प्रचण्डलाई प्रधानमन्त्री बनाउने काँग्रेस निर्णय
काठमाडौं, २९ असार । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । काँग्रेसले माओवादी केन्द्रसँग गरिएको सात बुँदे सहमति अनुमोदन समेत गरेको छ । यसैबिच तीन बजेसम्म प्रधानमन्त्री ओलीले राजीनामा नगरेर संयुक्त अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । त्यस बाहेक सत्ता साँझेदारीका बारेमा समेत भद्र सहमति भएको बैठकमा नेताहरुले बताएका थिए । ९ महिना प्रचण्डले सरकारको नेतृत्व गरेर स्थानिय निर्वाचन गर्ने र त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवाले केन्द्र र प्रदेशको निर्वाचन गराउने सहमति भएको बैठकमा नेताहरुले जानकारी दिएका थिए ।
३७ नेपाली इराक पुर्याउने छन्त्याल पक्राउ, ६६ लाख ठगेको आरोप
काठमाडौँ, २८ असार । वेरोजगारी युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गर्ने वाग्लुङ्ग देवीस्थान–६ घर भई दाङ्ग तुलसीपुर–५ बस्ने ३५ बर्षीय होम बहादुर छन्त्याललाई प्रहरीले पक्राउ गरेको छ । छन्त्यालले युवाहरुबाट लाखौ रुपैयाँ उठाई रहेको सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले छन्त्याललाई खोजिरहेको थियो । उनी कहिले थाईल्याण्ड, कहिले दुवई बस्ने गरेको बुझिएको र निजले ठुलो संजाल बनाई ठगी गरी रहेको तथा इराकमा ३७ जना व्यक्ति पठाएकोमा ३४ जना फर्किएको खुल्न आएपछि उनको खोजी तिब्र परिएको थियो । छन्त्याल विरुद्ध पीडितहरू नवलपरासी घर हुने जयश्वर घिमिरे, अशोक बुर्जा, दाङ्ग घर हुने सुदिप नेपाली, रविन परियार, केशव परियार, डम्बर बहादुर बुढाथोकी, सल्यान घर भएका खर्कविर घर्ती, दाङ्ग शान्तीनगर घर भएका टिकराम घर्तिमगर, रोल्पा होजा घर भएका तारासिंह बुढा र रोल्पा जुगार घर भएका शिवराज पुनमगरले अपराध महाशाखामा आफुहरूलाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी प्रतिव्यक्ति ४ लाखदेखि ६ लाख ५० हजार रुपैयाँसम्म लिई थाईल्याण्डमा पु¥याई आफु भागी फरार रहेकोले कारवाहीको लागि निवेदन दिएका थिए । प्रहरीले छन्त्याललाई आइतबार काठमाडौँ महानगरपालिका सुन्धाराबाट पक्राउ गरेको हो । निजको विरुद्धमा हालसम्म ६६ लाख १५ हजार विगोको उजुरीहरू प्राप्त भै सकेको छ । निजले पठाएको ६ जना व्यक्तिहरू हाल दुवईमा अलपत्र परिरहेकोले उद्धार गर्न पहल गरिएको साथै इराकमा पठाएकाहरू मध्ये काम नपाई फर्किएका ३४ जनालाई सम्पर्कमा ल्याउन पहल भइरहेको छ । उनलाई ठगी मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाहीको सोमबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
ओलीले आजै राजिनामा नदिए काँग्रेसले अविश्वासको प्रस्ताव राख्ने
काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आज (बुधवारभरी) को समय दिएको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको भन्दै काँग्रेसले तत्काल राजीनामा दिन भनेको हो । प्रधानमन्त्रीले आजै राजीनामा नदिए आज बेलुकी वा भोलि नै अविश्वासको प्रस्ताब राखेर सरकार हटाउने तयारी काँग्रेसले गरेको छ । बुधवार विहान बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रधानमन्त्रीले आजै राजीनामा दिनुभयो भने राम्रै भयो, होइन भने आज बेलुकासम्म वा भोलि विहानै अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने पार्टीको निर्णय छ,’ नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले भने । उनले अवको सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने पनि जानकारी दिए । ‘माओवादी र काँग्रेसविच सहमति भएको छ, अवको सरकारको नेतृत्व प्रचण्डले गर्ने भन्ने सहमति कार्यान्वयन गर्ने निर्णय बैठकले गरेकोले यसमा दुविधा नै छैन,’ उनले भने ।
ओलीले राजीनामा नदिए बजेट पास नहुने, अविश्वासको प्रस्ताव पेश हुने
काठमाडौं, २८ असार । मंगलवार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब दिएको छ । प्रधानमन्त्रीले पदवाट राजीनामा नदिए बजेट पारित हुन नदिने र सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । बुधवार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । केन्द्रले मंगलवार सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि बजेट पारित गर्न सहयोग गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिएका थिए । संसदको बुधवारको बैठकमा आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधयेक र ऋण तथा जमानत विधयेक पारित गर्ने कार्यसुची छ । विनियोजन विधयेक यसअघि नै पारित भइसकेको छ । यी सवै विधयेक पारित भएपछि एकमुष्ठ रुपमा बजेट पारित गर्ने कार्यसुची संसदको छ । केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ । केन्द्रले समर्थन फिर्ता लिएपछिको रणनीति तय गर्न र पछिल्लो राजनीतिक घटनाक्रम विश्लेषण गर्न मंगलवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा सामना गर्ने निर्णय गरेको थियो । संसदमा विचाराधिन बजेट नेकपा माओवादी केन्द्र समेत सरकारमा सहभागी भएको सरकारले ल्याएको बजेट हो । नेपाली काँग्रेसले यो बजेट पारित गर्न सहयोग नगर्ने यसअघि नै प्रष्ट पारिसकेको छ । केन्द्रले सहयोग नगरेमा बजेट पारित हुन सक्ने छैन ।
“बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड ग्लोबल आइएमई बैंकलाई
काठमाडौं, २९ असार । ग्लोबल आइएमई बैंकले “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड पाएको छ । लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले हरेक वर्ष एउटा देशका उत्कृष्ट बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ । प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” ले ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । “सबैका लागि बैंक” भन्ने उद्धेश्यका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकका हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् भने बैंकले ६ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले इण्डिया र अष्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दे आईरहेको छ ।
बैंक अफ काठमाण्डू लुम्बिनीले भोलिदेखि कारोबार गर्ने, वाणिज्य बैंकको संख्या २८
काठमाडौं, २९ असार । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले भोलि असार ३० गतेदेखि बैंकिङ करोबार गर्ने भएको छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको यो बैंकले एकिकृत कारोबार गर्न लागेका हुन् । यो मर्जसँगै वाणिज्य बैंकहरुको संख्या २८ मा झरेको छ । मर्जपछि बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको सेयर पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ भएको छ । संचित कोष २ अर्ब ८४ करोड रुपैयाँ भएको छ । मर्जको क्रममा स्वाप रेसियो निर्धारण गरेपछि सेयर पुँजी र संचित कोष रकममा केही घटबढ हुनसक्छ । यस बैंकको निक्षेप करिव ६४ अर्ब रुपैयाँ हुनेछ भने कर्जा तथा लगानी पनि करिव ६४ अर्ब रुपैयाँ हुनेछ । मर्जपछि बैंकको शाखा ७४ वटा हुनेछन् । वित्तीय रुपमा दुबै बैंक स्वस्थ रहेकोले मर्जपछि यो बैंकले राम्रो सिनर्जी प्राप्त गर्ने विश्वास गरिएको छ । मर्ज प्रक्रिया पुरा भएपछि लुम्बिनी बैंकमा प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले राजीनामा दिएका छन् भने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत बैंक अफ काठमाण्डूका अजय श्रेष्ठ हुने भएका छन् ।
सफ्टवेयर खरिद प्रकरणमा धितोपत्र बोर्ड र नेप्सेबीच मतभेद
काठमाडौं, २९ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुँजी बजारलाई थप प्रबिधी मैत्री, सुरक्षित र लगानी कर्ता मैत्री बनाउन भन्दै नयाँ सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको छ । तर यो प्रक्रियाले नेपाल धितोपत्र बोर्ड र नेप्सेबीच मतभेद बढेको छ । जबकी दुई संस्था मुलतः सरकारी निकाय हुन् । यतिसम्मकी यो मतभेदका कारण नेप्सेलाई सफट्वेयर उपलब्ध गराउने भारतीय कम्पनीको नेपाली पार्टनर कम्पनी अदालतसम्म पुगेको थियो । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्टवेयर खरिद गर्ने सम्झौत गरेको थियो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितोपत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्टवेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ अदालत गएको थियो । पूर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेपाल धितोपत्र बोर्डले सफ्ट वेयर खरिद गर्न नदिने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो । वाइसओ प्रालीको दावी नपुगेको भन्दै अदालतले कुनै आदेश जारी गर्नु पर्ने निर्णय गरेको थियो । के हो मतभेदको जड ? भारतको बैंगलोरमा केन्द्रिय कार्यालय रहेको इनफिनिट कम्प्युटर सोलुसन्सले हालसम्म सेयर कारोबार सम्बन्धी कुनै सफ्टवेयर निर्माण गरेको छैन् । सो कम्पनीसँग पहिलो पटक यस्तो सफट् वेयर किन्न लागिएको भन्दै बोर्डले नेप्सेलाई सचेत गराएको हो । भारत वा अन्य कुनै पनि मुलुकका स्टक एक्सचेञ्जहरुले हालसम्म प्रयोग नगरेको सफ्ट वेयर नेपालले पहिलो पटक किन प्रयोग गर्ने ? भन्ने प्रश्न बोर्डको छ । बोर्डले १६ खर्ब भन्दा ठुलो बजारलाई नयाँ सफ्ट वेयरले जोखिममा पार्न सक्ने भन्दै अनुभव प्राप्त कम्पनीसँग त्यस्तो सफ्ट वेयर खरिद गर्नु पर्ने अडान छ । भारतको बम्बई स्टकले जर्मनीको सफ्ट वेयर प्रयोग गरेको उदारहण पेश गर्दै बोर्डले नेपालले चाँही भारतीय कम्पनीको सफ्ट वेयर किन खरिद गर्ने भन्ने प्रश्न गरेको हो । ‘बम्बई स्टकले जर्मनीको सफ्ट वेयर प्रयोग गरेको छ, उसले किन इनफिनिटको सफ्ट वेयर प्रयोग गरेन ? संसारभरकै स्टक एक्सचेञ्जहरुले विश्व प्रशिद्ध र अनुभव प्राप्त कम्पनीका सफ्ट वेयर प्रयोग गरिरहेका छन, हामीले चाँही किन नयाँ कम्पनी रोज्यौं ?’ बोर्डका एक निर्देशकले भने । तर नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने कम लागतमा गुणस्तरीय सफ्ट वेयर खरिद गर्न लागेको बताउँदै आएका छन् । कति पर्छ लागत ? नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता गरिएको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ । नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’ अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।
इन्टरनेशनल डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, एनसीसी बैंकमा मर्ज हुने प्रस्ताव पास
काठमाडौं, २९ असार । इन्टरनेशनल डेभलपमेन्ट बैंकको विषेश साधारणसभा मंगलबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभाले एनसीसी बैंकसँग मर्जमा जाने सञ्चालक समितिको विशेष प्रस्ताव सर्बसहमतिमा पारित गरेको छ । डीडीए रिपोर्टका आधारमा एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १०० हुँदा इन्टरनेशनल डेभलपमेन्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँ स्वाप रेसियो मानेर मर्जमा जाने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ । सो आधारमा इन्टरनेशनल डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर हुनेले मर्जपछि एनसीसी बैंकको ७३ कित्ता सेयर पाउने इन्टरनेशनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले जानकारी दिए । एनसीसी बैंकमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, कुमारी बैंक, इन्फ्राष्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम बैंक मर्ज हुने प्रक्रिया चलिरहेको छ ।