विकासन्युज

पालुङ्गो केजीको १२० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ७५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १८०, मटरकोसा प्रतिकिलो रु ४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५५, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु १४०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु १३०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १४०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

डाँकाचोरीको मुद्दामा ११ वर्ष कैद भुक्तान, छुट्नेबित्तिकै पुन : चोरी

काठमाडौं । ललितपुरमा सुनचाँदीको गरगहना चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  मंगलबार ललितपुर महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित कृष्णप्रसाद श्रेष्ठको घरबाट सुनचाँदी चोरी गर्ने ३२ वर्षीय प्रेम लामा र ३२ वर्षीय सजन कुमार श्रेष्ठ प्रकाउ परेका हुन् ।  उपत्यका अपराध महाशाखा, प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट संयुक्त रुपमा खटिएको अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ घर भइ काठमाडाैं मनोहरा नगरपालिका ९ बस्ने लामा चोरी मुद्दामा पटक पटक गरी ११ बर्ष कैद भुक्तान गरी छुट्नेबित्तिकै पक्राउ परेका हुन् ।  दोलखा भीमेश्वर नगरपालिका २ नागदह घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ भीएस प्लानिङ बस्ने श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रभु बैंकका ५ जिल्लाका १४ शाखा मर्ज हुने, फर्निचर र उपकरण बिक्रीमा

काठमाडौं । प्रभु बैंकले विभिन्न ५ जिल्लाका १४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने भएको छ । बैंकका अनुसार चैत १३ गतेदेखि मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिका भित्र एक-अर्कासँग नजिक रहेका शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गरिनेछ । समायोजनपछि सञ्चालनमा रहने शाखाहरूबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । मोरङको गोल्छाचोक शाखा समायोजनपछि तिनपैनी शाखाबाट सेवा सञ्चालन हुनेछ । कास्कीमा अर्घौचोक शाखा तालचोक शाखामा, हरिचोक शाखा बगर शाखामा र नयाँगाउँ शाखा अमरसिंह चोक शाखामा समायोजन गरी सेवा सञ्चालन गरिनेछ । यस्तै, चितवनको बेलचोक शाखा लायन्स चोक शाखामा गाभिनेछ । ललितपुरमा पाटन शाखा मंगलबजार शाखामा र सातदोबाटो चोक शाखा सातदोबाटो शाखामा समायोजन गरिनेछ । बैंकका अनुसार काठमाडौंका बौद्ध शाखा समायोजनपछि बौद्ध १ शाखा, बागदरवार शाखा समायोजनपछि खिचापोखरी शाखा, नरेफाँट शाखा समायोजनपछि कोटेश्वर शाखा, सिनामंगल एयरपोर्ट शाखा समायोजनपछि सिनामंगल शाखा, मित्रपार्क शाखा समायोजनपछि चाबहिल शाखा, टेकु शाखा समायोजनपछि कालिमाटी शाखा र पुतलीसडक शाखा समायोजनपछि कमलादी शाखाबाट सेवा सञ्चालन हुनेछ ।  समायोजन (मर्ज) हुने शाखा कार्यालयहरूमा रहेका तथा जडान भएका फर्निचर, फिक्स्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्ट्सलगायत सम्पत्ति जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त स्थानहरूमा आफ्नो शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरूले बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

ललितपुरको ‘बाइक हस्पिटल’बाट मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । ‘बाइक हस्पिटल’बाट मोटरसाइकल चोरी गर्ने गिरोह समूहका तीन जना पक्राउ परेका छन् ।  ललितपुरको महालक्ष्मी ५ मा टिकाथलीबाट ‘बाइक हस्पिटल’ नामक मोटरसाइकल ग्यारेजबाट २३ वर्षीय विशाल महत्तो, २९ वर्षीय भीमबहादुर अधिकारी र २७ वर्षीय सञ्जीवकुमार कुसवाहालाई जिल्ला ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो । प्रहरीका अनुसार मोटरसाइक ग्यारेज खोलेर चोरीको मोटरसाइकलको इन्जिन तथा चेसिससमेतको किर्ते कागजात बनाई बिक्री गर्ने गरेका थिए ।  गिरोहलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो । केटीएम ड्युक २५० सीसीको एक, केटीएम ड्युक २२० सीसीको एक, रोयल इन्फिल्ड ३५० सीसीको एक, केटीएम एडभेन्चर २५० सीसीको १ र ब्लु बुक ३ थानसहित उनीहरू पक्राउ परेका हुन् ।

सिरहा बम विस्फोट घटनाः ल फर्ममा काम गर्ने यादव पक्राउ

काठमाडौं । सिरहामा कुकर बम विस्फोटको घटनामा संलग्न भनेर अनुसन्धानका गर्न प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले, सिरहाले जनाएको छ । जिल्ला अदालत, सिरहा अगाडिको ल फर्ममा काम गर्दै आएका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  तीन दिन अगाडि अनुसन्धानका लागि भनेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए । ‘हामीले शंकाका आधारमा एक जनालाई पक्राउ गरी केही दिनदेखि अनुसन्धान गरिरहेका छौं, उनले भने ।  गएको २७ फागुनमा बार एशोसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । विस्फोटबाट कार्यालयका कम्प्युटरलगायत सामग्रीमासमेत क्षति पुगेको थियो।

एभरेष्ट बैंकद्वारा २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंकले वि.सं. २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले प्रत्येक वर्षझैँ यस वर्ष पनि विषयवस्तुसहित क्यालेन्डर प्रकाशन गरेको जनाएको छ । यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यकालदेखि सुरु भएको तथा महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने 'नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू' लाई मुख्य विषयवस्तुका रूपमा समेटिएको बैंकले जनाएको छ । एक विशेष समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले क्यालेन्डर अनावरण गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालकहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । एभरेष्ट बैंकका हाल करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, विश्वव्यापी नेटवर्कमार्फत मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवा सञ्चालनमा रहेको बैंकले जनाएको छ । नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंकले ३३ वटा सङ्कलन केन्द्रमार्फत सेवा दिँदै आएको छ भने भारतको नयाँ दिल्लीसहित अन्य मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय सेवा विस्तार गरेको बैंकले जनाएको छ ।  

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाइएको छ ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण  थप सहज हुनेमा विश्वास व्यक्त गरे ।    बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरूको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । यस पुनित कार्यमा बैंकले पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।  उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधैँ तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे ।  मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो) को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरूलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।   ‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । सेवा वाहन (अटो) प्राप्त भएपछि यो सेवालाई सहज  बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’  उनले भने ।  नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो । घरपरिवार र आफन्तविहीन खुला आकाशमुनी वेवारिसे रुपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालन गरिएको हो । यस आश्रमले सातै वटा प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्धार गरिसकेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक भएका मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको  सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भावनाबाट  बैंकले यस किसिमका अति आवश्यकता भएका क्षेत्रमा नबिले सधैं हातेमालो गर्ने गरेको छ ।  

भारतमा तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण आउँदै

काठमाडौं । भारतले ओजेम्पिकजस्ता तौल घटाउने खोपका सस्तो जेनेरिक संस्करण बजारमा ल्याउने तयारी तीव्र पारेसँगै मोटोपनाविरुद्धको उपचार अब सीमित वर्गको विलासिताबाट बाहिर निस्केर आम सर्वसाधारणसम्म पुग्ने चरणमा प्रवेश गरेको छ । प्रमुख पेटेन्टको म्याद समाप्त भएसँगै यी औषधिको मूल्य उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ, जसले विश्वव्यापी रूपमा उपचार पहुँचमा ठूलो परिवर्तन ल्याउन सक्छ ।      मुम्बईका अस्पताल र क्लिनिकहरूमा यस परिवर्तनको प्रभाव देखिन थालिसकेको छ । एन्डोक्रिनोलोजिस्ट नदीम राइसका अनुसार हाल प्रत्येक हप्ता ५० भन्दा बढी व्यक्ति तौल घटाउने खोपका लागि परामर्श लिन आउँछन् र करिब ७०–८० जना बिरामी सक्रिय उपचारमा छन् । उनका अनुसार जेनेरिक औषधि सस्तो भएपछि यो सङ्ख्या सहजै २०० नाघ्न सक्छ । उनकी सहकर्मी सुनेरा घई पनि माग अत्यन्त उच्च रहेको तर उच्च मूल्यका कारण धेरैले उपचार सुरु गर्न नसकेको बताउँछिन् ।      ओजेम्पिक र वेगोवीजस्ता औषधिमा प्रयोग हुने सेमाग्लुटाइड नामक सक्रिय तत्त्वको पेटेन्ट भारतमा शुक्रबार समाप्त भएसँगै यो परिवर्तन सम्भव भएको हो । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि उत्पादक देशका रूपमा भारतले यस अवसरलाई तीव्र रूपमा उपयोग गर्ने तयारी गरेको छ । अनुसन्धानअनुसार सन् २०२६ को अन्त्यसम्म सेमाग्लुटाइडसम्बन्धी मुख्य पेटेन्टहरू विश्वका १० देशमा समाप्त हुनेछन्, जसले विश्वव्यापी मोटोपनाको झन्डै ४८ प्रतिशत बोझ समेट्छन् । यस सूचीमा ब्राजिल, चीन, दक्षिण अफ्रिका, टर्की र क्यानाडा जस्ता देशहरू समावेश छन् ।      भारतीय औषधि उद्योगका लागि यो नयाँ प्रतिस्पर्धात्मक दौडको सुरुआत मानिएको छ । कम्तीमा चार प्रमुख कम्पनीले जेनेरिक सेमाग्लुटाइड उत्पादनका लागि तयारी पूरा गरिसकेका छन् भने जाइडस लाइफसाइन्सेजले ‘डे–वन’ लन्चको घोषणा गर्दै यसै सप्ताहन्तदेखि बजारमा औषधि उपलब्ध गराउने सङ्केत दिएको छ । अनुसन्धान संस्था फार्मार्‍याकका अनुसार चाँडै नै भारतीय बजारमा ५० भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी कम्पनी सक्रिय हुनेछन् ।      यो विकास भारतको बदलिँदो स्वास्थ्य अवस्थासँग पनि मेल खान्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुपोषण अझै पनि ठूलो समस्या भए पनि सहरीकरण र जीवनशैली परिवर्तनसँगै मोटोपना तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कले भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा रहेको देखाएको छ । बेरियाट्रिक सर्जन सञ्जय बोरुडेका अनुसार आय वृद्धि भए पनि शारीरिक सक्रियता घट्ने प्रवृत्तिले समस्या झन् बढाएको छ ।      अहिलेसम्म एली लिली र नोभो नोर्डिस्कजस्ता बहुराष्ट्रिय कम्पनीहरूले महँगा औषधिमार्फत बजारमा प्रभुत्व जमाएका थिए । भारतमा तौल घटाउने औषधिको बिक्री पाँच वर्षमै दस गुणा बढेर सन् २०२६ सम्म १५ करोड ३० लाख डलर पुगेको छ र सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । तर प्रति महिना १५ हजारदेखि २२ हजार रुपैयाँ (भारतीय मुद्रा) सम्म पर्ने खर्चले धेरै बिरामीलाई उपचारबाट टाढा राखेको छ । मुम्बईस्थित चिकित्सक स्वाति प्रधानका अनुसार जेनेरिक औषधिको मूल्य घटेर करिब पाँच हजार रुपैयाँ प्रतिमहिना पुग्न सक्छ । यसले बिरामीहरूको पहुँच उल्लेखनीय रूपमा विस्तार गर्नेछ । यद्यपि, यस्ता औषधिहरूले वाकवाकी लाग्ने तथा पाचनसम्बन्धी समस्या जस्ता प्रतिकूल असर पनि निम्त्याउन सक्ने भएकाले चिकित्सकीय निगरानी आवश्यक हुने उनको भनाइ छ ।      यसको प्रभाव भारतमै सीमित रहने छैन । अफ्रिकासहित धेरै विकासशील देशहरूमा भारत प्रमुख जेनेरिक औषधि आपूर्तिकर्ता भएकाले सस्तो सेमाग्लुटाइड ती देशहरूका लागि जीवनरक्षक विकल्प बन्न सक्छ । विश्व मोटोपना महासंघका अध्यक्ष साइमन बार्केराले कम लागतका औषधिले विशेषगरी मध्यम आय भएका देशहरूमा उपचार पहुँच विस्तार गर्ने उल्लेख गरेका छन् ।      भारतीय कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा पनि अघि बढिरहेका छन् । डा. रेड्डीज ल्याबोरेटरीले सन् २०२६ मेसम्म क्यानाडामा आफ्नो संस्करण सार्वजनिक गर्ने लक्ष्य राखेको छ । बिरामी सुकान्त मङ्गलजस्ता व्यक्तिहरूका लागि भने यो परिवर्तन झन् महत्त्वपूर्ण छ । उनले आठ महिनामा करिब ३० पाउन्ड तौल घटाए पनि प्रति महिना २० हजार रुपैयाँ खर्च धान्न नसक्दा उपचार रोक्नुपरेको अनुभव सुनाएका छन् । उनका अनुसार औषधि सस्तो भएको भए उपचार निरन्तरता दिन धेरै सहज हुने थियो ।      यसरी भारतबाट सुरु भएको सस्तो जेनेरिक औषधिको लहरले मोटोपनाविरुद्धको विश्वव्यापी लडाइँमा नयाँ दिशा दिने संकेत देखिएको छ । रासस