विकासन्युज

समृद्धि फाइनान्सको वित्तीय सचेतना अभियान, विद्यार्थी र युवा लक्षित कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा 'स्मार्ट मनी टक्स' नारासहित देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्‍यालीहरू सञ्चालन गरी सम्पन्न गरेको छ । वित्तीय व्यवस्थापनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले फाइनान्सले विभिन्न शाखामार्फत विद्यार्थी, युवा तथा समुदाय लक्षित कार्यक्रमहरू आयोजना गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत खरेन्द्रपुर शाखाले नेपाल राष्ट्र बैंक खरेन्द्रपुरद्वारा आयोजित सचेतनामूलक र्‍यालीमा सहभागिता जनाएको थियो । त्यस्तै, पुतलीसडक शाखाले नेसनल युनाइटेड स्कूलका कक्षा ७, ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको छ । पोखरा शाखाले कन्या क्याम्पसका कक्षा ११, १२ तथा स्नातक तहका १५१ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको थियो भने गैर शाखाले श्री बालगोविन्द जनता माध्यमिक विद्यालयका २५ विद्यार्थीलाई वित्तीय साक्षरता तालिम दिएको जनाएको छ । त्यसैगरी बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ । मधुबन शाखाले श्री जनता बोर्डिङ स्कूलका ३८ विद्यार्थी, जनकपुर शाखाले मोडेल मल्टिपल कलेजका कक्षा १२ का विद्यार्थी तथा औरही शाखाले द सनराइज बोर्डिङ स्कूलका ४० विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । समृद्धि फाइनान्सले वित्तीय सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थाले आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोड लगायत डिजिटल बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

एउटा मेसेजले खोल्यो श्रीमानको गोप्य संसार, दर्जनौँ बच्चाका ‘अदृश्य बुबा’ बनेका व्यक्तिको कथा

काठमाडौं । हरेक मान्छे एकनासको हुँदैन । बानी,व्यवहार, सोचविचार र जीवनशैली व्यक्तिपिच्छे फरकफरक हुन्छ । यही विविधता नै कहिलेकाहीँ जीवनसाथीबीचको सम्बन्धमा तनाव र दरार ल्याउने मुख्य कारण बन्छ । विवाहपछि एकअर्काका रुचि, बानी, मनपर्ने र नपर्ने कुराहरू तथा साना-साना विवरणहरू बुझ्नु र जान्नुलाई सधैं एउटा सफल र दिगो सम्बन्धको आधार मानिन्छ । जब दुई व्यक्तिबीच खुला संवाद र आपसी समझ हुन्छ, तब सम्बन्ध थप मजबुत बन्छ । तर आफ्नो साथीलाई राम्ररी नबुझ्दा, र अविश्वासका कारण सम्बन्धमा गहिरो चोट लाग्न सक्छ, कहिलेकाहीँ यो चोट निकै गहिरो हुन्छ । यसको एउटा चरम उदाहरण हालै बेलायतबाट सामने आएको छ । एक बेलायती महिलाले विवाहको २० वर्षपछि एउटा अकल्पनीय सत्य थाहा पाइन्, उनका पति एकजना वा दुईजना होइन, दर्जनौं बच्चाहरूका गुमनाम जैविक पिता रहेछन् ।  रिपोर्टअनुसार बेलायतमा बस्ने यो जोडीबीच सबै कुरा ठीकठाक चलिरहेको थियो । तर एउटा अज्ञात मेसेजले यो २० वर्ष पुरानो सम्बन्धमा दरार सिर्जना गरेको छ ।  महिलाले सामाजिक सञ्जालमा एउटा सन्देश प्राप्त गरिन्, जसबाट उनलाई थाहा भयो कि उनका पतिले वर्षौंदेखि उनलाई थाहा नदिई शुक्रकीट दान गर्दै आएका थिए । सुरुमा उनले सोचिन् कि यो केवल आर्थिक सहायता वा परोपकार हो, तर जब उनले गहिरो अनुसन्धान गरिन् तब बल्ल उनले आफ्नो पतिले क्लिनिकबाट सहयोग नलिई आफैले महिलाहरूलाई सम्पर्क गरेको थाहा पाइन् । रिपोर्ट अनुसार जब महिलालाई थाहा भयो कि उनका पतिले शुक्रकीट मात्र दान गरिरहेका छैनन्, बरु उनी गर्भवती हुन चाहने महिलाहरूसँग निरन्तर सम्पर्कमा थिए । उनलाई गर्भवती महिलाहरूलाई हेर्ने र सम्पूर्ण प्रक्रियाको हिस्सा बन्ने मानसिक लत थियो ।   उनी ती महिलाहरूलाई गोप्य रूपमा भेट्थे र उनीहरूको गर्भाधान प्रक्रियामा भाग लिँदा सान्त्वना पाउँथे ।  श्रीमतीका लागि भने यो घटना विश्वासघात थिएन तर मानसिक आघात थियो ।  उनी उक्त कुरा स्वीकार गर्न असमर्थ छिन् । यो विषय तबमात्र खुल्यो जब दाता समूहसँग सम्बन्धित एक महिलाले गल्तीले शुक्राणु दाताकी श्रीमतीलाई सन्देश पठाइन् ।  वास्तवमा श्रीमानले आफ्नो लागि छुट्टै डिजिटल पहिचान बनाएका थिए र ‘निःशुल्क दाता’ को रूपमा प्रसिद्ध थिए । उनले महिलाहरूसँग नजिक रहन सकून् भनेर क्लिनिक मार्फत सम्पर्क गर्नुको सट्टा सिधै सम्पर्क गर्ने छनौट गरेका थिए ।  जब श्रीमतीले उनको ल्यापटप र फोन जाँच गरिन्, उनले सयौं च्याट र तस्बिरहरू भेट्टाइन् । जसले उनको श्रीमानको दोहोरो जीवनको पर्दाफास गर्‍यो । कुनै पनि चिकित्सा पर्यवेक्षण वा कानुनी कागजात बिना यस प्रकारको ‘निजी दान’ स्वास्थ्यको लागि मात्र खतरनाक छैन । बरु यसले भावी पुस्ताका लागि समस्या सिर्जना गर्न सक्छ ।  पीडितले अब सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् र अन्य महिलाहरूलाई पनि चेतावनी दिइरहेकी छिन् कि तिनीहरू त्यस्ता ‘निःशुल्क दाताहरू’ को शिकार हुनुहुँदैन । किनभने यसको पछाडि कुनै राम्रो नियत नभएर बिरामी मानसिकता पनि हुन सक्छ ।

‘स्मार्ट मनी टक्स’ अभियानमार्फत प्रभु बैंकले बढायो वित्तीय साक्षरता

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारासहित ग्लोबल मनी वीक–२०२६ अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०८२ चैत २ गतेदेखि सुरु गरेको साताव्यापी अभियान चैत ८ गते सम्पन्न भएको हो । बैंकले सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरी अभियान सञ्चालन गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत समुदाय, महिला, विद्यार्थी तथा युवाहरूलाई आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा सुरक्षित वित्तीय कारोबारसम्बन्धी जानकारी प्रदान गरिएको थियो । बैंकले डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सचेतना फैलाएको छ । अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील व्यक्तिगत विवरण साझा नगर्न तथा डिजिटल ठगीबाट सुरक्षित रहन सम्बन्धी सूचना बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत समेत प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम विस्तार गरेको हो । अभियानअन्तर्गत बागमती प्रदेशका ४७, गण्डकीका ५२, लुम्बिनीका १६, कोशीका ३९, मधेशका २९, कर्णालीका १४ र सुदूरपश्चिमका १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान भइरहेको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।   

ग्लोबल मनी वीकमा महालक्ष्मी विकास बैंकको सक्रियता, हजारौँ युवा वित्तीय शिक्षाबाट लाभान्वित

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले चैत २ देखि चैत ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गलाई केन्द्रमा राखी विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । बैंकका देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगञ्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन र चिप्लेढुङ्गालगायत स्थानमा वित्तीय साक्षरता, र्‍याली तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । 'स्मार्ट मनी टक्स' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थी तथा युवाको सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । नेपाल राष्ट्र बैंकलगायत विभिन्न संस्थाले आयोजना गरेका वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रममा समेत बैंकले सक्रिय सहभागिता जनाएको छ । यसै अवसरमा बैंकको नेपालगञ्ज शाखाले बाँकेको युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो । बैंकले आधिकारिक सामाजिक सञ्जालमार्फत समेत वित्तीय सचेतनासम्बन्धी सामग्री र भिडियो प्रसारण गरी किशोर–किशोरी तथा युवामा वित्तीय शिक्षाप्रति जागरण ल्याउने प्रयास गरिएको जनाएको छ । 'सबल बैंक, सफल सहकार्य' भन्ने नारासहित विगत ३१ वर्षदेखि सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् । 

कामना सेवा विकास बैंक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्टबीच छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रिसोर्टमा अकोमोडेसन, फुड तथा बेभरेज सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्ध भएको प्रमाण प्रस्तुत गरेपछि ग्राहकहरूले उक्त सुविधा सहज रूपमा लिन सक्ने बैंकले जनाएको छ । बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा रिसोर्टका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकलाई लक्षित विभिन्न सहुलियत तथा साझेदारी कार्यक्रममार्फत सेवा विस्तार गर्दै आएको जनाएको छ ।   

पोखरा विमानस्थलमा ४६ करोड भ्रष्टाचार, २१ जनामाथि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको बहुचर्चित भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  पूर्वसचिव अधिकारी प्रतिनिधि सभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुख्यसचिव समेत हुन्। आयोगका अनुसार तत्कालीन सचिव अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको छ ।  साथै क्यानका वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू, चिनियाँ ठेकेदार कम्पनी चाइना सिम्याक इन्जिनियरीङ कम्पनि तथा परामर्शदाताकम्पनीका प्रतिनिधिहरूलाई पनि अभियोगमा समेटिएको छ । अख्तियारले ४६ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यी हुन् कांग्रेसले अन्तर्घात भनेका २१ निर्वाचन क्षेत्र

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय बेहोर्नुपरेको निष्कर्स निकालेको छ ।  पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणले धेरै नजिकका प्रतिस्पर्धात्मक क्षेत्रमा आन्तरिक असहयोग निर्णायक बनेको औंल्याएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सानो मतान्तरले गुमाइएका क्षेत्रमा संगठनभित्रको असन्तुष्टि, समन्वय अभाव र अन्तर्घात प्रमुख कारणका रूपमा देखिएका छन् ।  उनले ५ सय देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका अधिकांश क्षेत्रमा आन्तरिक असहयोग नै निर्णायक बनेको जानकारी दिए । बैठकमा नेताहरूले ताप्लेजुङ, ओखलढुंगा, धनुषा–१ र सिन्धुपाल्चोक–२ लगायतका क्षेत्रमा अन्तर्घातका कारण उम्मेदवारहरू पराजित भएको बताएका थिए । त्यस्तै, स्याङ्जा–२, दार्चुला र बैतडीमा पनि पार्टीभित्रकै असहयोगका कारण परिणाम प्रभावित भएको विषय केन्द्रीय सदस्यहरूले बैठकमा उठाएका थिए । डडेलधुरा, संखुवासभा, धनकुटा र भोजपुरमा समेत उम्मेदवारहरूको हारमा अन्तर्घात प्रमुख कारण रहेको उक्त क्षेत्रका केन्द्रीय सदस्यहरूले बैठकमा बताएको एक केन्दीय सदस्यले बताएका थिए । यद्यपि बैठकमा औपचारिक रूपमा ११ निर्वाचन क्षेत्रको मात्रै विस्तृत समीक्षा भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रवक्ता चालिसेले भने समग्रमा २१ निर्वाचन क्षेत्रमा अन्तर्घातका कारण पराजय भएको निष्कर्ष पार्टीले निकालेको बताएका थिए ।  उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हारिएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको हो । त्यसैगरी, ५ हजारदेखि १० हजारसम्मको मतान्तरले पराजित भएका क्षेत्रमा भने अन्तर्घातसँगै कमजोर चुनावी रणनीति र विपक्षी दलहरूले निर्माण गरेको प्रतिकूल राजनीतिक न्यारेटिभले काँग्रेसलाई असर पारेको विश्लेषण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए।

४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम गर्दै नेपाल एसबिआई बैंक

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स : बचत, मनी टक्स’ भन्ने नारासहित बैंकले चैत्र २ देखि ८ गतेसम्म सातै प्रदेशका विभिन्न ४४ स्थानमा विद्यार्थी तथा युवालाई लक्षित कार्यक्रम आयोजना गरेको हो । बैंकका अनुसार आयोजित कार्यक्रममार्फत विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना तथा आधारभूत बैंकिङ र वित्तीय अवधारणाबारे जानकारी प्रदान गरिएको थियो । उक्त कार्यक्रम कोशी प्रदेशका इटहरी, भोजपुर, विराटनगर, बिर्तामोड, इलाम, दमक र फिदिम लगायतका स्थानमा सञ्चालन गरिएको थियो भने मधेश प्रदेशका सिमरा, बर्दिबास, वीरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ र जनकपुरमा पनि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममार्फत देशभर ३ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् । बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्दै युवापुस्तालाई जिम्मेवार आर्थिक व्यवहारतर्फ अभिमुख गराउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।