विकासन्युज

नेपालगन्ज भन्सारले उठायो १२.७५ अर्ब राजस्व, ४ महिनामा ४८ प्रतिशत सङ्कलन गर्नुपर्ने

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकोमा फागुन मसान्तसम्म १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।  उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका ४ महिनामा ४८ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । नेपाल-भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलको भनाइ छ ।  नेपालगन्ज भन्सारमा चालु आवको साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकाेमा ७४.१४ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकोमा ६९.७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रुपैयाँ रहेकोमा ८७.८३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकोमा ७२.३० प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ८३.४५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ, पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ, माघमा १ अर्ब करोड ६९ लाख ४० हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.२४ प्रतिशत १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ र फागुनमा १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ लक्ष्य रहेकोमा ८८.३२ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आल २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत र फागुनमा ७३.६८ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

कोशी र लुम्बिनीमा वर्षा र हिमपात, आज दिउँसो बादल लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

छैटौँ पटकको हिमपातले किसानलाई राहत, भन्छन्- स्याउको फूल फुल्ने बेला नपरोस्

काठमाडौं । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो । शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भू-भाग सबै हिउँले ढाकिएका छन् । घरपझोङ गाउँपालिका-५ ठिनी गाउँमाथि ठूलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ-५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए ।  पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकोमा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउँछन् । हुरीबतास बिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशु चौपायाका लागि घाँस पलाउने उनको भनाइ छ । मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशु चौपायालाई असर पुर्याउने गरेको किसान थकालीले उल्लेख गरे ।  त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ ।  यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठूलो राहत पुर्याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँद यामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाए ।  ‘खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदैछ,’ उनले भने, ‘यसपटक लगातार ६ पटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस् ।’ अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूल खेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अर्गानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उनले बताए । मुस्ताङमा पर्यटकीय याममा जारी सिजनको छैटौंपटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने दाबी गरे । 

आलु प्रतिकिलो ७ देखि १० रुपैयाँमा बिक्री, साढे ६३ करोड आम्दानी गुम्ने

काठमाडौं । काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा अहिले किसान धमाधम आलु खनिरहेका छन् । खेतका गह्राभरि आलुका बोरा ठडिएका छन् । सडक छेउमा पनि आलुको चाङ लागेको देखिन्छ । तर किसान भने खुसी देखिएका छैनन् । बजार मूल्य खस्किँदो छ । खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । ‘आलुको भाउ त घटेकै छ, तर व्यापारी पनि खेतबारीमा आउँदैनन्, व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ,’ पाँचखाल नगरपालिका-६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले भने । उनका अनुसार अहिले आलु प्रतिकिलो ७ रुपैयाँदेखि १० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । आलु सस्तोमा बिक्री गर्नुपर्दा किसान आलु ‘खन्ने या नखन्ने’ अलमलमा देखिन्छन् । सापकोटा भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।’ यस वर्ष आलुको मूल्य घटेकाले लागत उठ्न हम्मेहम्मे हुने अगुवा किसान सापकोटा बताउँछन् । उनका अनुसार केही किसानले आफैँ काठमाडौँको कालीमाटी स्थित तरकारी बजार लैजाँदा आलु नबिकेकाले व्यापारीकै भाउमा छाडेर आउनुपरेको छ । यसकारण पनि किसानको लगानी जोखिममा परको छ । अन्य बालीको तुलनामा आलु खेतीमा लागत खर्च बढी हुने गर्दछ । जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब गर्दा प्रतिकिलो १८ रुपैयाँदेखि २० रुपैयाँसम्म पर्छ । विगत वर्षमा यही समयमा प्रतिकिलो २८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा आलु बिक्री हुने गरेको थियो । ‘छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकिलो १० रुपैयाँसम्ममा बेचियो, तर पैसा समयमै पाइने÷नपाइने चिन्ताकै अवस्था छ,’ स्थानीय विजय पराजुलीले भने ।  पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब ६३ करोड ७० लाख रुपैयाँको हाराहारीमा आम्दानी गुमाउने आँकलन गरिएको छ । सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, सरकारबाट बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्नसके किसानको समस्या हल हुनसक्ने स्थानीय दामोदर अधिकारीको भनाइ छ । मण्डनदेउपुर नगरमा किसान झरी, बादल, घाम नभनी धमाधम आलु खनिरहेका भेटिन्छन् । मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षीय पशुपति श्रेष्ठ भन्छन्, ‘यस वर्ष आलु गत वर्षभन्दा झण्डै दोब्बरले फलेको पाइयो, तर भाउ भने घटिरहेको छ, किसानलाई दुखै दुःख छ ।’ ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक रूपमा आलुलगायत तरकारी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । उक्त फाँटमा यस सिजनमा २ सय रोपनी जग्गामा आलु रोपिएको स्थानीय किसान नारायण श्रेष्ठले बताए । उनले करिब १२ रोपनी जमिनमा आलु रोप्न थालेको पाँच वर्ष भइसक्यो । श्रेष्ठ भन्नुहुन्छ, ‘गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, अहिले भाउ पोहोरको भन्दा तेब्बरले घट्यो ।’ यतिबेला मण्डनदेउपुरका ज्वाँनेटार, जोगिटार, माइटार, कुन्ताबेँसी तथा चाखोलाका हजारौँ रोपनी खेतबारीमा आलुखेती गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष ९ हजार १६३ हेक्टर जमिनमा वार्षिक १ लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौंको बजारमा पुर्याउँदा समेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोक बाटै थेगिएको तथ्याङ्क छ । यसमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडी बताउँछन् । 

अनुदानमा गाई पाएपछि किसान उद्यममा जोडिँदै, ५० लाख रुपैयाँ बजेट विनियोजन

काठमाडौं । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले भोजपुरका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानले गाउँमै आयआर्जन गर्न थालेका छन् । यसले वैदेशिक रोजगारी र बाह्य आयस्रोतमा निर्भरता घटाउँदै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको छ । श्यामसिलाका किसान निमदोर्ची शेर्पा यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेमध्ये एक हुन् ।  उनका अनुसार अनुदानमा प्राप्त एक माउ गाईबाट अहिले मासिक ८ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ । पहिले दूध बेच्ने चलन नै थिएन, गाई पालन पनि घरायसी प्रयोजनमै सीमित थियो । अहिले व्यावसायिक रूपमा गाई पालन गर्दा राम्रो आम्दानी हुने रहेछ भन्ने बुझाइ आएको छ । अब थप गाई पालेर व्यवसाय विस्तार गर्ने योजना छ । गाउँपालिकाले श्यामसिला, तिवारीभञ्ज्याङ र च्याङ्ग्रे गरी तीन वडामा ३९ उन्नत जातका गाई वितरण गरेको थियो । दूध उत्पादन बढेसँगै बजार व्यवस्थापनको आवश्यकता महसुस भएपछि श्यामसिलामै दुग्ध सङ्कलन तथा प्रशोधन गर्ने सानो उद्योग सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेको दूध यही उद्योगमा लगेर बिक्री गर्दै आएका छन् । यसले उनीहरूलाई सहज बजार सुनिश्चित गरेको शेर्पा बताउँछन् ।  गत आर्थिक वर्षमा ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर गाई वितरण गरेको हो । किसानलाई दीर्घकालीन रूपमा उद्यमशीलतामा जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार वितरण गरिएका गाईको नियमित अनुगमन, स्वास्थ्य परीक्षण र प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ । ‘गाई वितरण मात्रै गरेर हुँदैन । त्यसलाई दिगो बनाउन आवश्यक सहजीकरण पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले गाउँपालिकाले किसानलाई तालिम, प्राविधिक सेवा र अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ,’ उपाध्यक्ष राईले भनिन् ।  उपाध्यक्ष राईका अनुसार चालु आर्थिक वर्षमा पनि गाउँपालिका र किसानको लागत साझेदारीमा करिब ३० लाख रुपैयाँ बराबरको गाई वितरण कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाले गाई वितरणसँगै किसानलाई उन्नत जातको घाँस, घाँस उत्पादनसम्बन्धी तालिम तथा घाँस काट्ने ‘च्याप कटर’जस्ता उपकरण पनि वितरण गर्दै आएको छ । यसले पशुपालनलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुगेको छ । दूध उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित ‘दुग्ध मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । ‘गाउँपालिकाले थालेको यो अभियानले सकारात्मक परिणाम दिन थालेको छ । किसान गाउँमै बसेर आम्दानी गर्न थालेका छन् । आगामी दिनमा यसलाई अझ विस्तार गरिनेछ,’ अध्यक्ष राईले भने ।  यस्तै, पौवादुङमा-१ का वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार स्थानीयस्तरमा उत्पादन भएको दूध अहिले भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ । श्यामसिलामा मात्र २१ किसानलाई गाई वितरण गरिएको छ । उत्पादन बढेसँगै व्यापारी गाउँमै आएर दूध किन्ने गरेका छन् । यसले किसानलाई थप हौसला मिलेको छ । बजारसँगको पहुँच विस्तार हुँदै जाँदा यहाँको दुग्ध उत्पादनले व्यावसायिक रूप लिन थालेको छ । विगतका वर्षहरूमा गाउँपालिकाले उन्नत जातको भैँसी वितरण कार्यक्रम पनि सञ्चालन गरेको थियो । गाई, भैँसी वितरणसँगै उत्पादन भएको प्राङ्गारिक मलको सदुपयोग गराउने लक्ष्यले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन भइरहेका गाउँपालिकाले जनाएको छ । पशुपालन तथा कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै स्थानीय अर्थतन्त्र मजबुत बनाउन योजनाबद्ध रूपमा काम थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । ग्रामीण क्षेत्रमा आयआर्जनको स्रोत विस्तारसँगै आत्मनिर्भरता प्रवर्द्धन गर्न कृषिका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

एमाले सुधार्न सुरेन्द्र पाण्डेका तीन प्रस्ताव, ‘इतिहासको ब्याजमा होइन, भविष्यको लगानीमा ध्यान दिनुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत पाण्डेले एमाले पहिलेकै लयमा अझै शक्तिशाली भएर उदाउनका लागि इतिहासको ब्याजमा नभई भविष्यको लगानीमा ध्यान दिनुपर्ने बताएका हुन् ।  मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौं । तर, यसका लागि हामीले ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ । अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ । अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ,’ उनले भनेका छन् ।  उनका अनुसार पहिलो, विज्ञतामा आधारित राजनीति– अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ । दोस्रो, डिजिटल मेरिटोक्रेसी– व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् ।  उनले तेस्रो, संरचित पुस्तान्तरणमार्फत नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्ने सुझाव प्रस्तुत गरेका छन् । 

अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

काठमाडौं । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी  प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित जहाजहरूको सुरक्षित स्थानान्त्रण चालक दलका सदस्यहरूको स्वास्थ्य वा सुरक्षाको संरक्षण, आपतकालीन मर्मत र वातावरणीय संरक्षणका साथै विभिन्न सेवाहरूका लागि पनि अनुमति दिइएको जनाइएको छ । अनुमतिमा लेनदेनहरूमा संयुक्त राज्य अमेरिकामा इरानी मूलको कच्चा तेल र पेट्रोलियम उत्पादनहरूको आयात समावेश रहेको छ । अस्थायी तथा छोटो अवधिको  कडाइका साथ पारवहनमा  सीमित तेलमा  मात्र अनुमति दिएको  उल्लेख गर्दै नयाँ खरीद वा उत्पादनलाई अनुमति नदिने अमेरिकी स्रोतले जनाएको छ ।  वासिङ्टनले यस अघि नै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहयोगमा आपतकालीन तेल भण्डार  अतिरिक्त रूसी र भेनेजुएलाको तेलमा प्रतिबन्धहरू कम गरिसकेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध तीन हप्तासम्म चलेको छ, जसले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानीलाई गम्भीर अवरुद्ध गरेको छ । रासस 

झापामा पहिलोपटक व्यावसायिक मखना खेती सुरु हुँदै

झापा । मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेती गर्ने तयारी भएको छ । कचनकवल-४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै स्थानीय किसानले मखनाखेतीको तयारी गरेका हुन् । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार कचनकवल र छिमेकी झापा गाउँपालिकाका किसान सङ्गठित भएर पहिलो चरणमा करिब २५ बिघा जमिनमा मखनाखेती लगाउँदैछन् । अर्को वर्षदेखि १५० बिघाभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । 'यसको बजार अवस्था र उत्पादन तथा बिक्रीवितरणबारे हामीलाई पनि जानकारी छैन', उनले भने 'किसानले ठूलो योजनाका साथ खेती लगाउँदै हुनुहुन्छ, जिल्लामै यसको पहिलोपटक खेती गर्न लागिएको हो ।' 'स्थानीय विनोदकुमार गणेशसहित अगुवा किसानले बाँझो र दलदले सिमसार जमिनलाई भाडामा लिएर यसको व्यावसायिक खेती गर्ने बीउ उत्पादन गरिरहेका छन्', उपाध्यक्ष भट्टराईले भने । यसको रोपन वैशाख र जेठ महिनाभित्र गरिने उनले जानकारी दिए । परम्परागत खेतीभन्दा भिन्न हुनुका साथै विशेषगरी पानी जम्ने सिमसार क्षेत्रमा फस्टाउने मखनाका लागि कचनकवलको भूगोल निकै उपयुक्त मानिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखाका प्रमुख सङ्गम सापकोटाका अनुसार प्रशस्त पानी चाहिने यस खेतीका लागि यहाँको ओसिलो जमिन प्राकृतिक रूपमा वरदान सावित भएको छ । विगतमा छिमेकी मुलुक भारतको विहार र आसपासका क्षेत्रमा मात्र सीमित रहेको यो खेती नेपालमा व्यावसायिक रूपमा सुरु हुनुलाई कृषि क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको उनको भनाइ छ । कृषि शाखाले यस खेतीको प्राविधिक पक्ष र सम्भाव्यताको अनुगमन गर्ने तयारी गरिरहेको छ । स्वास्थ्यका दृष्टिकोणले ‘सुपरफुड’ मानिने र बजारमा उच्च माग रहेको मखनाको उत्पादनले स्थानीय किसानको आर्थिकस्तर उकास्ने मात्र नभई, कचनकवलको पर्यटन र पहिचानलाई नयाँ उचाइ दिने विश्वास लिइएको कृषि शाखा प्रमुख सापकोटाले बताए । अहिलेसम्म मखनाको बजार र प्रशोधन प्रविधिबारे स्थानीयस्तरमा पर्याप्त जानकारी नभए पनि किसानले ठूलो लगानी र योजनाका साथ सुरु गरेकाले यसको खेतीले झापामा कृषि विविधीकरणको नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे । रासस