युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा, आईपीओ जारी गर्ने
काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, सञ्चालक समितिले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ भने चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । साथै, आव २०८१/८२ सम्म सञ्चालक समितिले गरेको काम कारवाही अनुमोदन गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्नु परे उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले अनुदान सम्बन्धी खर्च, सञ्चालकको बैठक भत्ता तथा सुविधा पारिच गर्नेछ । कम्पनीको अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा रहेका छन् भने कम्पनी सचिव रमेश दत्त पाण्डेय रहेका छन् ।
नयाँ सरकार गठन : चैत १२ गते शपथ, १५ गते पहिलो संसद बैठक
काठमाडौं । फागुन २१ को निर्वाचनवाट निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक चैत्र दोस्रो साता गर्ने तयारीमा संसद सचिवालय लागेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदको बहुद्देश्यीय हल एक/दुई दिनमै तयार हुँदैछ । अहिले सोही हलमै प्रतिनिधि सभा सञ्चालन गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको संसदीय यात्रा अब औपचारिक रूपमा सुरु हुने तयारीमा पुगेको गिरीले जानकारी दिए । संसद सचिवालयले चैत १२ गतेभित्र नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने र चैत १५ गते पहिलो बैठक बसाल्ने गरी आन्तरिक तयारी तीव्र बनाएको गिरीले जानकारी दिए । निर्वाचन आयोगका अनुसार आयोगले चैत्र ५ गते बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । आयोगले सोही दिन संसद सचिवालयलाई निर्वाचित सदस्यहरूको नामावली उपलब्ध गराउने तयारी गरेको छ । नामावली प्राप्त भएपछि सचिवालयले सांसदहरूलाई शपथ कार्यक्रममा उपस्थित हुन सात दिने सूचना जारी गर्ने चलन रहेको गिरीले जानकारी दिए । यसबीचमा शपथ समारोहका लागि राष्ट्रपतिको समय समन्वय गर्न औपचारिक पत्राचारसमेत अघि बढाइने संसद सचिवालयले जानकारी दिएको छ । प्रवक्ता गिरीका अनुसार नयाँ सभामुख चयन नभएसम्मका लागि सबैभन्दा जेष्ठ सदस्यलाई अस्थायी रूपमा सभामुखको जिम्मेवारी दिइन्छ । राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सांसदभन्दा अगाडि शपथ गराउने व्यवस्था रहेको गिरीले जानकारी दिए । यी सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा चैत १२ लाग्यो भने १५ गतेसम्म संसदको पहिलो बैठक आयोजना गर्न सकिने प्रवक्ता गिरीले जानकारी दिए । यदि चैत १२ वा १३ गतेभित्र सरकार गठन सम्पन्न भयो भने चैत १५ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्न सक्ने गिरीले जानकारी दिए ।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राख्न नपाउने
काठमाडौं । सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राखेर यात्रा गराएमा कारवाहीमा पर्ने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार यात्रुवाहक बस र माइक्रो जस्ता सार्वजनिक यातायातले यात्रुलाई ढोकामा राखेर गन्तव्यमा पुर्याएमा कारवाहीमा पर्ने भएका हुन् । सार्वजनिक यातायाताले यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारीसाधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरूमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गराउने गराएका थिए । सार्वजनिक यातायातले यात्राका क्रममा जथाभावी गरेकाले यात्रुहरूले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेका थिए । काठमाडौं उपत्यकामा चल्ने यात्रुवाहक बस, माइक्रोजस्ता सवारीसाधनलाई सचेतसमेत गराएका छन् । केही सवारीसाधनलाई सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाहीसमेत गरिएको ट्राफिक कार्यालयले जनाएको छ । सार्वजनिक यातायातका परिचालकहरूलाई सचेतना कक्षा पनि सञ्चालन गरिएको कार्यालयले उल्लेख गरेको छ ।
बिहीबार सुनको मूल्य तोलामा ४०० र चाँदी १४० रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रुप र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० रुपैयाँ र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँ कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरु : २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले करिव ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) परियोजना अघि बढाएको हो । राजमार्गको १ सय १३ किलोमिटर चेनेजमा पर्ने यो पहिरो विगत ८–१० वर्षदेखि बग्न शुरु गरेको थियो । पहिरो निरन्तर बढ्दै जाँदा सडक पूर्णरूपमा क्षति हुनुका साथै सडकभन्दा माथि रहेका करिव २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए । गत वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए । त्यसपछि सडक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर काम अघि बढाएको हो । सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकाअनुसार यो नेपालकै सबैभन्दा ठूलो पहिरो नियन्त्रण प्रोजेक्ट हो । यसका साथै, पहिरोलाई अड्याउन ३० मिटर गहिरोसम्म ‘सोइल र रक एंकर रड’ बिछ्याएर ग्राउटिङ गरिनेछ । सडकलाई एमएसई वालमार्फत सुरक्षित गरिनेछ भने सतहमा पनि ड्रेनहरू बनाएर पानीको व्यवस्थापन गरिनेछ । उनले भने, ‘तल भोटेकोशी नदीले कटान गरेका कारण यो पहिरो ठूलो भएको हो । यसलाई रोक्न नदीको किनारमा चट्टान (रक) नभेटिएसम्म जग खनेर ३२ एमएमको रडसहित आरसीसी वाल लगाइनेछ । पहिरोभित्र जमेको पानीले माटो बगाइरहेको छ ।’ यस परियोजनाको डिजाइन नेपालमा उपलब्ध वरिष्ठ जिओटेक्निकल इन्जिनियरहरू र विज्ञहरूको परामर्शमा तयार पारिएको हो । आगामी असार मसान्तसम्ममा मुख्य काम सक्ने र वर्षायामअघि नै थप क्षति नहुने गरी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण र स्रोतसाधन कार्यस्थलमा पु¥याइसकेको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक ओमप्रकाश लम्सालकाअनुसार यो सामान्य सडकको काम जस्तो नभई निकै चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्ट हो । उनले भने, ‘हामीले डे–नाइट काम गर्ने गरी आवश्यक पर्ने १८–२० मध्ये १५ वटा भन्दा बढी हेभी इक्विपमेन्ट ल्याइसकेका छौँ । स्थानीय बासिन्दाको पूर्ण सहयोग छ र उहाँहरू काम छिटो होस् भन्ने चाहनुहुन्छ ।’ यद्यपि सम्झौता भएको एक महिना बितिसक्दा पनि मन्त्रालय र विभागको केही प्रक्रियागत ढिलाइले कामले सोचेजस्तो गति लिन नसकेको गुनासो निर्माण पक्षको छ । स्थानीयले काम छिटो सक्न दबाब दिइरहेकाले सरकारी तवरबाट कुनै अवरोध नभएमा बर्खाअघि नै मुख्य कामहरू सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिने निर्माण कम्पनीले जनाएको छ ।
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।
अमला किलोको १४० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु २३, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु २५, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १६०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ५५, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु १४०, घिरौँला प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु १३०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
मेची भन्सारले लक्ष्यको ९६.०६ प्रतिशत राजस्व उठायो, ८ महिनामा साढे ११ अर्ब रुपैयाँ
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ८ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११०.२६ प्रतिशत हो । चालु आवको ८ महिनामा भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख रुपैयाँ, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार रुपैयाँ, निर्यात सेवा शुल्क शीर्षकमा ६ लाख २९ हजार रुपैयाँ, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार रुपैयाँ, पूर्वाधार कर शीर्षकमा १ अर्ब २२ करोड १२ लाख ८० हजार रुपैयाँ, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा ४ अर्ब २० करोड १८ लाख ८७ हजार रुपैयाँ र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले चालु आव २०८२/८३ का लागि कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।