कतारसँग छिमेकीकाे सम्बन्ध विच्छेद, नेपालीको रोजगारी गुम्ने सक्ने, हवाइ उडान साेमबारबाटै रद्द
काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । नेपालीको रोजगारी गुम्ने खतरा कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग(यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । गणेश गुरुङ, वैदेशिक रोजगारविज्ञ सूक्ष्म रूपमा हेरिरहेका छौँः परराष्ट्र मन्त्रालय खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । नयाँ पत्रिका दैनिकबाट । सोमबारबाटै उडान रद्दः सयौं यात्रु मर्कामा काठमाडौं । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाईमार्ग समेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । साउदी अरेबिया र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरु काठमाडौंमा नै अलपत्र परेका छन् ।
तामाकाेसी समयमानै सक्नेलाइ एक अर्बको पुरस्कार दिने उर्जामन्त्री शर्माकाे घाेषणा
काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे । मन्त्री शर्माले भने मेरो एबम सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलव्ध गराउँछु । सहजीकरण गर्छु तर आयोजना तोकिएकै समयभन्दा तीन महिना पहिले सम्पन्न हुनुपर्छ । आयोजनालाई रु एक अर्बको व्यवस्था गरिन्छ, मन्त्री शर्माले भने। नागरिक दैनिकबाट ।
मेलम्ची असोज १५ भित्र आउने सम्भावना न्यून, अझै साढे ३ किमी सुरुङ खन्न बाँकी
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ । १५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो । २७।५८४ किमिमध्ये २४।३४९ किमि सुरुङ मात्र सकिएको छ । अझै ३।१६६ किमि सुरुङ खन्न बाँकी छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको बताए । देवकोटाले भने, ‘विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको छ । पहिला एकैपटक ६ स्थानबाट काम हुन्थ्यो । अहिले चार स्थानबाट मात्रै काम भइरहेको छ ।’ सुरुङमा नरम चट्टान भेटिएको र खन्ने रफ्तारमा पनि केही कमी आएकाले १५ असोजभित्र काम सक्न कठिन देखिएको देवकोटाले बताए । ‘सुरुङ खन्ने क्रममा अहिले नरम चट्टान भेटिएको छ । कामको रफ्तार घट्नुको यो एउटा कारण हो,’ उनले भने, ‘प्राविधिक पक्ष विश्लेषण गर्दा तोकिएको समयमा उपत्यकामा पानी ल्याउने सम्भव देखिएको छैन । तर, पनि १५ असोजभित्र काम सक्न हामी प्रतिबद्ध छौँ ।’ कहाँ कति सुरु खन्न बाँकी ? अहिले दुई प्याकेजमा चार स्थानबाट सुरुङ खन्ने काम हुँदै आएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको करिब १० किमि सुरुङ खन्ने काम सकिएको छ । अब सिन्धुदेखि ग्याल्थुमसम्मको सुरुङ खन्न बाँकी छ । खन्ने क्रममा नरम चट्टान भेटिएको ठाउँ पनि यही हो । अन्यत्रसमेत गरेर अब ३।१६६ किमि सुरुङ खन्न बाँकी छ । ठेकेदारले बोनस नपाउने मेलम्ची खानेपानी आयोजनाको लागत ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार तीन सय ४२ रुपैयाँ छ । निर्माणमा इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी ९सिएमसी दी रेभेन्ना० कार्यरत छ । ६ महिनाअघि नै काम सकेमा आयोजनाले ठेकेदार कम्पनीलाई प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ठ ६९ करोड ५१ लाख १२ हजार तीन सय रुपैयाँ बोनस दिने भनेको थियो । तर, काम नसकिने भएपछि ठेकेदार कम्पनीले बोनस रकम गुमाएको छ । नयाँ पत्रिका दैनिकबाट ।
देउवा १२ वर्षपछि सत्तामा फर्कदै, अाजै प्रधानमन्त्री हुँदै
काठमाडौं । भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको एकल मनोनयन दर्ता छ । संसद्मा जारी गतिरोधलाई निकास दिन सभामुख घर्तीले आग्रह गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार संसद्को दुईवटा बैठक राख्न प्रस्ताव गर्नुभएको थियो । पहिलो बैठकले संसद्मा आजसम्म भएका काम(कारबाही र राष्ट्रपतिबाट आएका पत्रबारे जानकारी दिने, त्यसपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बोल्ने कार्यसूची तय गरिएको छ । पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संसद् किन बन्द गर्नुपर्यो र खुल्यो भन्नेबारे संसद्लाई जानकारी गराउनुहुनेछ भने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले त्यससम्बन्धमा आफ्नो प्रतिक्रिया दिने कार्यक्रम छ । सभामुखले राष्ट्रपतिको पत्र पढ्दै आफ्नो धारणा व्यक्त गरेपछि आधा घन्टापछि बस्ने दोस्रो बैठकले प्रधानमन्त्री निर्वाचन गर्ने सहमति भएको जानकारी स्रोतले दियो । अन्नपूर्ण पोस्टबाट ।
१४ वटा बैंकका १८ जना सञ्चालकले पद त्याग गर्नुपर्ने, यथाशीघ्र विशेष साधारणसभा बोलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । १४ वटा वाणिज्य बैंकका १८ जना सञ्चालकले पद त्याग गर्नु पर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा ५ देखि ७ जनाको सञ्चालक समिति हुने व्यवस्था भएको उल्लेख गर्दै राष्ट्र बैंकले कानुनमा उल्लेख भन्दा बढी सञ्चालकहरुलाई पद त्याग गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ‘प्रचलित कानूनमा भएको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा कम्तिमा ५ जना र बढीमा ७ जना सञ्चालक हुने गरी संस्थापक सेयर समूह र सर्वसाधारण सेयर समूहबाट सेयर स्वामित्व अनुपातका आधारमा प्रतिनिधित्व हुनुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र साधारण वा विशेष साधारणसभा बोलाई आ–आफ्नो प्रबन्ध पत्र तथा नियमावली संशोधन/समायोजन/परिमार्जन गरी प्रचलित कानुन अनुरुप सञ्चालक समिति गठन’ गर्न निर्देशन दिएको छ । सोही व्यवस्था अनुसार २६ वाणिज्य बैंक मध्ये १४ वटा सञ्चालक समिति पुर्नगठन हुने भएका छन् । हाल कृषि विकास बैंकमा ९ जना, नेपाल इन्भेष्टमेन्ट बैंकमा ९ जना र मेगा बैंकमा ९ जना सञ्चालक रहेका छन् । यी तीन बैंकबाट ६ जनाले पद त्याग गर्नुपर्ने भएको छ । एनएमबी बैंकमा एक जना बैकल्पिक सहित १० जना सञ्चालक छन् । हिमालय बैंकमा ७ जना सञ्चालक र ६ जना बैकल्पिक सञ्चालक छन् । नयाँ ऐनले पनि बैकल्पिक सञ्चालकको व्यवस्था गरेको छ । एनएमबी बैंकका कम्तिमा २ जना सञ्चालकले छोड्नु पर्ने भएको छ । नविल बैंक, नेपाल एसवीआई बैंक, एभरेष्ट बैंक, सिटिजन्स इन्टरनेशलन बैंक, प्राइम कमर्सियल बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डूमा मा ८/८ जनाको सञ्चालक रहेका छन् । त्यस्तै हालै मात्र राष्ट्र बैंकले गठन गरिदिएको एनसीसी बैंक सञ्चालक समिति पनि ८ जनाको छ । यी ९ वटा बैंकहरुबाट ९ जना सञ्चालकहरुले पद छोड्नु पर्ने भएको छ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभु बैंक, सिभिल बैंक र जनता बैंकमा भने ५ देखि ७ जनाको सञ्चालक समिति रहेको छ । उनीहरुले तत्काल विशेष साधारणसभा गर्नु नपर्ने भएको छ । ७ जना भन्दा बढी सञ्चालक रहेका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरुले पनि यथाशीग्र साधारणसभा गरी सञ्चालक समिति पुर्नगठन गर्नु पर्ने नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । हाल ५४ वटा विकास बैंक, ३३ वटा फाइनान्स र ५० वटा लघुवित्त कम्पनीहरू सञ्चालनमा छन्र । ती संस्थाहरूबाट पनि १०० भन्दा बढी सञ्चालकले छाेड्नु पर्ने अनुमान गरिएकाे छ ।
कुमारी बैंकको सेयर ३०८ रुपैयाँ हाल्नेले पाए, ३०७ कबोल गर्नेलाई बराबर
काठमाडौं । कुमारी बैंकले बोलकबोलमा बिक्री आह्वान गरेको सेयरमा प्रतिकित्ता ३०८ रुपैयाँसम्म कबोल गर्नेले पाउने भएका छन् । प्रतिकित्ता ३०७ रुपैयाँ कबोल गर्नेहरुले माग अनुसार बराबर पाउने गरी कटअफ भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले जानकारी दिए । बैंकले दुई महिनाअघि हकप्रद सेयर निष्काशन गरेकोमा माग नभएको २ लाख ८० हजार कित्ता सेयर बोलकबोलका माध्यमबाट बिक्री आह्वान गरेको थियो । अधिकांश आवेदकले प्रतिकित्ता ३०९/३१० मूल्यमा किन्न आवेदन गरेका छन् । बोलकबोल आवेदन बुझाउने अन्तिम दिन बजारमा प्रतिकित्ता ३२२ रुपैयाँमा कारोबार भएको थियो । टेण्डर खुलेको दिन प्रतिकित्ता ८ रुपैयाँले वृद्धि भई ३३० रुपैयाँमा कारोबार भएको छ । उक्त सेयरको लागि केही आवेदकले प्रतिकित्ता ४०० रुपैयाँ हालेका छन् भने घटीमा २६५ रुपैयाँको कबोल भएको उनले जानकारी दिए । प्रमोटरतर्फ लिलाममा राखिएको ८६ हजार कित्ता सेयर पनि सबै बिक्री भएको छ । प्रमोटरतर्फ प्रतिकित्ता १०७ रुपैयाँ कबोल गर्नेले पाएका छन् । प्रमोटरतर्फको अधिकांश सेयरका लागि प्रतिकित्ता १४०/१४१ रुपैयाँ बिक्री भएको उनले बताए । पछिल्लो समय बोलकबोलका माध्यमबाट बिक्री आह्वान भएको सेयरको माग उच्च रहेको र बजार मूल्यको हाराहारी मूल्यमा माग आवेदन पर्न थालेको उनले बताए ।
ताइवानी प्रतिनिधि मण्डलले काठमाडौंमा व्यापारिक अन्तरक्रिया गर्ने
काठमाडौ । ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ११ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । सो प्रतिनिधि मण्डलले यही जेठ २८ गते आइतबारका दिन काठमाडौंको दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ । उक्त प्रतिनिधि मण्डलमा विद्युतीय तथा सञ्चार प्रविधिका सामान, सौर्य उर्जा सामग्री, गाडीका पार्टपुर्जा, मशीनरी, कृषि सामग्री, गार्मेन्ट, टेक्स्टाइल, ब्यागेज, वाटरफिल्टर आदि सामानका उत्पादक तथा वितरकहरु रहने जनाइएको छ । नेपाली व्यवसायीहरुले आफ्नो रुचिको व्यवसाय अनुसार सम्वन्धित ताइवानी व्यवसायीहरुसँग भेटघाट तथा व्यापारिक समझदारी गर्न सक्नेछन् । यस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यापार व्यवसायीहरु ताइवानी उत्पादक तथा वितरकहरुको प्रत्यक्ष सम्पर्कमा आउनुका साथै आफ्नो व्यापार विस्तार गर्न सक्षम हुने विश्वास आयोजकको छ ।
मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा नेपाल सरकारबाट अनुमोदन
काठमाडौं । क्यान महासंघको अगुवाईमा नेपाल सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रका संघ-संस्थाहरुसँगको सहकार्यमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आईरहेको छ । क्यान महासंघको प्रस्ताव अनुरुप हालैको मन्त्रीपरिषद बैठकले यो दिनलाई औपचारिक रुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । यो निर्णय सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि गौरवपूर्ण र ऐतिहासिक पनि हो । नेपाल सरकारको यो निर्णयले हामीलाई थप हौसला र उत्प्रेरणा प्राप्त भएको छ । यो निर्णय समग्र सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारका लागि कोसेढुंगासावित बन्ने छ । सूचना तथा सञ्चार प्रविधिलाई देश विकासको प्रमुख औजारको रुपमा प्रयोग गर्न प्रोत्साहन गर्ने किसिमले सरकारले जुन निर्णय गरेको छ त्यसले यो क्षेत्रलाई अझ तिव्र गतिमा अघि बढ्न ऊर्जा मिलेको छ । यस्तो गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री प्रेम बहादुर सिंह, नेपाल सरकार र सम्वन्धित सबै निकायहरुलाई क्यान महासंघको तर्फबाट क्यान महासंघका अध्यक्ष ई.विनोद ढकालले हार्दिक आभार एंव धन्यवाद ब्यक्त गरेका छन् । साथै विगत ७ वर्षदेखि यो दिनलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएका निजी क्षेत्रलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा अझ राम्रो ढंगले दिवसलाई सार्थक बनाउन सहकार्य गर्ने बाचा गरेका छन् ।