विकासन्युज

यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता

काठमाडौं, २१ मंसिर । यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं जाने उद्देश्यले उक्त कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बैंकले जनाएको छ ।

नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द

काठमाडौं, २१ मंसिर । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर व्यवसायीयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको सम्पतीमाथि निजी कम्पनीको एकाधिकार हुने गरी गरिएका सम्झौताको खारेजी गर्नुपर्छ’ पराजुलीले भने । कार्यक्रममा बोल्दै गोंगबुलाई अन्तर्राष्ट्रियस्तरका बसपार्क बनाउनु खुशी कुरा भएपनि विभिन्न ठूला सपिङ कम्पलेक्सहरु निर्माण गरेर साना व्यवसायीयहरुले उठिबास लगाउन लागेको बताएका छन् । ‘बस पार्क अन्तर्राष्ट्रिस्तरको बन्नु राम्रो कुरा हो तर दलाल कम्पनीहरुले साना व्यवसायीहरुको लगाउने तायरी गरिरहेका छन्’ व्यवसायी दामोदर घिमिरेले भने । व्यवसायी ठोकबहादुर गौतमले ठेकेदार कम्पनीसँग मिलेर नगर प्रहरीलेले दुःख दिइरहेकाले आफूहरु आन्दोलनमा जानु परेको बताए । निजी कम्पनीको योजनामा आफूहरुलाई उठिबास लगाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको उनले दाबी गरे । ‘बसपार्कमा दिउँसै लुट भइरहेको छ, जे मन लाग्छ त्यही गरिरहेका छन् । यसमा पार्टीका नेतादेखि कर्मचारीको मिलोमतोमा गरिबको साँझ–विहानको गास खोस्न काम भइरेको छ’ गौतमले भने । त्यस्तै बसपार्कभित्र लामो समयदेखि व्यपार गर्दै आएकी देवकी खरेलले विना व्यवस्थापन आफूहरुको उठिबास लगाउन लागेका कारण आन्दोलनमा जानुको विकल्प नभएको बताइन् । पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी कार्यक्रममा व्यवसायी हरिचन्द्र पाठकले राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा रहेको लोत्से कम्पनीको स्वार्थअनुसार नगर प्रहरीले धरपकड गरिरहेको बताए । उनले आफूहरु नयाँ बन्ने संरचनामा चलन चल्तीको भाडा तिर्न तयार रहेको धारणा राखे । एक सय ६१ रोपनीमा फैलिको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सरकारले व्यवसायीलाई उठाउन लागेको छ । तर, व्यवसायीहरुले नयाँ बन्ने संरचनामै आफ्नो व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका छन् ।

खोटाङ–काठमाडौं यातायात शुरु

खोटाङ, २१ मंसिर । सदरमुकाम दिक्तेलबाट काठमाडौंलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात शुरु भएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गरेपछि सिधा यातायात सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै गत जेठमा झिकिएको बेलिब्रिज पुनः जडान गरेर मङ्गलबारबाट यातायात शुरु भएको हो । दोभान निर्माण सेवा प्रालिले रु ६० लाखको लागतमा जडान गरेको बेलिब्रिज हिउँदभर सञ्चालन हुने सञ्चालक झङ्कार खड्काले बताए । बेलिब्रिज सञ्चालनमा आएसँगै काठमाडौँबाट खोटाङ्सम्म नियमित बस सञ्चालन भएको यातायात व्यवसायी सङ्घका जिल्ला सचिव रामकुमार हिङ्माङले बताए । बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ओसारपसार गर्न सहज भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले बताए । विसं २०६६ मा सुरु गरिएको जयरामघाटस्थित पक्की पुल निर्माणमा ढिलाई भएका कारण त्यसको विकल्पमा बेलिब्रिज जडान गरिएको हो । रासस

पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने

काठमाडौं, २१ मंसिर । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको नवौ बार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले सर्वसाधारणको लागी १० करोड ८० लाख रुपैया बराबरको १० लाख ८० हजार कित्ता साधारण शेयर पनि निष्कासन गर्ने निर्णय गरेको छ । साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले कम्पनीले उत्पादन मुलक तथा उर्जा क्षेत्रमा लगानी बढाउने जानकारी दिए । साधारणसभाले गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा यमलाल रिजाल, माणिकरत्न शाक्य, कर्णप्रसाद देवभण्डारी, शिवहरि दंगाल, राजेन्द्र शाक्य, बेनबहादुर ढकाल, हरिहर कार्की, घनश्याम न्यौपानेलाई सञ्चालकमा चुनेको छ ।

काठमाडौंको फोहरबाट ७ मेगावाट विद्युत, कृषकलाई कम्पोष्ट मल र ग्यास पनि, ८ अर्ब खर्चेर काम सुरु हुँदै

काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकाको फोहर मैलाबाट ७ मेगावाट विद्युत, कम्पोष्ट मल र प्राकृतिक ग्यास उत्पादन हुने भएको छ । लगानी बोर्डको अगुवाईमा फिनल्याण्ड र भारतीय कम्पनीले काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरको फोहर मैला व्यवस्थापनद्धारा विद्युत, कम्पोष्ट मल र प्राकृतिक ग्यास उत्पादन गर्न लागेका हुन् । फिनल्याण्डको फिनिस कम्पनी कम्पुनिकेशन ओवाई र नेपालको द अर्गानिक भिलेज मिलेर खडा गरिएको नेपवेष्ट कम्पनीले ६ अर्ब ३० करोडको लगानीमा काठमाडौंको फोहर व्यवस्थापन गर्न लागेका हुन् । त्यस्तै, बिभिजे इण्डिया लिमिटेड, ग्रीनफिल्ड वेष्ट म्यानेजमेन्ट लिमिटेड र क्रिस इन्टरनेशनल प्रालीले जोइन्ट भेञ्चरमा स्थापना गरेको क्लिन भ्याली लिमिटेडले एक अर्ब ९० करोडको लागतमा भक्तपुर, ललितपुर र किर्तिपुरको फोहर व्यवस्थापन गर्न लागेका हुन् । त्यसका लागि नुवाकोटको ओखरपौवास्थित बञ्चरे डाडामा ४०० रोपनी जमिनमा फोहर मैला प्रसोधन केन्द्र निर्माण हुनेछ । लगानी बोर्डका सह प्रवक्ता खगेन्द्र रिजालका अनुसार यी कम्पनीले २ बर्षमा परियोजना निर्माण सम्पन्न गर्नेछन् भने २२ बर्ष सञ्चालन गरेर नेपाल सरकारलाई बुझाउने छन् । यी दुबै परियोजनाबाट ७ मेगावाट विद्युत उत्पादन हुनेछ भने कम्पोष्ट मल र कम्प्रेस नेचुुरल ग्यास, आरडिएफ इन्धन(रेसिड्युल डेराइभ्ड फ्युल) उत्पादन गरिनेछ । ८४ प्रतिशत फोहर मैला काम लाग्ने यो परियोजनाले फोहर मैलाको जम्मा १६ प्रतिशत मात्रै निर्मलीकरण गर्नुपर्ने पदार्थका रुपमा छाड्नेछ । अर्थात फोहोरको ८४ प्रतिशत हिस्सा पुनः प्रयोग गरिनेछ । कहाँ अड्कियो गाँठो ? लगानी बोर्डका सह प्रवक्ता रिजालका अनुसार यी दुबै कम्पनीसँग तीन महिना भित्र छलफल सम्पन्न गर्नेगरि काम अघि बढेको छ । तर २०६९ मा ल्याइएको लगानी बोर्ड निमावलीले कुल परियोजना लागतको शुन्य दशमलब २ प्रतिशत शुल्क लिएर मात्रै परियोजना निर्माण गर्न दिन सकिने व्यवस्था गरेको छ । आवेदक कम्पनीले आफ्नो परियोजना नियमावली आउनु भन्दा अघि नै स्विकृतिको चरणमा पुगेकोले सो व्यवस्था लागु नहुने अडान लिँदै आएको छ । ‘डिपिआर स्विकृत भैसकेको छ, छलफल अपेक्षाकृत सफलता उन्मुख भयो भने तीन महिना भित्रै सम्झौता गरेर निर्माण आरम्भ हुनेछ’, सह प्रवक्ता रिजालले भने । ‘यी दुबै कम्पनीले पहिले नै प्रक्रिया अघि बढाएको हुनाले हामी शुन्य दशमलब २ प्रतिशत शुल्क तिर्दैनौं भनेका छन्, अब लगानी बोर्डको बैठकले टुङग्याउनु पर्छ’, सह प्रवक्ता रिजालले भने । एउटा घरले फोहोर फालेको १७० देखि २०० रुपैँया परियोजना निर्माणका लागि आवेदन दिएका कम्पनीहरुले प्रति घर १७० रुपैंयाँ देखि २०० रुपैंयाँसम्म शुल्क असुलेर फोहर उठाउने प्रस्ताव गरेका छन् ।

एनसीसी र चार विकास बैंकबीच मर्जमा अर्को झमेला, कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिन मानेन

काठमाडौं, २१ मंसिर । एनसीसी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच मर्जरको अन्तिम चरणमा फेरी समस्या सिर्जना भएको छ । यी बैंकहरुबीच मर्जरको लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपनि कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिन अस्वीकार गरेको छ । मर्जरको लागि नेपाल राष्ट्र बैंकले गत आईतबार अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि एनसीसीसहित मर्जरको क्रममा रहेका चार विकास बैंक कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वीकृति लिन सोमबार पुगेका थिए । तर कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिन अस्वीकार गरेको छ । मर्जको विषयमा अदालतमा मुद्दा विचारधिन रहेको र सेयरधनीको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी समेत परेकोले स्वीकृत गर्ने निर्णय दिन नसकिएको रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले विकासन्युजलाई बताए । ‘मर्जको स्वीकृति हुनुपूर्व विशेष साधारणसभाको माग गर्दै एनसीसी बैंकका सेयरधनीहरुले निवेदन पेश गरेका छन् । यो विषय अदालतमा पनि विचाराधिन अवस्थामा रहेछ । त्यसैले मर्ज भएको अभिलेखिकरण गर्ने निर्णय गर्न सकिएन’ श्रेष्ठले विकासन्यूजसँग भने । कम्पनी रजिष्ट्रार कार्यालयले मर्जरमा स्वीकृति दिन नपानेपछि मर्जर प्रकियामा सामेल सबै बैंकका सञ्चालकहरू र संयुक्त मर्जर कमिटि मंगलबार गम्भिर छलपफलमा जुटेका छन् । यो मर्ज प्रक्रियामा रहेको कुमारी बैंकले विशेष साधारणसभाबाट बाहिरिने निर्णय गरेपछि विवादको आवाज उठेको थियो ।  एनसीसी बैंकको सम्पत्ति मूल्याङकन कम गरिएको भन्दै  बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठ अदालत गएपछि मर्जर प्रक्रियामा ढिलाई भएको थियो । लामो छलफलपछि राष्ट्र बैंकले सर्तसहित आईतबार मर्जरको अन्तिम स्वीकृति दिएको थियो । याे पनि एनसीसी र चारवटा विकास बैंक मर्ज हुन नेपाल राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति 

माथिल्लो तामाकोसी आयोजनाको कार्य तीव्र गतिमा, ८२ प्रतिशत काम सम्पन्न

काठमाडौं, २१ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिएपछि आयोजनाको कामले गति लिएको हो । प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैँ निरीक्षण गर्ने निर्णय गरेका छन् । सोही निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताएका थिए । प्रवक्ता न्यौपानेका अनुसार सो आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । “विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ,” प्रवक्ता न्यौपानेले भने – “आयोजना आव २०७४/७५ मा सम्पन्न हुन्छ ।” पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको गोरखा भूकम्प र भारतीइ नाकाबन्दीका कारण छ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कुल १२७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ । सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको ११ अर्ब रुपैयाँ सेयरमा बदल्ने तयारी गरेको बताएका थिए । अर्थमन्त्रालयले समेत प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । थौरैमात्रै भौतिक तथा वित्तीय प्रगति भएका राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मकै उल्लिखनीय आयोजनामा माथिल्लो तामाकोसी रहेको राष्ट्रिय योजना आयोगमा प्राप्त भएको प्रतिवेदनमा समेत उल्लेख छ । रासस

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, २१ मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्दा विक्रि नभएको १५ हजार नौ सय तीन कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाले पुस ६ गते देखि लिलामी सेयरका लागि आवेदन खुला गरेको छ । आवेदन दिदा न्युनतम एक सय भन्दा माथिको हुनुपर्ने छ । आवेदन दिने अन्तिम म्याद पुस १२ गते सम्म तोकिएको छ । लक्ष्मीले सर्वसाधरण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । त्यसक्रममा बिक्री नभएको सेयर अहिले लिलामीमा लगिएको हो । संस्थाको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।