पूर्वराजदूत भ्रष्टाचारको आरोपमा जेल, मृतकको परिवारले पाउनुपर्ने रकममा भ्रष्टाचार
काठमाडौ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने तीन लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई सात महिना जेल सजायसहित तीन लाख ९६ हजार (२० हजार रियल)पीडितलाई क्षतिपूर्ति बापत भराउन र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो । पीडितको पक्षमा मंगलबार उक्त फैसला भएको थियो । साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका म्याग्दीका होमबहादुर पुनका परिवारले ‘इन्स्योरेन्स’ बापत पाउनुपर्ने ४७ हजार रियलमध्ये २७ हजार रियलको चेक मात्र पीडितलाई थमाएर अरू रकम आफैंले झिकेर बुझेको अभियोग अन्सारीविरुद्ध थियो । मृतक पुनका आफन्तले पहिलो किस्ताबापत २७ हजार र र दोस्रो किस्ताबापत २० हजार रियल पाउनुपर्ने थियो । साउदीस्थित नेपाली दूतावासमा ट्रान्सलेटर पदमा कार्यरत अहमद वी मुसाले उक्त इन्स्योरेन्स रकम बुझेर अन्सारीलाई दिएको दाबी अख्तियारको थियो । अख्तियारको छानबिनबाट अन्सारीले साउदी अरबको रियादस्थित कामदार कार्यरत कम्पनीले दिएको चेक बुझेको निक्र्योलसहित सुरुमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २९ पुस ०७२ सालमा भ्रष्टाचार ठहर गरेपछि त्यसलाई उल्ट्याउन अन्सारी सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि राजदूत अन्सारीले दोस्रो किस्ताबापतको रकम आफ्नो नाममा निकालेर मृतकका आफन्तलाई नदिएको ठहर सर्वोच्चले गरेको छ । सर्वोच्चले अन्तिम फैसला सुनाउँदै सुरु अदालतको निर्णय सदर गरेपछि अन्सारीले अनिवार्य रूपमा जेल सजाय भुक्तान गर्नुपर्नेछ । अन्नपूर्ण पोस्टबाट ।
एक वर्षको नाफा ६ महिनामै, एक वर्षमा १९ अर्ब १६ करोड ६ महिनामा २० अर्ब ८४ करोड
काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विगत एक वर्षको भन्दा बढी नाफा कमाएका छन् । आर्थिक वर्ष २०७०/७१ मा १९ अर्ब १६ करोड ९५ लाख नाफा कमाएका वाणिज्य बैंकहरूले चालू आवको पहिलो ६ महिनामा २० अर्ब ८४ करोड ५५ लाख नाफा कमाएका छन् । यस वर्ष ‘क’ वर्गका बैंकले कमाएको नाफा गएको वर्षको सोही अवधिको भन्दा ४१ प्रतिशतले बढी हो । गएको वर्ष पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले १४ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका थिए । भूकम्प र नकाबन्दीका कारण अधिक तरलता खेपीरहेका बैंकहरूले त्यसपछिका दिनमा लगानी बढाउँदा नाफा बढ्न थालेको हो । वित्तीय क्षेत्र विभिन्न व्यवसायमध्ये पारदर्शी र नियामक निकायको निर्देशनमा रहेर कार्य सम्पादन गर्ने क्षेत्र भएकाले पनि यसको प्रभाव राम्रो देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाह बताउँछन् । वित्तीय क्षेत्रको नाफा बढ्नुको श्रेय राम्रो र क्षमतावान जनशक्तिमा जाने अध्यक्ष शाहले बताए । ‘बर्सेनि नाफा बढ्दै जानु यस क्षेत्रका लागि सकरात्मक र आम जनताको विश्वास जित्दै जानु हो’, उनले भने । ‘बैंकले मात्र नाफा बढाएर नहुने बैंकसँगसँगै अन्य सबै क्षेत्रले नाफा बढाएमा मात्र नेपालले दिगो आर्थिक वृद्धिदर हासिल गर्न सक्ने शाहले बताए । ‘नेपाल विकासशील देश बन्न पनि बैंक तथा वित्तीय क्षेत्रले मात्र नाफा बढाएर हुँदैन’, उनले भने । लगानी भएका हरेक क्षेत्रबाट राम्रो प्रतिफल आउनुपर्ने उनको भनाइ छ । अन्नपूर्ण पोस्टबाट ।
भक्तपुर औद्योगिक क्षेत्र उद्योग सङ्घमा पवन मित्तल
भक्तपुर । भक्तपुर औद्योगिक क्षेत्र उद्योग सङ्घको अध्यक्षमा पवन मित्तल चयन भएका छन् ।सङ्घको आज सम्पन्न छैंटौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि मित्तललाई अध्यक्ष चयन गरेको हो । अधिवेशनले सङ्घको उपाध्यक्षमा नारायणहरि खत्री, महासचिवमा शङ्करकुमार खड्का, सचिवमा किरण थापा, कोषाध्यक्षमा सुरेश शुक्लालाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रामप्रसाद प्रजापती, गङ्गाप्रसाद सुवाल, रविन्द्र प्रजापती, पुण्यराम सैजु चयन भएका छन् ।
विश्व बैंकका कार्यकारी निर्देशकले गरे चन्द्रागिरिको भ्रमण, दुर्विनबाट सगरमाथाको दृश्यावलोकन
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको नीजि क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुना योग्य परियोजना भएको बताए । साथै, उनले यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उधोगलाई प्रवद्र्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा राखेका छन् । यस्तो उदाहरणीय कार्य गरेकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हिल्स समुहको उच्च प्रशंसा गर्दै निर्देशक हदियान्तोले सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । भ्रमण टोलीमा विश्व बैंकका नेपाल स्थित प्रतिनिधि रेहन रसिदे उपस्थिती भएका थिए । भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् संचालक हेमराज ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराएका थिए । ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।
राष्ट्रिय फुटबल टिमका खेलाडी कोका-कोला मोमोत्सवमा सहभागी
काठमाडौं । अभ्यास पछि नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई कोका-कोला मोमोत्सवमा सहभागी भए वापत प्रशंसाको चिनो स्वरूप खेलाडीको नाम प्रिन्ट भएको कोका-कोला बोटल प्रदान गरेर सरप्राइज दिइयो ।
चेक क्लियरिङमा गम्भिर समस्या, चेक बाउन्सको नाममा निक्षेपकर्ताको खाताबाट पैसा काट्दै बैंकहरु
काठमाडौं । बैंकहरु ग्राहकको चेक कारोबार व्यवस्थापनमा चुकेका छन् । पछिल्ला दिनहरुमा धेरैको चेक बाउन्स हुने (निक्षेपकर्ताको खातामा पैसा हुँदा चेक नसाटिने) समस्या देखिएको छ । सामान्यतया विहान ११ बजेअघि जम्मा गरिएको चेक बराबरको रकम साँझ खातामा जम्मा हुन्छ । ढिलो भएमा आज जम्मा गरेको चेक बराबरको रकम भोली खातामा जम्मा हुन्छ । तर पछिल्लो समय एकाउन्ट पेइ गरिएको चेक ६ दिनसम्म पनि नसाटिएको पाइएको छ । फागुन २७ गते जम्मा गरेको चेकको रकम चैत २ गतेसम्ममा पनि खातामा जम्मा नभएको भेटिएको छ । नेपाल लाईफ इन्स्योरेन्सको एफपीओ र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स आईपीओको सेयर बाँडफाँडपछि अत्याधिक चेक क्लियरिङमा आएकोले चेक साट्न ढिलाई भईरहेको बैंकर्सहरुले बताएका छन् । दुई संस्थाको एफपीओ र आईपीओ एकै पटक बाँडफाँड हुँदा एकै पटक धेरै चेक क्लियरिङमा आएकोले ढिलाई भएको नेपाल बैंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘चेक क्लियरिङमा समस्या हो, यसमा बैंकहरुको गल्ती छैन’ ढुंगानाले भने । एकाउन्ट पेइ चेक भुक्तानीको काम गर्दै आएको एक मात्र कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार चेक कारोबार करिव ५ गुणासम्मले वृद्धि भएको छ । तर क्लियरिङ हाउसबाट गर्नुपर्ने काममा ढिलाई नभएको उनको दावी छ । उनका अनुसार औषतमा दैनिक ४० हजार चेक क्लियरिङमा जम्मा हुने गरेकोमा मंगलबार १ लाख ९४ हजार चेक क्लियरिङमा जम्मा भएका थिए । बुधबार ८७ हजार चेक क्लियरिङमा गएका थिए । ‘क्लियरिङमा आएजति सबै चेक कारोबार सेटल भएको छ’ उनले भने–‘धेरै चेक आउँदा बैंकहरुलाई व्यवस्थापन गर्न कठिन भएको हुनसक्छ ।’ औसतभन्दा ४/५ गुणा बढी चेक जम्मा हुन आएकोले त्यसलाई व्यवस्थापन गर्न ढिलाई भईरहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । मंगलबार मात्र १ लाख ११ हजार चेक क्लियरिङको लागि जम्मा भएको उनले बताए । चेक क्लियरिङमा ढिलाई हुँदा धेरै ग्राहकको चेक बाउन्स हुने समस्या देखिएको छ । चेक बाउन्स हुँदा जरिवाना स्वरुप चेक निष्काशन गर्ने ग्राहकको खाताबाट बैंकहरुले २५० देखि ५०० रुपैयाँ झिक्ने गरेका छन् । बैंकहरुको व्यवस्थापकीय कमजोरीका कारण ग्राहकहरु जरिवानाको शिकार बन्दै आएका छन् ।
हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण
काठमाडौं । युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेका ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए । मन्त्री डा।महत र युरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटका क्रममा भएको सहमझदारी अनुसार आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो । भेटमा आयोगका अध्यक्ष युंकरले मन्त्री डा।महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदण्ड पूरा गरेको सम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आवश्वासन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सो पत्रमा हवाई सुरक्षा (एयर सेफ्टी) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ । आइकावको प्राविधिक समूहले गत नोभेम्बर महिनामा गरेको अध्ययन अनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । सो पत्रमा उक्त मापदण्ड र यसको कार्यान्वयन बारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ । उक्त पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै युरोपेली सङ्घमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरेका छन् । युरोपेली सङ्घले युरोपेली देशहरूको आकासमा नेपाली एयरलाइन्समाथि लगाउदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस
गरिबलाई शोषण गरेर अरबपति बन्न खोज्ने ? माइक्रोफाइनान्स छोडेर व्यापारमा लाग्नुहोस्
डा चिरञ्जीवि नेपाल लघुवित्तको क्षेत्रमा निरन्तर काम गर्दै आउनु भएको र चौथो राष्ट्रिय लघुवित्त सम्मेलनमा भाग लिन आउनु भएका तपाईहरूलाई सबैभन्दा पहिला खुशीको कुरा सुनाउन चाहन्छु । २०७४ चैतसम्म सम्पूर्ण फिङगो (लघुकर्जा कारोबार गर्दै आएका गैर सरकारी संस्थाहरू) लाई लघुवित्तमा रुपान्तरण गर्ने निर्णय राष्ट्र बैंकले गरेको छ । उनीहरूले २०७५ मंसिरसम्ममा सेयर पनि कम्पनी रजिस्ट्ररबाट अपलोड गरिसक्नु पर्ने छ । राष्ट्र बैंकको नियामक निकायमा आउनका लागि चैतसम्ममा लघुवित्तलाई समय छ । अब तपाईहरू पारर्दर्शी तरिकाले लघुवित्तको काम काम गर्न सक्नुहुन्छ । राष्ट्र बैंकको नियमनभित्र तपाईहरूलाई स्वागत छ । माइक्रोफाइनान्स भन्ने वित्तिकै सानो पुँजीबाट व्यापार व्यवसाय गर्न सहयोग गर्ने महत्वपूर्ण वित्तीय संस्था हो । लघुवित्तमा काम गर्नेले सानो पुँजीलाई लिएर अघि बढ्नु पर्छ । लघुवित्तमा काम गर्नेले वाणिज्य बैंकले गरेको काम हेर्न मिल्दैन । तपाईहरूको उदेश्य अत्यान्तै राम्रो छ । तपाईहरूले आफ्नो सिद्दान्त र उदेश्य हेरेर काम गर्नु पर्ने हुन्छ । लघुवित्त भित्र विकृतिहरू देखिन थालेको छ । विकृतिहरु पनि सानातिना होइन, अलि गम्भिर खालको विकृति देखिन थालेका छन् । लघुवित्त चलाएर करोडपति, अरबपति बन्ने सपाना पलाएको छ । करोडपति, अरबपति बन्ने हो भने अरु व्यापार विजनेश गर्नुहोस्, लघुवित्त चलाउने होइन । गरिबको पक्षमा काम गर्ने भन्ने, अनि गरिबलाई सिधै शोषण गरेर करोडपति, अरबपति बन्न खोज्ने ? राष्ट्र बैंकले नयाँ सामन्ती शोषक गाउँमा छिरायो भन्ने कुरा मैले प्रत्यक्ष सुनिराखेको छु । लघुवित्तका कारण घरवार विहिन भएका, झुन्डिएर मेरका घटनाबारे समाचार आउने गरेका छन् । यस्ता घट्ना किन भए, कसरी हुन गए ? यो सम्मेलनमा समीक्षा होस् । हाम्रा कुरा स्पष्ट छन्, सामाजिक दायित्व, मूल्य, मान्यताको विकाससँगै आर्थिक रुपान्तरमा सहयोग गर्नु हो । हाम्रा उदेश्य र मान्यता विपरित तपाईहरु किन उत्साहित भएर अरबपति, खर्बपति र करोडपति हुने बाटोमा लम्किरहनु भएको छ ? ती गरिब व्यक्तिहरु जस्लाई एउटा इच्छा छ, आफ्नो जीवन अलिकती सुखमय बनाउन चाहाने गरिब व्यक्तिहरुलाई पिल्सने काम किन हुन्छ ? राष्ट्र बैंकले धेरै कुरा सुन्नु परेको छ । यस्ता कुरामा राष्ट्र बैंक बढी नै संवेदनशिल भएको छ । भोलिका दिनमा लघुवित्तका गलत कामका विरुद्ध अर्को कदम चाल्नु पर्ने मैले महसुस गरेको छु । ग्रामिण अर्थतन्त्रलाई व्यवसायिक करण गर्न लघुवित्तलाई राष्ट्र बैंकले प्रोत्साहित गर्दै आएको छ । पैसा भएका मान्छेले मात्र व्यपार व्यवसाय गर्ने हैन, पैसा नभएकाले पनि व्यपार व्यवसाय गर्न सक्छन्, पैसा नभएको मानिसँग पनि विशिष्ट क्षमता हुन्छ, उनीहरुलाई वित्तीय सेवा दिएर आर्थिक उन्नति गर्न सकिन्छ भनेर लघुवित्तलाई प्रोत्साहित गरिएको हो । न्यून व्याजदरमा स्रोत व्यवस्थापन गरिएको हो । अरु बैंक तथा वित्तीय संस्था खोल्न बन्द हुँदा पनि लघुवित्त खुला राखिएको हो । अहिले पनि दुर्गम ९ जिल्लामा नयाँ लघुवित्त संस्था खोल्न बाटो खुला राखिएको छ । माइक्रो फाइनान्सले गरेका कति राम्रो उद्दारणहरु पनि छन् । पुँजी नभएर केहि गर्न नसकेका मानिसहरु माइक्रो फाइनान्सबाट भएको सानो पुँजीलाई उपयोग गरेर करोडपति भएका पनि छन् । त्यसैले माइक्रो फाइनान्सलाई राष्ट्र बैंकले सुविधा पनि दिएको छ, निगरानी गरेको छ, नयाँ नियम ल्याएर संरक्षण पनि गरेको छ । वित्तीय पहुँच नपुग्दा वा वित्तीय क्षेत्रको ज्ञानको अभावले गर्दा गरिब झनै गरिब भएका छन् । अनुसन्धानबाट देखिसकेको छ । अनौपचारिक क्षेत्र पनि जोड्ने हो भने ६० प्रतिशत जनता अझैपनि वित्तीय पहुँचमा आउन सकेका छैनन् । उनीहरु माझ वित्तीय पहुँच पुर्याउन लघुवित्तको भूमिका धेरै महत्वपूर्ण छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा १ प्रतिशत विशेष कर्जाको सुविधा अत्यन्त गरिब, दलित, जनजातिलगायतका लागि ती क्षेत्रमा व्यवस्था गरेका छौं । त्यो पैसा लिन कोहि पनि गएका छैन त्यहाँ पहुँच नै पुगेको छैन । यत्रो धेरै लघु बैंक संस्थाहरु हुँदा पनि किन हामी गाउँमा पुग्न सकेका छैनौ भन्ने प्रश्न पनि राष्ट्र बैंकबाट गर्नै पर्ने हुन्छ । गत वर्ष हामीले नाफाको १ प्रतिशत ग्राहकको हितको लागि कोष खडा गर्ने नीति ल्याएका छौ । यसलाई बढाउनु पर्ने अवस्था नआओस् । हामीले लघुवित्तलाई पहुँच नपुगेका क्षेत्रमा जानको लागि शुन्य ब्याजदरमा ऋण दिने सुविधा पनि दिएका छांै । जसले बैंक देखेको छैन त्यो सम्म हामीले पहुँच पुर्याउन खोजेको हो । अहिले ४० प्रतिशतमा मात्र बैकिङ पहुँच पुगेको छ । बाँकी ६० प्रतिशत जनतासँग भएको पैसालाई बैकिङ क्षेत्रमा ल्याउनु पर्नेछ । त्यो पैसा वित्तीय प्रणालीमा ल्याउने उपाय खोज्नु पर्यो । तपाईहरु दुर्गम क्षेत्रमा गएर राम्रो राम्रो काम गर्नु राष्ट्र बैंक इन्सेन्टिभ र सहुलियत दिन सधैं तयार हुन्छ । (चौथो लघुवित्त सम्मेलनको उदघाटन कार्यक्रममा डा. नेपालले राखेको मन्तव्यको संम्पादीत अंश)