विकासन्युज

प्राइम कमर्सियलको ५३ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । शुक्रबार मात्रै प्राइम कमर्सियल बैंकको ५३ लाख २८ हजार ७२१ कित्ता सेयर सूचिकृत भएको छ । बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्रश्चात कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो ।

आठ मेगा सिटीको डिपीआर अर्को वर्ष तयार हुने, ४० अर्बको सरकारी पूर्वाधार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५मा आठवटा मेगा सिटीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भएको छ । आगामी बर्षको बजेटमा उल्लेख गरिएअनुसार सातै प्रदेशमा एक/एक वटा मेगा सिटीको पूर्वाधार तयार गर्ने योजना सहित सरकारले सो कार्यलाई अघि सारेको हो । देशको सबै प्रदेशमामेगा सिटी निर्माणको लागि आावश्यक पूर्वाधार तथा भौतिक विकासका कार्यहरूगर्न गृहकार्य भइरहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । कम्तीमा १० वर्षमा आधारभूत भौतिक पूर्वाधारको विकास गर्ने लक्ष्य सहित काठमाडौं र अन्य सात स्थानमा मेगा सिटी निर्माण गर्ने लक्ष्य सरकारले राखेको छ । १० वर्ष अघिको क्षेत्रीय सहरी रणनीति २००७ ले समेत मुलुकभित्र आठ वटा मेगा सिटी निर्माण गर्ने उल्लेख गरिएको छ । सरकार अहिले अघि सारेको यो आयोजन कार्यान्वयनसँगै एक दशमपछि उक्त नीति सार्थक हुने भएको छ । राष्ट्रिय सहरी विकास रणनीति २०१६ मा पनि मेगा सिटी निर्माणको विषयले प्राथमिकता पाएको छ । सहर केन्द्रीत बसाइँसराइलाई न्यूनीकरण गरी सबै क्षेत्र तथा प्रदेशमा शहरी पूर्वाधार विकास गरी व्यवस्थित सरीकरणलाई प्राथमिकता दिइने सरकारको योजना रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा.सुनिलबाबु श्रेष्ठले बताएका छन् । मेगा सिटीको विषयले राजनीतिक दलहरूका घोषणापत्रमा निकै चर्चा कमाएको थियो । सहरी पूर्वाधार तयार हुँदा त्यहाँ उपलब्ध सेवा सुविधालेजमिनको मूल्य बढ्नुका साथै जीवनयापनमा सहजता आउने भएकाले आम सर्वसाधारणको पनि उत्तिकै चासोका विषय बनेको छ । । प्रदेश नम्बर १ मा धरान–विराटनगर, दुईमा जनकपुर–ढल्केवर–बर्दिवास गरी क्रमशः पोखरा (लेखनाथ)–दुलेगौंडा, सिद्धार्थनगर– बुटवल (लुम्बिनी), नेपालगञ्ज–कोहलपुर, वीरेन्द्रनगर (सुर्खेत)– दशरक्षा पुल– छिञ्चुु र महेन्द्रनगर–धनगढी–अत्तरिया कोरिडोरका साथै काठमाडौं उपत्यकामा मेगा सिटी निर्माण गर्ने सरकारको योजना छ । छनोटमा परेका प्रदेशहरूमा मेगा सिटी निर्माणका लागि आवश्यक गृहकार्य अघि बढी सकेको मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले जानकारी दिए । ‘आगामी आर्थिक वर्षमा हामीले मेगा सिटी निर्माणका लागि औपचारिक रूपमा काम अघि बढाउने तयारीगरेका छौं,’ उनले भने ‘हाल पनि मेगा सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन भइसकेको छ ।’आगामी आवदेखि डीपीआर, डिटेल इञ्जिनियरिङतर्फको काम अघि बढाउने मन्त्रालयको योजना छ ।’ सामान्य सहरी पूर्वाधार विकास तथा पूर्वाधार निर्माण गर्न पनि कम्तीमा एउटा मेगा सिटीलाई ५ अर्ब बजेटको आवश्यक सक्ने मन्त्रालयको आँकलन छ । मन्त्रालका अनुसार एउटा मेगा सिटीको विस्तृत इञ्जिनियरिङ अध्ययन गर्नका लागि कम्तीमा पनि ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । ती सबै सहरहरू ल्याण्डपुलिङ सिष्टम (जग्गा एकीकरण) अनुसार कार्य गरिने छ ।

पत्याउनुहुन्छ, मुग्लिनबाट नारायणगढ यात्रा ३५ मिनेटमै टुंगिन्छ

काठमाडौं । ‘मुग्लिनबाट ३५ मिनेटको अवधीमा नारायणगढ पुगिन्छ’ भन्ने कुरा झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ । तर अबको केहि महिनाभित्रै मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमै छोटिँदैछ । ‘आगामी डिसेम्बरसम्ममा पहिरो ग्रस्त ४ किलोमिटर क्षेत्र बाहेकको काम सकिन्छ, पुरै काम सक्न थप एक दुई महिना लाग्न सक्छ, काम सम्पन्न भएपछि मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमा छोटिन्छ’, सडक विभागका इञ्जिनियर तथा आयोजना प्रमुख सञ्जय श्रेष्ठले भने । हाल मध्यम साइज अर्थात दुई लेनमा रहेको ३६ किलोमिटर लामो सो सडक छिचोल्न घण्टौं लाग्दै आएको छ । ‘चार लेनको सडकबाट ३५ मिनेटमा मुग्लिन नारायणगढ यात्रा गर्न सकिन्छ, पहिरो भएको क्षेत्रमा भने चार पाँच बर्षसम्म पहिरो नियन्त्रणका लागि निरन्तर काम गरिरहनुपर्छ’, श्रेष्ठले भने । नारायणगढ-मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् । काली खोला आसपासको ४ किलोमिटर क्षेत्रमा २९ वटा जोखिमपुर्ण पहिरो रहेका छन् । रातमा सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै हाललाई राती १० घण्टाका लागि सवारी साधन आवागमन रोकेर निर्माणको काम अघि बढाइएको छ । हाल ५ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । कुल काम मध्ये ५० प्रतिशत सम्पन्न भैसकेको छ । ६४ प्रतिशत काम सम्पन्न भैसक्नुपर्ने समयमा कठिनमध्येको ५० प्रतिशत काम सकिएकाले बाँकी काम गर्न धेरै समय नलाग्ने सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए ।‘६४ प्रतिशत काम हुनुपर्नेमा ५० प्रतिशत काम सकिएको छ तर कठिन काम धेरै सकिएकाले बाँकी काम गर्न धेरै समय लाग्दैन’, सिग्देलले भने ।

भरतपुर काण्डको मुद्दा मिरा खड्का र अनिल कुमार सिन्हाको बेञ्चमा

काठमाडौं । भरतपुरमा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई आज हुँदैछ । सर्वाेच्च अदालतका न्यायधिश मिरा खड्का र अनिल कुमार सिन्हाको संयुक्त बेञ्चमा मुद्धाको सुनुवाई भएको हो । जेठ १४ गते राती माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेका तर्फबाट वडा सदस्यमा उम्मेदवार दिएका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धाको सुनुवाई गर्दै न्यायधिश चोलेन्द्र शमशेर राणाले निर्वाचन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए ।  

स्वर्णजयन्तीको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले ‘राष्ट्रिय उत्पादकत्व अवार्ड’ दिने

पाटन । ललितपुर उद्योग वाणिज्य संघले ५० औं वार्षिक उत्सवको अवसरमा “राष्ट्रिय उत्पादकत्व अवार्ड” वितरण गर्ने भएको छ । २०२३ चैत्र ४ गते स्थापना भएको यो संघ ललितपुर जिल्लाको निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था हो । इतिहासको सम्मान, उपलब्धीप्रति आत्मगौरव र भविष्यप्रति आशा जगाउने हिसाबले स्वर्णजयन्ती मनाउने क्रममा संघले यसै वर्ष देखि राष्ट्रिय उत्पादकत्व एर्वाड दिने घोषणा गरेको संघको अध्यक्ष सविन श्रेष्ठले बताए । ‘संविधान कार्यान्वयनको दिशामा मुलुक अघि बढिरहेको समयमा अबको लक्ष्य भनेको आर्थिक समृद्धि नै हुनुपर्दछ’ विहीबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने ‘आर्थिंक विकास र समृद्धि बिना राजनीतिक परिर्वतन दिगो र स्थायी नहुने तथ्यलाई आत्मसात गर्दै मुलुकको आर्थिक परिर्वतनको लागि उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्न र मनोबल बढाउन “राष्ट्रिय उत्पादकत्व अवार्ड” कार्यक्रम गर्न लागेको उनले बताए । देशै भरीका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु मध्ये एक उत्कृष्ट उद्योग छनौट गरि पुरस्कार प्रदान गर्न संघले नेपाल सरकार उद्योग मन्त्रालय, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल आर्थिक पत्रकार समाज र ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सम्मिलित एक उच्च स्तरीय निर्णायक मण्डल खडा गरिएको उनले जनाकारी दिए । उक्त अवार्ड पाउनको लागि संघले तयार गरेको दरखास्त फाराम भरि संघको सचिवालयमा बुझाउने व्यवस्था गरिएको उनले बताए ।

थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई ८५ करोड मुआब्जा

गोरखा । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो । प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ । प्रजिअ बस्नेतले भने,“३१५ जना प्रभावितको बैंक खातामा कुल रु ८५ करोड पठाउने समितिले निर्णय भएको छ ।” अहिलेसम्म बूढीगण्डकी प्रभावितलाई दुई अर्ब चार करोड मुआब्जा दिइसकिएको छ ।   अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो । चालु आवमा मुआब्जाका लागि पाँच अर्ब बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ । गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् । बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाए पनि कस्तो घर बनाउने भन्नेबारे आफूहरू अन्योलमा रहेको पनि बताएका छन् । छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरूको भनाइ छ । रासस

अब साझा बस चढेर साँगासम्म जान पाइने

भक्तपुर । गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो । भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ । साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ । साँगासम्म सञ्चालन हुने बस सेवाको बुधबार पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरेको हुन। रासस

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले जनाएकाे छ । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संङ्गालेका छन् । अमरासेकरा एनसेलमा प्रबन्ध सञ्चालकको रुपमा नयाँ कार्यभार सम्हाल्न लाग्नु भएकोमा एनसेलको सञ्चालक समितिले खुशि व्यक्त गरेको छ । भारत, मलेसिया, श्रीलङका तथा सिङगापुर लगायतका विभिन्न देशहरुका चर्चित दूरसञ्चार कम्पनीहरुमा काम गरेको विस्तृत अनुभव सहित उनको नेतृत्वमा एनसेलले नयाँ कोसेढुंगा थप्दै, डिजिटल इन्क्लुजनद्वारा देशको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास एनसेलको सञ्चालक समितिले लिएको छ । सञ्चालक समितिले साइमन पर्किन्सलाई संक्रमणको समयमा प्रमुख योगदानकर्ताको रुपमा नेतृत्व प्रदान गरी एनसेललाई उल्लेखनीय योगदान पुर्याएकोे भन्दै धन्यवाद ज्ञापन गरेको छ । ‘‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु । एनसेलसँग आवद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालका लक्ष्य प्राप्तिमा योगदान पुर्याउदै, आजीआटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’’ एनसेलका नव नियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले भने । अमरासेकरासँग दूरसञ्चार क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव डिजिटल नेपालको लक्ष्य प्राप्तिमा योगदान पुर्याउदै एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गराउने अमरासेकराको लक्ष्य एनसेलसँग आवद्ध हुनु अघि अमरासेकरा आजीआटा ग्रुप बर्हादको प्रधान कार्यलय क्वालालम्पुर, मलेसियामा रणनीतिक परियोजना निर्देशकको रुपमा ग्रुपले दक्षिण एसियाली क्षेत्रहरु बंगलादेश, नेपाल, श्रीलङ्का तथा पाकिस्तानमा पहल गरेका कार्यहरुमा केन्द्रीत थिए । यसअघि सन् २०१४ देखि २०१७ सम्म अमरासेकराले एयरसेल लिमिटेडमा प्रमुख इन्टरप्राइज अधिकृतका रुपमा सम्पूर्ण भारतको फोरजी/एलटिई सेवा, इन्टरप्राइज, होलसेल र क्यारीअर ब्यवसायको नाफा नोक्सानको जिम्मेवारी लिदै आफ्नो कार्यभार सफलतापुर्वक सम्हालेका थिए । एयरसेल लिमिटेडसँग आवद्ध हुनु अधि अमरासेकराले म्याक्सिस् बहार्द, क्वालालम्पुर, मलेसियाको लागि सह प्रमुख अपरेटिङ् अधिकृतका रुपमा काम गरेका थिए । उनकै नेतृत्वमा म्याक्सिस् मलेसियामा फोरजी सेवा व्यावसायीक रुपमा सुरु गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो । म्याक्सिस्सँग रही काम गर्दा उनले ब्रिज एलायन्सको बोर्डको सदस्यको रुपमा पनि काम गरेका थिए । यो एलायन्स ७५ करोड भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको विभिन्न ३७ अग्रणी मोबाइल सेवा प्रदायकहरुको संगठन हो । यस अघि अमरासेकराले १३ वर्ष सिङगापुरको सिङ्टेलमा व्यवस्थापनको विभिन्न उच्च तहमा रहेर काम गरेका थिए । त्यसपश्चात् उनले श्रीलङकाको मोबीटेलमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा कम्पनीको नेतृत्व गर्दै ५ वटा सेवा प्रदायकहरु रहेको अत्यन्त प्रतिस्पर्धि बजारमा मोबीटेललाई दोश्रो स्थानमा पुर्याउन सफल भएका थिए । विभिन्न खाले बजारमा संगालेका अनुभव एवं बहुसांस्कृतिक परिवेशमा सहजै घुलमिल हुनसक्ने दक्ष सिपका कारण अमरासेकराले एनसेललाई अझ उचाईमा पुर्याउन मद्दत गर्नेछन् । अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जीनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन् ।