विकासन्युज

१२ नयाँ सहर निर्माण गरिँदै, हुलाकी राजमार्गले छोएको ठाँउमा १० वटा सहर हुने

काठमाडौं १८, कात्तिक । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा एक एक गरी २ वटा हुनुेछन् । गत आर्थिक वर्ष ७२ र७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्नेबाहेक कुनै काम हुन सकेको भने छैन । चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट ।

मुखर्जीको भ्रमणले आज सडक यातायात दिनैभर प्रभावित हुने, बाटो अवरुद्ध हुने स्थानसहित

काठमाडौं १८, कात्तिक । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै छ । बिहीबार र शुक्रबार पनि काठमाडौंका सडकमा यातायात अस्तव्यस्त हुनेछ । प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नया“ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ । त्यस्तै, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ । साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ । यसैगरी, साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सवारी छ । शुक्रबार भने भने एकपटक मात्र सडक अवरोध हुनेछ । मुखर्जी हायात होटेलबाट जनकपुर जान विमानस्थल जाँदा सडक अवरुद्ध हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ ।

सोलारबाट २१ हजार मेगावाट बिजुली, ४५ मेगावाटका सैर्या प्लान्ट मार्फत ७ लाख घरमा बिजुली सुविधा

काठमाडौं १८, कात्तिक । सरकारले जलविद्युत उत्पादन सम्भाव्यता अध्ययन गरिरहेको बेला सौर्य उर्जाबाट मात्र २१ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ। बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले गरेको अध्ययनबाट यस्तो देखिएको समाचार विहिबारको नागरिक दैनिकमा छापिएको छ। उक्त अध्ययन अनुसार देशभर ३ सयभन्दा बढी दिन वार्षिक औसत साढे ४ घण्टा घाम लाग्ने पारिला ठाउँ पत्ता लागेका छन्। सम्भावना देखिएकाले सोलाबाट विद्युत उत्पादन गर्न पनि सरकारले पहल गर्नुपर्ने केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए। केन्द्रका अनुसार अहिलेसम्म ४५ मेगावाटका सैर्या प्लान्ट जडान भई ७ लाख घरमा सुविधा पुगेको छ। देशका विभिन्न स्थानमा करिब २ सय कम्पनीले सौर्य उर्जा जडान तथा मर्मतको काम गर्दै आएका छन्। सरकारले महानगरपालिका,उपमहानगरपालिकामा सोलार प्लान्ट जडान गर्न ८० लाख रुपैयाँभन्दा बढी नहुनेगरी ४० प्रतिशतसम्म अनुदान दिने नीति ल्याएको छ। यस्तै नगरपालिकामा ६० लाख रुपैयाँमा नबढ्नेगरी ६० प्रतिशत , नगरोन्मुख गाविसमा ४० लाख नबढ्नेगरी ७० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्याएको छ।

स्थानीय युवाले लुटे प्रहरीको हतियार, सँगै बसेर तास खेल्ने र मदिरा खादाँको विवाद चौकी आक्रमणसम्म

काठमाडौं १८, कात्तिक । सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले उग्र रुप लिँदा जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ । आग्रीगाउँसगँ सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद भएको थियो । स्रोतका अनुसार उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय युवा यसअघि पनि सँगै बसेर तास खेल्थे । उक्त दिन पनि तास खेलेपछि युवा र प्रहरी जवान नरबहादुर विकले सँगै मदिरा सेवन गरेका थिए । त्यही क्रममा तासमा रकम हारेको विषयमा विक र उनीहरुबीच विवाद भएको थियो ।

चीनले सगरमाथामा पर्वतारोहण केन्द्र बनाउने, एक अर्ब ६० करोड रुपैयाँं खर्च गर्ने

काठमाडौं १८, कात्तिक । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ । चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन लागेको हो । चीनको तिब्बत स्वायत्त प्रदेशको कङ्खर टाउनसिपमा आगामी वर्ष सन् २०१७ देखि निर्माण सुरु गरेर दुई वर्षपछि सन् २०१९ मा सप्पन्न गर्ने समाचार चीनको सरकारी प्रकाशन चाइना डेलीले लेखेको छ । सगरमाथाको उत्तरी मोहोडादेखि उत्तरतिरको भूभागमा ८४ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यो केन्द्रका लागि चीनले दस करोड चिनियाँ युआन (एक अर्ब ६० करोड रुपैयाँं)खर्च गर्नेछ । समाचारमा जनाइए अनुसार निर्माण हुने अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्रमा पर्वतारोही, हिउँमा चिप्लेटी खेल्ने खेलाडी, प्याराग्लाइडर र पथप्रदर्शकहरुलाई खानाको व्यवस्था हुनेछ । स्वास्थ्य सेवा, ट्राभल्स एजेन्सी र हेलिकप्टर उद्दार सेवासमेत केन्द्रमा उपलब्ध हुनेछ । अहिलेसम्म तिब्बतमा उच्च अक्षांशमा परेका तथा हिमालमा फसेका व्यक्तिलाई हेलिकप्टरबाट उद्दार गर्ने व्यवस्था छैन । यस्तो अवस्थामा चीनको अनुरोधमा नेपालले हेलिकप्टरद्वारा उद्धार गर्दै आएको छ । कान्तिपुर दैनिकबाट । तिब्बत स्वायत्त प्रदेशको खेलकुद ब्युरोका उपनिर्देशक निमा छिरिङलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार केन्द्रभित्र पर्वतारोहण संग्रहालय, कार भाडामा लगाउने व्यावसायिक कक्ष, कार मर्मत स्थल, मोटरसाइकल र साइकल भाडामा पाइने स्थल, रेष्टुरेन्ट र सुत्ने लजहरूसमेत बनाइनेछ । कङ्खर टिङ्ग्री काउन्टीका पाँच टाउन्सिपमध्येको एक हो । नेपालसँग सीमा जोडिएको कङ्खरबाट सगरमाथा, चोयु, शिशापङ्मा, ल्होत्से र मकालु हिमालको सुन्दर दृश्य देखिन्छ । यस क्षेत्रको पर्यटकीय तथा आर्थिक र सांस्कृतिक विकास गर्नका लागि चीनले अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउन लागेको बताइएको छ । केन्द्र बनिसकेपछि साबिकभन्दा अधिक पर्वतारोही र पर्यटकहरु सो क्षेत्रमा आउने अपेक्षा चीनले गरेको छ ।

भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम, उडान तथा अवतरणमा तीन घण्टासम्म होल्ड

काठमाडौं १८, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो। आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको समाचार विहिबारको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। विमानस्थलमा एउटामात्र धवनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि एउटै रुट र दैनिक दुइसयभन्दा बढी उडान विमानस्थलले थेग्न नसक्दा यस्तो वातावरण उत्पन्न भएको अधिकारीहरुले बताएका छन्। यद्यपी तीन दिन अगाडि नै उडान प्रभावित हुने सुचना जारी गरिसकेकोले धेरै ठुलो प्रभावन नपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। उक्त कारणले कतिपय आन्तरिक उडान रद्ध भएका थिए भने अन्तर्राष्ट्रिय उडान तथा अतवरण ढिला भएको थियो।

करिब पाँच अर्ब २८ करोडको लागतमा सम्पन्न माथिल्लो मादीको परीक्षण चाँडै हुने

पोखरा, १७ कात्तिक । कास्कीको निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए। विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव–स्टेसनमा जोडिएका उपकरणको समेत परीक्षण गरिने उनले बताए । परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मङ्सिर अन्तिमदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएको छ । उक्त आयोजनाको लागत करिब रु पाँच अर्ब २८ करोड रहेको छ । विसं २०६९ पुसबाट आयोजना निर्माण सुरु गरिएको थियो । रासस

भारतीय राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

पोखरा, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण र सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समिति एकजुट भई आ–आफ्नो जिम्मेवारी अनुसार कामलाई तीव्रता दिएका छन् । क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार उपसमितिले तोकिएको जिम्मेवारीलाई विहिवार बेलुकासम्म सम्पन्न गर्ने गरी क्रियाशील बनेका छन् । सुरक्षा सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको बताउँदै उनले राष्ट्रपति मुखर्जीको अगामी कात्तिक १९ गते हुने पोखराको भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास विहिवार गर्न लागिएको जानकारी दिए । राष्ट्रपति मुखर्जीको आगमनलाई लक्षित गरी पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माण, सरसफाइ सौन्दर्यीकरणका काम भइरहेको पनि क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी बिग्रेभत्केका सडकको मर्मत गरिएको छ भने विभिन्न नौ ठाउँमा स्वागतद्वार राख्न लागिएकोमा सात ठाउँको स्वागतद्वार निर्माण सम्पन्न भइसकेको पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताए । उनले राष्ट्रपति मुखर्जीको सवारी हुने मुख्य मार्गमा त्यहाँका स्थानीयवासी समेतको सहकार्यमा सरसफाइ कार्य पनि अघि बढाइएको बताए । राष्ट्रपति मुखर्जीको सम्मानमा स्थानीयवासीले पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मका बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने कार्यक्रम रहेका छन् । स्वागत व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठका अनुसार पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म उनको सम्मानमा विभिन्न जातजातीबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम छ । स्वागतका लागि सम्बन्धित टोल तथा समुदायमा आवश्यक पत्राचार भइसकेको जानकारी दिँदै उनले राष्ट्रपति मुखर्जीको सम्मानमा स्वस्तीवाचनका लागि लेखनाथ नगरपालिका क्षेत्रबाट समेत बटुकहरुको उपस्थिति गराइने भएको जानकारी दिए । प्राप्त कार्यक्रम अनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट केही समय आराम गर्नका लागि पोखरा ग्रान्ड होटलमा जाने र अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । रासस