञ्चकुमारी मार्गमा रहेको भवनको पर्खाल र घरको केहि अंश भत्किने देखिएको छ । ‘केसीको पर्खाल र घर गरि ढेड मिटर जति संरचना भत्किने देखिएको छ, प्राधिकरणले चिनो समेत लगाईसकेको छ, घर भत्किने झोँकमा केसीले बाहिरी चक्रपथको फाइल रोकेका हुन’, उपत्यका विकास प्राधिकरण श्रोतले भन्यो । केसीले पनि उपत्यका विकास प्राधिकरणको काम जनताको घर भत्काउने नभएर विकासको मापदण्ड बनाउने मात्रै भएको बताए । ‘प्राधिकरणको काम आफैं घर भत्काउँदै हिड्ने होइन, उसले मापदण्ड बनाउने र त्यसको कार्यान्वयनका लागि समन्वय गर्ने हो, तर यहाँ त प्राधिकरण जनताका घरमा डोजर लगाउँदै हिडिरहेको छ’, केसीले भने । केसीले बाहिरी चक्रपथको फाइल अड्काएपछि शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले हस्तक्षेप गरेका छन् । शर्माले उपभोक्ता समिति गठनको विवरण, अधिग्रहण हुने जमिन, भत्काईने भौतिक संरचनाको विवरण मागेका छन् । ‘सचिवज्युको पत्र आएको छ, त्यसमा केहि कुरा प्रष्ट पार्न भनिएको छ, हामीले ती विवरण डिपिआर स्विकृत हुँदा नै प्रष्ट पारिसकेका थियौं, अब फेरी पठाउँछौं’, बाहिरी चक्रथ आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने । बाहिरी चक्रपथ सडकको पाइलट प्रोजेक्टको डिपिआर स्विकृत भैसकेको छ । ६ अर्ब लागतमा ६ दशमलब १६८ किलोमिटर सडक निर्माण लागिएको हो । त्यसका लागि सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ ।

आन्तरिक राजश्व कार्यालयको राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउन १ गते ४ वटा आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गको राजश्व संकलन सेवा शुरु गरेको छ । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकको विशेष साधारणसभा साउन २२ गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । माछापुच्छ्रे बैंकको विशेष साधारणसभा आगामी साउन २२ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन ९ गते बैंकको बुक क्लोज हुने भएको छ । उक्त सभा सम्बन्धि निर्णय असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । आगामी २२ गते बस्न लागेको विशेष साधारणसभामा बैंकले विभिन्न विशेष प्रस्तावहरु लैजाँदै छ । बैंकले साभामा हाल पोखराको कास्कीमा रहेको बैंकको रजिष्टार्ड(केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गर्ने प्रस्ताव लैजाँदै छ । त्यस्तै, बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा आश्वा प्रणाली लगायतका प्रणालीहरु अपनाई सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्ने व्यवस्था थप गर्ने बैंकले जनाएको छ । साथै, बैंकको सञ्चालक समितिको संरचानाममा परिवर्तन गरी संस्थापक समूहका शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण समूहका शेयरधनीबाट २ जना र स्वतन्त्र (व्यवसायीक विशेषज्ञ) १ जना गरी कूल ७ जना सञ्चालक रहने गरी सञ्चालक समिति कायम गर्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यस्तै, बैंकको स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्ने व्यवस्था थप गर्ने बैंकले जनाएको छ ।

अस्पतालमा एपोइन्टमेन्ट लिन “हाम्रो हस्पिटल”को नयाँ संस्करण मोबाइल एप्प

अस्पतालमा एपोइन्टमेन्ट लिन “हाम्रो हस्पिटल”को नयाँ संस्करण मोबाइल एप्प  ल्याएको छ । अस्पतालमा भएका सबै सुविधा र सबै चिकित्सकहरु यस एप्पमा समावेस हुने हुँदा बिरामी, अस्पताल र चिकित्सक सबैले सेवा लिन र दिन सक्नेछने प्रेस विज्ञप्तिमा जारी छ । “हाम्रो हस्पिटल” एप्प २०७२ मा संचालनमा आएको थियो तर २०७४।४।१ गते उक्त एप्पको नयाँ संस्करण भित्रिएको छ जस्मा अझै बढि सुबिधा र बिषेशताहरु समावेश गरिएको छ । स्वास्थ्य सम्बन्धि लेख, समाचार, टिप्स एंव अन्य महत्वपूर्ण गतिबिधिहरु पनि यस एप्पमा समावेश गरि वेव शाईटको पनि नयाँ संस्करण सुरु गरिएको छ । कम्पनिको अनुसार हाम्रो हस्पिटल एप्प अझ सरल एंव अति उपयोगी हुने हुदाँ सर्वसाधारणको पहिलो रोजाइमा रहने विश्वास लिएको छ। यस एप्प बाट नजिकको अस्पताल खोजी डाक्टरसंग एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ । एपोइन्टमेन्ट लिईसकेपछि एपोइन्टमेन्ट समयको अलार्म नोटिफिकेसन पनि यस एप्पले दिन्छ साथसाथै औषधी खाने समयको अलाम मेडिसिन ट्रयाकर पनि यस एप्पमा रहेको छ । आपत्कालीन समयमा आवश्यक पर्ने सेवाको फोन नम्बरहरु पनि उपलब्ध गरिएको जानकारी दिइएको छ । हाम्रो हस्पिटल एप्पको मुख्य उद्देश्य भनेको प्रयोग कर्तालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस एप्पमा हस्पिटल, डाक्टर र औषधिबारे पूर्ण जानकारी रहेको र अस्पतालमा एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ। यस एप्पमा १सय भन्दा धेरै हस्पिटल, १ हजार भन्दा बढि डाक्टरहरु, ५ सय भन्दा माथी फार्मेसीकोे जानकारी रहेको छ । यस एप्प प्रयोगकर्ताले सजिलै गुगल प्ले स्टोर बाट निःशुल्क डाउनलोड गर्न सक्ने छन्।अस्पताललाई पनि यस एप्प, बिनाशुल्क उपलब्ध गराइएको छ जसबाट उनीहरुले एप्पबाट आएको एपोइन्टमेन्ट हेर्न सक्नेछन्। यस एप्प बिरामी, अस्पतालका लागि मात्र नभएर सबैका लागि लाभदायक छ । केहि समय भित्र काठमाडौंका सबैै अस्पताललाई एप्पमा आवद्ध गरेर बिरामी र उनिहरुका आफन्तलाई सहज एपोइन्टमेन्टको सुबिधा दिईने कम्पनिको योजना रहेको छ ।