विकासन्युज

महाविद्यावारिधि प्राप्त मुखर्जी एसियाकै उच्च नेताः प्रधानमन्त्री दाहाल

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन् । काठमाडौं विश्वविद्यालयले बिहीबार राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न बिहीबार आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उनले निर्वाह गरेका भूमिकाको सराहना गरेका छन् । प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गरेका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि गुणस्तरीय शिक्षामा केन्द्रित काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो । प्रधानमन्त्रीले भने, “नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।” जीवनमा पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुगेकोमा मुखर्जीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले उनको राष्ट्रपतीय कालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास व्यक्त गरेका छन् । स्थापनाको २५ वर्षे यात्रामा सो विश्वविद्यालयले यसअघि नेपालका संस्कृतिविद् सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ करण सिंहलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ । मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि सम्मान प्राप्त गरिसकेका छन् । दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट आफू मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताए । सो विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रुपमा सम्बोधन गर्दै उनले नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान गरेका छन् । मुखर्जीले भने, “नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो । मैले काठमाडौं विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर म माथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु ।” विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शैक्षिक सुधारका लागि शिक्षाको पुनःपरिभाषा गर्दै उच्च शिक्षासम्मलाई समुदाय र सीपसँग जोड्नुपर्ने बताए । विसं २०४८ मा निजी क्षेत्रको पहिलो विश्वविद्यालयका रुपमा काठमाडौं विश्वविद्यालयको स्थापना भएको हो । सो विश्वविद्यालयबाट सयौँ भारतीय विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । रासस

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक

काठमाडौं, १८ कात्तिक । कतार एयरवेजले आफ्नो अनबोर्ड “वल्र्ड्स बेष्ट बिजनेश क्लास” अन्तर्गत एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एयरवेजले एकसाथ यात्रा गर्ने योजना बनाएका जोडीका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । सन् २०१६ नोवेम्बर १ देखि ७ सम्म जोडी, साथी तथा परिवारले “टू सिट्स्, वान ग्रेट अफर” योजनाको फाइदा उठाउन सक्नेछन् । सन् २०१६को १५ नोवेम्बर देखि सन् २०१७को १५ जून सम्म कतार एयरवेजको विश्वब्यापी सञ्जालमा यात्राका लागि योजनाको सदुपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै, प्रमोशन अवधि भर कतार एयरवेजको लोयल्टि प्रोग्राम प्रिभ्लेज क्लबका सदस्यले हरेक बुकिङमा दोब्बर क्यूमाइल प्राप्त गर्न सक्नेछन् । यस योजना मार्फत फाइदा उठाउनका लागि यात्रुले qatarairways.com/np लगअन, +९७७ १ ४४४०४६७मा फोन वा नजिकको ट्राभल एजेन्टसँग सम्पर्क गर्न सक्नेछन् । “अहिलेको ब्यस्त होलिडे सिजनमा सार्वजनिक गरिएको यो अफरले परिवार तथा यात्राको बारेमा सोची रहेका मानिसलाई आफ्ना नजिकका मानिससँग वल्डर््स बेष्ट बिजनेश क्लासको अनबोर्ड लग्जरीको अनुभव लिन उल्लेख्य मात्रामा सघाउने छ” कतार एयरवेजका चिफ कमर्शियल अफिशर डा. ह्यूग डनलिभिले भने “यसले हाम्रा यात्रुलाई आफ्ना नजिकका मानिससँग यात्राको मिठो अनुभव आफ्नो स्मृतिमा सदाका लागि सजाइराख्न उल्लेख्य सहयोग पुग्ने हाम्रो विश्वास छ ।” यात्रुलाई यात्राको समयमा उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ कम्पनीले विभिन्न लग्जरी ब्राण्ड्ससँग सहकार्य गर्दै आइरहेको छ । उदाहरणका लागि कम्पनीले यात्रुका लागि यात्राको समयमा अनबोर्ड चकलेटको मज्जा दिने सोचका साथ लग्जरी फ्रेञ्च चोकोलाटियर भालरोहना तथा कतार एयरवेजका हेड सेफ नोबु माट्सुहिसा लगायत विश्व प्रख्यात शेफहरु मार्फत इनफ्लाइट डायनिङ अनुभव लिन सकिन्छ ।

सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

काठमाडौं १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न इच्छुक फुटबलप्रेमीलाई प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ । महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो । त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ । यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ । रासस

बैंक ठूला बन्दै, जिम्मेवारी नयाँ पुस्तामा सर्दै

सुनिल केसी काठमाडौं, १८ कात्तिक । एनएमबी बैंकले आगामी चैत १ देखि लागू हुनेगरि प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त गर्यो । यस बैंकमा विगत १७ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपेन्द्र पौडेल करिव ४ महिनापछि विदा हुँदैछन् । एक वर्षअघि चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको यो बैंक अहिले साढे चार अर्ब रुपैयाँको छ र एक वर्षभित्र चुक्ता पुँजी ८ अर्बको बैंक बन्दैछ । बैंकको पुँजी, व्यवसाय, जोखिम, दाहित्व बढ्दै गर्दा यस बैंकले १७ वर्षसम्म कार्यकारी प्रमुख भएर काम गरेको अनुभवी व्यक्तिलाई विदा गरेपछि डेपुटी प्रमुख कार्यकारी अधिकृत (सेकेण्ड म्यान) लाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्यो । एनएमबीले जस्तै माछापुच्छ्रे बैंकले पनि ग्लोबल आईएमई बैंकबाट डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरी बसेको निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए । निर्वतमान कार्यकारी प्रमुख निरज श्रेष्ठ तुलसीराम गौतमको चार वर्षको कार्यकालमा बैंकको नतिजा राम्रो देखिए पनि बैंक सञ्चालन समितिले सर्वसहमतिमा नयाँ अनुहार छान्यो । एक वर्ष अघिसम्म २ अर्ब ९६ करोड चुक्ता पुँजी भएको यो बैंक एक वर्षभित्र ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्दैछ । चार वटा विकास बैंकहरुलाई आफूमा गाभ्दै गरेको एनसीसी बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो । यसअघि उनी सोही बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । एक वर्ष अघिसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकले पनि एक वर्षमा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउँदैछ । एनआईसी बैंक र अफ एशिया मर्ज भई बनेको एनआईसी एशिया बैंकले सशीन जोशीको कार्यकाल सकिएपछि सेकेण्ड रमेशराज अर्याल म्यान लक्ष्मण रिसाललाई फष्ट म्यानको जिम्मेवारी दिइयो । प्रभु विकास बैंक र तत्कालिन किष्ट बैंक मर्जभई प्रभु बैंक बन्यो । मर्जभएको छोटो समयपछि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए अशोक शेरचनले । उमेरका हिसावले वाणिज्य बैंकहरुमा कान्छो सीईओको रुपमा उनको चर्चा पनि भयो । पछिल्लो समयमा सेन्चुरी कमर्शियल बैंकका अनुजराज तिमल्सिना, सानिमा बैंकमा भुवन दाहाल र कुमारी बैंक (कामु)मा राजीव गिरीले पहिलो पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए । पछिल्लो समयमा बैंकहरुको पुँजी वृद्धि, कर्जा तथा निक्षेप वृद्धिसँगै बैंक सञ्चालन जोखिम पनि बढ्दै गएको छ । यहि समयमा लक्ष्मण रिसाल पुराना र अब्बल बैंकर्सहरुले भटाभट अवकाश पाउन थालेको छ । यतिबेला बैकिङ क्षेत्रमा राम्रो ख्याती कमाएका तुलसीराम गौतम, सोभनदेव पन्त, कृष्णप्रसाद शर्मा, अमृतचरण श्रेष्ठ, परशुराम कुँवर क्षेत्री जस्ता बैकर्स अवकाश प्राप्त जीवन बिताईरहेका छन् । बैंकमा नयाँ सीइओ आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् नेशनल बैकिङ इन्स्टिच्यूतका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा । ‘एउटै व्यक्ति एउटै पदमा ४ वर्ष वा ८ वर्ष बस्दा पुग्छ । १२ वर्षभन्दा बढी बस्नु राम्रो हुँदैन । लामो समय एउटै पदमा बस्न हुँदैन भनेर सोभनदेव पन्तले छोड्नु भयो, उपेन्द्र पौडेलले छोड्दै हुनुहुन्छ । यो राम्रो अभ्यास हो’ सुब्बा भन्छन्–‘वाणिज्य बैंकहरुमा प्रमुख कार्यकारी अधिकृत पदमा जो जो नयाँ व्यक्ति आउनु भएको छ, उहाँहरु सोही पदमा नयाँ भए पनि बैकिङ प्रोफेशनमा २०/२५ वर्ष अनुभवी भएकोले उहाँहरुले बैंकलाई सफल नेतृत्व दिन सक्छन् ।’ अशाेक शेरचन करिब दुर्इदशक बैकिङ क्षेत्रमा काम गरेको व्यक्तिले वाणिज्य बैंकको सीइओ जिम्मेवारी लिँदा उनीहरुको प्रर्फमेन्स पनि राम्रो देखिएको जानकारहरु बताउँछन् ।  बैंक व्यक्तिले चलाउने नभई सिस्टममा चल्ने संस्था भएकोले सिस्टम चलाउने टिमको क्षमता विकासमा सीईओ र सञ्चालक समितिले ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘बैकिङ क्षेत्रको जनशक्ति विकासमा हामी एक दशक पछाडि परेका छौं । कर्मचारीलाई तालिम दिने र क्षमता विकास गराउने तर्फ ध्यान गएको छैन’ उनी भन्छन्–‘मौद्रिक नीतिमा कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम बराबर कर्मचारीको क्षमता विकास गर्न तालिममा खर्च गर्नुपर्छ भनेको छ । तर त्यो रकम तालिमको नाममा विदेश भ्रमणमा र पिकनिकमा खर्च गर्न सक्छन, तालिममा ध्यान दिएका छैनन् ।’

सेयर बजारमा सामान्य अंकको सुधार, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, १८ कात्तिक । लगातार ६ दिनसम्म बन्द भएर खुलेको सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । सो दिन बजारमा निकै उतार चढाव देखिएको छ । बजार खुलेको एक घण्टामा घटेर १७५३ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४८ अंकले बढेर १७६२ मा पुगेको छ । बिहीबार ५३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोही दिन १२१ कम्पनीको ८७ लाख कित्ता सेयर कारोबार भएको हो । बजारमा सबैभन्दा बढी सिभिल बैंकको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, छिमेक लघुवित्तिक विकास बैंकको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, भिवोर सोसाइटी विकास बैंक र सिर्जना फाइनान्स (वित्तिय संस्था) का लगानीकर्ताले क्रमशः ८.९८ र ७.८८ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २५ अंकले उकालो लागेको छ । त्यस्तै, बैंक र फाइनान्स समूह सामान्य अंकले बढेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ३१ अंकले घटेको छ । त्यस्तै, अन्य समूह, होटल र हाइड्रोपावर समूह क्रमशः ९, ७ र ६ अंकले घटेका छन् ।

पुष्पकमल दाहालद्धारा भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्। काठमाडौं विश्वविद्यालयद्वारा बिहीबार आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो । सो समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहेएका सदस्य समेत सो विशेष कार्यक्रममा सहभागी थिए । रासस

विजय लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं, १८ कात्तिक । विजय लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।

भारतले नहरमा पानी बन्द गरिदिएपछि नवलपरासीमा विद्युत् उत्पादन बन्द

नवलपरासी, १८ कात्तिक । नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको छ । भारतले यस वर्ष पनि नहर मर्मत सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको हो । पन्ध्र मेगावाट क्षमता रहेको विद्युत् उत्पादन गृहमा नहरमा पानी हुँदाको अवस्थामा समेत चार मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो थियो । यद्यपि अहिले नहरको सरसफाइ तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भारत सरकारले पानी नहरमा बन्द गरेपछि विद्युत् उत्पादन बन्द हुन गएको हो । विद्युत् उत्पादन बन्द भएपछि गृहले अहिले विद्युत् आपूर्ति गर्न भारतबाट १३२ किलो भोल्ट बिजुली किनेर ३३ किभी र ११ किभी मा ट्रान्सफर गरी आपूर्ति गरेको गृहका निमित्त प्रमुख वीरेन्द्र शाहले बताए । गृहमा जडित तीन वटा टर्वाइनमध्ये टर्वाइन नम्बर ३ मात्र सञ्चालनमा रहे पनि भने अन्य १ र २ नम्बरको युनिट वर्षौंदेखि बिग्रिएका कारण बन्द अवस्थामा छन् । टर्वाइन नम्बर १ पूर्णरुपले बिग्रिएको अवस्थामा छ भने लामो समयदेखि बिग्रेको अवस्थामा रहेको टर्वाइन नं २ को मर्मत कार्य पूरा भइसकेकाले अब नहरमा पानी आएपछि सञ्चालन ल्याउने तयारी गरिएको छ । अब केही सातापछि नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टर्वाइन सञ्चालनमा ल्याई करिब आठ मेगावाट विद्युत् उत्पादन गर्ने गृहले लक्ष्य लिएको छ । भारत सरकारले सन् १९६६ मा विद्युत् उत्पादन गृहको प्रोजेक्ट सुरु गरी सन् १९७९ मा मात्र सञ्चालनमा ल्याएको थियो । भारत र नेपालको सम्झौताअनुसार उत्पादन गृह १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । पच्चिस वर्षमा उत्पादन गृहमा जडित सम्पूर्ण टर्वाइन, जेनेरेटर र मेसिनसहित प्रविधि फेर्न पर्नेमा अहिले ३६ वर्ष भइसक्दा पनि सामान्य मर्मतका भरमा विद्युत् उत्पादन गृह सञ्चालन हुँदै आएको छ । रासस