विकासन्युज

मल्टिक्सको थ्री-इन-वन भेहिकल नेपाली बजारमा, मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र

काठमाडौं । नेपालमा मल्टिक्स ब्राण्डका गाडिहरुको एक मात्र बिक्रेता बाबा समूह अन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडिहरु नेपालमा औपचारिक रुपमा बिक्री शुरु गरेको छ । यस गाडिको उत्पादक भारतको आइसर पोलारिस प्रालिका प्रमुख कार्यकारी अधिकृत पञ्कजदुवे र बाबा समूहका निर्देशक विशाल शाहले बिहीबार संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् । व्यक्तिगत देखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीले बताएको छ । १८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परिक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको छ । गाडि पल्टि हाल्दा पनि यसको ट्यूबलर फ्रेम बडीका कारण ठूलो क्षति हुनबाट रोक्छ । फोर स्ट्रोक डाइरेक्ट इन्जेक्शनडिजल इन्जिन रहेको यो साधनले सजिलै २५ देखि ३० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउण्ड क्लियरेन्स रहेको मल्टिक्सको बढी अत्यधिक टिकाउ सामग्री फ्लेक्सि टपले बनेको छ । पाँच सिट क्षमताको मल्टिक्समा परिवारका सदस्यहरु आरामसँग बस्न र घुम्न सक्दछन् । साथै एक हजार ९१८ लिटरसम्म बोक्न सक्ने क्षमता भएकाले यो साधन व्यवसायिक यात्राको लागि समेत उत्तिकै उपयोगी छ । तुरुन्तै सिट फोल्ड गरेर सामानहरु राख्न पर्याप्त स्पेस निर्माण गर्न सकिने मल्टिक्स ब्राण्डका गाडिहरु व्यवसायमा संलग्न परिवारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले नै सन् २०१२ मा निर्माण गरिएको हो । मल्टिक्सका दुई मोडल र विभिन्न चार रंगमा बजारमा उपलब्ध छन् । साथै, यसले तीन किलोवाटसम्म विद्युत उत्पादन गर्नसक्ने भएकाले यसलाई फ्यामिली, विजनेश र पावर जेनरेटर (थ्रीइनवान) भनिएको हो । यसको बिजुलीले घरलाई सजिलै उज्यालो बनाउन, सार्वजनिक कार्यक्रममा म्युजिक सिस्टम देखि कृषियन्त्रहरु सञ्चालन गर्ने आदि काममा वैकल्पिक उर्जाको स्रोतको रुपमा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस गाडीको मूल्य १२ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, कम मूल्यमा यसको मर्मत र स्पेयर पार्टसहरु खरिद गर्न सकिन्छ । नेपालमा यसको स्पेयर पार्टसहरु सजिलै उपलब्ध हुन्छ । बाबा ग्रुपका डाइरेक्टर विशाल शाहाका अनुसार परिवारदेखि व्यवसायमा प्रयोग गर्न सकिने मल्टिक्सले नेपालमा जुनसुकै पिच तथा अफ रोडमा शानदार क्वालिटी र भरोशा दिलाउँछ । मूल्यका हिसावले पनि नेपालका हरेक बर्गको पहुँचमा यो साधन पर्ने शाहले बताए ।

ऐन सच्याएरै भएपनि सेयरमा भ्याट लाग्न दिँदैनौंः बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै हालतमा सेयरमा भ्याट लाग्न नदिने स्पष्ट पारेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा बोर्डका निर्देशक डा. नवराज अधिकारीले भने–‘सेयरमा भ्याट लगाउने कुरा कुनै हालतमा स्विकार्य हुन्न, ऐन सच्याएर भएपनि सेयरमा भ्याट लगाउने योजना रोकिन्छ’, डा. अधिकारीले भने । उनले नेपाली सेयर बजारको लागत एसिया क्षेत्रमै महंगो रहेको बताउँदै त्यसमा भ्याटको बोझ थपिए बजार उठ्नै नसक्ने गरि थला पर्ने पनि बताए ।‘एसिया क्षेत्रमै हाम्रो कारोबार लागत बढि छ, त्यसमा पनि भ्याट थपियो भने हाम्रो बजार कहिल्यै उठ्न सक्दैन, त्यसैले ऐन संसोधन गरेरै भएपनि भ्याट रोक्छौं’, डा. अधिकारीले भने । उन सेयर बजार पनि वित्तिय कारोबार नै भएकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को छुट पाउने सूचिमा सेयर कारोबारलाई पनि समावेश गराउने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । ब्रोकरहरुले असार १५ गते सेयर कारोबार बन्द गरेर गम्भिर गल्ति गरेको बताउँदै उनले त्यस्ता कम दोहोर्याए कडा कारवाही गर्ने चेतावनी पनि दिए ।‘एक्कासी बजार बन्द गरेर हिड्न कस्ले भनेको थियो ? नियम कानुन मिचेर कारोबार रोक्ने अधिकार कस्ले दियो ? हामीले एक पटकलार्ई छुट दिएका हौं, त्यस्ता हर्कत दोहोरिए कडा कारवाही हुन्छ’, अधिकारीले भने । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बोर्डलाई अटेर गरिरहेको आरोप पनि लगाए । नेप्सेले धितोपत्र बोर्डसँग सत्रुतापुर्ण सम्बन्ध राखेकाले पनि पुँजी बजारको विकासमा सहयोग नपुगेको आरोप लगाए । कार्यक्रममा ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले कानुनी झमेलाका कारण ब्रोकरहरु भ्याटमा दर्ता हुनै पर्ने बाध्यात्मक परिस्थिती आएको बताएका थिए । उनले सेयरमा भ्याट लागु हुँदा सेयर कारोबार लागत बढ्ने तथ्यलाई बुझेर भ्याट लगाउने कर प्रशासनको निर्णय फिर्ता हुनुपर्ने बताए । तर कर प्रशासनले भ्याट लगाउने निर्णय गरिसकेकाले ब्रोकरहरु भ्याटमा जान बाध्य रहेको उनको भनाई थियो ।‘हामी पनि सेयरमा भ्याट लाग्नु हुन्न भन्ने पक्षमै छौं तर कानुनले हामीलाई भ्याटमा दर्ता हुन र पुरानो बेरुजु तिर्न बाध्य पारिरहेको छ’, अध्यक्ष रेग्मीले भने । उनले असार १५ गते सेयर कारोबार रोक्नु आफुहरुको बाध्यता भएको पनि बताएका थिए । कार्यक्रममा सेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्यालले पनि सेयरमा भ्याट लागु भएमा नेपालका सेयर बजार डुब्ने खतरा रहेको बताएका थिए । उनले असार १५ गते सेयर कारोबार रोकेर ब्रोकरहरुले लाखौं लगानी कर्तामाथी अन्याय गरेको आरोप पनि लगाएका थिए

छात्रवृत्ति परियोजनाका लागि जापान सरकारले २५ करोड ७० लाख सहयोग गर्ने

काठमाडौं । जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई २५ करोड ७० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । यो परियोजनाअन्तर्गत जापानमा स्नातकोत्तर तह अध्ययनका लागि २० सरकारी अधिकृत छनोट गरिनेछ । जापानका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराई नेपाली अधिकारीको दक्षता अभिवृद्धि गर्ने यो परियोजनाको उद्देश्य हो । पाँच वर्ष लामो यो परियोजनाअन्तर्गत आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्मेलन, औद्योगिक विकास नीति र कानुनी तथा न्यायिक पद्धति जस्ता समाज विज्ञानका विषयका शोधार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने छ । यससम्बन्धी सम्झौतापत्रमा जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र नेपाल सरकारको तर्फबाट अर्थसचिव शान्तराज सुवेदीले आज अर्थमन्त्रालयमा हस्ताक्षर गरेका छन् । रासस

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा

जापान । आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो सञ्जाल बढाउने क्रममा उक्त स्थानमा नयाँ शाखा संचालनमा ल्याएको हो । आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको छ । शाखा कार्यालय उद्घाटनका क्रममा आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताएका छन् । हकाता शाखा प्रमुख रामकृष्ण श्रेष्ठले टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको बताए । साथै, उनले नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताए । कम्पनीले हाल सम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६ हजार १०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् छिटो र छरितो सेवा दिँदै आईरहेको छ।    

नेपाल हाइड्रो डेभलपरलाई ३ करोड ९० लाखको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल हाइड्रो डेभलपरलाई ३ करोड ९० लाख रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । साथै, सो मात्राको आइपीओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

नेपालको विकासका लागि सहयोग गर्न चीन तयार

काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि चिनियाँ डेपुटी चिफ अफ मिसन याङ सी चाओबीच शुक्रबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको आर्थिक विकासका बारेमा छलफल भएको छ । शिक्षा मन्त्रालयमा आज भएको भेटमा २०७२ को भूकम्पपछि चीन सरकारले तत्काल र पुनःनिर्माणका लागि गरेको सहयोगका लागि शिक्षामन्त्री श्रेष्ठले चिनियाँ टोलीलाई धन्यवाद दिएका उनका स्वकीय सचिव चिरञ्जिवी भण्डारीले जानकारी दिए । भेटमा डेपुटी चिफ अफ मिसन याङले नेपालको समग्र विकासका लागि चिनियाँ सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए। रासस

हिमालयन उद्धार संघले काठमाडौमा अन्तर्राष्ट्रिय रेस्क्यु सेन्टर निर्माण गर्ने

काठमाडौं । हिमालयन उद्धार संघ(एचआरए) नेपालले बौद्धको रामनगरमा अन्तर्राष्ट्रिय रेस्क्यु सेन्टर निर्माण गर्ने भएको छ । नवनिर्वाचित एचआरए कार्यसमिति र पर्यटन पत्रकार संघ(जाट–नेपाल) का कार्यसमितिबीचको परिचयात्मक एवं पर्यटन अन्तक्रिया कार्यक्रममा संघका अध्यक्ष नरेन्द्रदेव भट्टले उक्त जानकारी दिएका हुन् । ४ रोपनी क्षेत्रफलमा बन्ने उक्त केन्द्र आधुनिक प्रबिधियुक्त हुने र सेन्टर निर्माणबारे यसअघि नै शिलान्यास भइसकेको उनले बताए । सेन्टर निर्माणका लागि साँढे सात करोड रुपैंया लाग्ने अनुमान गरिएको छ । यता उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने स्वदेशी तथा बिदेशी पर्यटकलाई विशेषतः लेक लाग्नबाट बचाउन निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले यस कार्यलाई अझै प्रभावकारी बनाउँदै लैजाने भएको छ । एचआरएका महासचिव पृश्बी श्रेष्ठले एभरेष्ट क्षेत्र र मनाङ क्षेत्रमा स्थायीरुपमै स्वास्थ्य चौकी स्थापना गरेर एचआरएले स्थानीय सहित पर्यटकलाई निशुल्क औषधि एवं स्वास्थ्य परिक्षण गर्दै आएको बताए । आवश्यकताअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्दै आएको पनि उनले जानकारी दिए । एभरेष्ट बेशक्याम्प, मनाङ क्षेत्र,गोसाईकुण्डका तिर्थयात्रु, यार्सा टिप्ने क्षेत्रमा समेत आफुहरुले निशुल्करुपमा बिरामीहरुलाई उद्धार गरीरहेको जानकारी दिए । कार्यक्रममा टानका पूर्व अध्यक्ष एवं एचआरएका सदस्य सिताराम सापकोटाले उचाईमा अक्सिजन कमिका कारण लेक लाग्ने भएकाले यससम्बन्धी पूर्व जानकारी हासिल गर्न र सकेसम्म तरल पदार्थको प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारीले एचआरएले प्रतिवर्ष ४५ सय भन्दा बढि लेक लागेका बिरामीहरुलाई संस्थाले उद्धार गर्ने गरेको जानकारी दिए । कार्यक्रममा जाट नेपालका अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रको विकास र विस्तारमा पर्यटन पत्रकार संघले सकारात्मक सन्देशलाई प्राथमिकता दिने भन्दै पर्यटनजस्तो संबेदनशिल क्षेत्रमा नकारात्मकतालाई हटाउँदै लैजानुपर्नेमा जोड दिए ।

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

इलाम। जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्रयाक्टर उपलब्ध गराएको हो । खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए । यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ७५ प्रतिशत अनुदानमा ८०० किलोग्राम धानको बीउ शत्प्रतिशत अनुदानमा ४०० किलोग्राम उन्नत जातको धानको बीउ उपलब्ध गराएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए । इलाममा १५ हजार ९१५ हेक्टरमा धान खेती हुँदै आएको छ । रासस