विकासन्युज

सुनको मुल्यमा गिरावट, एक महिनायता तीन तोला सुनमा तीन हजारले कमी

काठमाडौं , २१ मंसिर । सुनको भाउ ओरालो लागने क्रम जारी रहेको छ । पछिल्लो एक महिनामा मात्र सुन तोलामा तीन हजार रुपैयाँ भन्दा बढीले घटेको छ । मंगलबार सुन प्रतितोला ५३ हजार सात सयमा रुपैयाँमा कारोबार भएको छ । मंसिर लाग्दा प्रतितोला सुन ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । Gold bars ‘मंसिर महिना विवाहको महिना हो, सधै यसवेला भाउ बढ्ने गरेको थियो, तर यसपाली भने सुनको मुल्यमा गिरावट आएको छ ।’ सुन चादी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले भने । सोमबार सुन प्रतितोला ५३ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकाको केन्द्रिय बैंकले व्याज बढाउने घोषणा गरेसँग लगानीकर्ताहरुले सुनमा लगानी छोडेकोले सुनको मुल्यमा कमी आएको विष्लेषकहरुको दावी छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि स्थिरजस्तै रहेको सुनको मूल्य डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै घट्ने क्रम सुरु भएको हो । यसैगरी, चाँदीको भाउ पनि केही तल झरेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला सात सय ९० रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका तीन सञ्चालकसँग सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह

काठमाडौं, २१ मंसिर । पदीय मर्यादा विपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई मंगलबार सार्वजनिक सूचनामार्फत पत्र बुझ्न भनेको छ । ऊर्जा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको हो । उनीहरुले मन्त्रालयले काटेको स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आएका थिए । प्राधिकरण सञ्चालक समितिका सदस्य रहेका तीनै जनाले पदीय मर्यादा विपरीत तथा प्राधिकरण ऐन, २०४१ को दफा १५ विपरीत काम गरेको पाइएकाले स्पष्टीकरण मागिएको हो । गत शुक्रबार पठाइएको पत्र बुझ्न अस्वीकार गरेकाले उनीहरुलाई सार्वजनिक सूचनामार्फत नै सात दिनभित्र पत्र बुझ्न र बुझ्ने काम नभए कानुनअनुसार कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ । ऊर्जाको स्पष्टीकरणपत्रमा अनधिकृत रुपमा सञ्चालक समितिको बैठक बस्ने तथा बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिने, त्यस्ता बैठकको निर्णय एवम् सूचना सार्वजनिक रुपमा प्रचार गर्नेजस्ता कार्य गरी प्राधिकरणको हित विपरीत काम गरेको पाइएकाले सार्वजनिक सूचनामार्फत स्पष्टीकरणपत्र सार्वजनिक गरिएको सूचनामा स्पष्ट पारिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार स्पष्टीकरण पेस गर्नेसम्बन्धी पत्र घर तथा कार्यालयमा बुझाउन जाँदा उपलब्ध नभएको र घरपरिवारले समेत बुझ्न अस्वीकार गरेको हुँदा सूचनामार्फत जानकारी गराइएको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरणपत्र नबुझेको खण्डमा कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ । प्राधिकरणले अगाडि बढाएको विद्युत् कटौती नगर्ने अभियानलाई समेत सञ्चालकत्रयले अवरोध खडा गर्दै आएको बताइन्छ ।

फस्टायो गरिबसँग जोडिएको व्यापार, माइक्रोफाइनान्सको बोनस ८० प्रतिशतसम्म

काठमाडौं, २१ मंसिर । गरिबहरुको उत्थानको लागि खोलिएको लघुवित्त विकास बैंकहरुले गरिबलाई नै लगानी गरी कमाएको रकमबाट लगानीकर्ताहरुलाई ८० प्रतिशत सम्म लाभांश बाँडेका छन् । उनीहरुले गत आर्थिक वर्षको नाफाबाट ८० प्रतिशतसम्म लाभांश दिएका हुन् । नेपाल राष्ट्र बैंकबाट ४२ वटा माइक्रोफाइनान्सहरुले स्वीकृति लिएकोमा हालसम्म १४ वटा माइक्रोफाइनान्सले लाभांशको घोषणा गरिसकेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी नागवेली लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई ६० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै स्वाबलम्बन लघुवित्त विकास बैंकले ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश गरी ५३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । निर्धन उत्थान विकास बैंकले २० प्रतिशत सेयर र ११.५७ प्रतिशत नगद गरी ३१.७५ प्रतिशत लाभांश घोषणा गरेको , भने एनएमबी माइक्रोफाइनान्सले २५ बोनस, १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरी सकेको छ । मेरो माइक्रोफाइनान्सले १० नगद १० प्रतिशत बोनस सेयर गरी २० प्रतिशत, फस्ट माइक्रोफाइनान्स वित्तिय संस्थाले १५ बोनस सेयर र ०.७९ नगद गरी जम्मा १५.७९ प्रतिशत, विजय लघुवित्त विकास बैंकले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत, किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३.२१ नगद गरी ६४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै रिलायवल माइक्रो फाइनान्सले २० प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ,भने वोमी माइक्रो फाइनान्स वित्तिय संस्थाले २० प्रतिशत सेयर र १.११ प्रतिशत नगदगरी २१.११ प्रतिशत लाभांसको घोषणा गरेको छ । आइएलएफ्सीओ माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस र २.३६ प्रतिशत नगद गरी ५२.३६ प्रतिशत लाभांश दिने भएको छ । छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश गरी ५२.७ प्रतिशत लाभांश घोषणा गरेको भने रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांस दिने घोषणा गरेको छ । यसरी गरिवसँग जोडिएर व्यापार गर्ने माइक्रोफाइनान्सहरुले आगामी दिनमा भने यत्ति धेरै मात्रामा लाभांश दिन सक्ने छैनन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत माइक्रोफाइनान्सहरुको स्प्रेडदर ७ प्रतिशत तोकेको छ भने बैंकहरुले पनि दुई प्रतिशत प्रत्यक्ष रुपमा विपन्न वर्गमा लगानी गर्नुपर्ने छ । यसअघि क वर्गका बाणिज्य बैंकहरुबाट सस्तो व्याजदरमा विपन्न वर्ग कर्जा लिइ २४ प्रतिशत सम्म व्याज लिने गरेका थिए । जसबाट उनीहरुले राम्रो नाफा कमाइरहेका थिए ।

एनएलजी इन्स्योरेन्स कम्पनीले २६ प्रतिशत लाभांश दिने, पूँजी ५० करोड रुपैयाँ नाघ्ने

काठमाडौं, २१ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २६ दशमलब ३१५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ३१५ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । उक्त निणर्य मंगलबार बिहान बसेको कम्पनीको १९४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको बैठकले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ५० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको प्रतिकित्ता सेयर करिब १६८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

दश रुपैयाँमा सर्ट बेचेर दैनिक १५ सय आम्दानी, सेकेण्ड ह्याण्ड सामानको व्यापारबाट विद्यालय बनाउन २७ लाख सहयोग

काठमाडौं, २१ मंसिर । तपाइँलाई सुन्दा अचम्म लाग्ला, १० रुपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी हुन्छ भन्दा । तर काठमाडौंको सामाखुशीमा रहेको सुखावती स्टोरले १० रुपैयाँको सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छ वर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौं ठमेलमा त्यसको विस्तार गरे । तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँचवर्ष बिताए । साढे दुईवर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् । चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखवती स्टोर खोलेर । “घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,” सुखवती स्टोरका अध्यक्ष चीजमान भन्छन् । सुखवतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडौँ, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थाले दान लिन्छ । “कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,” उक्त स्टोरमा स्वयम्सेवा गरिरहेकी लक्ष्मीदेवी गुरुङले भनिन् । पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, रञ्जना तामाङ, कल्पना गुरुङ, सङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् । सुखवती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखवती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउछन् । धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र रु १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ । “यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी १०/२० रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ! भनेर जिस्काउँछन्, कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउछन् । सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो प¥यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउछन् । कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताए । “सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,” सदस्य कल्पना गुरुङ भन्छन् । डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा रु एक लाख २० हजार आर्जन भयो । असार यता रु दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ । विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण गर्यो। कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई ८० लाख रुपैयाँ बराबरको आठ हजार सिरक वितरण गर्यो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा २७ लाख रुपैयाँमा गारबेँसी निमाविको भवन पनि बनाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ । रासस

सुनचाँदीका गहना ज्यालामात्र नभइ जर्तीमा पनि खुला हुनुपर्ने व्यवसायीको माग, नेपालबाट वार्षिक १ अर्ब ज्यालामामात्र बाहिरिन्छ

काठमाडौं, २१ मंसिर । सुनचाँदी व्यवसायीहरुले सुनको गर–गहना बनाउँदा ज्यालामा मात्र होइन, जर्तीमा पनि खुला रुपले लिन पाउने माग राखेका छन् । प्रतिस्पर्धी बजारमा उपभोक्ताले आफूले चाहेको व्यवसायीसँग गर–गहना किन्न सक्ने भएकाले उनीहरुले यस्तो माग राखेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका नव अध्यक्ष मोहनकुमार सुनारले सरकारले पारित गर्ने तयारी गरिरहेको निर्देशिकामा गहना निर्माण गरे वापत ज्याला खुला रुपले लिन पाउने व्यवस्था गर्न लागिए पनि जर्ती भने पाँच प्रतिशतसम्ममात्र राख्न पाउने व्यवस्था सरकारले गर्न लागेको छ । उनीहरुले बढी बुट्टा भएका गहनामा बढी जर्ती जाने भएकाले गहनाको मोडेल अनुसार जर्ती काट्न पाउनुपर्ने माग राखेका हुन् । ‘हामी उपभोक्तालाई शतप्रतिशत शुद्ध र गुणस्तरीय अर्थात हलमार्क अंकित २४ क्यारेटका गहना दिन्छौ,’ सुनारले भने ‘ज्याला र जर्तीमा सरकारले अंकुश लगाउन पाउँदैन । ‘हामीले हाम्रो व्यवसाय सहज ढंगबाट सञ्चालन गर्ने वातावरण मिलाउने काम सरकारको हो, आठ÷नौ प्रतिशत जर्ती राखेर त काम अप्ठ्यारो पर्छ,’ उनले थपे । हाल नेपालमा वर्षमा अर्बौको सुनचाँदी कारोबार हुने गरेको छ । तर, पनि व्यवसायीहरुले यी आयातित कच्चा पदार्थमा आधारित व्यवसायमा मूल्य अभिवृद्धि गरेर विक्री गर्न सक्ने प्रशस्त मार्गहरु हुँदा हुँदै पनि परम्परागत शैलीमै अल्झिरहेको छ । नेपालमा सुनचाँदीमा कार्यरत कालिगढमा भारतीय कालिगढको रहेको छ । नेपालभित्र दक्ष जनशत्तिको अभावका कारण वार्षिक १ अर्ब रुपैयाँ वाहिरी रहेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले बताए । नेपालमै यस सम्बन्धी तालिम दिनका लागि करिब ४ वर्षअघि ‘नेगोसिडा’ स्थापना गरिएपछि नेपालमै सुनचाँदीमा निर्माण गर्ने दक्ष कालिकढ उत्पादन हुन थालेको उनले बताए । ‘नेगोसिडा स्थापनापछि ७० प्रतिशत रहेको भारतीय कालिगढको बचस्व घटेर ५० प्रतिशतमा सीमित भएको उनले बताए । यो व्यवसायमा हाल डेढ लाखले रोजगारी पाइरहेका छन् भने १० लाख आवद्ध रहेका छन् । ‘केही समय अघि चीनबाट नेपालमा गर–गहना निर्माण गर्नका लागि केही प्राविधिक कालिगढ आएपनि उनीहरुले नेपाली बजारको माग अनुसार गहना निर्माण गर्न नसक्दा फर्किएको शाक्यले बताए । सुनचाँदी व्यवसायी महसंघमा नयाँ नेतृत्व नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व आएको छ । महासंघको चौथो वार्षिक साधारण सभा एवम् दोस्रो अधिवेशनले महासंघका वरिष्ठ उपाध्यक्ष विश्वकर्मालाई निर्विरोध अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । महासंघको चौथो साधारणसभावाट महासंघको अध्यक्षमा मोहनकुमार विश्वकर्मा निर्र्वािचत भएका छन् । उनी विगत तीन दशकदेखि महासंघ केन्द्रमा आवद्ध थिए । समग्र सुनचाँदी व्यवसाय हितको लागि प्रतिवद्ध भएर महासंघको लक्ष्य र उद्देश्य अनुरुप काम गर्ने उनले बताए । ‘सुनचाँदी व्यवसायको खरिद विक्री कारोबारमा देखिएको समस्या समाधान गर्नु मेरो लक्ष्य हुनेछ,’ उनले भने । यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा माणिकरत्न शाक्य र महासचिवमा धर्मसुन्दर बज्राचार्य निर्विरोध निर्र्वािचत भएका छन् । त्यसैगरी, महासंघको उपाध्यक्षमा अर्जुन रसाइली, दीयसरत्न शाक्य, प्रेमकुमार सुनार, मोहनकाजी शाक्य र ज्ञानुराज शाक्य निर्विरोध भएका छन् । यस्तै, सचिवमा किरणभाइ बज्राचार्य, कोषध्यक्षमा महेन्द्ररत्न शाक्य र सहकोषध्यक्षमा किसन मास्के र अन्य सदस्यहरूसमेत निर्विरोध निर्र्वािचत भएका छन् । महासंघमा ३५ सदस्यीय कार्यसमिति बनेको छ ।

सरकार र डा केसीबीचको सम्झौता मेडिकल कजेज एसोसिएशनको लागि अमान्य, कानुन मान्ने तर बालहठ स्वीकार नगर्ने

काठमाडौं, २१ मंसिर । एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डन्टल कलेजले सरकार र डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता नमान्ने जनाएको छ । एसोसिएशनले एक विज्ञप्ती जारी गर्दै सबै मेडिकल प्रतिष्ठानहरु सरकारले बनाएको ऐन, कानुन, नियम, विनियमअनुसार खुलेको र सञ्चालन हुँदै आएको जनाउँदै आफूहरु नियम र कानुनको पालना गर्न तयार रहेको तर सत्याग्रहीको भेषमा बालहठ प्रर्दशन गर्दै आएका डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता मान्या नहुने जनाएको छ । प्रा. डा शिवकुमार राईको नेतृत्वमा गठन गरिएको समितिले बुझाएको प्रतिवेदनका आधारमा मेडिकल कलेजहरुले विद्यार्थीसँग शुल्क लिन पाउनु पर्ने एसोसिएशनका अध्यक्ष डा सुरेशकुमार कनोडियाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मेलम्चीमा भेटिएको पहेँलो धातु सुन होइन-खानी तथा भूगर्भ विभाग

काठमाडौं, २१ मंसिर । मेलम्चीको मुहानमा भेटिएको सुन जस्तै पहेँलो धातु सुन नभएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले गरेको ल्याब परिक्षणले सो धातु सुन नभएको पुष्टि भएको हो ।‘मेलम्चीको मुहानमा भेटिएको पहेँलो धातु सुन र तामा दुबै होइन’, विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले विकासन्युजसँग भने । उनले सुन जस्तै देखिने पहेँलो धातु फ्लेकोप्राइट हुन सक्ने पनि बताए । ‘अन्तिम ल्याब रिपोर्र्ट आएको छैन तर त्यो अग्रख जस्तो देखिने फ्लेकोप्राइट नामको धातु हुन सक्ने देखिएको छ’, निमित्त महानिर्देशक घिमिरेले भने । गत बिहिबार मेलम्चीको मुहान नजिकै सुन जस्तै पहेँलो धातु फेला परेको थियो । सो धातु सुन हुन सक्ने भन्दै तत्काल कडा सुरक्षा निगरानीमा राखेर नमुना परिक्षणका लागि खानी विभागमा पठाइएको थियो । यद्यपी स्थानियले भने सो धातु सुन नै भएको दावी गरिरहेका छन् ।पहेँलो धातु भेटिए लगत्तै मुहानमा मेलम्चीको काम समेत रोकिएको थियो ।