विकासन्युज

पश्चिम सेती २० वर्षदेखि चर्चामा, सम्झौता भएको पाँच वर्ष बित्दा पनि अघि बढेन

काठमाडौं १६, मंसिर । पश्चिम सेती जलविद्युत् आयोजना निर्माण २० वर्षदेखि चर्चामा छ । पाँच वर्षअघि चिनियाँ कम्पनीसँग समझदारी भए पनि आयोजना निर्माण अझै अन्योलमा छ । यो ७ सय ५० मेगावाटको आयोजना हो । आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना थ्री गर्जेज कर्पोरेसनको सहायक कम्पनी) बीच १७ फागुन ०६८ मा समझदारी भएको थियो । तर, नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच संयुक्त लगानी सम्झौता (जेभिए) नहुँदा आयोजना निर्माण अन्योलमा परेको छ । यो आयोजनालाई सुदूरपश्चिमको विकासको कडीका रूपमा लिइएको छ। लगानी सम्झौता ९जेभिए० कहिले हुने भन्ने अनिश्चित छ । लगानी बोर्डले जेभिएका लागि तत्काल आउन चिनियाँ कम्पनीलाई आग्रह गरिरहेको छ । तर, कम्पनीले विभिन्न कारण देखाउँदै सम्झौता गर्ने समय पछि धकेलेको छ । कम्पनीले १६ मंसिरभित्र उपयुक्त समयमा टोली पठाउने जानकारी गराएको थियो । फेरि आउने समय पर सारेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० महाप्रसाद अधिकारीले जानकारी दिए । ‘चिनियाँ कम्पनीलाई जेभिएका लागि आउन आग्रह गरिरहेका छौँ, विभिन्न कारण देखाउँदै आउन नसक्ने बताइरहेको छ,’ सिइओ अधिकारीले भने, ‘आयोजनाको अध्ययन डिसेम्बरभित्र सक्ने र त्यसपछि मात्रै आउने कम्पनीले जानकारी गराएको छ ।’ कम्पनीले गत असोजमा आफ्नो समूहका सदस्य अफ्रिका गएकाले तत्काल नेपाल आउन नसक्ने तर १६ मंसिरयतै उपयुक्त समयमा छलफल गर्न आउने बोर्डलाई जानकारी गराएको थियो । नयाँ पत्रिका दैनिकबाट।

पश्चिमाको पकडमा रहेको विश्व अर्थतन्त्रकाे नेतृत्व गर्न एसिया तयार

सोल, १५ मंसिर । विश्व अर्थतन्त्रमा एसियाको उपस्थिति अहलेसम्मकै सुदृढ अवस्थामा रहेकामा कुनै शङ्का छैन । क्रय शक्ति तुलना (पिपिपी)का आधारमा मापन गर्दा विश्वको करिब ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा एसियाको भूमिका रहेको छ । केही समययताको आर्थिक सङ्कटमा, एसियाले विश्वको आधाभन्दा बढी जिडिपीमा योगदान दिएको थियो । अत्यन्त धेरै जनसङ्ख्या र बढ्दो राजनीतिक दबाबका बाबजुत पश्चिमा संसारको पकडमा रहेको विश्व परिवेशको नेतृत्व गर्न एसिया तयार रहेको छ । विश्वको अर्थतन्त्रमा एसियाको हुनै लागेको उदयलाई लिएर अहिले नै खुसी हुनु हतार हुन्छ । विश्व रणनीतिक प्रभावका हिसाबले हेर्दा अमेरिका र युरोपले फाइदा कायमै राख्छन्, र एसियाली राष्ट्रमा राजनीतिक, आर्थिक र सुरुक्षा चुनौती भोगिरहेका छन् । वास्तवमा एसियाको आर्थिक वृद्धिको रफ्तार खस्किदो छ । तीव्र आर्थिक विस्तारका केही दशकपछि चीन अहिले आर्थिक विकासका लागि अतिरिक्त श्रम गरिरहेको छ । जापान बढ्दो बुढ्यौली जनसङ्ख्या र अन्यन्त न्यून वृद्धिको सामना गर्दैछ । त्यसैगरी एसियाका अन्य आर्थिक शक्तिहरु-भारत, इन्डोनेसिया र दक्षिण कोरिया-पनि आफ्नै किसिमको राजनीतिक र आर्थिक समस्याबाट ग्रसित छन् । आयमा बढ्दो असमानता, वित्तीय अस्थिरता र वातावरणीय ह्रासका कारण यस क्षेत्रमा विकास नराम्ररी प्रभावित छ । अझ टड्कारो समस्या त के छ भने अत्यन्त अन्तरनिर्भर हुँदाहुँदै पनि यस क्षेत्रका देशहरु विकासका लागि सामूहिक प्रयास गर्दैनन् । यिनीहरुको एकता कायम नहुनका कारणमा शक्तिका लागि प्रतिस्पर्धा, ऐतिहासिक तीक्तता, भूगोल, सीमा विवादसँगै आर्थिक तथा सैन्य शक्तिको विषमता प्रमुख छन् । केही समययता चीनमा देखिएको बढ्दो नियन्त्रणमुखी व्यवहार, भारतको राष्ट्रवादी पुनरोदय र जापनमा पुरातनवादी संस्कार तिरको पाइलाले त स्थिति झनैं खराब हुँदै गएको छ । तर बेलायतमा भएको ब्रेक्जिटको मत र अमेरिकामा डोनाल्ड ट्रम्पको विजयले पश्चिमा विश्वमा असंलग्नतावाद (आइसोलेसनिज्म) देखिएकोे यस समयमा अन्तर क्षेत्रीय व्यापार र लगानीको महत्व धेरै बढेको छ । आर्थिक फाइदाभन्दा पनि अघि बढेर क्षेत्रीय सम्मेलनले महत्वपूर्ण राजनीतिक उपलब्धि मात्र होइन कि अन्तर्राष्ट्रिय मञ्चमा पनि एकीकृत एसियाको प्रभाव बढेर जाने छ । यस्तो फाइदा लिनका लागि एसियाले क्षत्रीय सैन्य तथा राजनीतिक द्वन्द्व कम गर्नुपर्छ र क्षेत्रीय सम्मेलनका लागि दीर्घकालीन उद्देश्य बनाउनु अत्यन्त जरुरी छ । एसियामा संसारकै खतरनाक स्थानहरु छन् जहाँ जतिसुकै खेर जे पनि हुन सक्छ । पूर्वी र दक्षिण चिनियाँ समुद्रमा सशस्त्र द्वन्द्व हुने खतरा छ भनें अमेरिका र संयुक्त राष्ट्रसङ्घको चेतावनी र नाकाबन्दीका बाबजुद उत्तर कोरियाले आणविक हतियार र घातक क्षेप्यास्त्र बनाउने क्रम जारी छ । अन्तर्राष्ट्रिय समुदायको साथसँगै एसियाली देशबीच मजबुत सहकार्य हुने हो भने क्षेत्रीय तनाव कम हुने मात्र होइन कि यसले उत्तर कोरियालाई आणविक कार्यक्रम त्याग्न अग्रसर गराउनेछ । क्षत्रीय सहकार्यका लागि केही क्षत्रीय सङ्घ संस्थाहरु पनि छन् जस्तै-आसियन, आसियन प्लस थ्री (आसियान र चीन, जापान र दक्षिण कोरिया) र पूर्वी एसियाली समिट (इएएस्) । क्षत्रीय उन्नति र विश्व नेतृत्वमा सहयोग पुर्याउनका लागि यस्ता सङ्घ संस्थाको द्वन्द्व समाधान र शान्ति निर्माणमा अन्तत महत्वपूर्ण भूमिका हुन्छ । तर यो पहिलो पाइला मात्र हो । क्षत्रीय सम्मेलनका लागि एसियाली नेताहरुले साझा दृष्टिकोण बनाउँछन् कि बनाउँदैनन् भन्ने कुरा स्पष्ट छैन । सन् १९५१ को कोइला र स्टिल समुदायदेखि सन् १९९३ को युरोपियन युनियन स्थापना सम्मको युरोपको अनुभवलाई विश्लेषण गर्दा सम्मेलनको प्रक्रिया अघि बढाउन हतार गर्नु आवश्यक भनें छैन । तर यसका लागि प्रशस्त समय र प्रयास चाहिन्छ । सम्मिलनबाट धेरैभन्दा धेरै फाइदा लिन सुरु गर्नुपर्ने सबैभन्दा राम्रो तरिका भनेको सही क्षेत्रको पहिचान गर्नु र यस्तो पाइला चाल्नु हो जसले छिटो उपलब्धि प्रदान गर्दछ । जस्तै-एसियाली मुलुकले व्यापार र विशेषगरी दक्ष श्रमिकको स्वतन्त्र आवागमन साझा नियम सहितको एकल बजारको अवधारणा अघि बढाउन सक्छन् । आसियान र अन्य छ साझेदार (अस्ट्रेलिया, चीन, भारत, दक्षिण कोरिया र न्युजिल्यान्ड)ले वार्ता गर्दै गरेको क्षत्रीय बृहत् आर्थिक साझेदारिताको स्वतन्त्र व्यापार सहमतिको थालनी यस दिशामा महत्वपूर्ण कदम हुनेछ । सीमापार पुँजी प्रवाहको जोखिमलाई हेर्दा सङ्कट नियन्त्रण र व्यवस्थापन गर्न, एसियाले वित्तीय निरीक्षण, सूक्ष्म सतर्कता र नियमनकारी विषयमा साझा कार्यक्रम बनाउनै पर्छ । यसका लागि चियान माइ अभियान बहुपक्षीयतालाई सुधार गर्नु मुख्य उद्देश्य बनाउनु राम्रो हुन्छ । त्यसैगरी बृहद् सदस्यता सहितको वास्तविक एसियाली मौद्रिक कोष स्थापना गर्ने अर्को उद्देश्य हुन सक्छ । यसो गरिरहँदा के कुरा बुझ्नु आवश्यक छ भनें माथिका कुनै प्रयासले पनि अहिले भइरहेका उप—क्षत्रीय, क्षत्रीय र अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई विस्थापन गर्ने भनें होइन । बरु एसियालाई अझ प्रभावकारी र सङ्गठित शक्ति बनाएर नयाँ क्षत्रीय व्यापार र आर्थिक कदमले सन्तुलित र सुदृढ बनाउने छ । यी कुनैले पनि काम गर्नका लागि व्यापारी र शैक्षिक/बौद्धिक क्षेत्र समेटिएको कर्मचारीतन्त्र र निजी क्षेत्रले सम्मिलनका उच्चस्तरीय प्रतिबद्धतालाई सक्रिय भएर सहयोग गर्नैपर्छ । अन्ततः यस्तो एसियाली सम्मिलनले प्रभावकारी आर्थिक तथा सामाजिक नीतिदेखि प्राविधिक र वैज्ञानिक बुझाइजस्ता मूल्यवान् ज्ञानको आदानप्रदानमा सहजीकरण गर्दछ । क्षेत्रीय स्तरका स्वतन्त्र वस्तुका बारेमा हुने विभिन्न मञ्च तथा संवाद पनि महामारी, प्राकृतिक प्रकोप र वातावरणीय ह्रासलगायतका सीमापार चुनौती सामनाका लागि सहकार्यको प्रवद्र्धनमा महत्वपूर्ण प्रमाणित हुनसक्छन् । व्यक्ति-व्यक्ति सम्बन्धले एसियाली समाजलाई एक आपसमा सांस्कृतिक समानता र साझा मूल्यको विकास गर्न कुनै विषेश राष्ट्रको पिछडिएको क्षेत्रमा प्रगति अभिवृद्धि गरी सहयोग पुर्याउने छ । विश्व व्यवस्थामा अनिश्चितता बढिरहेको यस समयमा एसियाले आर्थिक तथा राजनीतिक सहकार्यलाई अझ घनिष्ठ बनाएर आफ्नै भाग्य निर्धारण क्षमता आफैँमा हुनुपर्दछ । यदि एसियाली राष्ट्रहरुले आर्थिक समुदाय र राजनीतिक गठबन्धनका लागि साझा दृष्टिकोण निर्माण गर्न सके भनें, यो शताब्दी उनीहरुकै हुनेछ । (अर्थशास्त्रका प्राध्यापक र कोरिया विश्वविद्यालयको एसियाली अनुसन्धान संस्थाका निर्देशक ली जोङ ह्वाले एसियाली विकास बैंकको केन्द्रीय कार्यालयमा क्षेत्रीय आर्थिक सम्मिलनका लागि मुख्य अर्थशास्त्री थिए, र उनी पूर्वराष्ट्रपति लीका अन्तर्राष्ट्रिय आर्थिक मामिलाका लागि वरिष्ठ सल्लाहकार थिए । ) अनुवाद : नारायण प्रसाद घिमिरे/रासस

पत्रकार दिलीप लामाको परिवारलाई महासंघ आर्थिक सहयोग

काठमाडौं १५ मंसिर । नेपाल पत्रकार महासङ्घले गत साउनमा ब्लड क्यान्सर भएर निधन भएका ललितपुरका पत्रकार दिलीप लामाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । महासङ्घमा आज आयोजित कार्यक्रममा अध्यक्ष डा महेन्द्र विष्टले लामाकी श्रीमती गीतादेवी ग्याल्बोलेलाई नगद रु ५७ हजार ९८० प्रदान गरेका छन् । उनले पत्रकार महासंघ ललितपुर शाखाले रु ५२ हजार ९८० र नेपाल अमेरिका पत्रकार संघले उपलब्ध गराएको पाँच हजार एकमुष्ट ग्याल्बोलेलाई प्रदान गरेका हन् उक्त कार्यक्रममा अध्यक्ष विष्टले एक पछि अर्को गर्दै होनाहार पत्रकार गुमाउनुु परेको भन्दै दुःख व्यक्त गरे । कार्यक्रममा ललितपुर जिल्ला शाखा अध्यक्ष लेखनाथ न्यौपाने, प्रेस चौतारी नेपालका ललितपुर जिल्ला अध्यक्ष डिल्ली आचार्य, प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की लगायतको उपस्थित रहेको थियो । रासस

महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने, मालिकाको नाफा मात्र वितरण

काठमाडौं, १५ मंसिर । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकले जनाएको छ । बैंकले तत्कालिन मालिका विकास बैंकले गरेको नाफाबाट मात्रै बोनस वितरण गर्ने निर्णय गरेको हो । यसै आर्थिक वर्षमा मालिका विकास बैंकमा महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स मर्ज भई महालक्ष्मी विकास बैंक बनेको हो । नेपाल राष्ट्र बैंकले लिएको नीतिका आधारमा तत्कालिन मालिका विकास बैंकको नाफाबाट मात्र बोनस सेयर वितरण गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । अर्को आर्थिक वर्षमा बैंकले दिने लाभांश बढी हुने उनले बताए । चुक्ता पुँजी १ अर्ब १६ करोड रहेको यस विकास बैंकमा निक्षेप ११ अर्ब ४४ करोड र कर्जा लगानी ९ अर्ब ४८ करोड रुपैयाँ छ । बैंकले ४० वटा शाखाबाट करिव ढेडलाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

९० प्रतिशत साधारण सेयर डिम्याट, प्रवद्र्धक सेयर डिम्याट नभएको धितोपत्र बोर्डको प्रष्टीकरण

काठमाडौं, १५ मंसिर । नेपाल धितोपत्र बोर्डले कुल सेयरमध्ये ३३ प्रतिशत सेयर मात्र अभौतिकृत (डिम्याट) भएको भन्ने समाचार खण्डन गर्दै कारोबार योग्य सेयरको ९० प्रतिशत डिम्याट भईसकेको जनाएको छ । बोर्डले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै भएको छ ‘आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्ममा साधारण सेयरको अभौतिकीकरणको अवस्था ८३ प्रतिशत रहेको थियो । हालसम्म करिव ९० प्रतिशत साधारण सेयर अभौतिकृत भइसकेको देखिन्छ ।’ नियमित रुपमा कारोवार हुने साधारण सेयरको अभौतिकीकरणको अवस्था उत्साहजनक रहेको र यो क्रम बढ्दै गइरहेको बोर्डले जनाएको छ । बजार सुधार तथा विस्तार गर्न अग्रसर रहदै आएको बोर्डले बजारको हरेक गतिविधिहरुलाई नजिकबाट नियालिरहेको सन्दर्भमा दोश्रो बजारको पूर्ण स्वचालित कारोवार संचालन पश्चात् धितोपत्रको अभौतिकीकरणको अवस्था, त्यसको प्रभाव र त्यसमा सुधार ल्याउनबोर्ड संवेदनशील रहेको बोर्डले जनाएको छ । बोर्डको अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कुल सेयरमध्ये दुई तिहाई (करिब ६५ प्रतिशत) संस्थापक सेयर रहेको छ भने सार्वजनिक रुपमा निष्काश नभएको साधारण सेयरको संख्या एक तिहाई (करिब ३५ प्रतिशत) मात्र रहेको छ । बोर्डले ६५ प्रतिशत संस्थापक सेयर डिम्याट नहुनुको कारण पनि प्रष्ट पारेको छ । संस्थापक सेयरलाई दोस्रो बजारमा कारोबार गर्नको लागि धेरै प्रतिबन्धहरु रहेकोले यो सेयर गैर-कारोबारीय सेयरको रुपमा लिइन्छ जबकि साधारण सेयरलाई कारोबारीय सेयर भनिन्छ । हालसम्मको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर ५ वर्षसम्म बिक्री गर्न नपाउने र त्यसपछि पनि बिक्री गर्दा संस्थापक समूहमा नै रहने गरी बिक्री गर्नु पर्ने बाध्यात्मक अवस्था छ । त्यस्तै जलविद्युत् कम्पनीहरुको संस्थापक सेयर ३ वर्षसम्म बिक्री गर्न नपाउने तथा कर्मचारी र उद्योग प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गरेको सेयरमा ३ वर्षसम्म कारोबार गर्न नपाउने प्रतिबन्धित समय राखिएकोले ती सेयरहरु सो अवधि पश्चात् मात्र कारोवारमा आउनसक्छन् । साथै संस्थापकहरुको सेयर लगानी दीर्घकालीन प्रकृतिको हुने भएको र यस सेयरको कारोबार प्रतिबन्धात्मक अवस्थामा मात्र हुने गर्दछ । यसले गर्दा कारोबार गर्ने समयमा मात्र संस्थापक सेयरको अभौतिकीकरण गर्ने प्रवृतिले यो सेयरको अभौतिकीकरण अनुपात न्यून रहन गएको हो । विश्वका सबैजसो विकसित पुँजीबजारमा रहेको प्रचलनलाई आधार मानी बजारको यथार्थ मापन हुने गरी कारोबार योग्य सेयरको आधारमा २०६४ सालबाट नेप्से फ्लोट इन्डेक्स पनि गणना गर्न थालिएको हो। २०७३असारमा नेप्से फ्लोट इन्डेक्स ८३ प्रतिशतले वृद्धि आई १२५ बिन्दुमा उक्लेको छ, जुन २०७२ असारमा ६९ बिन्दुमा रहेको थियो । सोही इन्डेक्स २०७१ असारमा ७३ बिन्दुमा रहेको थियो । २०७२ पौषसम्म धितोपत्र बजारमा दुबै भौतिक तथा अभौतिक सेयरको कारोवार भइरहेकोमा धितोपत्रको दोश्रो बजारलाई पूर्ण स्वचालित बनाउने उद्देश्यले बोर्डले नेप्से र सिडिएसलाई २०७२ माघदेखि पूर्ण स्वचालित कारोवार संचालन गर्न निर्देशन दिएकोमा उक्त संस्थाहरुमा भएको रेकर्ड अनुसार २०७२ पौष मसान्तमा साधारण सेयरको अभौतिकीकरणको अवस्था करिव ३० प्रतिशत मात्र रहेकोमा २०७२ माघदेखि अभौतिकृत सेयरको मात्र कारोवार शुरु भएको थियो ।

नमस्ते वित्तीय संस्थाको २५ प्रतिशत लाभांश दिने प्रस्ताव राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडौं, १५ मंसिर । नमस्ते वित्तीय संस्थाको २५ दशमलब २६ प्रतिशत लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले २४ प्रतिशत बोनस र एक दशमलब २६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रस्ताव गरेको थियो । अब कम्पनीको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र संस्थाका लागानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

बजारमा नुन अभाव हल्ला मात्र, हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह

पोखरा, १५ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताए । उनले हल्लाकापछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् । गोदाममा रहेको नुन “हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उनले भने । पोखरा कार्यालयमार्फत गण्डकी अञ्चलभित्र बर्सेनि करिब ६५ हजार क्विन्टल नुन बिक्री वितरण हुँदै आएको छ । रासस

माथिल्लो कर्णाली र अरुण थ्रीः जिएमआर र सतलजले लगानी जुटाउन सकेनन्

काठमाडौं, १५ मंसिर । ९००/९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना र अरुण थ्रीको निर्माणकर्ता कम्पनी जिएमआर र सतलज जलविद्युत निगम लगानी जुटाउन असफल भएका छन् । पावर डेभलपमेन्ट एग्रिमेन्ट(पिडिए)अनुसार माथिल्लो कर्णालीको निर्माता कम्पनी जिएमआरले असोज ३ गते र अरुण थ्रीको सतलजले मंसिर १० गते भित्र वित्तिय व्यवस्थापन(लगानीको श्रोत) जुटाई सक्नुपर्ने थियो । तर यी दुबै कम्पनीले हालसम्म वित्तिय व्यवस्थापन गर्न सकेका छैनन् । ‘जिएमआर र सतलज दुबैले तोकिएको समयमा वित्तिय व्यवस्थापन गर्न सकेनन्, यसले आयोजना अघि बढाउन केहि समस्या उत्पन्न भएको छ, समयमै काम सम्पन्न गर्न पनि समस्या हुने देखेका छौं’, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने । व्यवस्थापिका संसदको विकास समिति बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र समिति सभापति रबिन्द्र अधिकारी । जिएमआरले भूकम्पलाई कारण देखाउँदै वित्तिय व्यवस्थापनका लागि समय थपिदिन आग्रह गरेको पनि उनले जानकारी दिए । तर सतलजले भने अझै पनि वित्तिय व्यवस्थापन किन गर्न नसकिएको हो र कहिले गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन् । ‘जिएमआरले भूकम्पका कारण लगानी जुटाउन ढिलो भएको बताउँदै समय थप्न माग गरेको छ, तर सतलजले अझै केहि जानकारी दिएको छैन’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने । उनले भूकम्पलाई कारण बताउँदै जिएमआरलाई समय थपिदिँदा नेपाललाई नोक्सानी हुन सक्ने बताउँदै बोर्डले सचेतता पुर्वक निर्णय गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । जिएमआर भारतीय निजी कम्पनी हो भने सतलज जलविद्युत निगम भारतको पब्लिक कम्पनी हो । माथिल्लो कर्णालीको लागत ११५ अर्ब प्रक्षेपण गरिएको छ भने अरुण थ्रीको लागत ६७ अर्ब प्रक्षेपण गरिएको छ । माथिल्लो कार्णालीको पिडिएमा निर्माण कर्ता कम्पनी जिएमआरसँग नेपालले २०७१ असोज ३ गते हस्ताक्षर गरेको थियो भने अरुण थ्रीको पिडिएमा लागि सतलजसँग २०७१ मंसिर ९ गते हस्ताक्षर गरेको थियो । माथिल्लो कर्णालीले सन २०२१ सेप्टेम्बर १९देखि विद्युत उत्पादन गर्ने पिडिएमा उल्लेख गरिएको छ । त्यस्तै, अरुण थ्रीले सन २०२३ नोभेम्बर २५ देखि विद्युत उत्पादन थाल्ने उल्लेख छ । तर यी दुबै कम्पनीले तोकिएको समयमा वित्तिय व्यवस्थापन अर्थात लगानी जुटाउन नसकेपछि आयोजना समयमै सम्पन्न गर्न समेत नसक्ने देखिएको हो । ‘दुबै कम्पनीले वित्तिय व्यवस्थापन गर्न सकेका छैनन्, समयमै काम सम्पन्न गर्नमा पनि आशंका उत्पन्न भएको छ, हामी गहन अध्ययन गरिरहेका छौं’, अधिकारीले भने । माथिल्लो कर्णालीबाट नेपालले २५ बर्षमा १५६ अर्ब रोयल्टी, ८३ अर्ब आयकर र १२ प्रतिशत निःशुल्क विद्युत, २७ प्रतिशत निःशुल्क इक्विटी र २ मेगावाट बराबरको ग्रामिण विद्युतिकरण उपलब्ध हुनेछ । त्यस्तै, अरुण थ्रीबाट नेपालले १५० अर्ब रोयल्टी, ७७ अर्ब आयकर, २१ दशमलब ९ प्रतिशत निःशुल्क विद्युत र प्रभावित नागरिकलाई प्रतिपरिवार प्रतिमहिना ३० युनिट विद्युत उपलब्ध हुनेछ ।