विकासन्युज

निजी क्षेत्रतर्फ कर्जा लगानी ३०.४ प्रतिशतले वृद्धि, अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा बैंकिङ क्षेत्र जोखिममा

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बढ्दै गएको तथ्याङ्क प्रस्तुत गरको छ । घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा प्रवाह हुने कर्जा बढ्दै जाँदा खराव कर्जा वृद्धि भई वित्तीय क्षेत्र अप्ठेरोमा पर्न सक्ने संकेत राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले मंसिरसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै बैंकहरुले अहिलेसम्म खराव कर्जा न्यून देखाए पनि अनुत्पादक क्षेत्रमा कर्जा वढेको संकेत गरेको छ । बैंकहरुले निजी क्षेत्रमा दिने कर्जा ३०.४ प्रतिशतले बढेको र त्यो अनुत्पादक क्षेत्रतर्फ बढी गएको पनि संकेत गरेको छ । हाल बैंकहरुले गरिरहेको कर्जाको वास्तविक स्वरुप आउने वित्तिकै खराव कर्जाको अनुपात बढ्ने र यसले वित्तिीय क्षेत्रमा ठूलो समस्या आउने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ । गएको वर्षको मंसिरसम्म घरजग्गामा ९१ अर्ब ३१ करोड रहेको घरजग्गा कर्जा यो मंसिरमा आईपुग्दा एक खर्ब १९ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । आवसीय घर कर्जाको पनि एक वर्षको अन्तरालमा बढेर एक खर्ब ५८ अर्ब ३० करोड पुगेको छ । गएको वर्षको सो अवधिसम्म यस्तो कर्जा एक खर्ब २३ अर्ब ६८ करोडमात्र थियो । भूकम्पयता घरजग्गाको कारोबार बढेसँगै उक्त शीर्षको कर्जा बढेको छ । वित्तीय संस्थाहरुले उत्पादनका अन्य क्षेत्र लगानीमैत्री नभएपछि घरजग्गा तथा सेयर बजारमा लगानी बढाउँदै लगेको पाइन्छ । तर, पछिल्लो समय सेयर बजार ओरालो लाग्न थालेपछि घरजग्गाप्रति आम लागनीकर्ता आकर्षित भएका छन् । बैंकबाटै ऋण लिएर भएपनि घरजग्गा जोड्ने तथा यसको कारोबारबाट बढी नाफा हुने भएपछि लगानीकर्जाहरु यसप्रति आर्कर्षित भएका हुन् । सामाजिक दृष्टिकोणबाट घरजगगाको कारोबार कल्याणकारी मानिए पनि आर्थिक हिसावले यस्तो लगानीलाई अनुत्पादक लगानी मानिन्छ । अनुत्पादक क्षेत्रको लगानीको प्रतिफल चाडै नआउने तथा नहुने हुँदा यसलाई अर्थ परिचालनका हिसावबाट अनुत्पादक मानिदै आएको छ । बैंक तथा वित्तीय क्षेत्रले यस वर्षको पहिलो पाँच महिनासम्म घरजग्गा, सेयर, ओरभड्राफ्टजस्तो अनुत्पादक क्षेत्रमा सात खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका छन् । गएको वर्षको मंसिरसम्म यस्तो क्षेत्रको कर्जा पाँच खर्ब ७१ अर्ब छ । गतको आवको असार मसान्तसम्म यस्तो कर्जा छ खर्ब ९१ अर्ब थियो । चालू आव पाँच महिनाको सो अवधिमा ओभर ड्राफ दूई खर्ब ४८ अर्ब ९७ करोडबाट बढेर तीन खर्ब ३६ अर्ब १० करोड पुगेको छ । सेयर मार्जिनको कर्जा ३६ अर्ब ७५ करोडबाट ३८ अर्ब ३४ करोड र हायर पर्चेज कर्जा ८३ अर्ब ७४ करोडबाट बढेर एक खर्ब ३६ अर्ब ३० करोड पुगेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ । ‘यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्दछ’, प्रतिवेदनमा उल्लेख छ । तसर्थ, आगामी दिनमा बैंक तथा वित्तीय संस्थालाई विवेकशील एवम सावधानीपूर्ण कर्जा प्रवाह गर्न राष्ट्र बैंकले सुझाएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जा जोखिमयुक्त क्षेत्रमा जानसक्ने भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको हो । बैंकहरुले यस्तो कर्जा प्रवाहमा सुधार नगरे बैंक तथा वित्तीय संस्थामा वित्तीय स्थायीत्व कायम गर्न चुनौती हुने यसको नकारात्मक असर आर्थिक वृद्धिमा पर्ने देखाएको छ । बैंकहरुले २ प्रतिशत मात्र खराव कर्जा देखाएर राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरिरहेको राष्ट्र बैंकले संकेत गरेको छ । ‘अहिले बैंकले खराब कर्जा न्यून देखाए पनि अनुत्पादक क्षेत्रमा कर्जा बढेको तथ्यांक छ्’, प्रतिवेदनमा भनिएको छ । वित्तीय संस्थाले राष्ट्र बैंकको सीमाभित्रै खराब कर्जा दुई प्रतिशत मात्र रहेको देखाएर ढाटिरहेको अनुमान राष्ट्र बैंकले गरेको छ । वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात २ प्रतिशतभन्दा कम राख्नुपर्ने अवस्था छ । वास्तविक खराब कर्जा देखिएका दिन वित्तीय क्षेत्रमा ठूलो समस्या आउने चेतावनी राष्ट्र बैंकले दिएको छ । यस वर्षको मौद्रिक नीतिमार्फत आन्तरिक कर्जा विस्तार लक्ष्य २५ प्रतिशत र निजि क्षेत्रतर्फ यस्तो विस्तार २० प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएकामा पाँच महिनामा नै कर्जा विस्तार उच्च भएको छ ।

ग्यासमा भ्याट हटाउन लबिङ, भ्याट हटाउँदा ग्यासको मूल्य १३ सय २५ रुपैयाँ मात्रै

काठमाडौं ४, माघ । आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु गरेको छ । ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटलररेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो। हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य (भ्याटसहित) १३ सय २५ रुपैयाँ तोकेको छ । प्रतिसिलिन्डर ग्यासमा १ सय ४८ रुपैयाँ ७५ पैसा भ्याट लाग्छ । ग्यासमा लाग्दै आएको भ्याट होटल व्यवसायीहरुले फिर्ता पाउँछन् । तर आम उपभोक्ता भने लागत मूल्यमै किन्न बाध्य छन् । मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा ग्यासमा भ्याट छुट दिइएको छ । खाना पकाउने ग्यास अत्यावश्यक पदार्थमा पर्ने हुँदा यसलाई प्राथमिकतामा राखिन्छ । कान्तिपुर दैनिकबाट ।

कर्णाली विकास गर्न ३२ खर्ब आवश्यक, १० वर्षे योजना कार्यान्वय गर्नसके कर्णालीको स्वरुप परिवर्तन

काठमाडौं ४, माघ । सडक, जलविद्युत्, पर्यटन तथा कृषि क्षेत्रको प्राथमिकतासहित कर्णाली क्षेत्रको विकासका लागि पहिलोपटक १० वर्षे विकास योजना बन्न लागेको छ । कर्णाली विकास आयोगले करिब ३२ खर्ब ३३ अर्ब ५६ करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक वर्ष ०७३/७४ देखि ०८२/८३ सम्मको १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार पारेको छ । आयोगको बोर्ड बैठकले कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको मस्यौदा पारित गरेको आयोगका अध्यक्ष डा.चन्द्रकान्त पौडेलले बताए । पौडेलका अनुसार योजनामा कर्णाली क्षेत्रको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ । ‘१० वर्षे विकास योजनामा पूर्वाधार विकासमध्ये सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने । आयोगले दोस्रो प्राथमिकतामा जलविद्युत् र जडीबुटी, तेस्रोमा आर्थिक क्षेत्रको विकास, चौथोमा सामाजिक तथा मानव संसाधनको विकास र पाँचौँमा सुशासनलाई प्राथमिकीकरण गरेको छ । १० वर्षमा १० प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्यसहित बन्दै गरेको रणनीतिक विकास योजनाबारे मंगलबार आयोगले मस्यौदामाथि छलफल पनि गर्दै छ । आयोगले तयार गरेको मस्यौदाअनुसार अहिले कायम रहेको ५० प्रतिशतको गरिबीदरलाई २१ प्रतिशतमा झारिनेछ । साथै, अहिले कायम रहेको ३८ हजार तीन सय २८ रुपैयाँ प्रतिव्यक्ति आम्दानीमा वृद्धि गरी दश वर्षमा एक लाख रुपैयाँ पुर्‍याउने लक्ष्य छ ।सरोकारवालासँग छलफल गरी आयोगले मस्यौदालाई अन्तिम रूप दिई विकास परिषद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगका अध्यक्ष राष्ट्रिय योजना आयोगको सदस्य रहने र विकास परिषद्को अध्यक्ष भने प्रधानमन्त्री रहने व्यवस्था छ । कर्णालीमा द्रुतसडक करिब दुई खर्ब ७६ अर्ब रुपैयाँको लागतमा सुर्खेतदेखि जुम्ला हुँदै मुगुको गमगढी र हुम्लाको सिमीकोटदेखि हिल्सा जोड्ने दु्रतसडक निर्माणको लक्ष्य विकास योजनामा राखिएको छ । केवलकार पनि बनाइदै सडक र विमानस्थलबाट पहुँच पुग्न नसकेका पर्यटकीय क्षेत्रमा यातायातको सुविधाका लागि केवलकार र रोपवे सञ्चालन गर्ने योजनामा बनाएको छ । एकीकृत बस्तीको योजना गाउँहरुमा कम आय भएका परिवारको छरिएको बसोबासलाई एकीकृत गर्ने योजना पनि कर्णाली विकास योजनाको मस्यौदामा उल्लेख गरेको छ । पहिचानयुक्त शहर कर्णालीका ५ वटै जिल्ला सदरमुकामलाई पहिचानयुक्त शहर बनाउने योजना बनाइएको छ । प्रत्येक जिल्लाको मुख्य शहरलाई पहिचान दिई जुम्लालाई स्याऊ वगैचाको शहर,कालिकोटको मान्मा खाँडचक्रलाई प्रविधिको शहर, मुगुलाई पर्यटकीय शहर, डोल्पाको दुनैलाई जडिवुटीको शहरको रुपमा विकास गर्ने योजना छ । जलविद्युत् आयोजनामा जोड ८६० मेगावाट उत्पादन क्षमताको तिला १ र २, कालिकोटको १८४ मेगावाट क्षमताको अपर कर्णाली १, कालिकोटको १३ मेगावटको रुरु बन्चु १, काइगाउँबाट नर्कु–इलमा निकास हुने ७५ मेगावटको मालिका हाइड्रो, ६० मेगावटको अपर कर्णाली बी, चिल्खाया गाविस, ओदानको १६ मेगावाटको रुरु बन्चु २, जुम्लाको जवा, न्याउरी गाड र भेरी, हुुम्लाको कवाडी खोला र दामी खोला, डोल्पाको रूपागाड र छलगाड नदी, मुगुको कर्णाली नदीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादनमा जोड कर्णालीको स्याउ, जडीबुटी, ओखर र सिमी उत्पादनमा जोड दिई बजारीकरण गर्ने योजना बनाइएको छ । पहिचना गरिएका कर्णाली गौरवका आठ आयोजना १० वर्षे योजनाको मस्यौदामा कर्णाली क्षेत्रको विकासका लागि कर्णाली गौरव आयोजनाका रूपमा केही योजनालाई प्राथमिकीकरण गरेको छ । आठवटा योजनालाई गौरवका योजनाका रूपमा पहिचान गरिएको छ । १० हिल्सा–जुम्ला–सुर्खेत दु्रतमार्ग २० कर्णाली करिडोर ३० सालझन्डी–ढोरपाटन–दुनै सडक ४० नाक्चे–लाग्ना–गमगढी सडक ५० कर्णाली स्टेसन १, २ जलविद्युत् आयोजना ६० तिला स्टेसन १, २ जलविद्युत् आयोजना ७० कर्णाली जैविक कृषि, उद्योग क्षेत्रको विकास ८० सिमीकोट–रारा–शे फोक्सुन्डो पर्यटन क्षेत्र विकास प्रतिव्यक्ति आय अहिले स् ०७२/७३ मा ३८ हजार तीन सय २८ लक्ष्य स् ०८२/८३ मा एक लाख रुपैयाँ । नयाँ पत्रिका दैनिकबाट

राष्ट्रपतिकी छोरीको विवाहमा पूर्वराजा, प्रथम राष्ट्रपति, प्रथम महिला राष्ट्रपति सहभागि, राष्ट्रपति भन्दा पूर्व राजा हँसिला

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाह सोमबार राष्ट्रपति भवनमा भव्यताका साथ सम्पन्न भएको छ । साथै यो विवाह ऐतिहासिक महत्वको भएको छ । राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै । गणतन्त्र स्थापनापछि राष्टपति भवनमा आयोजित यो पहिलो विवाह हो । जहाँ राष्टपति विद्यादेबी भण्डारी, पूर्व राष्टपति डा रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । सत्ता गुमाएका राजा र राष्ट्रपतिबीच प्रत्यक्ष भएको सम्भवत यो पहिलो भेट हो । रोचक पक्ष के देखिएको छ भने उक्त विवाह समारोहमा प्रथम राष्ट्रपति डा रामवरण यादव, प्रथम महिला राष्ट्रपति विद्यादेबी भण्डारी भन्दा पुस्तौली सत्ता गुमाएका पूर्व राजा ज्ञानेन्द्र शाह प्रशन्न्, प्रफुलित र हँसिला देखिन्थे । पूर्वराजा शाहले बरबधुलाई शुभकामना तथा बधाई दिदै दुई हात जोडेर नमस्कार गरेको दृष्यले धेरैलाई आश्चर्य बनाएको थियो । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिएकी थिइन् । विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास पुगेका थिए । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उनका परिवार र आफन्तजनको सहभागिता थियो ।   वरवधुलाई बधाई तथा शुभकामना दिदै उपराष्ट्रपति नन्दबहादुर पुन । सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो । राजनीतिमा तराई र पहाडबीच तिक्तता देखिए पनि राष्ट्रपतिकी छोरी भण्डारी र पूर्व राष्ट्रपतिका नाति यादवबीच चलेको अन्तरजातिय प्रेम ऐतिहासिक विवाह हुँदै दाम्पत्य जीवनमा परिणत भएको छ । दुबै जनाले राष्ट्रपति भवनको विवाह मण्डपमा आगो साक्षी राखेर जीवनभर साथ दिने प्रण गरेका छन् । उनीहरुबीच विगत सात वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको छ । (तस्बिरः रोशन सापकोटा र राष्टपति कार्यालय, रासस)

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह(फोटो फिचर सहित)

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ । राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै । स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ सोमबार सुसम्पन्न हुँदैछ । निशाकुसुम भण्डारी अभिषेक यादवलाई स्वयम्वरको माला लगाउँदै । शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए । निशाकुसुम भण्डारीको शीतल निवासमा विवाहोत्सव समारोह ।   विवाहको सबै कार्यक्रम सोमबारनै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिएका छन् । रासस

नबिल बैंकलाई आश्वाको सदस्यता प्राप्त

काठमाडौं, ३ माघ । नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्रदान गरिएको छ । आश्वा प्रणाली अनुसार सेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम बैंक खातामा रोक्का जनाइ आवेदकको बैंक खातामा नै राखिन्छ । उक्त रकम शेयरको बाँडफाँड पश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ । नबिल बैंकको आश्वा सदस्यताबाट बैंकले आफ्ना ग्राहकहरुलाई सेयर बाँडफाँड पश्चात चेक सकंलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाई हुने जस्ता झन्झटहरुबाट मुक्त पार्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आश्वा सदस्यता सेवाले ग्राहक महानुभावहरुलाई थप सुविधा प्रदान गर्नुका साथै सेयर कारोबार गर्ने विद्ममान झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउने बताएका छन् ।

सोमबार मात्र एनएमबि हाईब्रिड फण्ड एल-१ को १० करोड इकाइ नेप्सेमा सूचीकृत

काठमाडौं, ३ माघ । एनएमबि हाईब्रिड फण्ड एल-१ को १० करोड इकाइ नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्र यो फण्डको १० करोड इकाइ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको हो । एनएमबि हाइब्रिड फण्ड एल-१ को अब एक सातापछि मात्र दोस्रो बजारमा कारोबार शुरु हुनेछ । यसको फण्ड व्यवस्थापनको काम एनएमबी क्यापिटल लिमिटेडले गर्दै आएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफको एफपीओमा रू. ५१ अर्ब ९४ करोड संकलन, निष्काशनभन्दा ११.७७ गुणा बढि माग

काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैंयाँको एफपीओ निष्काशन गरेकोमा ५१ अर्ब ९४ करोडको आवेदन परेको छ । सेयर लगानीकर्तामाझ निकै आकर्षक मानिएको यस एफपीओ निष्काशनभन्दा ११ दशमलब ७७ गुणा बढि आवेदन परेको हो । सिद्धार्थ क्यापिटलका मर्चेण्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार अन्तिम दिन मात्रै एक लाख ४२ हजार जनाले ३६ अर्ब ४४ करोड रुपैंयाँ बराबरको आवेदन दिएका थिए । शुक्रबारसम्म एक लाख १० जनाको १५ अर्ब ५० करोड मूल्य बराबरको आवेदन परेको थियो । नेपाल लाइफले  १०० रुपैयाँ अंकित भ्यालु भएको सेयरमा प्रतिसेयर १३२५ रुपैयाँ प्रिमियम राखेर प्रतिकित्ता १४२५ रुपैयाँमा निष्काशन गरेको थियो । कम्पनीले ३० लाख ९६ हजार ४ सय ९९ कित्ता एफपीओ निष्काशन गरेको हाे ।