रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआईसी एसिया
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा सोमबार रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४,३०,००० कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ । ९.५ मे.वा. क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे कम्पनीले जनाएको छ । निष्काशन तथा विक्री प्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।
एनआईसी एशिया बैंकले गर्यो विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम
काठमाडौं । एनआईसी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गतेका दिन बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय,पर्वत, बैकंको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एव बैकंको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउन उक्त कार्यक्रमको आयोजना गरेको बताएको छ । बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।
स्वीडेनको १०० र ५०० दरका नोट हटाउन निर्देशन
काठमाडौं । स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकले १०० र ५०० दरका नोटहरु चलन चल्तीबाट हटाउन निर्देशन दिएको छ । बैंकले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका स्विडिस क्रोनर १०० र ५०० दरका नोटहरु हटाउन निर्देशन दिएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जेठ २८ गतेसम्म त्यस्ता नोटहरु साट्न आग्रह गरेको छ । आफूसँग भएका त्यस्ता नोटहरु यस बैंकको बैकिङ् कार्यालय थापाथली, काठमाडौंबाट साट्न सकिने बैंकले जानकारी गराएको छ । तोकिएको समयभन्दा ढिला भएमा त्यस्ता नोटहरु यस बैंकले नसाट्ने राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१०.७ मेगावाटको अपरसानीगाड हाइड्रो निर्माण गरिँदै, चार बैंकले लगानी गर्ने
काठमाडौं । बझाङ जिल्लामा निर्माण गरिन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आइतबार फाइनान्सियल क्लोजर सम्पन्न भएको हो । परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् । लिड बैंक सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारि अधिकृत गोबिन्द गुरुङ र बुङगल हाईडो प्रा लि को तर्फबाट उमेश श्रेष्ठले ऋण समझदारि पत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको कुल लगानी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकको ७५ प्रतिशत (एक अर्ब ३६ करोड) र निर्माण कम्पनीको २५ प्रतिशत (४५ करोड) लगानी हुनेछ । सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । परियोजनाको ट्रान्समिसन लाइन कम्पनीले आफै निर्माण गरेर चमेलियामा लगेर जोड्ने भएकोले ट्रन्समिसन लाइनको कुनै समस्या नरहने कम्पनीले जनाएको छ । परियोजनामा उमेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा, तीर्थ चटौत, राजेश श्रेष्ठ र बिरेन्द्र मल्ल मुख्य लगानीकर्ता रहेका छन् । परियोजनाको साइडको काम सुरु भइसकेको र कन्स्ट्रक्सनको काम पनि छिट्टै सुरु हुने कम्पनीले जानकारी गराएको छ । परियोजनाको डिजाइन एञ्जल इञ्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो । यो समूहले बझाङमै कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१५.३३ मेगावाट) र अपर कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (३८.४६ मेगावाट) निर्माण गरिरहेको छ । तीनवटा परियोजनामा कुल लगानी करीव ११ अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ । यसमा आठ अर्ब बैंक र बाँकी निर्माण कम्पनीको लगानी हुनेछ । तीनवटा परियोजनामा १५ बैंक आवद्ध रहेका छन् ।
भरतपुरमा पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
काठमाडौं । सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायधिश चोलेन्द्र समशेर जबराको एकल इजलासले निर्वाचन आयोगलाई पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वन नगराउन आदेश दिएको हो । जेठ १४ गते मध्यरातमा माओवादीका प्रतिनिधीले मत पत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको थियो । निर्वाचन आयोगले ९० वटा पत पत्र च्यातिएको र मत गणनास्थल कब्जा गरिएको दावी गर्दै पुनः मतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध सोही वडामा एमालेबाट सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।सर्वाेच्चले जेठ २४ गते दुबै पक्षलाई बहसका लागि पनि बोलाएको छ ।
आरएमसी राजेश जस्तापाताको ब्राण्ड एम्बेस्डरमा केकी अधिकारी नियुक्त
काठमाडौं । आरएमसी राजेश रंगीन जस्तापाताको ब्राण्ड एम्बेस्डरमा सुपरिचित चलचित्र नायिका केकी अधिकारी नियुक्त भएकी छन् । सोमबार कम्पनीले आफ्नो ब्राण्ड एम्बेस्डरमा नायिका अधिकारीलाई नियुक्त गरेको हो । राजेश रंगीन जस्तापाताका उत्पादक राजेश मेटलक्राफ्ट्स् प्रा.लि.ले लामो समयदेखि गुणस्तरीय जस्तापाताको उत्पादन तथा विक्री-वितरण गर्दै आएको छ । शुरुमा सादा जस्तापाता उत्पादन गर्दै आएको सो कम्पनीले केही वर्ष अघि देखि रंगीन जस्तापातालाई समेत आफ्नो उत्पादन सृङ्खलामा समावेश गरेको हो । राजेश ब्राण्डको जस्तापाता नेपाली निर्माण सामग्री बजारमा गुणस्तरीय उत्पादनका रुपमा लोकप्रिय रही आएको कम्पनीले जनाएको छ । सादा तथा रंगीन जस्तापाताका अतिरिक्त राजेश मेटल क्राफ्ट्स् प्रा.लि.ले राजेश जीआई पाइप एवं ब्ल्याक पाइप तथा आरएमसी सिमेन्ट प्रा.लि.बाट गुणस्तरीय सिमेन्टको उत्पादन तथा विक्री–वितरण गर्दै आएको छ । यी सबै उत्पादनहरु निर्माण सामग्री बजारमा सुपरिचित ब्राण्डका रुपमा स्थापित भएका छन् ।
सोमबारको सेयर बजार हरियो, नेप्सेले १६०० अंक नाघ्दा ६२ करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजार हरियो भएको छ । आइतबार राताम्मे भएको बजार सोमबार ८ दशमलब ८४ अंकले बढेर १६०२ दशमलब ६५ अंकमा पुगेर हरियो भएको छ । बजारमा ६२ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ६ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१९५ रुपैयाँ रहेको छ । सो दिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी फाइनान्सको सेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ । कारोबार भएका ८ समूह मध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् भने फाइनान्स समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २१ दशमलब ६९ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः १५ र १० अंकले उकालो लागेका छन् ।
धुर्मुस-सुन्तलीले पाँच अर्बमा ‘नमुना नेपाल’ बनाउने(भिडियोसहित)
काठमाडौं । तीन वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकार धुर्मुस सुन्तलीले पाँच अर्बको महत्वकांक्षी नमुना नेपाल निर्माण गर्ने भएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार राजधानीमा पत्रकार सम्मेलन मार्फत ७५ वटै जिल्लाका जोखिममा परेका परिवारलाई समेटेर नमुना नेपाल(भिडियो) परियोजना निर्माण गर्न लागेको जानकारी दिएका हुन् । उनीहरुले काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ वा मकवानपुरमा पाँच सय देखि एक हजार रोपनी क्षेत्रफलमा हिमाल, पहाड र तराईको बिशेषता झल्किने एकिकृत नमुना नेपाल निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनीहरुले निर्माण गर्ने नमुना नेपालमा हिन्दु, मुस्लिम, इसाई, बौद्धमार्गी लगायत सबै धर्मावलम्बीहरुको धार्मिकस्थल निर्माण गरिनेछ । सका अलवा हिमाली, पहाड र तराईका लागि छुट्टा छुट्टै क्लस्टरमा बस्ती विकास तथा रहनसहन अनुसारको सांस्कृतिक संरचनाको निर्माण गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । हिमाली बस्तीमा हिमालको आभाष पाइनेछ भने पहाडी बस्तीमा पहाड र तराईको बस्ती सोही अनुभूति प्राप्त हुने कट्टेलले बताए । नमुना नेपालमा सुरुङमार्ग, मीनी रेल, संग्रहालय, धरहरा भ्यु टावर, खेल मैदान, विद्यालय, सामुदायीक भवन, स्वास्थ्य केन्द्र लगायतका संरचना निर्माण हुनेछ । नमुना बस्तीमा ब्राम्हण, क्षेत्री, राइ, लिम्बु, शेर्पा, मुस्लिम, डोम, थारु, मधेशी, मेचे, राउटे, चेपाङ लगायतका सबै जातजातिलाई राखिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । ‘७५ वटै जिल्लाका पिडितहरु समेटिने गरि १२५ वटै जातिलाई नमुना नेपालमा राखिनेछ, सबै जातजातिको सांस्कृतिक प्रतिनिधित्व गराउँछौं जहाँ भुगोल पनि सोही ढंगले प्रतिनिधित्व हुनेछ’, कट्टेलले भने । लम्किए सहयोग हातहरु पत्रकार सम्मेलनमा सहभागी भएका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले नमुना नेपाल निर्माणका लागि २५ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरे । त्यस्तै, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरत ढकालले नमुना नेपाल निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरे । त्यस्तै, सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आफुहरु नमुना नेपाल परियोजनाका लागि ब्याक बोन(मेरुदण्ड)का रुपमा खडा हुने बताए । उनले रकमको अभाव हुने वित्तिकै आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरे । पत्रकार सम्मेलनमा उपस्थित भएका भूमिसुधार मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले जमिन उपलब्ध गराउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।