भारतमा सुन धितोमा ऋणको बाढी, बजार ५ ट्रिलियन डलर बराबर
काठमाडौं । भारतीय घरपरिवारसँग ठूलो मात्रामा सुन सञ्चित छ । गत वर्ष अक्टोबरमा मोर्गन स्ट्यान्लीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनीहरूसँग ३४ हजार टनभन्दा बढी सुन छ र कोटाक महिन्द्रा बैंकले यसको मूल्य करिब ५ ट्रिलियन डलर आँकलन गरेको छ । यही विशाल सञ्चिति अहिले भारतमा सबैभन्दा छिटो बढिरहेको ऋण क्षेत्रमध्ये एकलाई अघि बढाइरहेको छ । अन्य उपभोक्ता ऋणहरू सुस्ताउँदा सुन धितो ऋण तीव्र रूपमा बढेको छ । यसको पछाडि असुरक्षित ऋणमा कडाइ गरिएको बैंकिङ नियम, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि, पहुँचमा सुधार र सम्भवतः घरपरिवारमा बढ्दो आर्थिक दबाबजस्ता कारण छन् । श्रीपद जाधवका अनुसार भारतीय घरपरिवारको करिब ९० प्रतिशत सुन अझै प्रयोगविहीन अवस्थामा छ । तर अब सुन धितो ऋणले खुद्रा ऋण बजारको संरचना नै परिवर्तन गर्न थालेको छ, जसले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई पनि आकर्षित गरिरहेको छ । विश्वव्यापी निजी इक्विटी कम्पनी बेन क्यापिटलले सुन धितो ऋण क्षेत्रमा ठूलो लगानी गर्ने योजना बनाएको छ । उसले भारतको दोस्रो ठूलो सुन ऋण प्रदायक मनप्पुरम फाइनान्समा ४१.७ प्रतिशतसम्म हिस्सेदारी किन्ने तयारी गरेको छ । गत महिना रिसर्भ बैंक अफ इन्डियाले स्वीकृति दिएको यो सम्झौताले परम्परागत तर कम प्रयोग भएको सम्पत्तिमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले अवसर देखिरहेको जनाउँछ। गत डिसेम्बरमा जापानी वित्तीय दिग्गज एमयूएफजीले भारतीय गैर–बैंकिङ वित्तीय संस्था श्रीराम फाइनान्समा २० प्रतिशत हिस्सेदारी किन्ने घोषणा गरेको थियो, जसले सुन धितो ऋणलाई अझ विस्तार गर्ने योजना बनाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार एक वर्षमै सुन धितो ऋण दोब्बरभन्दा बढी बढेर जनवरीमा ४ ट्रिलियन रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १.७५ ट्रिलियन रुपैयाँ थियो । अहिले यो घर र सवारीसाधन ऋणपछि सबैभन्दा ठूलो खुद्रा ऋण खण्ड बनेको छ र सबैभन्दा छिटो बढ्ने श्रेणी पनि हो । क्यानाडाको अल्पाइन माक्रोका उदीयमान बजार रणनीतिकार यान वाङका अनुसार भारतमा सुन ऋणको वास्तविक आकार करिब १४ ट्रिलियन रुपैयाँ हुन सक्छ । उनले भने अनुसार केन्द्रीय बैंकको तथ्यांकले सबै प्रकारका ऋण समेट्दैन । म्याकक्युरीको प्रतिवेदन अनुसार गैर(बैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) ले सुन ऋणको करिब ४५–५० प्रतिशत हिस्सा ओगटेका छन्, जुन केन्द्रीय बैंकको तथ्यांकमा समावेश हुँदैन । सुनतर्फ आकर्षण किन बढ्यो ? २०२३ को अन्त्यमा केन्द्रीय बैंकले असुरक्षित ऋणमा कडाइ गरेपछि साना व्यवसायीहरूका लागि यस्तो ऋण पाउन कठिन भएको हाना लुच्निकाभा–शोर्शले बताइन् । उनका अनुसार व्यक्तिगत ऋणको वृद्धिदर ३० प्रतिशतबाट घटेर १२.२ प्रतिशतमा झरेको छ । त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेको छ । २०२४ यता सुनको मूल्य १४० प्रतिशतभन्दा बढी बढेर प्रति औंस ५००० डलर नाघेको छ र यस वर्ष धेरै रेकर्ड बनाएको छ । सुनको मूल्य बढ्दा उही परिमाणको सुनबाट बढी ऋण लिन सकिने भएकाले यो अझ आकर्षक बनेको हो । पहिले दक्षिण भारत र अर्धसहरी क्षेत्रमा बढी लोकप्रिय रहेको सुन ऋण अहिले देशभर फैलिएको छ । मध्यम वर्गदेखि उच्च आय भएका सहरका मानिसहरूले पनि तत्काल आवश्यक खर्च पूरा गर्न सुन धितो ऋण लिन थालेका छन् । यसको सबैभन्दा ठूलो फाइदा मनप्पुरम फाइनान्स र अग्रणी कम्पनी मुठोट फाइनान्सले उठाएका छन् । पछिल्लो एक वर्षमा यी कम्पनीहरूको सेयर मूल्य क्रमशः २४ प्रतिशत र ४७ प्रतिशतले बढेको छ । श्रेय शिवानीका अनुसार धेरै एनबीएफसीहरूले ग्राहकले शाखामा प्रवेश गरेको एक घण्टाभित्रै ऋण उपलब्ध गराउन सक्छन् । राम्रो गुणस्तरको सुन भएमा कम क्रेडिट स्कोर भएका व्यक्तिले पनि कम ब्याजदरमा ऋण पाउन सक्छन् । यद्यपि यसले केही चिन्ता पनि बढाएको छ । परम्परागत क्रेडिट मूल्यांकनलाई बेवास्ता गरेर तीव्र रूपमा बढिरहेको यस्तो ऋणले अर्थतन्त्रमा दबाब रहेको संकेत गर्न सक्छ । म्याकक्युरीको प्रतिवेदनले पनि मानिसहरू आर्थिक रूपमा दबाबमा परिरहेका छन् र आम्दानी खर्चसँग तालमेल गर्न नसकिरहेको अवस्थालाई यस वृद्धिको कारण मानेको छ । तर श्रिपद जाधवका अनुसार सुन ऋणको वृद्धि ‘आर्थिक परिपक्वताको संकेत’ पनि हो, किनकि मानिसहरूले आफ्नो बहुमूल्य सम्पत्तिलाई प्रयोगमा ल्याएर सजिलो, छिटो र सस्तो ऋण सुविधा उपयोग गरिरहेका छन् ।
थाइल्यान्डमा रहेका नेपाली दूतावासको पहलमा समस्यामा परेका नेपालीको उद्धार
काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूतावासले विभिन्न कारणले समस्यामा परेका तथा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ता प्रक्रियालाई तीव्र बनाएको जनाएको छ । राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न माध्यमबाट कम्बोडियालगायत क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्याम तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका नेपाली नागरिकहरूको उद्धारका लागि पहल गरिएको हो । दूतावासको सक्रियता र सम्बन्धित देशका सरकारी निकायसँगको समन्वयमा हालसम्म उल्लेख्य सङ्ख्यामा नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको जनाइएको छ । दूतावासका अनुसार समस्यामा परेका नेपाली नागरिकहरूलाई आवश्यक कन्सुलर सहयोग उपलब्ध गराउँदै स्वदेश फर्काउने प्रक्रिया सहजीकरण गरिएको छ । साथै, आवश्यक परे एकतर्फी यात्रा अनुमति (वन–वे ट्राभल परमिट) उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । विदेशमा रोजगारी वा अन्य प्रयोजनका नाममा गैरकानुनी गतिविधिमा संलग्न गराउने गिरोहप्रति सचेत रहन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । विशेषगरी कम्बोडिया, लाओस, म्यानमारलगायत क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभनमा नपर्न तथा वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक माध्यमबाट मात्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । राजदूतावासले समस्यामा परेका नेपाली नागरिक वा उनका परिवारजनलाई आवश्यक सहयोगका लागि दूतावासमा उपलब्ध सम्पर्क माध्यममार्फत सम्पर्क गर्न समेत आग्रह गरेको छ । साथै, सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना फैलाउन सञ्चारमाध्यम र समुदायलाई सहयोग गर्न अपिल गरिएको छ ।
युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा, आईपीओ जारी गर्ने
काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, सञ्चालक समितिले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ भने चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । साथै, आव २०८१/८२ सम्म सञ्चालक समितिले गरेको काम कारवाही अनुमोदन गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्नु परे उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले अनुदान सम्बन्धी खर्च, सञ्चालकको बैठक भत्ता तथा सुविधा पारिच गर्नेछ । कम्पनीको अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा रहेका छन् भने कम्पनी सचिव रमेश दत्त पाण्डेय रहेका छन् ।
नयाँ सरकार गठन : चैत १२ गते शपथ, १५ गते पहिलो संसद बैठक
काठमाडौं । फागुन २१ को निर्वाचनवाट निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक चैत्र दोस्रो साता गर्ने तयारीमा संसद सचिवालय लागेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदको बहुद्देश्यीय हल एक/दुई दिनमै तयार हुँदैछ । अहिले सोही हलमै प्रतिनिधि सभा सञ्चालन गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको संसदीय यात्रा अब औपचारिक रूपमा सुरु हुने तयारीमा पुगेको गिरीले जानकारी दिए । संसद सचिवालयले चैत १२ गतेभित्र नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने र चैत १५ गते पहिलो बैठक बसाल्ने गरी आन्तरिक तयारी तीव्र बनाएको गिरीले जानकारी दिए । निर्वाचन आयोगका अनुसार आयोगले चैत्र ५ गते बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । आयोगले सोही दिन संसद सचिवालयलाई निर्वाचित सदस्यहरूको नामावली उपलब्ध गराउने तयारी गरेको छ । नामावली प्राप्त भएपछि सचिवालयले सांसदहरूलाई शपथ कार्यक्रममा उपस्थित हुन सात दिने सूचना जारी गर्ने चलन रहेको गिरीले जानकारी दिए । यसबीचमा शपथ समारोहका लागि राष्ट्रपतिको समय समन्वय गर्न औपचारिक पत्राचारसमेत अघि बढाइने संसद सचिवालयले जानकारी दिएको छ । प्रवक्ता गिरीका अनुसार नयाँ सभामुख चयन नभएसम्मका लागि सबैभन्दा जेष्ठ सदस्यलाई अस्थायी रूपमा सभामुखको जिम्मेवारी दिइन्छ । राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सांसदभन्दा अगाडि शपथ गराउने व्यवस्था रहेको गिरीले जानकारी दिए । यी सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा चैत १२ लाग्यो भने १५ गतेसम्म संसदको पहिलो बैठक आयोजना गर्न सकिने प्रवक्ता गिरीले जानकारी दिए । यदि चैत १२ वा १३ गतेभित्र सरकार गठन सम्पन्न भयो भने चैत १५ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्न सक्ने गिरीले जानकारी दिए ।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राख्न नपाउने
काठमाडौं । सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राखेर यात्रा गराएमा कारवाहीमा पर्ने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार यात्रुवाहक बस र माइक्रो जस्ता सार्वजनिक यातायातले यात्रुलाई ढोकामा राखेर गन्तव्यमा पुर्याएमा कारवाहीमा पर्ने भएका हुन् । सार्वजनिक यातायाताले यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारीसाधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरूमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गराउने गराएका थिए । सार्वजनिक यातायातले यात्राका क्रममा जथाभावी गरेकाले यात्रुहरूले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेका थिए । काठमाडौं उपत्यकामा चल्ने यात्रुवाहक बस, माइक्रोजस्ता सवारीसाधनलाई सचेतसमेत गराएका छन् । केही सवारीसाधनलाई सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाहीसमेत गरिएको ट्राफिक कार्यालयले जनाएको छ । सार्वजनिक यातायातका परिचालकहरूलाई सचेतना कक्षा पनि सञ्चालन गरिएको कार्यालयले उल्लेख गरेको छ ।
बिहीबार सुनको मूल्य तोलामा ४०० र चाँदी १४० रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रुप र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० रुपैयाँ र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँ कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरु : २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले करिव ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) परियोजना अघि बढाएको हो । राजमार्गको १ सय १३ किलोमिटर चेनेजमा पर्ने यो पहिरो विगत ८–१० वर्षदेखि बग्न शुरु गरेको थियो । पहिरो निरन्तर बढ्दै जाँदा सडक पूर्णरूपमा क्षति हुनुका साथै सडकभन्दा माथि रहेका करिव २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए । गत वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए । त्यसपछि सडक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर काम अघि बढाएको हो । सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकाअनुसार यो नेपालकै सबैभन्दा ठूलो पहिरो नियन्त्रण प्रोजेक्ट हो । यसका साथै, पहिरोलाई अड्याउन ३० मिटर गहिरोसम्म ‘सोइल र रक एंकर रड’ बिछ्याएर ग्राउटिङ गरिनेछ । सडकलाई एमएसई वालमार्फत सुरक्षित गरिनेछ भने सतहमा पनि ड्रेनहरू बनाएर पानीको व्यवस्थापन गरिनेछ । उनले भने, ‘तल भोटेकोशी नदीले कटान गरेका कारण यो पहिरो ठूलो भएको हो । यसलाई रोक्न नदीको किनारमा चट्टान (रक) नभेटिएसम्म जग खनेर ३२ एमएमको रडसहित आरसीसी वाल लगाइनेछ । पहिरोभित्र जमेको पानीले माटो बगाइरहेको छ ।’ यस परियोजनाको डिजाइन नेपालमा उपलब्ध वरिष्ठ जिओटेक्निकल इन्जिनियरहरू र विज्ञहरूको परामर्शमा तयार पारिएको हो । आगामी असार मसान्तसम्ममा मुख्य काम सक्ने र वर्षायामअघि नै थप क्षति नहुने गरी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण र स्रोतसाधन कार्यस्थलमा पु¥याइसकेको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक ओमप्रकाश लम्सालकाअनुसार यो सामान्य सडकको काम जस्तो नभई निकै चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्ट हो । उनले भने, ‘हामीले डे–नाइट काम गर्ने गरी आवश्यक पर्ने १८–२० मध्ये १५ वटा भन्दा बढी हेभी इक्विपमेन्ट ल्याइसकेका छौँ । स्थानीय बासिन्दाको पूर्ण सहयोग छ र उहाँहरू काम छिटो होस् भन्ने चाहनुहुन्छ ।’ यद्यपि सम्झौता भएको एक महिना बितिसक्दा पनि मन्त्रालय र विभागको केही प्रक्रियागत ढिलाइले कामले सोचेजस्तो गति लिन नसकेको गुनासो निर्माण पक्षको छ । स्थानीयले काम छिटो सक्न दबाब दिइरहेकाले सरकारी तवरबाट कुनै अवरोध नभएमा बर्खाअघि नै मुख्य कामहरू सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिने निर्माण कम्पनीले जनाएको छ ।