विकासन्युज

सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं। संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । व्यवस्थापिका-संसद् सार्वजनिक लेखा समितिको आजको बैठकले प्राधिकरणले स्थापना गर्न लागेको २५ मेगावाट क्षमताको सौर्य ऊर्जाका सम्बन्धमा भएका काम कारबाही गलत देखिएको भन्दै सम्पूर्ण कागजातको अध्ययन समेत गर्ने निर्णय गरेको छ । विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा स्थापना हुनलागेको सो सौर्य प्रणाली जडान कार्यका लागि कम बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी मूल्य राख्नेलाई दिएको भन्दै अधिवक्ता रमेश मैनालीले दर्ता गरेका उजुरीका आधारमा समितिले शुक्रबार सो निर्देशन दिएको हो । बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले सौर्य ऊर्जा प्रणाली जडानका सम्बन्धमा हालसम्म भएका सबै गतिविधि स्थगित गरी सम्पूर्ण कागजात तीन दिनभित्र उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिए । समितिको बैठकमा सांसदहरुले सार्वजनिक खरिद ऐनको प्रावधान विपरित रु तीन अर्ब चार करोड २९ लाख सात हजार ९२ भन्दाबढी रु ६८ करोड बढी कबोल गर्ने ठेक्का दिने निर्णय भएको भन्दै आपत्ति जनाए । तर प्राधिकरणले भने सार्वजनिक खरिद ऐनले कम बोलकबोल गर्ने कम्पनीलाई नै दिने आफ्नो योजना भए पनि प्राविधिक तथा आर्थिक पक्षको मूल्याँकन गर्दा जुन कम्पनी वस्तुनिष्ठ देखिएको हो त्यसैलाई दिइएको दाबी गरेको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार निर्णय चित्त नबुझेको सम्बन्धमा पुनरावलोकन समितिमा जान छाडेर संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकाय गुहारेर काम गर्न नदिने प्रवृत्ति हाबी भएको तर्क गरेको छ । विश्व बैंक, एसियाली विकास बैंक तथा चिन र भारतको आयात निर्यात बैंकको मापदण्डका आधारमा काम गर्दा कम बोलकबोल गर्ने नै योग्य हो भन्ने मान्न नसकिने अवस्था देखिएको भन्दै जसले ऋण लगानी गर्ने हो सोही संस्थाको आग्रहका आधारमा निर्णय गरिएको र त्यसमा कुनै पनि अनियमितताको गन्ध समेत नआएको स्पष्ट पारेको छ । तर सांसद रामहरि खतिवडा र धनराज गुरुङले भने नियम मिचेर भए गरेका कामलाई सही भन्न नसकिने भन्दै कम बोलकबोल गर्नेलाई नदिइ बढी मूल्य राख्नेलाई किन दिइएको हो भन्ने प्रश्न गरे । सांसद विष्णु पौडेल, राजेन्द्र केसी, पशुपति चौलागाईं, भरत शाहले खरिद प्रक्रियामा गल्ती भइसकेको भन्दै अब कसरी सच्याउनुहुन्छ भनेर प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रश्न गरेका थिए । सांसद मीना पुन, ऋषिकेश पोखरेल, योगेन्द्र चौधरी, विकास लम्सालले प्राधिकरणले पछिल्ला दिनमा गरेको विद्युत्भार कटौतीको अन्तयलगायतका काम प्रशंसायोग्य रहे पनि त्यसैको बाहानामा गलत काम गर्न छुट पाइन्छ भन्ने मानसिकता नराख्न प्राधिकरणको नेतृत्वलाई सचेत गराए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम बोलकबोल गर्ने नै प्राधिकरणको लागि योग्य हुने भए पनि प्राविधिक मूल्याँकनमा त्यस्तो कम्पनी असफल भएको र आफू आउनुभन्दा पहिलेका कार्यकारी निर्देशकले नै प्रक्रिया बिगारेका कारण समस्या आएको बताए । कम बोलकबोल गर्नेलाई ठेक्का दिँदा प्राधिकरणले कम्तीमा पनि ४० वटा निर्माणसम्बन्धी ठेक्का तोड्नुपर्ने अवस्था आएको र त्यसमा सबैभन्दा बढी प्रशारणलाइन सम्बन्धी काम रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । तोकिएको लागतभन्दा २१.४२ प्रतिशत कम मूल्यमा सौर्य ऊर्जा उत्पादनको प्रयिक्रया अगाडि बढेको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेकाले लागत कम हुनगएको बताए । समितिको बैठकमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको हैसियतले सौर्य विद्युत्का सम्बन्धका कुनै पनि गलत कार्य नभएको र ऊर्जा संकट समाधान गर्ने सम्बन्धमा नियमभित्रै रहेर काम गरिएको जानकारी दिए । कुल २५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीका लागि १६ वटा बोलपत्र प्राप्त भएकोमा अन्तिम छनौटमा रहेको पाँच बोलपत्रमध्ये तीन वटा मात्रै योग्य देखिएको थियो । सन् २०१५ बाट प्रारम्भिक कार्य शुरु भए पनि हालसम्म निर्माण हुन नसक्नुको कारणबारे समेत संसदीय समितिमा कुरा उठेको छ । रासस

सांग्रिला र कसमस डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) पश्चात एकिकृत कारोबार शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी दुई बैंकबीच एकिकृत रुपमा कारोवार संचालन गरेको हो । उक्त कार्यक्रमको उद्धघाटन सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा टेकनाथ ढकालले संयुुक्त रुपमा गरेका हुन् । सो बैंक प्राप्ति पश्चात सांग्रिला डेभलमेन्ट बैंकको चुुक्ता पुँजी १ अर्व ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको १२ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम बैंकले चुुक्ता पुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद पश्चात बैंकको चुुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ हुुने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले चालु आ.ब.२०७३र७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट करिब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । उक्त बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजीे २ अर्व ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

केयुकेएल पदाधिकारी भ्रष्टाचारमा तानिए, को को पर्दैछन कारवाहीमा

काठमाडौं । केयुकेएलका पदाधिकारीले करोडौं भ्रष्टाचार गरेको प्रमाण फेला परेको खानेपानी तथा सरसफाई मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव भिम उपाध्यायले केयुकेएलका पदाधिकारीहरुले गरेको अनियमितताका सब्र प्रमाणहरु फेला परेकाले कारवाही प्रक्रिया अघि बढाएको बताएका हुन् । ‘केयुकेएल भित्र भएका व्यापक अनियमितता र भ्रष्टाचारको तालुक खानेपानी मन्त्रालयले सघन छानबीन सुरू गरिसकेको छ । प्रारम्भिक छानबीनबाट यथेष्ठ प्रमाण फेला परिसकेका छन् ।’, सचिव उपाध्यायले भनेका छन् । आर्थिक कारोबार तथा बोर्ड बैठकका निर्णय सम्बन्धी फाइलहरु बुझाउन बारम्बार ताकेता गर्दा पनि महाप्रवन्धक र अन्य जिम्मेवार अधिकारीले अटेर गरेको पनि बताएका छन् । ‘मन्त्रालयलाई कागजात उपलब्ध नगराउने र छानबीनमा अवरोध सृजना समेत गरिरहेका छन् । यस्तो रवैयाले गर्दा मन्त्रालयलाई तिनी विरूद्ध भ्रष्टाचारमा कार्यवाही चलाउनका लागि यथेष्ट आधार खडा भैसकेको छ ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् । उनले छानविनमा सहयोग नगरि अनियमितताका प्रमाणहरु नष्ट गर्न लागि परेका सबैलाई तत्कालै कारवाही प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेका छन् । ‘माग गरिएको कागज नपठाई असहयोग गर्दै अनियमितता र भ्रष्टाचार छानबीनमा अवरोध गर्ने सम्बद्ध अधिकारीहरू अब चाडै शख्त कार्यवाहीमा पर्न जाने निश्चित छ ।’, सचिव उपाध्यायले भने । केयुकेएलको महाप्रबन्धक महेश प्रसाद भट्टराई रहेका छन् । उनकै तजबिजमा करोडौं अनियमितता भएको आरोप सचिव उपाध्यायले लगाउँदै आएका छन् । उनले पछिल्लो समय छानविन तथा बयानका लागि मन्त्रालय बोलाउँदा समेत भट्टराईले अटेर गरेको तथा आफुलाई अभद्र व्यवहारको प्रयास गरेपछि मन्त्रालयबाटै बाहिर निकालेको बताउँदै आएका छन् । केयुकेएलको सञ्चालक समितिमा रामचन्द्र देवकोटा, इश्वरराज पौडेल, तोलाराज उपाध्याय, मुकेश कुमार काफ्ले, राजेशकाजी श्रेष्ठ, कमलराज पाण्डे, महेश्वरभक्त श्रेष्ठ, हरि गोपाल श्रेष्ठ सञ्चालक रहेका छन् भने मिलन शाक्य कम्पनी सचिवका रुपमा कार्यरत छन् । केयुकेएल सञ्चालक समितिका तत्कालिन अध्यक्ष सुरेश बस्नेतले राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन हुन सकेको छैन् । अध्यक्ष बिनै दर्जनौं पटक बोर्ड बैठक राखेर महत्वपुर्ण निर्णय गर्दै आर्थिक हिनामिना गरेका प्रमाणहरु फेला परेपछि कारवाहीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको थप ४ शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बुधबार र बिहिबार दुईदिन गरी थप ४ वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले बुधबार झापाको झापाबजार, सिन्धुलीको भिमान, रुपन्देहीको सुरजपुरा र बिहिबार नवलपरासीको त्रिवेणी गरी चारवटा शाखा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा कार्यालय संख्या १ सय ७९ वटा, ब्रान्चलेस बैंकिङ सेवा संख्या ९२ वटा, एटीएम संख्या १३० वटा पुगेकाे छ । बैंकले गत चैत मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब कर्जा लगानी गरेको छ । साथै, सो अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युनाइटेड इन्स्योरेन्सद्धारा ओम कृषि फार्मलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गोकर्णेश्वर स्थित ओम कृषि फार्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईको क्षतिपुर्ति बापत रकम प्रदान गरेको छ । कम्पनीका तर्फबाट कामु नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बिमितको तर्फबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजार रुपैयाँको क्षतीपुर्ति बापतको चेक रकम हस्तान्तरण गरेका छन् । बिमितिको तर्फबाट बाबुराम कार्कीले बिमा बापतको क्षतिपुर्ति रकम सहज र सरल प्रक्रियाबाट पाएकोमा बिमक कम्पनीलाई धन्यवाद दिएका छन्।

फिनल्याण्ड सरकारद्धारा दुई अर्ब ३६ करोड अनुदान उपलब्ध

काठमाडौं । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत योर्मा सुभान्तोले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा सहसचिव अर्यालले नेपालको सामाजिक, आर्थिक विकासका साथै शैक्षिक उन्नयनमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । राजदूत योर्माले नेपालको विकास प्रयासमा फिनल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको सुधारबाट नेपालको प्रगति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । रासस

लुम्बिनी बिकास बैंकको नयाँ शाखा कार्यालय सुनसरीको हरिनगरामा

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत सुनसरी जिल्लाको हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका छन् । स-साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि तराईका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस्, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकले यस शाखा सहित कुल ५१ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

विद्युत विभागले छ दर्जनभन्दा बढी आयोजनालाई यहि साउन १ गते सम्मान गर्दै

काठमाडौं । विद्युत विकास विभागले सरकारी तथा निजी क्षेत्रबाट विद्युत उत्पादन गरी राज्यलाई सहयोग पुर्याउने आयोजनाहरूलाई सम्मान गर्ने भएको छ । विभागले आइतबार (साउन १) लागेको २४औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गर्न लागेको हो । जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास विभिन्न समस्याको बाबजुद पनि आयोजना निर्माण गरी सेवा पुर्याएको कारण आयोजनाहरूलाई सम्मान गर्न लागेको विभागका महानिर्देशक नविनराज सिंहले बताए । आयोजनाहरूलाई प्रोत्साहन गरी नयाँ आयोजना सञ्चालकलाई आकर्षण गर्नु विभागको मुख्य हो छ,’ उनले भने । प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९ सय ७ मेगावाट विद्युत उत्पादन भएको छ । निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४ सय ३९ मेगावाट र प्राधिकरणले १७ आयोजनाबाट ४ सय ६७ मेगावाट उत्पादन गरेको हुन् । प्राधिकरणले हेटौडा र दुहबीमा राखिएको दुई थर्मल प्लान्ट उत्पादन भएको ५३ मेगावाटसमेत जोड्दा हालसम्म ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।