बहुमतसहित रास्वपा सरकार गठनको अन्तिम तयारीमा, बालेन्द्र प्रधानमन्त्री बन्ने लगभग निश्चित
काठमाडौं । आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएसँगै मुलुकको राजनीतिक ध्यान सरकार गठनतर्फ केन्द्रित भएको छ । स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारी तीव्र पारेको हो । दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेकाले १३ गते सरकार गठनका लागि औपचारिक दाबी प्रस्तुत गर्ने तयारी भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । यससँगै दलभित्र संसदीय दलको नेता चयन, मन्त्रिपरिषद् गठनको ढाँचा र सरकारका प्राथमिकता निर्धारणजस्ता विषयमा आन्तरिक छलफल तीव्र बनेको उनले बताए । पार्टीभित्रको सहमतिअनुसार संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन हुने लगभग निश्चित देखिएसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेतासहितको टिम मन्त्रीहरूको नामावलीलाई अन्तिमस्वरूप दिन बैठकमा बसिरहेका छन् । बुर्लाकोटीले ११ देखि १६ सदस्यीय मन्त्रिपरिषदको तयारी रहेको जानकारी दिए । संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलका नेताले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्न पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार रास्वपाले आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बुर्लाकोटीले बताए । यसबीचमा सम्भावित मन्त्रिपरिषद् गठनबारे पनि विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । रास्वपाले स्वच्छ छवि भएका र कार्यक्षमता देखाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै नयाँ अनुहारसहितको मन्त्रिपरिषद् बनाउने दावी गर्दै आएको छ। पार्टीभित्र टेक्नोक्र्याट र युवा नेतृत्वलाई अवसर दिने विषयमा पनि छलफल भइरहेको नेताहरूले बताएका छन् । समावेशितालाई ध्यानमा राख्दै महिला, मधेशी, आदिवासी जनजाति तथा पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि एजेण्डामा रहेको महामन्त्री बुर्लाकोटीको दाबी छ ।
एकल कृषि कर्जा सुरक्षण योजनाबारे सुर्खेतमा कार्यशाला, नमुना परियोजना लागू गर्ने तयारी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चैत्र ५ गते बिहीबार वीरेन्द्रनगरस्थित होटल स्क्वायरमा आयोजित कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा छनोट भएका नौ स्थानीय तहको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने तथा आम नागरिकको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित एकल (ऋणीगत) कृषि कर्जा सुरक्षण कार्यक्रम नमुना परियोजनाका रूपमा लागू गर्ने तयारी भइरहेको जनाइएको छ । सोही परियोजनाबारे स्थानीय तहबाट पृष्ठपोषण र सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो । नमुना कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी गाउँपालिका तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका गरी चार स्थानीय तह छनोट भएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशबाट बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिका गरी चार स्थानीय तह र बाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका छनोटमा परेका छन् । कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले परियोजनासम्बन्धी विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । प्राप्त सुझावमाथि थप छलफल गरी उपयुक्त सुझाव समेट्दै योजनालाई अन्तिम रूप दिइने निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।
सुन तोलामा १२ हजार ५ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १२ हजार ५०० रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० रुपैयाँ र प्रतितोला चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ट्रम्पको धम्की : इरानसँग युद्धविराम चाहँदैनौं तर सैन्य अभियान समाप्त गरेरै छाड्छौं
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई उनी इरानसँग युद्धविराममा रुचि नराख्ने बताएका छन् । ‘हामी संवाद गर्न सक्छौं, तर मलाई युद्धविराम गर्नु छैन,’ ट्रम्पले ह्वाइट हाउसको साउथ लनबाट फ्लोरिडा प्रस्थान गर्नुअघि भने, ‘जब तपाईं शाब्दिक रूपमा अर्को पक्षलाई ध्वस्त पार्दै हुनुहुन्छ, तब युद्धविराम गर्दैनन् ।’ ‘उनीहरूसँग नौसेना छैन । वायुसेना छैन । कुनै सैन्य सामग्री छैनन्,’ ट्रम्पले थपे । शुक्रबार दिउँसो ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले दाबी गरेका छन् कि अमेरिका ‘मध्यपूर्वमा हाम्रो महान् सैन्य प्रयासलाई समाप्त गर्ने विचार गर्दै आफ्ना उद्देश्यहरू पूरा गर्ने नजिक पुगिसकेको छ ।’ विश्वको तेल व्यापारको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको जुन–जुन राष्ट्रहरूले प्रयोग गर्छन्, आवश्यकतानुसार उनीहरूले नै रक्षा र निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘यदि माग भयो भने हामी यी देशहरूलाई होर्मुजसम्बन्धी प्रयासमा सहयोग गर्नेछौं, तर इरानको खतरा निर्मूल भएपछि त्यो आवश्यक हुँदैन,’ ट्रम्पले लेखेका छन् । ट्रम्पका यी टिप्पणीहरू अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको करिब तीन सातापछि आएका हुन्, जुन अहिले एउटा व्यापक क्षेत्रीय संघर्षमा परिणत भइसकेको छ । युद्ध सुरु भएदेखि नै इरानले जलसन्धि प्रभावकारी रूपमा बन्द गरेको छ । ट्रम्पले नाटो सहयोगीहरूलाई थप समर्थनका लागि दबाब दिँदै आएका छन् । शुक्रबार पनि उनले यो जलसन्धि अमेरिकालाई खासै महत्त्व नराख्ने बताएका थिए । जलसन्धिबाट हुने अधिकांश ऊर्जा ढुवानी एसियाली बजारतर्फ जान्छ । तर डालस फेडले शुक्रबार प्रकाशित एक रिपोर्टमा बन्दका आर्थिक प्रभावहरू अमेरिकासहित विश्वभर महसुस हुने बताएको छ । ट्रम्पले शुक्रबार जलसन्धि पुनः खोल्ने कार्यलाई सरल बताउँदै अन्य देशहरूको सहयोगसमेत खोजेका थिए । उनले चीन र जापानलाई पनि यसमा संलग्न हुन आह्वान गरे । हालै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ह्वाइट हाउसमा ट्रम्पलाई भेटेकी थिइन् । ट्रम्पले यसै साता भनेका थिए कि उनी इरानमा जमिनी सेना पठाउने छैनन् । तर शुक्रबार धेरै समाचार संस्थाहरूले पेन्टागनले मध्यपूर्वमा २ हजार ५०० सम्म मरिन सैनिक पठाउँदै गरेको रिपोर्ट गरेका थिए । गत एक सातामा यस्तो दोस्रो तैनाथी हो । इरान–इजरायल युद्धलाई लिएर अमेरिका र इजरायलबीचको सहकार्यमा दरार ! खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
दाउन्ने सडक जेठ दोस्रो साता पूर्ण रुपमा सञ्चालनमा आउने, ८० प्रतिशत काम सकियो
काठमाडौं । पूर्व-पश्चिम राजमार्गको मुटु मानिने दाउन्ने-नारायणगढ-बुटवल सडकखण्डको ८० प्रतिशत काम सम्पन्न भएको छ । नारायणगढ बुटवल सडकखण्डका अनुसार अब दाउन्ने खण्डमा मात्र ३.२ किलोमिटर सडकको रि-पेभमेन्ट (कालोपत्रे गर्ने तयारी) काम बाँकी छ । आयोजनाका अनुसार ९ वटा ठूला पुल र १९ वटा साना पुलहरूको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ । जेठ महिनाको दोस्रो हप्तासम्ममा यो काम पनि सम्पन्न हुने र त्यसपछि दाउन्नेको यात्रा पूर्ण रूपमा सहज र सुरक्षित हुने आयोजनाको भनाइ छ । कुल ८.३ अर्ब रुपैयाँको लगानीमा सञ्चालित यो गौरवको आयोजनामा हालसम्म करिब ६ अर्ब रुपैयाँ (७६ प्रतिशत) खर्च भइसकेको छ । सडकको कालोपत्रेसँगै ट्राफिक सेफ्टी र रोड मार्किङका कामहरूलाई पनि समानान्तर रूपमा अगाडि बढाइएको छ । सडकखण्डमा यतिबेला यात्रीहरूले सास्ती खेपिरहेका छन् । विगत तीन दिनदेखिको वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा यातायात सञ्चालनमा केही कठिनाइ देखिएको छ । गत शुक्रबार देखिको झरीले दाउन्ने बजार क्षेत्रको सडकलाई हिलो र चिप्लो बनाएपछि सवारी साधनहरू ढिलो गुड्न बाध्य भएको नारायणगढ बुटवल सडक आयोजनाले जनाएको छ । विशेष गरी मालवाहक ट्रकहरूलाई उकालो काट्न कठिन भएपछि अहिले उक्त क्षेत्रमा वान-वे (एकतर्फी) ट्राफिक सञ्चालन गरिएको निर्माण आयोजनाका सूचना अधिकारी विकास खनालले बताए । साना सवारी साधनहरूलाई प्राथमिकताका साथ पास गराइए पनि ठूला गाडीहरूलाई ट्राफिकको अवस्था हेरेर मात्र पालैपालो छोड्ने गरिएको उनको भनाइ छ । खनालका अनुसार हिलो पन्छाउने र ड्राई ग्राभेल हाल्ने काम तीव्र पारिएको छ । ‘मौसमले साथ दिएमा आज साँझसम्म सडकलाई थप सहज बनाउने हाम्रो लक्ष्य छ,’ खनालले भने । यस्तै, हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काको भनाइ छ । ‘पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन, हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ,’ उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुन सकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।’ वर्षातको समयमा साना गाडी र अत्यावश्यक सवारीलाई समस्या नहोस् भन्नका लागि निर्माण कम्पनी र ट्राफिक प्रहरीको टोलीले समन्वय गरिरहेका छन् । निर्माण कार्य सम्पन्न हुन अब केही हप्ता मात्र बाँकी रहेकाले यात्रीहरूलाई धैर्य गर्न र ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।
४ प्रतिशत लाभांश बाँड्ने चन्द्रागिरीको घोषणा
काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रूपले सेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत ४ गते बसेको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने निर्णयसमेत गरेको छ । लाभांश तथा आईपीओसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते साँझ ५ बजे ललितपुरस्थित दाउरा थकालीमा वार्षिक साधारण सभा बोलाएको छ । सभाले आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षक सरु एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची पनि रहेको छ । यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।
कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो । बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए । अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताए । खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन् । बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात्रु तथा व्यापारीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ । गर्मीको समयमा अझ बढी आवश्यक पर्ने खानेपानी अब सहज रूपमा उपलब्ध भएपछि सर्वसाधारण खुसी भएका छन् । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले यसअघि पनि बजार क्षेत्रमा सरसफाइ, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ । रासस
ताप्लेजुङको डाँडाकाँडा सेताम्मे, पर्यटकको सङ्ख्या बढ्यो
फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको हो । वर्षासँगै सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेग सेताम्मे बनेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा, फले तथा वडा नं ७ को ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ । त्यस्तै, मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के–जलजले क्षेत्र तथा सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ । हिमपातसँगै जिल्लाका हिमाली बस्तीमा चिसो पनि अत्यधिक बढेको छ । विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साजस्ता बस्तीमा चिसो बढेको स्थानीय फुटी शेर्पाले जानकारी दिए ।