विकासन्युज

जगदम्बा मोटर्सले ल्यायो टिभीएसका ५ नयाँ उत्पादन

काठमाडौं, २९ असार । जगदम्बा मोटर्स ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेताले आफ्ना ५ नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले बजारमा ल्याएको ५ उत्पादनहरुः नयाँ उटिभीएस वेगो, टिभीएस एक्सएल–१००, टिभीएस–डज, टिभीएस भिक्टर र टिभीएस किङ हुन् । कम्पनीले हालै मात्र आफ्नो वार्षिक वितरक सम्मेलन २०१६–२०१७ ‘टुगेदर वी ग्रो स्ट्रङ्गर’ नारासहित यहि १२ जुलाई देखि १४ जुलाईसम्म ३ दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । सो कार्यक्रमकाबीच जगदम्बा मोटर्सले टिभीएसका उक्त उत्पादनहरुको अनावरण गरेको हो । सो अवसरमा कम्पनीले सहभागीहरुलाई अभिप्रेरक तालिम प्रदान गर्नुका साथै कम्पनीका आगामी योजना तथा व्यावसायीक गतिविधीका बारेमा अवगत गराएको थियो । छुट्टाछुट्टै उत्पादित ५ उत्पादनको छुट्टाछुट्टै विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘नयाँ टिभीएस वेगो’ कम्बी ब्रेकयुक्त र ‘टिभीएस एक्सएल–१००’ सिसी इञ्जिनयुक्त प्रतिलिटर ६९ किलोमिटर गुड्ने छ । त्यस्तै, ‘टिभीएस–डजमा’ मोबाइल चार्जको सुविधाका साथै ट्युबलेस टायरसहितको ड्यूरा लाइफ इञ्जिन जडान गरिएको छ । कम्पनीले कम खर्चमा आरामदायी यात्रा गर्न ‘टिभीएस भिक्टर’ र ‘टिभीएस किङ’ बजारमा ल्याएको छ । ६० वाटको हेडल्याम्प भएको टिभीएस भिक्टरको मुख्य विशेषता भनेको यसमा शक्तिशाली ३–भल्भ इञ्जिनका साथै ७६ किलोमिटर प्रतिलिटर माइलेजयुक्त ट्युबलेस टायरको जडान गरिएको छ । त्यस्तै, ३ पाङ्ग्रे ‘टिभीएस किङमा’ कारको जस्तो ड्यासबोर्ड भएको सेल्फ स्टार्टको सुबिधा रहेको छ । कार्यक्रम जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालको संयोजकत्वमा एवम् कम्पनीका व्यवस्थापक औरो आशिष चौधरी, सहायक प्रबन्ध निर्देशक–सर्भिस एसपी कृष्ण कुमार तथा टिभीएस मोटर कम्पनी, भारतका सहायक प्रबन्ध निर्देशक अरुण कुमारको सहभागितामा सम्पन्न भएको थियो । टिभीएसले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी टिभीएसका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरु नेपालभर विभिन्न आकर्षक योजनाका साथमा बिक्री वितरण गर्दै आइरहेको छ ।

६ महिनासम्म किन थपिएन क्लियरिङ बैंक ?

काठमाडौं, २९ असार । नेपाल धितोपत्र बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर बोर्डले निर्देशन दिएको ६ महिना कटिसक्दा समेत अझै क्लियरिङ बैंकको संख्या थपिएको छैन् । ‘बोर्डले ढिलोमा बैशाख १ गतेभित्र कम्तिमा ३ वटा क्लियरिङ बैंकको व्यवस्था गर्न निर्देशन दिएको थियो, अहिले भने प्रक्रिया अघि बढ्यो भन्ने खबर आएको छ’, नेपाल धितो पत्र बोर्डका प्रवक्ता निरज गिरिले विकासन्युजसँग भने । उता, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिइओ देवप्रकाश गुप्ताले भने क्लियरिङ बैंक थप्ने प्रक्रिया धेरै अघि बढिसकेको बताए । ‘हामीले आफ्नो एन्युवल मेन्टिनेन्स एग्रिमेन्ट भर्खरै सम्पन्न गरेका छौं, अब क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढेको छ, छिट्टै नयाँ क्लियरिङ बैंकको संख्या थपिन्छ’, सिडिएसका सिइओ गुप्ताले भने । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । दैनिक हुने करिब दुुई अर्बको सेयर कारोबारको चेक राफसाफ प्रक्रिया ढिलो भएको भन्दै बोर्डले क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो । सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले भने क्लियरिङ बैंकको संख्या बढाउन ढिलाई गर्नु नेप्से र सिडिएसको गैर जिम्मेवारीपन भएको बताए । लगानी कर्ताको हितका पक्षमा आफ्नो निर्णय कार्यान्वयन गराउन नसक्ने धितोपत्र बोर्ड पनि लाचार बनेको आरोप समेत भट्टराईले लगाए ।

उपत्यकाको घर सर्भेक्षण गर्न ४ सय ७० इन्जिनियरलाई तालिम

काठमाडौं, २९ असार । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका उपत्यकाको घर सर्भेक्षणका लागि ४ सय ७० इन्जिनियरलाई तालिम दिएको छ । प्राधिकरणले आजदेखि काठमाडौं, भक्तपुर र ललितपुरका घरहरुको सर्भेक्षणका लागि इन्जिनियरलाई तालिम दिन सुरु गरेको छ । पुनर्निमाण प्राधिकरणका अनुसार दुई सय इन्जिनियरले ललितपुरमा र बाँकीले काठमाडौंमा तालिम लिएका छन् । सोही प्रयोजनका लागि यस अघि ७० जना इन्जिनियरले तालिम लिइसकेका छन् । तालिम लिएको केही समयपछि नै उनीहरु फिल्डमा खटिने प्राधिकरणले जनाएको छ ।

६६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, लुम्बिनीको बोनस सेयर सूचिकृत

काठमाडौं, २९ असार । बुधबार मात्र करिव ६६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । मेघा बैंकको ६१ लाख ५६ हजार ९७३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब मेघा बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । त्यसैगरै मेट्रो डेभलपमेन्ट बैंकको ४ लाख ४२ हजार ७१५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस बैंकको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ ।  यसैबीच लुम्बिनी बैंकको ३० लाख कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचिकृत भएको छ ।

६२ हजार चालकले स्मार्ट कार्ड मागे, यातायात व्यवस्था विभागले दिन सकेन

काठमाडौं, २९ असार । यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन । चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती कार्यालयले जनाएको छ । ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र लिनका लागि मोटरसाइकल रु ७००, कार जिपलाई रु एक हजार र ठूला सवारीका लागि रु दुई हजार शुल्क तोकिएको कार्यालय प्रमुख चेतप्रसाद उप्रेतीले जानकारी दिए । “६२ हजारले राजस्व तिरेर ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिन प्रतीक्षा गरेपनि ४९ हजार मात्र छापिएर आएको छ, मागअनुसार ‘स्मार्ट कार्ड’ नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्था छ, अहिलेसम्म ४२ हजारलाई वितरण गरेका छौँ”–उनले भने । ‘स्मार्ट कार्ड’ छपाइको काम विभागको केन्द्रीय कार्यालय मीनभवनमा भइरहेको छ । तीनवटा यन्त्रबाट ‘स्मार्ट कार्ड’ छाप्ने काम भइरहे पनि माग पूर्ति हुन नसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ ‘स्मार्ट कार्ड’ नेपालका लागि नयाँ प्रविधि भएकाले मागअनुसार छापेर वितरण गर्न नसकिएको स्वीकारेका छन् । “विभागले २०७२ मङ्सिर २० गतेदेखि ‘स्मार्ट कार्ड’ को दरखास्त लिन सुरु ग¥यो, एक हप्तापछि छाप्न सुरु गरेको हो”–उनले भने । भारतको मद्रास ठेकेदार कम्पनीले रु १५ करोडको लागतमा ‘स्मार्ट कार्ड’ छाप्ने तीनवटा लेजर इन्ग्रेडिङ मेसिन, हार्डवेयर सामग्री र एक लाख ६० हजार ‘स्मार्ट कार्ड’ छाप्ने कागज ल्याएको थियो । हाल यातायातको बागमती कार्यालयबाट मात्र ‘स्मार्ट कार्ड’ वितरण भइरहेको छ । पाँच वर्षभित्रमा हस्तलिखितलगायत अन्य प्रकृतिका चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तन गर्ने विभागको योजना छ । अहिले नयाँ निवेदन दिने, प्रतिलिपि लिने र नवीकरण गर्नेलाई ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र मात्र दिइएको यातायात व्यवस्था कार्यालय बागमतीले जनाएको छ । रासस

माओवादी केन्द्रका मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ, २९ असार । वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा )माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाका हुन । माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

नियम विपरित काम गर्ने ४९ वटा सहकारी संस्था खारेजीमा

कलैया, २९ असार । डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत ०७२/७३ मा ७५५ वटा सहकारी संस्था रहेकामा ४९ वटा संस्था खारेजीमा परेका छन् । कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन ०४८ परिच्छेद १० को दफा ४१, उपदफा ३ बमोजिम उक्त सहकारी संस्था खारेजी गरिएको जानकारी दिए । बारा जिल्ला हालसम्म कृषि ४१५, बचत तथा ऋण २२१, साना किसान कृषि १६, पशुपालन १६, मत्स्य १५, दुग्ध १३, विषयगत पाँच, उपभोक्ता तीन, सञ्चार दुई र तरकारी तथा फलफूल एक सहकारी सञ्चालनमा छन् । रासस

सगरमाथा इन्स्योरेन्सको २३ प्रतिशत बोनस सेयर पास

काठमाडौं, २९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २३ दशमलब ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि एक दशमलब २५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको १९औँ वार्षिक साधारणसभाले पारित गरेको हो । अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको सभाले अधिकृत पुँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै, सभाले जारी पुँजी ४० करोड रुपैयाँलाई बढाएर एक अर्ब रुपैयाँ कायम गर्ने बैंकको प्रस्तावलाई पारित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म १० करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएकोे छ । हाल ३५ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर पश्चात् ४४ करोड ११ लाख रुपैयाँ पुँजी कायम गर्ने बैंकले बताएको छ ।