सभापति थापाको राजीनामाबारे कांग्रेसले आज निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन कुमार थापाको राजीनामाबारे आइतबार (आज) औपचारिक निर्णय गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा जारी बैठकले आज राजीनामा स्वीकृत गर्ने वा नगर्ने बारे औपचारिक निर्णय गर्ने भएको हो । गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा र गगनको राजीनामाबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । सभापति थापाले पार्टीले प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नु परेको क्षतिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।
२७ वर्षीय चिकित्सक, घरघरमा चिकित्सा सेवा
काठमाडौं । उपचारका लागि बारम्बार धाइरहनु पर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा. चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ । अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख डा चेवनराज कार्कीले बताए । घरै बसेर स्वास्थ्यलाभ गरिरहेका क्यान्सरका बिरामीका लागि होम केयरले प्रदान गर्ने उपचार सेवा वरदान सावित हुने गरेको छ । जुनसुकै समयमा खबर आउनासाथ होम केयरको चिकित्सा टोली आवश्यक उपकरण र औषधिसहित बिरामीको घरमै पुग्ने गरेको उनले बताए । होम केयरको चिकित्सा टोलीमा अनुभवी चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट र कर्मचारी प्रत्यक्ष रूपमा जोडिएका छन् । जिल्लाको विभिन्न सहरका स्थानीय अनुभवी नर्स र हेल्थ असिस्टेन्टहरू होम केयरको नेटवर्कमा जोडिएको हँुदा जुनसुकै बेला र अवस्थामा जहाँ पनि उपचार पुर्याउन सहज भएको उनले जानकारी दिए । टोलीले एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायतका सेवा घरमै उपकरण पुर्याएर दिने गरेको छ भने रगत, पिसाब, दिसालगायत जाँच ‘सेम्पल’ लिएर प्रयोगशालामा जाँच गरी घरमै रिपोर्ट उपलब्ध गराउँदै आएको छ । ‘यो एकप्रकारको घरमै अस्पताल पुर्याउने प्रयास हो’, डा कार्की भन्छन्, ‘शल्यक्रियापछि लामो समय अस्पताल बसेर घर फर्किएका बिरामीलाई सानो विषयमा पनि पटकपटक अस्पताल धाइरहनुपर्ने झन्झट नहोस् भनेर हामीले घरमै अस्पतालको सेवा पुर्याएका हौं ।’ रोजगरीका क्रममा छोराछोरी टाढा रहेको परिवारका वृद्धावस्थाका बुबाआमा बिरामी पर्दा एम्बुलेन्स खोजेर अस्पताल पुर्याउने र कुरुवा बस्ने आफन्त तत्काल पाउन पनि कठिनाइ पर्न सक्छ । यस्तो अवस्थामा होम केयरको सेवा झनै प्रभावकारी हुने गोमेन्द्र महाविद्यालयका अध्यापक आशीष शर्मा बताउँछन् । ‘विदेशतिर होम केयर सेवा प्रचलित नै हुन्छ, तर हाम्रो ठाउँमा नयाँ हो’, उनी भन्छन्, ‘हाम्रो परिवारले पनि जीवन रक्षा होम केयरको सेवा लिएको छ । डा कार्कीको टिमको सेवाभाव प्रशंसनीय लाग्यो ।’ होम केयरको चिकित्सा टोलीले भेन्टिलेटरसहितको एम्बुलेन्समा जटिल बिरामीलाई काठमाडौं, विराटनगर, धरान र सिलीगुढीका सुविधासम्पन्न अस्पतालमा सुरक्षित पुर्याउने सेवासमेत प्रदान गर्दै आएको छ भने जिल्लाकै कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको हेरचाह गरिदिने कुरुवा सेवा दिँदै आएको छ । होम केयर सेवालाई व्यापार गर्ने थलो नबनाउने र सामाजिक सेवाको माध्यम बनाउने संस्थापक डा. कार्कीको भनाइ छ । घरमै सेवा पुर्याएबापत होम केयरले लिने सेवा शुल्क महँगो छैन । सामान्य ड्रेसिङका लागि रु ३०० देखि ३५० र डाक्टर भिजिटको न्यूनतम शुल्क लिएर होम केयरले अहोरात्र जुनसुकै देहाती बस्तीमा स्वास्थ्य सेवालाई सर्वसुलभ पुर्याइरहेको छ । वृद्धाश्रमहरूमा ‘बेसलाइन रेट’मा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेर विर्तामोडका विभिन्न वृद्धाश्रमहरूमा होम केयरले प्रस्ताव पठाएको जनाएको छ । बिर्तामोडबाट सुरु भएको ‘जीवन रक्षा होम केयर’को सेवालाई विराटनगरमा पुर्याइसकेको र धरानमा चाँडै पुर्याउने लक्ष्य रहेको डा कार्कीले सुनाए । होम केयर सेवा दिने कोशी प्रदेशकै पहिलो संस्था ‘जीवन रक्षा होम केयर’ले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा पुर्याइरहेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रमसमेत यसले गर्दै आएको छ । पूर्वाञ्चल युनिभिर्सिटीमा एमबीए अध्ययनरत डा. कार्की व्यवस्थापकीय रूपमा पनि स्वास्थ्य क्षेत्रलाई नयाँ प्रविधिमार्फत सुधार्ने प्रयास गरिरहेको बताउँछन् । मोबाइल एपमार्फत ‘टेलिमेडिसिन’ सेवा दिने र कारागार तथा सुधारगृहमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको उनले बताए । ‘जीवन रक्षा होम केयर’को स्थापना गरेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट र नयाँ सेवा प्रदान गरेको कारण डा कार्कीले हालै वर्ष उत्कृष्ट व्यक्तिका रूपमा ‘पौरखी जेनजी सम्मान’ प्राप्त गरेका छन् । उनी भन्छन्, ‘अहिलेसम्मका काममा सबैको हौसला प्राप्त भइरहेको छ । भविष्यमा हामी अझ धेरै राम्रा योजनाका साथ समाजको सेवा आउनेछौं ।’ रासस
कोशी एक्सिलेन्स अवार्डबाट प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई सम्मानित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधामा सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दासम्म उनले पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो । प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दरिलो उपस्थिति कायम गर्न सफल भएको बताइएको छ । शनिबार आयोजित विशेष समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत उनलाई इन्स्योरेन्स विधाको पुरस्कार प्रदान गरेका हुन् । कोशी प्रदेशमा जन्मिएर देश तथा विदेशमा विभिन्न पेशा–व्यवसायमार्फत उत्कृष्ट उपलब्धि हासिल गर्दै प्रदेशको प्रतिष्ठा बढाउने व्यक्तित्वहरूलाई हरेक वर्ष विभिन्न विधामा ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै आइएको आयोजकले जनाएको छ ।
नेपाललाई वेवास्ता गर्दै भारत र चीनले लिपुलेक मार्ग हुँदै व्यापार गर्दै
काठमाडौं । भारतले लिपुलेक हुँदै भारत–चीन व्यापार गर्ने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको विरोधका बीच पनि भारत र चीनले व्यापार मार्ग खुलाउने सहमति गरेका हुन् । भारतले यो व्यापार मार्ग जुन १ देखि सुरु गर्ने घोषणा गरेको हो । यो मार्ग पाँच वर्षदेखि बन्द थियो । व्यापार बन्द हुँदा धेरै व्यापारीले ठूलो क्षति बेहोर्नु परेको गुनासो गर्दै आइरहेका थिए । भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार पुनः सुरु हुन लागेको हो । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यसअघि नेपाली भूमि लिपुलेक हुँदै जाने व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो । नेपालले लिपुलेक लिम्पियाधुरासहितको नक्सा पनि पारित गरेर सार्वजनिक गरेको थियो । त्यो नक्सालाई भारतले स्वीकार गरिसकेको छैन ।
राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८३ सालका लागि बैंक बिदाको सूची, कुन-कुन दिन बिदा हुनेछ ?
काठमाडौं । नेपाल राष्ट्र बैंक ले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदासहित बैंकिङ कारोबार समयसम्बन्धी जानकारी सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार वैशाख १ गते नयाँ वर्षका अवसरमा बैंक बिदा रहनेछ । त्यसैगरी वैशाख १८ गते बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्राका अवसरमा बिदा दिइनेछ । गाईजात्रा भने काठमाडौं उपत्यका र नेवार समुदायका लागि मात्र लागू हुनेछ । यस्तै, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते हरितालिका (तीज) व्रतका अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवसका अवसरमा देशभर बैंक बिदा रहनेछ । असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) का दिन पनि बिदा रहनेछ । असोज २५ गते घटस्थापनादेखि सुरु हुने बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन रहनेछ । त्यसैगरी तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन हुनेछ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (अपाङ्गता भएका कर्मचारीका लागि मात्र), पुस ९ गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि तथा ज्यापु दिवसका अवसरमा बिदा दिइनेछ । पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार र दुरा समुदायको पर्व, तथा पुस २८ गते पृथ्वी जयन्तीका अवसरमा पनि बैंक बिदा रहनेछ त्यसैगरी माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका अवसरमा पनि बैंक बिदा रहनेछ । राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ । प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ । साथै, नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस तथा मौद्रिक व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू सीमित कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ ।
सानिगाड हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ करोड ५० लाख रुपैयाँको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका-१, २ र ४ का स्थानीयलाई १८ लाख ५२ हजार ५ सय कित्ता र आयोजना प्रभावित क्षेत्र बुंगलनगरपालिका-३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयलाई ९ लाख ९७ हजार ५ सय कित्ता सेयर बिक्री गरिएकाे हाे । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय बुंगल, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
ऊर्जा सङ्कटबीच बङ्गलादेश २ अर्ब डलर ऋण लिँदै
काठमाडौं । मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिको बीचमा ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बङ्गलादेशले बहुपक्षीय निकायहरूबाट करिब २ अर्ब डलर ऋण सुरक्षित गर्न जोड दिइरहेको छ। सरकारले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाइसकेको छ, यसका लागि अधिकांश मल कारखानाहरूमा तत्कालका लागि उत्पादन अस्थायी रूपमा रोक्ने बताएको छ। प्रधानमन्त्रीका वित्त तथा योजना सल्लाहकार रशेद अल तितुमिरले दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले अब त्रिकोणिय दृष्टिकोण अपनाएको बताए । ‘यसको एक भाग ऋण सुरक्षित गर्नु हो,’ टितुमिरले एएफपीसँग भने । ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले १.३ अर्ब डलर र एसियाली विकास बैङ्क (एडिबी)ले ५० करोड डलर बजेट सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ,’ अल तितुमिरले भने । सरकारले विश्व बैङ्कसँग पनि सम्पर्क गर्न सक्छ । ‘हामी विदेशी मुद्रा भण्डारलाई अक्षुण्ण राख्न चाहन्छौं, हामीसँग ऋण लिनु बाहेक सीमित विकल्पहरू छन्,’ उनले भने । सरकारले उत्तर अमेरिका, दक्षिण अमेरिका वा अफ्रिकाबाट ऊर्जा प्राप्त गर्ने विकल्पको खोजी गरिरहेको छ । ‘हामी वैकल्पिक ऊर्जा स्रोतहरूको लागि सबै उपलब्ध विकल्पहरूको खोजी गर्दैछौँ,’ अल तितुमिरले भने । आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्ने बङ्गलादेशले विश्वव्यापी वृद्धिका बाबजुद बिजुली र इन्धनको मूल्य बढाएको छैन । अधिकांश कच्चा इन्धन साउँदी अरब र संयुक्त अरब इमिरेट्सबाट आयात गरिन्छ भने करिब ३५ प्रतिशत ग्यास आपूर्ति मध्यपूर्वबाट पनि हुन्छ । कतारको रास लाफान एलएनजी हबमा भएको ग्यास उत्पादनस्थलमा भएको आक्रमणले ग्यास आपूर्तिमा अवरोध पुर्याउन सक्छ, किनकि बङ्गलादेशको इन्धन सुविधामा कताररको निर्भरता छ । मध्यपूर्व युद्ध सुरु भएदेखि अधिकारीहरूले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाएका छन् । यसमा इन्धन खरिदमा सीमा तोक्ने, धेरै जसो मल कारखानाहरूमा उत्पादन रोक्ने, ‘फिलिङ स्टेशन’हरूमा गस्ती गर्न पुलिस तैनाथ गर्ने, र एलएनजी ढुवानीहरू सुरक्षित आपूर्तिका लागि नौसेना प्रयोग गर्ने समावेश छ ।
याम्बालिङ्ग हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम स्थानीयले ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २१ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।