कच्चा पदार्थ महँगिँदा कुलायनले बढायो चुलोको मूल्य
काठमाडौं । कुलायन होम एप्लायन्स इण्डस्ट्रिज प्रालिले इन्डक्सन चुलो (विद्युतीय चुलो) को मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय मुद्राको उतारचढावका कारण कच्चा पदार्थ खरिदमा लागत बढेपछि खुद्रा मूल्य समायोजन गर्नुपरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभावले उत्पादन लागत बढेकाले मूल्य परिमार्जन गरिएको हो । उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनअनुसार उपभोक्ताको हकहितलाई ध्यानमा राख्दै नयाँ मूल्यसूची सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार एक मुखे इन्डक्सन चुलो र एक मुखे इन्फ्रारेड चुलोको अधिकतम खुद्रा मूल्य ६ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी दुई मुखे इन्डक्सन चुलो, दुई मुखे इन्फ्रारेड चुलो तथा इन्डक्सन र इन्फ्रारेड मिश्रित (मिक्स) दुई मुखे चुलोको मूल्य १३ हजार २ सय रुपैयाँ तोकिएको छ । कम्पनीको उत्पादन केन्द्र मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार विभिन्न ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर आंशकि वा पुरै बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर र मूल्य समेत तोकि निवेदन दिनुपर्नेछ । यदि उक्त समय भित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
इन्टरनेट सेवामा अतिरिक्त शुल्क नलाग्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप आर्थिक भार नपर्ने गरी निर्णय गरेको छ । कार्यालयले इन्टरनेट सेवामा लाग्ने मर्मत-सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर (टीएससी) नलाग्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै यसमा राजश्व चुहावट भएको ठोस आधार नदेखिएको निष्कर्ष निकालेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले आइतबार उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् । यो निर्णयले उपभोक्तालाई केही राहत मिल्ने इन्टरनेट सेवा प्रदायक संस्थाहरूले बताएका छन् । यसअघि राजश्व अनुसन्धान विभागका निर्देशक सन्तोष कुमार न्यौपानेको जाहेरीका आधारमा वर्ल्डलिंक कम्युनिकेशन समेतलाई शंकित बनाउँदै राजश्व चुहावटसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको थियो । तर सरकारी वकिल कार्यालय ललितपुरका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले शंकितहरूमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए । उक्त निर्णयलाई उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले सदर गरी अन्तिम निकासका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाएका थिए । महान्यायाधिवक्ताको कार्यालयले सो निर्णयलाई अनुमोदन गर्दै मुद्दा अघि नबढाउने निष्कर्ष निकालेको हो ।
सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना
काठमाडौं । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।
आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि स्नो रिभर्सको आईपीओ बिक्री खुला
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका-१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथीभरा याङवारक गाउँपालिका-५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरिएको हो । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री खुला, ११ हजार कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री खुला गरिएको हो । साथै, बाँकी रहेको ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्तालाई सुरक्षित राखेको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
स्ट्रेट अफ हर्मुजमा नयाँ कानुनी ढाँचा, द्वन्द्व अन्त्यका लागि इरानका यी हुन् ६ सर्त
काठमाडौं । तेहरानले अमेरिका-इजरायली आक्रमणको प्रतिक्रियामा पूर्वयोजनाबद्ध, बहुचरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि ६ वटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘महिनौ पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ । इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्ध विराम हुने अपेक्षा नगरेको पनि उनले बताए । ‘धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्,’ ती अधिकारीले भने । तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र व्यक्तित्वहरू विरुद्ध कानुनी कारबाहीसहित पूरा गर्नुपर्ने ६ वटा सर्त राखेको छ । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य इरानी शहरहरूमा संयुक्त आक्रमण गर्दा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए । इरानले यसको इजरायल र मध्यपूर्वमा अमेरिकी आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलासहित प्रतिक्रिया दिएको थियो ।
२ हजार ८३ शिक्षक अवकाशमा जाँदै, ४० हजार स्थायी शिक्षकको अभिलेख डिजिटलाइज
काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ । किताबखानाले गत आर्थिक वर्षमा २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको उप-महानिर्देशक दिनेश घिमिरेले जानकारी दिए । चालु आवको अन्त्यसम्म थप ७ हजार शिक्षकको व्यक्तिगत सोहीअनुसार अभिलेख गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । किताकखानाले सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई निवृत्तिभरण, उपदान, उपचार खर्च, सञ्चित बिदाको रकम भुक्तानी, पारिवारिक निवृत्तिभरण, शैक्षिक तथा सन्तति वृत्तिलगायत सुविधाहरू उपलब्ध गराउँदै आएको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा व्यवस्था भए बमोजिम अवकाशप्राप्त शिक्षकले किताबखानाबाट पेन्सनपट्टा बनाउँछन् । कार्यरत शिक्षक ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश जाने व्यवस्था छ । सो संस्थाले वर्षमा २ पटक (माघ र वैशाख) शिक्षकको अनुमानित अनिवार्य अवकाशको सूची प्रकाशन गर्दै आएको छ । तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा स्थापना भएको विद्यालय शिक्षक किताबखाना मुलुकको शासकीयस्वरूप परिवर्तन पश्चात् हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । उप-महानिर्देशक घिमिरेका अनुसार चालु आवभित्र २ हजार ८३ शिक्षकको अवकाश हुँदैछ । यसका अलावा किताबखानाले शिक्षकको सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक, उमेर हदका कारण अनिवार्य अवकाश पाउने शिक्षकहरूको नामावली प्रकाशन, वार्षिक तलब विवरण पारित, निवृत्तिभरण कोषको सञ्चालन, सेवा अवधि गणनासम्बन्धी काम, सम्पत्ति विवरण दर्ता, शिक्षकको पदपूर्तिदेखि अवकाशसम्मका कार्य सम्पन्न गर्दै आएको छ । शिक्षा मन्त्रालयको शैक्षिक सूचना संगालो, २०८१ अनुसार आधारभूत र माध्यमिक तहमा स्थायी शिक्षक ८३ हजार ९८९, अस्थायी शिक्षक २९ हजार ६९९ र राहत शिक्षक ३९ हजार ९६२ गरी १ लाख ५६ हजार ६४० शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् ।