अब विदेश पुगेपछि पनि नेपाली नम्बर सक्रिय, नेपाल टेलिकमको सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोगकर्ताले अब विश्वका ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका छन् । कम्पनीले ती देशका ८९ वटा दूरसञ्चार सेवा प्रदायकसँग सम्झौता गरेसँगै सेवा विस्तार गरिएको जनाएको छ । नेपाल टेलिकमका अनुसार चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता भएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकसँग पनि रोमिङ सेवा विस्तारका लागि सहकार्य गरिएको छ । यसअघि नै अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लिच्टेन्सटाइन, लक्जेम्बर्ग लगायत विभिन्न देशमा रोमिङ सेवा उपलब्ध रहेको थियो । अहिले मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, फिलिपिन्स, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम लगायत देशमा समेत सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ । रोमिङ सेवा अन्तर्गत भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीलाई लक्षित गर्दै उपलब्ध गराएका सेवामध्ये रोमिङ सेवा निकै उपयोगी रहेको जनाएको छ । आगामी दिनमा थप देशमा पनि सेवा विस्तार गरिने कम्पनीको योजना छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ । भारतमा भने मोबाइलबाट *१४१५# डायल गरी मेनुमा गएर ‘रोमिङ’ विकल्प छनोट गर्नुपर्ने हुन्छ । पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सञ्चालनका लागि मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्ने नेपाल टेलिकमले जनाएको छ । नेपालमै रहँदा *१४१५# डायल गरेर रोमिङ सेवा सक्रिय गर्न सकिनेछ । विदेश पुगेपछि सेवा सक्रिय नगरेको अवस्थामा इमेलमार्फत अनुरोध गरेर पनि सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि नेपाल टेलिकमको वेबसाइटबाट फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा पासपोर्टको प्रतिलिपिसहित इमेल गर्नुपर्ने हुन्छ । प्राप्त अनुरोधलाई कम्पनीको रोमिङ सपोर्ट टोलीले प्रमाणीकरण गरेपछि सेवा सक्रिय गरिने जनाइएको छ । रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ । भारत बाहेक अन्य देशमा नेटवर्क स्वतः कनेक्ट हुने व्यवस्था भए पनि भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने हुन्छ । अन्य देशमा स्वतः कनेक्ट नभए मोबाइलको नेटवर्क सेटिङमा गएर आफूले सेवा प्रदायक छनोट गर्न सकिने कम्पनीले जनाएको छ । रोमिङ सेवासम्बन्धी थप जानकारी वा गुनासोका लागि नेपाल टेलिकमको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।
स्नातकोत्तर तहमा छात्रवृत्तिमा पढ्ने अवसर, पोखरा विश्वविद्यालयले माग्यो आवेदन
काठमाडौं । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तगर्तका आंगिक स्कुल तथा सम्बन्धन प्राप्त कलेजहरूको स्तानोकोत्तर तहका ‘मार्च इन्टेक २०२६’ कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन मागेको हो । विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार पोखरा विश्वविद्यालय छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ अनुसार योग्य उम्मेदवार छनोट गरिनेछ । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले प्रवेश परीक्षाका लागि अनलाइनमार्फत दरखास्त फाराम भर्न सक्नेछन् । विश्वविद्यालयले मास्टर अफ कम्प्युटर इन्जिनियरिङ कार्यक्रम तर्फ ६ जना, मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स तर्फ तीन जना, मास्टर अफ साइन्स इन स्ट्रक्चरल इन्जिनियरिङ तर्फ चार जना, मास्टर अफ साइन्स इन कन्ट्रक्सन म्यानेजमेन्ट तर्फ १५ जना, मास्टर अफ साइन्स इन ट्रान्सपोटेशन इन्जिनियरिङ तर्फ ९ जना, मास्टर अफ साइन्स इन इन्भारोमेन्टल साइन्स इन एण्ड म्यानेजमेन्ट तर्फ तीन र मास्टर अफ साइन्स इन्टरडिसीप्लायनरी वाटर रिसोर्स म्यानेजमेन्ट तर्फ तीन जना गरी ४३ जना विद्यार्थीले छात्रवृति पाउने छन् । विद्यार्थीहरूले अनलाइनमार्फत बिहीबार अर्थात् चैत्र ५ गतेदेखि २०८३ वैशाख ७ गते बेलुका १२ बजेसम्म आवेदन दिन सक्ने छन् । छात्रवृत्ति छनोटका लागि प्रवेश परीक्षा भने वैशाख १३ गते आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने परीक्षा पोखरा महानगरपालिका ३० ढुङ्गेपाटनस्थित स्कुल अफ इन्जिनियरिङ्ग तथा ललितपुर महानगरपालिका ९ च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ । छात्रवृत्ति सम्बन्धी कार्यक्रम, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट र छात्रवृत्ति शाखाको पोर्टलमा उपलब्ध छ भने थप जानकारीका लागि विज्ञान तथा प्रविधि संकायको फोन नम्बर फोन गरेर पनि बुझ न सकिने जनाइएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई दियो प्रमाणपत्र
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।
फोर्थिङद्वारा ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ घोषणा, ७ लाख रुपैयाँसम्मको सुविधा पाइने
काठमाडौं । प्रिमियम विद्युतीय गाडी ब्रान्ड फोर्थिङको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) मा चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त फेस्ट २० मार्चदेखि २२ मार्च २०२६ सम्म चल्नेछ । सीमित अवधिका लागि आयोजना गरिएको एक्सचेन्ज फेस्टमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ फोर्थिङ फ्राइडे विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । यस कार्यक्रमले दिगो र प्रिमियम मोबिलिटीको भविष्यतर्फ ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको बताइएको छ । फेस्टअन्तर्गत ग्राहकहरूले कुल ७ लाख रुपैयाँसम्म बचत गर्न सक्ने विभिन्न सुविधा उपलब्ध हुनेछन् । जसमा हाल प्रयोगमा रहेको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कनसहित एक्सचेन्ज बोनस, नयाँ फोर्थिङ फ्राइडे खरिदमा नगद छुट, एक वर्षको अटो प्लस बीमा, एक वर्षको सडक कर तथा नि:शुल्क स्पेयर टायर र एसी चार्जर समावेश छन् । कम्पनीका अनुसार ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ केवल प्रवर्द्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटी अपनाउन दिइएको विशेष अवसर हो । ७ लाख रुपैयाँसम्मको बचतसहितको सुविधा प्याकेजमार्फत विद्युतीय सवारीतर्फ रूपान्तरणलाई अझ सहज बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । फोर्थिङ चीनको सरकारी अटो निर्माता डोङफेङ मोटर ग्रुप अन्तर्गतको डोङफेङ लिउझोउ मोटर कम्पनी लिमिटेडको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गत रहेको लक्ष्मी ई–मोबिलिटी प्रा.लि. नेपालमा फोर्थिङ फ्राइडे विद्युतीय गाडीको आधिकारिक विक्रेता हो ।
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरूको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ । निर्वाचन पछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ । रक्तदानका कार्यक्रमहरू न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो । शाखाले यहाँ सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरूमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरू आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरूको उपचार रगतका कारण रोकिन थालेको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ । यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पुर्याउन कठिन भएको उनले बताए । क्यान्सरका बिरामीहरूलाई धेरै रगतको आवश्यक पर्दछ । यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ । रक्तदानका कार्यक्रमहरू नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए ।
भारतमा सुन धितोमा ऋणको बाढी, बजार ५ ट्रिलियन डलर बराबर
काठमाडौं । भारतीय घरपरिवारसँग ठूलो मात्रामा सुन सञ्चित छ । गत वर्ष अक्टोबरमा मोर्गन स्ट्यान्लीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनीहरूसँग ३४ हजार टनभन्दा बढी सुन छ र कोटाक महिन्द्रा बैंकले यसको मूल्य करिब ५ ट्रिलियन डलर आँकलन गरेको छ । यही विशाल सञ्चिति अहिले भारतमा सबैभन्दा छिटो बढिरहेको ऋण क्षेत्रमध्ये एकलाई अघि बढाइरहेको छ । अन्य उपभोक्ता ऋणहरू सुस्ताउँदा सुन धितो ऋण तीव्र रूपमा बढेको छ । यसको पछाडि असुरक्षित ऋणमा कडाइ गरिएको बैंकिङ नियम, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि, पहुँचमा सुधार र सम्भवतः घरपरिवारमा बढ्दो आर्थिक दबाबजस्ता कारण छन् । श्रीपद जाधवका अनुसार भारतीय घरपरिवारको करिब ९० प्रतिशत सुन अझै प्रयोगविहीन अवस्थामा छ । तर अब सुन धितो ऋणले खुद्रा ऋण बजारको संरचना नै परिवर्तन गर्न थालेको छ, जसले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई पनि आकर्षित गरिरहेको छ । विश्वव्यापी निजी इक्विटी कम्पनी बेन क्यापिटलले सुन धितो ऋण क्षेत्रमा ठूलो लगानी गर्ने योजना बनाएको छ । उसले भारतको दोस्रो ठूलो सुन ऋण प्रदायक मनप्पुरम फाइनान्समा ४१.७ प्रतिशतसम्म हिस्सेदारी किन्ने तयारी गरेको छ । गत महिना रिसर्भ बैंक अफ इन्डियाले स्वीकृति दिएको यो सम्झौताले परम्परागत तर कम प्रयोग भएको सम्पत्तिमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले अवसर देखिरहेको जनाउँछ। गत डिसेम्बरमा जापानी वित्तीय दिग्गज एमयूएफजीले भारतीय गैर–बैंकिङ वित्तीय संस्था श्रीराम फाइनान्समा २० प्रतिशत हिस्सेदारी किन्ने घोषणा गरेको थियो, जसले सुन धितो ऋणलाई अझ विस्तार गर्ने योजना बनाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार एक वर्षमै सुन धितो ऋण दोब्बरभन्दा बढी बढेर जनवरीमा ४ ट्रिलियन रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १.७५ ट्रिलियन रुपैयाँ थियो । अहिले यो घर र सवारीसाधन ऋणपछि सबैभन्दा ठूलो खुद्रा ऋण खण्ड बनेको छ र सबैभन्दा छिटो बढ्ने श्रेणी पनि हो । क्यानाडाको अल्पाइन माक्रोका उदीयमान बजार रणनीतिकार यान वाङका अनुसार भारतमा सुन ऋणको वास्तविक आकार करिब १४ ट्रिलियन रुपैयाँ हुन सक्छ । उनले भने अनुसार केन्द्रीय बैंकको तथ्यांकले सबै प्रकारका ऋण समेट्दैन । म्याकक्युरीको प्रतिवेदन अनुसार गैर(बैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) ले सुन ऋणको करिब ४५–५० प्रतिशत हिस्सा ओगटेका छन्, जुन केन्द्रीय बैंकको तथ्यांकमा समावेश हुँदैन । सुनतर्फ आकर्षण किन बढ्यो ? २०२३ को अन्त्यमा केन्द्रीय बैंकले असुरक्षित ऋणमा कडाइ गरेपछि साना व्यवसायीहरूका लागि यस्तो ऋण पाउन कठिन भएको हाना लुच्निकाभा–शोर्शले बताइन् । उनका अनुसार व्यक्तिगत ऋणको वृद्धिदर ३० प्रतिशतबाट घटेर १२.२ प्रतिशतमा झरेको छ । त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेको छ । २०२४ यता सुनको मूल्य १४० प्रतिशतभन्दा बढी बढेर प्रति औंस ५००० डलर नाघेको छ र यस वर्ष धेरै रेकर्ड बनाएको छ । सुनको मूल्य बढ्दा उही परिमाणको सुनबाट बढी ऋण लिन सकिने भएकाले यो अझ आकर्षक बनेको हो । पहिले दक्षिण भारत र अर्धसहरी क्षेत्रमा बढी लोकप्रिय रहेको सुन ऋण अहिले देशभर फैलिएको छ । मध्यम वर्गदेखि उच्च आय भएका सहरका मानिसहरूले पनि तत्काल आवश्यक खर्च पूरा गर्न सुन धितो ऋण लिन थालेका छन् । यसको सबैभन्दा ठूलो फाइदा मनप्पुरम फाइनान्स र अग्रणी कम्पनी मुठोट फाइनान्सले उठाएका छन् । पछिल्लो एक वर्षमा यी कम्पनीहरूको सेयर मूल्य क्रमशः २४ प्रतिशत र ४७ प्रतिशतले बढेको छ । श्रेय शिवानीका अनुसार धेरै एनबीएफसीहरूले ग्राहकले शाखामा प्रवेश गरेको एक घण्टाभित्रै ऋण उपलब्ध गराउन सक्छन् । राम्रो गुणस्तरको सुन भएमा कम क्रेडिट स्कोर भएका व्यक्तिले पनि कम ब्याजदरमा ऋण पाउन सक्छन् । यद्यपि यसले केही चिन्ता पनि बढाएको छ । परम्परागत क्रेडिट मूल्यांकनलाई बेवास्ता गरेर तीव्र रूपमा बढिरहेको यस्तो ऋणले अर्थतन्त्रमा दबाब रहेको संकेत गर्न सक्छ । म्याकक्युरीको प्रतिवेदनले पनि मानिसहरू आर्थिक रूपमा दबाबमा परिरहेका छन् र आम्दानी खर्चसँग तालमेल गर्न नसकिरहेको अवस्थालाई यस वृद्धिको कारण मानेको छ । तर श्रिपद जाधवका अनुसार सुन ऋणको वृद्धि ‘आर्थिक परिपक्वताको संकेत’ पनि हो, किनकि मानिसहरूले आफ्नो बहुमूल्य सम्पत्तिलाई प्रयोगमा ल्याएर सजिलो, छिटो र सस्तो ऋण सुविधा उपयोग गरिरहेका छन् ।
थाइल्यान्डमा रहेका नेपाली दूतावासको पहलमा समस्यामा परेका नेपालीको उद्धार
काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूतावासले विभिन्न कारणले समस्यामा परेका तथा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ता प्रक्रियालाई तीव्र बनाएको जनाएको छ । राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न माध्यमबाट कम्बोडियालगायत क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्याम तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका नेपाली नागरिकहरूको उद्धारका लागि पहल गरिएको हो । दूतावासको सक्रियता र सम्बन्धित देशका सरकारी निकायसँगको समन्वयमा हालसम्म उल्लेख्य सङ्ख्यामा नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको जनाइएको छ । दूतावासका अनुसार समस्यामा परेका नेपाली नागरिकहरूलाई आवश्यक कन्सुलर सहयोग उपलब्ध गराउँदै स्वदेश फर्काउने प्रक्रिया सहजीकरण गरिएको छ । साथै, आवश्यक परे एकतर्फी यात्रा अनुमति (वन–वे ट्राभल परमिट) उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । विदेशमा रोजगारी वा अन्य प्रयोजनका नाममा गैरकानुनी गतिविधिमा संलग्न गराउने गिरोहप्रति सचेत रहन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । विशेषगरी कम्बोडिया, लाओस, म्यानमारलगायत क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभनमा नपर्न तथा वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक माध्यमबाट मात्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । राजदूतावासले समस्यामा परेका नेपाली नागरिक वा उनका परिवारजनलाई आवश्यक सहयोगका लागि दूतावासमा उपलब्ध सम्पर्क माध्यममार्फत सम्पर्क गर्न समेत आग्रह गरेको छ । साथै, सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना फैलाउन सञ्चारमाध्यम र समुदायलाई सहयोग गर्न अपिल गरिएको छ ।