विकासन्युज

मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण शुरु, लगानीका लागि ७ कम्पनीसँग ऋण सम्झौता

म्याग्दी, १५ मंसिर । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । पाँच अर्ब ६४ करोड रुपैयाँको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिए । “छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उनले भने । नारच्याङ बेँसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म नौ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । दुई हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेँसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ । आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । नेपाल इन्भेस्टमेन्ट बैंकसँग ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीसँग एक अर्ब रुपैयाँ र नेपाल बैंकसँग ५० करोड रुपैयाँ ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट एक अर्ब रुपैयाँ, लक्ष्मी बैंकबाट ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट ३० करोड रुपैयाँ र एस डेभलभमेन्ट बैंकबाट ३० करोड रुपैयाँ ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ । मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो । रासस

पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै, साँघुरा सडकमा बढ्दो सवारी साधनको चाप नै मुख्य कारण

पोखरा, १५ मंसिर । बढ्दो सवारीसाधनको चापसँगै पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो । गण्डकी तथा धौलागिरि क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत सवारीसाधन पोखरा हुँदै आवागमन गर्ने भएका कारण पनि पोखरामा सवारीसाधनको चाप अत्याधिक बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार पछिल्लो समयमा पोखरामा नयाँ सवारीसाधन थपिने क्रम पनि बढेको छ । “गण्डकी यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता गरिएका भाडा, निजी, सरकारी सवारीसाधनको सङ्ख्या पछिल्लो चार महिनामा मात्रै ११ हजार ४६३ पुगेको छ,” उनले भने, “लामो समययता स्तरोन्नति नगरिएका साँघुरा सडकमा बढ्दो सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन प्रतिदिन जटिल बन्दै गएको छ ।” गण्डकी यातायात व्यवस्था कार्यालयमा यही असार मसान्तसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या एक लाख ४४ हजार २१४ रहेकामा यही मङ्सिर ६ गतेसम्म उक्त सङ्ख्या एक लाख ५५ हजार ६७७ पुगिसकेको छ । पोखरा प्रवेश गर्ने अमरसिंह चोकबाट उत्तमचोक, बुद्धचोक, सेती नदी माथिको चाइनापुल हुँदै पृथ्वीचोकसम्मको सडक साँघुरो हुनुका साथै ठाउँठाउँमा पस्ने चोकका कारण पनि यो मार्गमा ट्राफिक जामको समस्या बढी हुने गरेको छ । “विशेष गरी चारतिर चोक भएको पृथ्वीचोक र सिर्जना चोककका साथै तीनतर्फ चोक भएको सभागृहचोक, चिप्लेढुङ्गाका साँघुरो बाटोका कारण यहाँ गाडीको निकै चाप देखिने गरेको छ,”– प्रहरी निरीक्षक अधिकारीले भने। पृथ्वीचोकमा हाल लखन थापाको सालिक रहेको आइल्यान्ड धेरै फराकिलो भएका कारण पनि यो चोकमा गाडीको जाम बढ्ने गरेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष अइनकुमार साहीले बताए । धेरै सवारीसाधन आवतजावत गर्ने पृथ्वीचोकमा फराकिलो आइल्यान्डका कारण सवारीसाधनको चापका साथै दुर्घटनालगायतका समस्या बढेकाले पटकपटक सम्बन्धित निकायमा जानकारी गराइए पनि त्यसतर्फ चासो नदिइएको उनले बताए । “फराकिलो आइल्यान्डका कारण सवारीसाधनको चाप एवम् दुर्घटनाको खतरा पनि बढेको छ,” उनले भने, “आइल्यान्डको व्यवस्थापन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक समितिलाई जिम्मा दिए पनि हामी त्यसका लागि तयार छौँ ।” पृथ्वी राजमार्गका मात्र एक हजार ३०० सवारीसाधन पृथ्वीचोक भएर आवतजावत गर्ने बताउँदै उनले फराकिलो आइल्यान्डका कारण सबै यातायात व्यवसायी एवम् सर्वसाधारणलाई समस्या परिरहेको बताए । लखन थापाको सालिक भएका कारण आइल्यान्डको व्यवस्थापन कसरी गर्ने सम्बन्धमा सम्बन्धित निकायसँग छलफल भइरहेको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । आइल्यान्डका कारण वल्लो भागबाट पल्लो भाग देख्न नसकिने हुँदा एक जना ट्राफिक प्रहरीले गर्ने कामका लागि चार जना खटाउनुपर्ने बाध्यता रहेको उनले बताए । पोखरामा ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालयअन्तर्गत गगनगौडा, डाँडाको नाक, औद्योगिक क्षेत्र, छोरेपाटन, बैदाम र बगरमा ट्राफिक पोस्ट राखिएका छन् । पोखरामा बढिरहेको ट्राफिक जामले यहाँको पर्यटनलाई प्रत्यक्ष असर पार्नेतर्फ गम्भीर बन्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउछन् ।  यहाँको पर्यटकीय आकर्षणलाई जोगाउन सडक एवम् सवारीसाधन, पार्किङ व्यवस्थापनका साथै पोखरा भएर जाने लामो दूरीका बसका लागि छुट्टै वाइपासको व्यवस्था हुनु आवश्यक रहेको उनले बताएका छन् । रासस

हस्तकला व्यापार मेलामा १० करोडको कारोबार, करिब २ लाखद्धारा अवलोकन

काठमाडौं, १५ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मंसिर १० गते देखि ५ दिन सम्म लागेको उक्त मेलामा प्रत्यक्ष र परोक्ष गरी १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, करिब २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन् । नेपाल सरकार बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिताको विधिवत रुपमा समापन गरेको छ । समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले नेपाल हस्तकला महासंघको अभिलेख अनुसार गत आर्थिक बर्षमा हस्तकला निकासी करीव ५ अर्ब बराबरको रहेको जानकारी गराएका छन् । चालू आर्थिक बर्षको प्रथम चौमासिक तथ्यांकले यस बर्ष हस्तकलाका वस्तुहरुको निर्यात बृद्धि हुने संकेत प्राप्त भईरहेको छ । साथ साथै आन्तरिक बजारमा हुने विक्री र अभिलेख नराखिएको निकासी अंक समेत जोड्दा बार्षिक कारोबार करीब १२/१३ अर्ब भन्दा बढि रहेको बताए । हस्तकला क्षेत्रले करीब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपबाट उपयुक्त पूर्वाधार, विकास, निर्यात व्यापार लक्षित प्रभावकारी कार्यक्रमहरु र सुविधाहरुको व्यवस्था गर्न सकेमा हस्तकला व्यवसायलाई गाउँ गाउँ सम्म विस्तार गर्न सकिने रहेको बताएका छन् ।

शिक्षा नियमावली मस्यौदा संसोधन अनिवार्य, बेवास्ता गरिए आन्दोलन गर्ने

काठमाडौं, १५ मंसिर । विद्यालय शिक्षालाई नयाँ संरचनामा ढाल्ने र सोही अनुरुप कार्यान्वयनमा जाने गरी शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावलीको मस्यौदामा निजी क्षेत्रको असहमती र विरोध बढ्दै गएको छ । शिक्षा ऐन (आठौँ संशोधन)मा उल्लेख भएअनुसार प्रारम्भिक कक्षा देखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक विद्यालय संरचना बनाइनेबारे निजी संसोधनको माग गर्दै विद्यालय सञ्चालकहरुको दवाव र विरोध बढ्दै गएको हो । समान शिक्षाको अवधारण लागू गर्नुपर्नेमा मन्त्रालयले नै दोहोरो शिक्षा निति लिएको भन्दै निजी विद्यालयका छाता संगठनहरुले आफ्ना अवधारणाअनुसारको नियमावली संसोधन गर्नुपर्ने माग राख्दै राजनीतिक रुपमै दवाव सिर्जना गर्ने तयारी गरिहेका छन् । जसका कारण शिक्षा मन्त्री धनीराम पौडेलले चाहेर मात्रै पनि अगाडी बढ्न सक्ने अवस्था नरहेको शिक्षा मन्त्रालय स्रोतले बतायो । अझ प्लस टू मात्रै संचालन गरिरहेका उच्च माध्यमिक विद्यालयका संचालकहरुले दिएको दवाव पनि कम छैन । उनिहरुले उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)मार्फत जिरो प्लस टूलाई यथास्थितिमा चल्न दिनुपर्ने माग राख्दै कक्षा ९ देखि १२ सम्मको संरचना अब्यवहारीक भएको भन्दै नियमावली संसोधनलाई अनिवार्य शर्त बनाएका छन् । मन्त्रालयले विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई लागु गर्ने उदेश्यले प्रारम्भिक शिक्षा नियमावलीको मस्यौदा तयार पारेपनि निजी क्षेत्रको चर्को दवाव र विरोधले यतिखेर कार्यान्वयनमा आइसक्नुपर्ने नियमावलीले पूर्णरुप लिन सकेको छैन । निजी क्षेत्रबाट नियमावलीमा केहि संसोधनको कुरा आइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता एवं मस्यौदा निर्माण कार्यदलका संयोजक डा. हरि लम्सालले जानकारी दिए । उनले भने– ‘निजि क्षेत्रको विद्यालय संचालकहरुले खासै विरोध जनाएका छैनन् तर प्लस टू संचालकहरुलाई कक्षा ९ सम्म आउन कठिन भएको देखियो ।’ कक्षा १२ सम्म पनि विद्यालय शिक्षा नै भएकाले यसमा ९ र १० कक्षा थपिदिंदा विद्यालय संरचना थप वलियो हुने लम्सालले बताए । शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीको मस्यौदामा जिरो प्लस टू विद्यालयले माध्यमिक हुन चाहने हो भने कम्तीमा ९ र १० कक्षा पनि अनिवार्य सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । हिसानका अध्यक्ष रमेश सिलवालले कक्षा १ देखि १२ सम्मको शिक्षालाई नियमावलीमार्फत सरकारले एउटै टोकरी हाल्न लागेको आरोप लगाए । उनले कक्ष ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने बताए । सिलवालले उच्च मावि तहको शिक्षालाई नै सिध्याउने षड्यन्त्र भइरहेको दावी गर्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने– ‘हाम्रो आन्दोलन बन्द हड्ताल, टायर बाल्ने जस्तो नभई उच्च तहबाट दवावमूलक संघर्ष हुनेछ र यसबाट नियमावली संसोधन गराउन बाध्य पर्नेछौं ।’ उता प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले आफूहरु प्ररम्भिक कक्षादेखि १२ सम्मको विद्यालय तहको संरचनामा खासै विरोध गर्नुपर्ने नदेखिएपनि नियमावलीका केहि बुँदाहरुमा भने संसोधनको आवश्यकता रहेको बताए । यसैविच मन्त्रालयले भने आवश्यक तयारी पुरा गरी कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा नियमावली मस्यौदा पठाउने तयारी गरिहेको छ ।

पश्चिमाञ्चल विकास मञ्चद्धारा विभिन्न व्यक्तिलाई सम्मान

काठमाडौं, १५ मंसिर । धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र व्यापार–व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ र अध्यक्ष ढकालले प्रमाण –पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान्याधीश श्रेष्ठले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाइ एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चलविकास मञ्च सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूलधारमा लगाउन प्रेरणा मिलेको बताए । मञ्चका अध्यक्ष एवं आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई इण्डियाको नाका सुनौली र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यवस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गरे । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । २०६२ मा स्थापना भएको पश्चिमाञ्चल विकास मञ्चमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध भएको सो मञ्चले जनाएको छ ।

आरम्भ माइक्रो फाइनान्सद्धारा ३ शाखा कार्यालय विस्तार, थप ५ कार्यक्षेत्र विस्तार गर्न राष्ट्र बैंकको स्वीकृति

काठमाडौं, १५ मंसिर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै साथ थप तिन शाखा कार्यालयहरु विस्तार गरेको छ । वित्तीय संस्थाले २०७३ मंसिर १५ बाट सिन्धुलीको कमलामाई नगरपालिका (बैंक रोड), नुवाकोटको विदुर नगरपालिका तथा काभ्रेपलाञ्चोकको बनेपामा आफना शाखा कार्यालयहरु विस्तार गरेको हो । अब संस्थाको कुल शाखा संख्या १६ पुगेको छ । आरम्भ माइक्रोफाइनान्सले थप ५ जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत प्राप्त गरेको छ । यस संगै संस्थाको कार्यक्षेत्र पनि १५ जिल्ला पुगेको छ । संस्थाले १ करोड १८ लाख रुपैयाँ भन्दा बढि रकम बचत संकलन गरी हालसम्म २१ करोड ३४ लाख रुपैयाँ लगानी गरेको कम्पनीले बताएको छ । करिव ६ करोड ६६ लाख रुपैयाँ असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम १४ करोड ६८ लाख रुपैयाँ रहेको फाइनान्सले जनाएको छ । यसै आर्थिक बर्ष भित्र संस्थाले ११ हजार भन्दा बढि विपन्न घर परिवारलाई लघु वित्तीय सेवा उपलव्ध गराई करिब ३० करोड लगानी रहने गरी काम गर्ने लक्ष्य लिएको छ । हालै मात्र संस्थाले १ः१ प्रतिशतले हकप्रद शेयर जारी गरेकोमा चुक्ता पूँजी १ करोड २ लाखबाट २ करोड ४ लाख रुपैयाँ तथा जारी पूँजी २ करोड रुपैयाँबाट ४ करोड रुपैयाँ पुरयाउने काम अन्तिम चरणमा पुगेको छ । यसैगरी सर्वसाधरणको लागि शेयर निष्काशन गर्नु पुर्वनै यस वित्तीय संस्थाले पुनः २ः१ प्रतिशतले हकप्रद शेयर जारी गरि संस्थाको जारी पूँजी ६ करोड रुपैयाँ तथा चुक्ता पूँजी ३ करोड ६ लाख रुपैयाँ पुर्याउने योजनाका साथ अगाडि बढिरहेको छ । सो पश्चात आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने पनि संस्थाको योजना रहेको छ । यस वित्तीय संस्थाले आफना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने अभिप्रायले विप्रेषण सेवा दिने तयारी पनि गरिरहेको छ ।

हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर दिने, हकप्रद सेयरले बोनस नपाउने

काठमाडौं, १५ मंसिर । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  बैंकले पछिल्लो समय निस्काशन गरेको हकप्रद सेयरले उक्त बोनस सेयर नपाउने बैंकले स्पष्ट पारेको छ ।

सिंहदरबार प्लाजामा ह्याङ्गिङ पार्क बन्दै, महानगरपालिकासँग ८ संस्थाले गरे समझदारी

काठमाडौं, १५ मंसिर । सिंहदरबारको मुल प्रवेशद्वार अघि बायाँतर्फको करिब चार सय मिटर लम्बाइ रहेको स्थानमा अत्याधुनिक ह्याङगिङ पार्क निर्माण प्रक्रिया थालनी गरिएको छ । १ करोड ४२ लाख रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त पार्क काठमाडौं महानगर र त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयले निर्माण गर्न लागेका हुन् । केन्द्रीय प्रशासनिक सचिवालय अगाडि नमूना स्थान बनाउनु पर्छ भनेर युएन आइ नेपाल नामक ट्रेड युनियन संगठनको पहलमा पार्क निर्माण प्रक्रिया अघि बढेको हो । चालू आवमा निर्माण शुरु गरी आगामी आवसम्म उक्त पार्क निर्माण गरिसक्ने महानगरले बताएको छ । प्रायः पानी जमिरहने गहिरो उक्त स्थान हाल प्रयोगविहिन छ । उक्त पार्क निर्माण गर्नका लागि महानगर र पार्क निर्मण गर्ने स्थलका ८ ओटा कार्यालयबीच सहमति भैसकेको काठमाडौ महानगरपािलकका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । त्यसमा राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल टेलिभिजनको व्यापार महाशाखा, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय समाचार समित, महिला आयोग, खाद्य संस्थान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम गरी ८ वटा कार्यालय छन् । सहरको विकासमा नागरिक र महानगर मिलेजस्तै यस क्षेत्रमा पार्क बनाउन सार्वजनिक– सार्वजनिक निकायबीच साझेदारी भएको महानगरपालिकाले जनाएको छ । केही दिनअघि आयोजना गरिएको सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको बैठकले पार्क निर्माण साझेदारितामा सहमति गरेको हो । २०६८ सालबाट यस स्थानमा पार्क बनाउने विषयमा छलफल भएपनि ठोस रुपमा काम भएको छैन । आधुनिक मोडेलमा निर्माण हुन लागको उक्त पार्क बालबालिक, महिला, अपाङ्गत भएका तथा जेष्ठ नागरिकमैत्री बनाइने छ । पार्कमा सजाएका वस्तुहरु सबै झुण्डिएको जस्तो अवस्थामा देखिने छ । प्राकृतिक हरियाली सहित पार्कलाई मनोरम बनाउन विभिन्न सजावट तथा खेलकुदका सामान तथा वस्तुहरु राखिने तामाङको भनाइ छ । २०६९ सालमा पार्क निर्माणको लागत अनुमानसहित डिजाइन गरिएको थियो । शुरुमा डिजाइनमा काम गर्दा करीव ८२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । अहिले सोही पार्क बनाउन १ करोड ४२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पार्क निर्माणका लागि त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयमध्ये नेपाल टेलिकमले ४० लाख रुपैयाँ, कृषि अनुसन्धान परिषद्ले ८ लाख रुपैयाँ, नेपाल टेलिभिजन र नेपाल स्टक एक्सचेन्जले ५/५ लाख रुपैयाँ रकम दिने प्रतिवद्धता जनाएका छन् । नपुग रकम महानगरपालिकाले जुटाउने भएको छ ।