ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा सञ्चालन गर्ने, बुधबार राष्ट्रपति समक्ष शपथ लिने
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिने भएका छन् । ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष बुधबार बिहान ११:१५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्नेछन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले चैत १२ गते सङ्घीय संसद भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
६० हजार ७०० जनाले अवलोकन गरे फ्लोरा एक्स्पो, १ करोड २२ लाखको कारोबार
काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो १ करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । ४ दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि मेला सुरु भएको थियो । कुल ६० हजार ७०० जनाले मेला अवलोकन गरेका थिए । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २ स्टल रहेका थिए । पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ । गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए ।
सूर्यविनायक-धुलिखेल सडक : ३ वर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग ६ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिम साता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । ८ किलोमिटर दूरीको साँगा-धुलिखेल सडक विस्तारका लागि वि.सं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते म्याद सकिएको थियो । सो कामका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सडक आयोजनाले जनाएको छ । कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार समग्रमा ६५ प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । दोस्रो खण्डअन्तर्गत सूर्यविनायक-साँगामा भने ५५ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको यस सडकखण्डको पलुबजार क्षेत्रमा गत मङ्सिर तेस्रो साता स्तरोन्नति सुरु गरिएको थियो । आयोजनाका अनुसार सूर्यविनायक-साँगा खण्डमा केही स्थानमा सडक तथा अन्य संरचना भत्काउने काम भइरहेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी-बुडोल, साँगा-भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ । सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण भइरहेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती तथा भिर भएकाले काम गर्न केही अप्ठ्यारो भएको छ । यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अञ्जु परियारले बताइन् । उनका अनुसार अन्य २ पुलमा डिजाइनको प्रारम्भिक चरणमा स्थानीय तथा जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेकाले डिजाइन ढिला भएको हो । हाल ती समस्या समाधान भइसकेकोले डिजाइन भइसकेको छ । अब चाँडै पुल निर्माणको तयारी भइरहेको उनको भनाइ छ । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा सवारी चाप बढेको हो । यही राजमार्गमा हाल कोटेश्वरबाट लामा-छोटा दुरीका सवारी मात्रै दैनिक २ हजार ५ सयभन्दा बढी छुट्ने गरेका छन् ।
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटो प्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवर्द्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ । सो विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ । विश्वमा रहेका नेपाली मूलका नेपालीहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ । आइतबार अध्यागमन विभागले सो निर्णय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै सो संस्थाले विज्ञप्तिमार्फत् गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवाद ज्ञापन गरेको हो । एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले आफूहरू सम्मानित भएको महसुस गरेका छन् । यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ ।’
राजीनामा अस्वीकृत भएसँगै सभापतिका रूपमा सक्रिय हुनेछन् गगन
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तन उपयुक्त नदेखिएको निष्कर्ष निकाल्दै थापालाई नै निरन्तर जिम्मेवारीमा राख्ने निर्णय गरेको हो । निर्वाचन परिणामको नैतिक जिम्मेवारी वहन गर्दै थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पत्र बुझाएका थिए । त्यसपछि उक्त विषय केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गरी विस्तृत छलफल भएको थियो । उनको राजीनामाबारे कांग्रेसको केन्द्रीय समिति बैठकमा शुक्रबार र आइतबार सदस्यहरुले आआफ्नो राय राखेका थिए । अधिकांश सदस्यले राजीनामा अस्विकृत गर्नुपर्ने धारणा राखेपछि बैठकले राजीनामा स्वीकृत गर्न अस्विकृत गरेको हो । आइतबार बसेको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा अस्वीकार गरिएको जानकारी दिए । उनका अनुसार बैठकले निर्वाचनमा आएको हारलाई केवल नेतृत्वको कमजोरीका रूपमा नभई संरचनागत सीमितता र पार्टीको नियन्त्रणभन्दा बाहिर रहेका परिस्थितिसँग जोडेर हेरेको छ । प्रवक्ता चालिसेका अनुसार अहिलेको जटिल राष्ट्रिय परिवेशमा थापाको नेतृत्व अझै आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको हो । राजीनामा स्वीकृत गरिए पार्टीभित्र अनावश्यक अस्थिरता उत्पन्न हुने, अन्योल बढ्ने र कार्यकर्ताको मनोबल कमजोर बन्न सक्ने आकलन गर्दै केन्द्रीय कार्यसमितिले त्यसलाई अस्वीकार गरेको उनले बताए । उनले सभापतिको राजीनामालाई बाध्यकारी भन्दा पनि नैतिक तथा स्वेच्छिक कदमका रूपमा व्याख्या गर्दै त्यसप्रति सम्मान व्यक्त गरिएको, तर पार्टीको समग्र हितलाई ध्यानमा राखेर स्वीकृत नगरिएको स्पष्ट पारे । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको नेतृत्वमा आएका थिए । तर, फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसकी ३८ सिटमा सीमित भएको थियो । त्यसपछिको समीक्षा क्रममा सभापति थापाले हारको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । अब पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ व्यवस्थित ढंगले अघि बढाउन वर्तमान नेतृत्वकै निरन्तरता आवश्यक रहेको निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता चालिसेले जानकारी दिए । अब १५औं नियमित महाधिवेशनको नेतृत्व थापाले नै गर्नेछन् । पार्टीले उनको राजीनामा अस्विकृत गरेसँगै अब उनी सभापति कायम नै भएका छन् । बैठकले विभिन्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको बताएको छ । निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको र राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको, राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले बताएको छ । यस्तै, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले, विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले र केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले राजीनामा अस्विकृत गरिएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच यी १२ विषयमा भयो संवाद
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटका क्रममा लामिछानेले कार्की नेतृत्वको सरकारले देशलाई शान्तिपूर्ण राजनीतिक निकासतर्फ अघि बढाएको भन्दै बधाई तथा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई उनले ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै त्यसले मुलुकलाई स्थिर र सुरक्षित अवतरणतर्फ डो¥याएको बताएका छन् । छोटो समय र सीमित संयन्त्रका बीच पनि निष्पक्ष, शान्तिपूर्ण र गुणस्तरीय निर्वाचन सम्पन्न हुनु कार्कीको दृढता र स्पष्ट अडानको परिणाम भएको उनको भनाइ थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार लामिछानेले भेटका क्रममा कार्कीको योगदानलाई मुलुकले दीर्घकालसम्म स्मरण गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि उनको मार्गदर्शन र अभिभावकीय भूमिका आवश्यक रहने धारणा राखेका थिए । उनले देश र भावी सरकारका लागि प्रधानमन्त्रीको अनुभव अझै उपयोगी रहने विश्वाससमेत व्यक्त गरे । जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि शुभकामना दिँदै जनतामा निराशा फैलिन नदिने गरी जिम्मेवार ढंगले काम गर्न सुझाव दिइन् । उनले अहिले देशका नागरिकले विशेषगरी युवाप्रति धेरै आशा राखेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले चुनौतीहरू धेरै भए पनि धैर्य, इमानदारी र प्रतिबद्धताका साथ अघि बढे अपेक्षित परिणाम हासिल गर्न सकिने उल्लेख गरिन् । आलोचना र विरोधको सामना काममार्फत गर्नुपर्ने उनको सुझाव थियो । भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, सरकारको भूमिकालगायत विषयमा पनि कुराकानी भएको जनाइएको छ। लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो वा पार्टीको कुनै असहमति नरहेको स्पष्ट पार्दै सरकारले आफ्नो कार्यकालको अन्तिम दिनसम्म पूर्ण अधिकारका साथ काम गर्न पाउनुपर्ने धारणा राखे । उनले ऐतिहासिक जिम्मेवारी पूरा गरेको सरकारप्रति सम्मान व्यक्त गर्दै यसका सकारात्मक कदमलाई साथ दिने र निर्णयलाई स्वीकार गर्ने बताए । नयाँ सरकार गठन नहुँदासम्म उपलब्ध समय र अधिकार प्रयोग गरी आवश्यक काम अघि बढाउन पनि उनले सुझाव दिएका छन् ।
गाडी भाडा र जोर–बिजोर प्रणालीबारे विभागले मन्त्रालयमा पठायो प्रतिवेदन
काठमाडौं । नेपालमा भएको इन्धन अभावकाबीच त्यसको विकल्पको विषयमा छलफल भइरहेको छ । मध्यपूर्वमा बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उत्तारचढाव आएसँगै नेपालमा पनि सवारी भाडा बढ्ने र इन्धनमा कोटा वा जोर-बिजोर प्रणाली लागु हुने चर्चा बढ्न थालेको हो । यद्यपि, सम्बन्धित सरकारी निकायका उच्च अधिकारीहरूले भने तत्कालै भाडा नबढ्ने र जोर–बिजोर प्रणाली अहिले नै लागु गर्ने कुनै योजना नरहेको बताएका छन् । केही देशहरूमा सरकारी तथा ठूला निजी संसस्थाहरुलाई आलोपालो काम गराउने तथा अतिआवश्यक नभएका कर्मचारीलाई घरबाट काम गर्न भनिएको छ । तर, नेपालमा भने तत्काल यस्तो अवस्था नरहेको सरकारी अधिकारीहरुको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बजारमा भाडा बढ्ने हल्ला चले पनि तत्काल त्यस्तो सम्भावना नरहेको बताएका छन् । ‘मन्त्रालयले अहिले नै भाडा बढाउने कुनै अनुमति दिएको छैन,’ शर्माले भने, ‘मध्यपूर्वको तनावले केही अन्योल सिर्जना गरे पनि तत्काल निर्णय भइसकेको छैन । ’ यस्तै, यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईले विभागले भाडा समायोजनका विषयमा एउटा प्रतिवेदन मन्त्रालयमा पठाएको जानकारी दिए । उनका अनुसार विभागले आफ्नो तर्फबाट प्रतिवेदन बुझाइसकेको र अबको निर्णय मन्त्रालय स्तरको छलफलपछि मात्रै हुने धारणा राखे । ‘हामीले प्रतिवेदन पठाएका छौं, मन्त्रालयले के गर्छ, त्यो निर्णय आएपछि मात्र थाहा हुन्छ,’ राईले भने । इन्धन संकट हुनसक्ने भन्दै सवारी साधनमा जोर–विजोर प्रणाली लागु हुने चर्चाका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र भुसालले यो विषय क्याबिनेटमा समेत चर्चा भएको बताए । ‘यदि युद्ध लम्बिएर स्थिति असामान्य भएमा मात्र यस्ता विकल्पमा जान सकिन्छ, तर अहिले नै केही भन्न मिल्ने अवस्था छैन,’ भुसाल भने । आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि जोर–विजोर प्रणालीलाई तत्कालको योजना नभई एउटा विकल्प मात्र भएको स्पष्ट पारे । अन्य मुलुकहरूको अभ्यासलाई हेरेर नेपालमा पनि संकट परेको खण्डमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा मात्र यसको चर्चा भएको उनको तर्क छ । निगमका प्रवक्ता ठाकुरका अनुसार नेपालमा इन्धनको आपूर्ति र खपत अहिले पूर्णतः सामान्य छ । भारतबाट हुने आयातमा कुनै अवरोध नभएको र माग अनुसारकै इन्धन भित्रिरहेको उनले जानकारी दिए । ठाकुरका अनुसार नेपालभरको दैनिक पेट्रोल २ हजार देखि २५ सय किलो लिटर खपत भइरहेको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै करिब ८०० किलो लिटर पेट्रोल खपत भइरहेको छ । यस्तै, डिजेल ४ हजार ५०० देखि ५ हजार किलो लिटर खपत भइरहेको उनले विकासन्युजसँग बताए । काठमाडौं उपत्यकामा करिब ७५० देखि ८०० किलो लिटर खपत भइरहेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईलगायत उच्च नेतृत्वको हत्या गरेपछि खाडी क्षेत्र युद्धको रणमैदान बन्न पुगेको छ । फेब्रुअरी २८ देखि सुरु भएको आक्रमण र प्रत्याक्रमणको शृंखला बढ्दै जाँदा विश्वको तेल र ग्यास ढुवानीका लागिमहत्वपूर्ण मानिने मार्ग ‘स्ट्रेट अफ हर्मुज’ सम्म पुगेको छ । आफूमाथि आक्रमण भएपछि इरानले यो जलमार्ग हुँदै चल्ने पानीजहाजमाथि हमला गर्दा अहिले आपूर्ति प्रभावित मात्रै भएको छैन्, ठप्प नै बनेको छ । यसको असर नेपाली उपभोक्तालाई पनि परेको छ । जबकी सरकारले उपभोक्तालाई आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइसकेको छ । इन्धन आपूर्ति घटेसँगै उच्च खपत हुने होटल क्षेत्र, सवारीसाधन, उद्योगलगायत क्षेत्रमा अभाव हुन थालेको छ । सरकारी अधिकारीहरूले सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र आपूर्ति व्यवस्था सहज रहेकाले अनावश्यक सञ्चय नगर्न समेत आग्रह गरेका छन् । वैश्विक परिस्थितिलाई नियालिरहेको सरकारले संकट आएको खण्डमा मात्रै वैकल्पिक कदम चाल्ने संकेत दिएको छ । तर, यो तनाव अझै जारी रहने देखिएको छ ।
नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल एफजेड एस एसआई आधिकारिक रूपमा सार्वजनिक गरेको छ । सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल एफजेडको हाइब्रिडको रूपमा आएको हो । यसमा यामाहाले प्रमाणित १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको छ । यो नेक्स्ट-जेनेरेशन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्ने यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले जनाएको छ । साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्टमार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्टस्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ । विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्ने जनाइएको छ । स्मार्ट ब्याट्री-असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६० प्लस किमी प्रति लिटरभन्दा बढीको माइलेज दिने कम्पनीको दावी छ । नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ । १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर-टु-वेट अनुपात प्रदान गर्छ । यसमा सिंगल-च्यानल बोश एबीएस, २२० एम एम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ । हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ, जसले यसलाई साधारण मोटरसाइकलभन्दा फरक बनाउँछ । यसमा अलग-अलग हाई र लो बीम भएको एलईडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडशिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ । यामाहाको देशव्यापी नेटवर्कले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाएको छ । नेपालभर रहेका १०० डिलरशिप, ९५ पूर्ण सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायकमार्फत कम्पनीले भरपर्दो आफ्टर सेल्स सर्भिस, असली स्पेयर पार्ट्सको सहज उपलब्धता र सहज स्वामित्व अनुभव प्रदान गर्दै आइरहेको छ ।