विदेशमा रहेका नेपालीले बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपाललाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यूनाइटेड अजोडले चैत २६ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् । चुनावी परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ । निर्वाचन परिणामपछि नै राजीनामाको तयारीमा रहेका थापालाई पार्टीभित्रका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव तथा दबाब दिएका थिए । थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ । बैठक शुक्रबारका लागि बोलाइएको छ ।
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताएकी छिन् । उक्त चलचित्रको सार्वजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताइन् । अभिनेत्री खड्काले भनिन्, ‘लालीबजार चलचित्रमा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै काम गर्न पाएकी छु । यो विषयवस्तु मेरो लागि पनि नयाँ र फरक थियो । एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाका बारेमा बिस्तारै खुल्दै गएपछि दर्शकले बुझ्नुहुन्छ । मैले हालसम्म गरेको कामभन्दा भिन्न छ ।’ उनले चलचित्रमा यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छिन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, नवअभिनेता विशाल देवकोटाले अभिनय गरेका छन् । चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । उक्त चलचित्रलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरिएको हो ।
८१ करोडको कारोबार, ८० लाख सरकारलाई कर
दीपक चन्द काठमाडौं । झापाको मेचीनगर-१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शि सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गरेका छन् । वि.सं २०५० तिर उनका बुबा घनश्याम चिमोरियाले गाउँघरमा सङ्कलन भएको दूध साइकलबाट भारतको सिलिगुडी बजार पुर्याउने काम गर्थे । त्यसबेला नेपालमा दूधको बजार सीमित थियो, जसका कारण उत्पादन भएको दूध भारतीय बजारमा बेच्नुपर्ने बाध्यता थियो । केही वर्षपछि योगेन्द्रका दाजु पनि यस व्यवसायमा जोडिए । विस्तारै गाउँका अन्य व्यक्तिहरूलाई समेत जोड्दै दूध सङ्कलनको दायरा बढ्दै गयो । त्यसबेला दैनिक करिब १ हजार ५०० लिटर दूध साइकलबाटै सिलिगुडी पुर्याइन्थ्यो, जुन आफैँमा चुनौतीपूर्ण काम भएको चिमोरियाको भनाइ छ । ‘समयसँगै दूधको माग बढ्दै गयो र सङ्कलन पनि विस्तार हुँदै गयो । त्यसपछि पिकअप भ्यान खरिद गरेर दूध ढुवानी गर्न थाल्यौँ । भारतीय दूतावासको अनुमति लिएर २०६० सालदेखि व्यवस्थित रूपमा ढुवानी सुरु गरियो । त्यसपछि व्यवसायलाई थप गति दिन सफल भएका हौँ,’ उनले भने । चिमोरियाले वि.सं २०६१ तिर सिलिगुडीस्थित हिमुल डेरीमा दूध बिक्री गर्न थालेपछि डेरी उद्योगको सम्भावना नजिकबाट बुझेको बताए । यही अनुभवले आफूलाई नेपालमै डेरी उद्योग स्थापना गर्ने सोचतर्फ प्रेरित गरेको उनले सुनाए । त्यही सोचले वि.सं २०६३ मा चिमोरिया परिवारले घरेलु तथा साना उद्योगमा दर्ता गरेर औपचारिक रूपमा डेरी व्यवसाय सुरु गर्याे । नेपालमै डेरी उत्पादनको बजार छ भन्ने कुरा वि.सं २०६३ को तीज मेलामा देखिएको उच्च मागले पुष्टि गरेको व्यवसायी चिमोरियाको बुझाइ छ । उक्त मेलामा दूध र दहीको अत्यधिक माग भएपछि पूर्ण रूपमा डेरी व्यवसायमा लाग्ने निर्णय गर्न सहज भएको उनको भनाइ छ । वि.सं २०६५ तिर बिर्तामोडमा सञ्चालनमा रहेको पञ्चामृत डेरी १२ लाख रुपैयाँमा खरिद गरेपछि चिमोरियाले आफ्नो व्यवसायलाई थप विस्तार गरे । त्यसपछि बिस्तारै उद्योगको संरचना, प्रविधि र बजार विस्तार गर्दै ‘ऋतिका डेरी उद्योग’ ले आजको रूप लिएको हो । हाल ऋतिका डेरी उद्योगमा झापा र इलामका ३२ वटा सङ्कलन केन्द्रबाट दैनिक ३१ हजार लिटरभन्दा बढी दूध सङ्कलन हुने गरेको छ । यहाँका ६ सयभन्दा बढी किसान तथा सहकारीमार्फत दूध उद्योगमा आउने गरेको र यसले ग्रामीण अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा सघाएको चिमोरिया बताउँछन् । उद्योगले १२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमध्ये ८४ जना सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । यसबाहेक ढुवानी, बिक्री वितरण र अन्य सहायक क्षेत्रमा सयौँले अप्रत्यक्ष रोजगारी पाएका छन् । सञ्चालक चिमोरियाका अनुसार गत आर्थिक वर्षमा उद्योगले ८१ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो भने विभिन्न कर शीर्षक अन्तर्गत करिब ८० लाख रुपैयाँ सरकारलाई कर बुझाएको छ । यस उद्योगमा सङ्कलित दूधबाट दैनिक करिब १३ हजार लिटर प्याकेट दूध, ५ हजार लिटर दही, २ हजार लिटर पनिर, १ हजार लिटर बराबरका मिठाई तथा आइसक्रिम, ५ हजार लिटरबाट छुर्पी उत्पादन गरिन्छ । बाँकी दूध बदाम ड्रिङ्क उद्योगलाई आपूर्ति गरिन्छ भने अतिरिक्त दूध पाउडरका रूपमा प्रशोधन गरिन्छ । चिमोरियाका अनुसार उद्योगको मुख्य बजार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाहरू हुन् । केही उत्पादन पहाडी जिल्लामा पनि पुग्ने गरेका छन् । यहाँ उत्पादन भएको घीउ र छुर्पी भने काठमाडौं हुँदै अमेरिका र युरोपसम्म पुग्ने गरेका छन्, यद्यपि उद्योगले प्रत्यक्ष निर्यात नगरी व्यापारीमार्फत विदेश पठाउने गरेको चिमोरियाले जानकारी दिए । उनले डेरी उद्योगसँगै गाई फार्म पनि सञ्चालन गर्दै आउनुभएको छ । यो फार्म केवल दूध उत्पादनका लागि नभई किसानलाई उन्नत गाईपालनतर्फ आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको हो । चिमोरियाले साना स्तरका किसानलाई आधुनिक तरिकाले गाईपालन गर्न सिकाउने, समस्या समाधान गर्ने र उत्पादन वृद्धि गराउने लक्ष्यसहित गाई फार्म सञ्चालन गरिएको बताए । ‘भारतको गुजरात मोडेलबाट प्रेरित भएर साना फार्ममार्फत उत्पादन बढाउने रणनीति अपनाइएको छ । यसअनुसार साना किसानले सुरुमा ५ लिटर दूध उत्पादन गर्ने क्षमताबाट सुरु गरेर क्रमशः १० लिटर र २० लिटर उत्पादनसम्म पुग्ने लक्ष्यसहित यो मोडेलमा काम गरिरहेका छौँ । यसले किसानको आम्दानी बढाउने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा छ,’ उनले भने । डेरी उद्योग सञ्चालनका क्रममा चिमोरियाले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । सुरुमा दक्ष जनशक्ति अभाव र ‘लोडसेडिङ’ प्रमुख समस्या थिए । हाल ती समस्या केही हदसम्म समाधान भए पनि अन्य चुनौती थपिएका छन् । ‘उत्पादन लागत उच्च हुनु, निर्यातका लागि नीतिगत जटिलता हुनु र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था मुख्य समस्या हुन् । विशेषगरी नेपालमा आयात हुने डेरी उत्पादनमा भन्सार शुल्क कम भए पनि नेपाली उत्पादन निर्यात गर्दा झन्झटिलो प्रक्रिया भोग्नुपरेको छ,’ चिमोरियाले गुनासो गर्दै भने । उनका अनुसार नेपाली छुर्पीको अन्तरराष्ट्रिय बजारमा अत्यधिक माग छ, विशेषगरी युरोप र अमेरिकामा । निर्यात प्रक्रियामा रहेका नीतिगत अवरोधका कारण भने यसको पूर्ण लाभ लिन सकिएको छैन । यसर्थ सरकारले छुर्पी निर्यातलाई सहज बनाउने नीति ल्याउनुपर्ने र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नुपर्ने चिमोरियाका माग छ । उहाँले डेरी व्यवसायलाई मासु उत्पादनसँग जोडेर अघि बढाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराए । नेपाल र चीनबीच भैँसी तथा राँगाको मासु निर्यातसम्बन्धी सम्झौताले यस क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने चिमोरियाको भनाइ छ । ‘मासु उत्पादनसँगै दूध उत्पादन पनि हुने भएकाले यी दुई व्यवसायलाई सँगसँगै अघि बढाउन सके थप रोजगारी सिर्जना र आम्दानी वृद्धि हुनसक्छ । यस विषयमा सरकारले काम गर्नुपर्छ,’ उनले भने । योगेन्द्र चिमोरियाको यो कथा केवल एक सफल उद्योगीको कथा मात्र होइन, ग्रामीण नेपालमा सम्भावनाहरू कसरी पहिचान र उपयोग गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो । साइकलबाट दूध बोकेर बजार पु¥याउने अवस्थाबाट सुरु भएको यात्रा आज हजारौँ लिटर दूध प्रशोधन गर्ने उद्योगमा परिणत हुनु आफैँमा उल्लेखनीय उपलब्धि हो । उहाँको प्रयासले किसान, श्रमिक र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाएको छ । यदि यस्ता उद्यमलाई राज्यले उचित नीति, सहुलियत र प्रोत्साहन दिन सके, नेपालमा डेरी क्षेत्रले अझ ठूलो आर्थिक योगदान दिन सक्ने चिमोरियाको सङ्घर्षले देखाउँछ । रासस
चैते दशैँको नवरात्र सुरु, आज घटस्थापना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजा आराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए। आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजा आराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो । नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।
यी ६ प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने, यस्तो छ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही तथा बागमती र कोशी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौंमा अस्ट्रियन फिल्म ‘मेहरुनिसा’ को विशेष प्रदर्शन
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको विशेष अवसर पारेर काठमाडौंस्थित क्यूएफएक्स छाया सेन्टरमा अस्ट्रियन फिल्म ‘मेहरुन्निसा’ को विशेष प्रदर्शन आयोजना गरिएको छ। दिल्लीस्थित अस्ट्रियन दूतावास र नेपालका लागि अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यो प्रदर्शन युरोपेली तथा अन्तर्राष्ट्रिय मामिलाका लागि अष्ट्रियाको संघीय मन्त्रालयको महिला अधिकार, समानता र सशक्तिकरणप्रतिको विश्वव्यापी प्रतिबद्धताको एक हिस्साको रूपमा आयोजना गरिएको हो । अस्ट्रियन सांस्कृतिक फोरमले यसै अवसरमा भारत, बंगलादेश, भुटान र श्रीलंकामा रहेका आफ्ना मानार्थ वाणिज्य दूतावासहरूसँग मिलेर दक्षिण एशियाका विभिन्न स्थानमा यो फिल्म प्रदर्शन गरिरहेको छ । सन्दीप कुमारद्वारा निर्देशित ९० मिनेट लामो यो ‘ड्रामा’ फिल्मले लखनउकी एक ८० वर्षीया विधवाको मार्मिक र साहसिक कथा प्रस्तुत गरेको छ । आफ्ना दिवंगत श्रीमानको सामाजिक प्रभावबाट मुक्त भई आफ्नै स्वतन्त्र पहिचान स्थापित गर्ने उनको निर्णयले पितृसत्तात्मक मान्यताहरूलाई कडा चुनौती दिएको छ । फिल्ममा भारतकी चर्चित चरित्र अभिनेत्री फारुख जाफरले ८८ वर्षको उमेरमा पहिलो पटक मुख्य भूमिकामा सशक्त अभिनय गरेकी छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा ‘स्वदेश’, ‘सुल्तान’ र ‘सेक्रेट सुपरस्टार’ जस्ता फिल्महरूमा स्मरणीय भूमिका निर्वाह गरेकी जाफरले ‘मेहरुन्निसा’ मार्फत साहस र आत्मसम्मानको उदाहरण प्रस्तुत गरेकी छन् । भियनामा आधारित निर्देशक सन्दीप कुमारका सिर्जनाहरूले पहिचान, आप्रवासन र समानता जस्ता गम्भीर विषयहरूलाई उजागर गर्दै आएका छन् । भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोवा) मा प्रिमियर भएको ‘मेहरुन्निसा’ ले भ्यानकुभर, प्रिस्टिना र स्टटगार्ट जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भई प्रशंसा बटुलिसकेको छ । विशेष गरी स्टुटगार्ट फिल्म फेस्टिभलमा यसले उत्कृष्ट अभिनेत्रीको पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको थियो । यस विशेष प्रदर्शनमार्फत महिला सशक्तीकरण र सामाजिक चेतनाको सन्देश प्रवाह हुनुका साथै अष्ट्रिया र दक्षिण एशियाली देशहरूबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।